नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरूले लगाएका नारामध्ये एक थियो, ‘बागलुङको हिरा, एमालेको मोती ।’ त्यसबेला ३६ वर्षे युवा थिए हिराबहादुर केसी ।
तर युवा संघको उपाध्यक्षबाट भर्खरै बिदा भएका केसी त्यो महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउन सकेनन् । यसपटक भने उनी केन्द्रीय कमिटीमा डेब्यु गर्ने योजनामा छन् ।
प्रस्तुत छ, केसीसँग गरिएको संक्षिप्त कुराकानी:
तपाईंको राजनीतिक पृष्ठभूमिबारे बताइदिनु न ?
म १७/१८ वर्षको उमेरदेखि अनेरास्ववियुको राजनीतिमा लागेको कार्यकर्ता हुँ । अखिलमा केन्द्रीय उपाध्यक्षसम्म भएँ । अध्यक्ष हुने अवसर पाइनँ । अखिलबाट रिटायर्ड भएपछि म युवा संघको कार्यकर्ता भएँ । त्यहाँ पनि मैले विभिन्न भूमिका निर्वाह गरें ।
२०६५ सालतिर वाईसीएलको दबदबा भएको बेला महेश बस्नेत र मैले युथ फोर्स गठन गरेका हौं । युथ फोर्सले त्यतिबेला वाईसीएलको दादागिरी अन्त्य मात्र गरेन, सिंगो एमालेको मनोबल उकास्ने काम गर्यो ।
त्यसबेला हामीले ज्यानको बाजी लगाएर एमालेको मनोबल उठाउन, वाईसीएलको दादागीरी अन्त्य गर्न काम गरेका थिंयौं । एमाले कार्यकर्ता उत्पादन गर्ने कारखानाको रूपमा रहेका युवा संघको पनि उपाध्यक्ष भएँ । तर अध्यक्ष हुने अवसर मिलेन । त्यसपछि २०७८ र २०७९ मा गरी दुईपटक बागलुङ जिल्लाको अध्यक्ष भएर काम गरेँ ।
चितवन महाधिवेशनमै तपाईंको केन्द्रीय सदस्य हुने चर्चा धेरै थियो नि ?
२०७८ मा भएको १०औं महाधिवेशनमा सौराहाभरि मेरो चर्चा भयो । तर नेतृत्वले मलाई एक पटक प्रदेश हाँक्न निर्देशन गर्यो । मलाई लाग्यो, ‘राजनीतिमा भूगोलको खास अर्थ छ । हाँक्नै परे किन प्रदेशतिर उक्लने, आफ्नै भूगोलको बालगुङको अध्यक्ष हुने हो ।’
मेरो चाहनाअनुसार अध्यक्ष केपी शर्मा ओलीले बागलुङको अध्यक्ष हुन निर्देशन दिनुभयो । सोहीअनुसार कुशलतापूर्वक दुई कार्यकाल अध्यक्ष भएँ । सानो आकारको पार्टीलाई विस्तार गरें । म होल टाइमर कार्यकर्ताको रूपमा बागलुङका सबै गाउँघर घुमें । घुमिरेहको छु । मलाई लाग्छ, गत महाधिवेशनको चर्चाले यसपालि सार्थकता पाउँछ । म सहजै केन्द्रीय सदस्य हुुन्छु ।
अध्यक्ष ओली र नेताहरूले पार्टी निर्माणमा मेरो भूमिकालाई अवश्य मूल्यांकन गर्नुहुनेछ । किनकि दामलेहरू पार्टी पदाधिकारीमा जम्प हान्न लागेका छन् । कोही सांसद र मन्त्री पनि भइसकेका छन् । २०७१ सालको महाधिवेशनमा मेरो लागि लागेको नारा सार्थक हुनेछ । किनकि, त्यसबेला बागलुङको हिरा, एमालेको मोती भन्ने थुप्रै कमरेडहरू प्रतिनिधि भएर आउनु भएको छ ।

एमालेका कमिटीहरूमा युवाको भविष्य के हो ?
म समाजशास्त्र र अंग्रेजीको विद्यार्थी हुँ । त्यसैले मैले कार्यकर्ताको मनोभवाना र पार्टी सदस्यको उमेर समूह पनि विश्लेषण गर्छु बेलाबेला । पार्टीमा अहिले ४०–५० वर्ष उमेर समूहको बाहुल्यता छ । म त्यही समूहमा पर्ने भएकोले ठूलो संख्याका प्रतिनिधि र पार्टी कार्यकर्ताको मनोभावना हाम्रो उमेर समूहले बुझ्छ ।
एमालेको भविष्य भनेको यही उमेर समूह हो । अध्यक्ष कमरेडपछि ६० वर्षभन्दा माथिको उमेर समूहमा रहेका सानो संख्याका नेताको पालो आउला । त्यसपछि अहिलेको ५०–६० वर्ष उमेर समूहको अनि हाम्रो उमेर समूहले पार्टी हाँक्नु पर्छ । त्यसैले भविष्यमा नेतृत्व विकास गर्न पनि हामी जस्ता युवालाई महाधिवेशनको हलले केन्द्रमा पठाउनु पर्छ ।
एमालेको आगामी नेतृत्वका बारेमा अनेक बहस छन् नि ?
यो रोचक कुरा हो । अहिलेको आवश्यकता, राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण र घरेलु राजनीतिक अवस्थालाई लिड गर्नसक्ने नेता केपी शर्मा ओली नै हो । कसैलाई उहाँ मन नपर्न सक्छ, त्यो प्राविधिक कुरा हो । मूल कुरा राजनीतिक दृष्टिकोण हो । त्यो दृष्टिकोण अहिलेको हकमा अरू नेताबाट सम्भव छैन ।
अर्कोतिर देश राजनीतिक भुमरीमा फसेको छ । यो भूमरी पार लगाउन पनि केपी ओलीको आवश्यकता छ ।
प्रतिक्रिया 4