News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको ११औं महाधिवेशनमा २२ सय ६८ प्रतिनिधिमध्ये करिब पाँच सय ४० वर्ष मुनिका युवा छन्।
- युवा प्रतिनिधिहरूले नेतृत्वको परम्परागत शैलीबाट असन्तुष्टि जनाउँदै पार्टी रूपान्तरणको स्पष्ट खाका खोजिरहेका छन्।
- महाधिवेशनमा युवा प्रतिनिधिहरूले शिक्षा सुधार, भ्रष्टाचारमुक्त समाज र उत्पादनमा प्रोत्साहन जस्ता एजेन्डा अघि सारेका छन्।
२६ मंसिर, काठमाडौं । भक्तपुरको तीनकुने सल्लाघारीमा सुरु हुन लागेको नेकपा एमालेको ११औं महाधिवेशनको माहोल तात्दै गर्दा सबैको नजर जेनजी पुस्तातर्फ मोडिएको छ ।
२२ सय ६८ महाधिवेशन प्रतिनिधिहरूमध्ये करिब पाँच सय प्रतिनिधि ४० वर्ष मुनिका छन् । १६५ जना युवा क्लस्टरबाटै निर्वाचित भएर चयन हुँदा बाँकी भने खुला प्रतिस्पर्धाबाटै चुनिएका हुन् ।
पार्टीको २५१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्ष मुनिकालाई १० प्रतिशत (२५ जना) व्यवस्था विधानमै छ । तर, अंकगणितभन्दा पर, विचार र मनोविज्ञानमा यी युवा प्रतिनिधिहरू के सोचिरहेका होलान् ?
भदौ २३ र २४ मा जेनजी पुस्ताको विद्रोहले एमाले नेतृत्वकै सरकार ढलेको पृष्ठभूमिमा यो महाधिवेशन हुँदैछ । एमाले मुख्यालय परिसरमा भेटिएका युवा प्रतिनिधिहरूले संवादको क्रममा संकेत गरे- उनीहरू नेतृत्वको परम्परागत शैलीबाट खुसी छैनन् र पार्टी रूपान्तरणको स्पष्ट खाका खोजिरहेका छन् ।
अनलाइनखबरसँग कुराकानीका क्रममा उनीहरू नेपाली समाजका समस्या र समाधानका सन्दर्भमा उस्तै-उस्तै सुनिए । उनीहरू भन्छन्- नेपाली समाजमा चरम निराशा छ, यसलाई तोडेर आशा जगाउनुपर्नेछ ।
तर, समाधानको बाटोमा भने उनीहरूका आ–आफ्ना व्याख्या र बुझाइ छन् ।’
‘भोटरमात्र होइन, विकल्प बन्ने चाहना’
कञ्चनपुरको दोधारा चाँदनी–६ का ३८ वर्षीय वडाध्यक्ष ओमबहादुर बस्नेत विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा उदाएका हुन् ।
२०७९ सालको स्थानीय चुनावमा वडाअध्यक्ष जितेका उनका अनुसार समाजमा व्याप्त निराशाको मुख्य कारण अरूमाथि दोष थोपर्ने प्रवृत्ति र सक्ने काम पनि नगर्ने बानी हो । तर, यसमा युवाको मात्र दोष छैन ।

बस्नेतका अनुसार, अधिकांशलाई नेपालमै अवसर खोज्ने भन्दा अनिवार्य विदेश जानुपर्छ भन्ने छ । विदेश पुगेर त्यहाँको विकास हेर्ने र नेपालसँग तुलना गर्दै नकारात्मकता बाँढ्न थालिहाल्ने अभ्यास छ । राम्रो गर्न मैले के गर्न सक्छु भनेर सोच्ने बानीको विकास भएको छैन ।
तर यी सबै समस्याका लागि युवामात्र जिम्मेवार छैनन् भन्छन् बस्नेत ।
‘चुनावमा अनेक गरेर माननीय बनायो, माननीय भएपछि स्वकीय सचिवमा भान्जा–भतिज राख्छन्,’ बस्नेत आक्रोश पोख्छन्, ‘यो आफन्तवादले आशा जगाउँछ त ? आफूले जिताएको नेता भेट्न कार्यकर्ताले भन्दा बिचौलियाले छिटो पाउँछन्, कार्यकर्ता दोस्रो दर्जाका नागरिक बन्छन् । वितृष्णा राजनीतिमा संलग्न भएका र निराश भएकाहरूबाटै फैलिएको हो ।’
बस्नेत ११औं महाधिवेशनमा केन्द्रीय सदस्यका आकांक्षी हुन् । उनको बुझाइमा एउटै व्यक्तिलाई पटक–पटक अवसर दिँदा पार्टीमा नयाँ नेतृत्व जाम भयो ।
‘पहिलो पटक अवसर पाउँदा सिक्छ, दोस्रो पटक अलिक परिपक्क जस्तो हुन्छ र तेस्रो पटकदेखि आफ्नो विकल्प देख्दैन । बिग्रिएको यसरी हो’ उनले थपे, ‘अवसर पाउनेहरूमा पात्रहरू फेरिँदै जाने हो भने पुस्ता–पुस्ता सम्बन्ध पनि स्थापित हुँदै जान्छ, समाज पनि ठीक ढंगले अगाडि बढ्छ ।’
उनले थपे, ‘अब सबैले बुझ्नुपर्छ– युवा भोटर मात्रै होइनन् । समयअनुसार युवाको चाहना फरक हुन्छ ।’
केन्द्रीय सदस्य जितेपछि काम गर्ने भिजन के छ ? बस्नेतको एजेन्डा प्रस्ट छ– शिक्षा सुधार्ने र विदेश पलायन रोक्ने ।
‘सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानले अनिवार्य सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने कानुन बनाऔं’ उनी सुझाउँछन्, ‘निजी विद्यालयको विरोध गरेर होइन, सरकारीको स्तर सुधारेर मात्रै शैक्षिक विभेद अन्त्य हुन्छ ।’
उनले थपे, ‘देशमा केही गर्न सकिन्छ भन्ने भाव जगाउनुपर्ने छ । यसका लागि राष्ट्रव्यापी अभियान छेड्नुपर्छ । कुन ठाउँमा के सम्भावना छ ? सरकारले युवालाई कस्तो सहुलियत र सुविधा दिन्छ ? विदेश जाँदा हुने फाइदा र नेपालमै बसेर काम गर्दा हुने लाभ के हुन ? यो बुझाउन सक्नुपर्छ ।’
विकासे काम गर्ने तरिका बदल्नुपर्ने र उपभोक्ता समितिमार्फत् गर्ने काममा रहेका विकृति सुधार्नुपर्नेमा पनि उनको जोड छ ।
एमाले शिक्षकको प्रत्यक्ष राजनीतिक संलग्नताको पक्षमा बोल्दै आएको छ । तर, उनको फरक प्रस्ताव छ, ‘अब यसो गरौं– गुणस्तरीय शिक्षा दिन सक्ने, राम्रो नजिता ल्याउन सक्ने शिक्षकलाई सम्मान गरौं । पार्टीमा, राजनीतिमा अवसर खोज्ने शिक्षलाई निरुत्साहित गरौं । शिक्षकलाई राजनीतिमा होइन, पढाउनेतिरै केन्द्रित गराउनुपर्छ ।’
जाँदाजाँदै उनले प्रश्न छाडे, ‘मान्छेहरू अन्यत्र असफल भएपछि किन राजनीतिमा आउँछन् र शक्तिमा पुगेपछि सधैं किन राजनीति नै गरिरहन चाहन्छन् ? फेलियरहरूले हाँक्ने हो र मुलुक ?’
जयबहादुरको एजेन्डा : आत्मनिर्भर नेपाल
मुगु छायानाथ राराका ३३ वर्षीय जयबहादुर नेपाली युवा क्लस्टरको ढोकाबाट काठमाडौं आएका छन् । उनको चिन्ता नेपालको परनिर्भरता र भू–राजनीतिक हस्तक्षेपमा केन्द्रित छ ।
‘२००७ सालमा प्रजातन्त्र आयो तर २०१५ सम्म चुनाव हुन दिइएन । २०१७ मा ‘कू’ भयो । २०४६ र २०६२/६३ मा लड्यौं । संविधान बन्यो, तर स्थिरता भएन,’ जयबहादुर प्रश्न गर्छन्, ‘नेपालमा किन राजनीतिक स्थिरता हुन दिइएन ? जवाफ एउटै छ– जबसम्म नेपाल आफ्नै खुट्टामा उभिँदैन, तबसम्म विदेशीले खेल्छन् ।’

भर्खरैको जेनजी आन्दोलनमा पनि बाह्य घुसपैठको आशंका उनलाई पनि रहेछ । तर, अब अरूलाई दोष दिएर उम्किन नमिल्ने उनको तर्क छ । ‘हाम्रो पाठ्यक्रम फेर्नुपर्छ । महेन्द्र राजमार्ग कसले बनायो भनेर घोकाएर हुँदैन, नेपालका पछिल्ला परिवर्तन र सम्भावनाबारे पढाउनुपर्छ,’ उनी भन्छन् ।
विगतको समीक्षा गर्दै, गल्तीहरूबाट पाठ सिकेर अगाडि बढे आत्मभिर्नर हुँदै समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने लाग्छ जयबहादुरलाई । ‘ठूलो जनसंख्या होइन, प्राकृतिक स्रोत र साधनले भरिपूर्ण छ । पर्यटनको उत्तिकै सम्भावना छ । सूचना प्रविधिको विकासले धेरै सहज गरिदिएकै छ । यस्तोमा हामी नेपाल किन बनाउन सक्दैनौं ? सक्छौं र बनाउने हो,’ उनी दृढ सुनिन्छन् ।
जयबहादुर मन्त्रिपरिषद्का नीतिगत निर्णयका नाममा हुने भ्रष्टाचार र ठेकेदारको मनपरीविरुद्ध पार्टी निर्मम हुनुपर्ने बताउँछन् । ‘पैसा लिएर काम नगर्ने ठेकेदार र सेवामुखी नभई नियन्त्रणमुखी कर्मचारीतन्त्र रहेसम्म देश बन्दैन,’ उनको ठम्याइ छ ।
‘धौवादी फलामखानी उत्खनन भयो भने नेपालको आर्थिक विकासमा कति मद्दत पुग्छ ? कति रोजगारी सिर्जना हुन्छ ?’ उनी भन्छन्, ‘नेपाल समृद्ध बन्न कुनै न कुनै पुस्ताले मेहन गर्नैपर्छ । हामी यसका लागि तयार छौं ।’
उनले थपे, ‘नेपालको अभावसँग खेलेर बाह्य शक्तिले नेपाललाई विगतमा निरन्तर अस्थिर बनाए । युवाले बुझ्छन् र यसअनुसार काम गर्छन् ।’

महाधिवेशन ग्रासरूटदेखि पैसाको प्रभावबाट आएका प्रतिनिधिहरू पनि रहेको जयबहादुरको ठम्याइ छ ।
‘यहीँ शिक्षालाई व्यापारीकरण गर्नेहरू कति जना छन् ? उनीहरूको प्रभाव कस्तो छ ?’ उनले प्रश्न गरे ।
समृद्धिका लागि भूमिमाथिको राजनीति तोड्दै उत्पादनमा प्रोत्साहन गर्नुपर्ने सुनाउँछन् जयबहादुर । ‘हरेक स्थानीय तहमा भूमि बैंक बनाऔं ।
उत्पादनमा प्रोत्साहन र ढुवानीमा अनुदान दिऔं’ उनी भन्छन्, ‘मैले सोचेको समृद्ध नेपालमा कुनै पनि आयोजना बन्दा नागरिकले सेयर पाउँछन् र नाफा/घाटामा नागरिक संलग्न हुन्छन् । समृद्धिको यात्रा यहीँबाट सुरु हुन्छ ।’
अवस्था बदल्ने जिम्मा लिन तयार छन् तपेन्द्र
कर्णाली प्रदेश कमिटी सदस्य ३६ वर्षीय तपेन्द्रबहादुर शाही (कालीकोट) का अनुसार पुराना नेताहरूको मिसन ‘व्यवस्था परिवर्तन’ थियो, जुन पूरा भयो । अबको मिसन ‘अवस्था परिवर्तन’ हो ।्
‘जेनजी आन्दोलन असन्तुष्टिको प्रकटीकरण हो । युवाले नेताको बोली र व्यवहारमा एकरूपता खोजेका छन्,’ रत्नराज्य क्याम्पसका पूर्वस्ववियु सभापति समेत रहेका शाही भन्छन्, ‘जेनजी आन्दोलन र समाजले चाहेको कुरा हामी गर्छौं, अबको जिम्मा हाम्रो हो ।’
जेनजी विद्रोहलाई प्रतिगमन र प्रतिक्रान्ति भनिरहेका एमालेका शीर्ष नेताका भन्दा तपेन्द्र फरक सुनिए । उनका अनुसार, यो विद्रोहको मूल मर्म अवस्था परिवर्तन हो ।
‘जेनजी आन्दोलन पनि असन्तुष्टिको प्रकटीकरण हो । त्यसमा घुसपैठ हुँदा क्षति हुन पुगेको कुरा छाड्ने हो भने युवाले परिवर्तन चाहेका हुन् ।’

उनका चार प्रमुख एजेन्डा छन्– भ्रष्टाचारमुक्त समाज, धनी र गरिबबीचको खाडल पुर्ने समाजवादी अर्थतन्त्र, नीतिगत रोजगारी सिर्जना र राज्यप्रति सबैको अपनत्व ।
आफ्ना एजेन्डाको व्याख्या गर्दै उनले भने, ‘ नेता र नेतृत्व वा सार्वजनिक पद धारण गरेका व्यक्तिउपर निरन्तर खबरदारी गर्दै जवाफदेहिता खोज्नुपर्छ ।’
समावेशिताको मुद्दामा स्पष्ट देखिएका तपेन्द्रले भने, ‘राज्यप्रति सबैको अपनत्व हुनुपर्छ । नेपाल सानो भएता पनि बहुलतायुक्त समाज हो । समाजमा रहेका सबैको अपनत्व राज्यप्रति हुने वातावरण बनाउनु आवश्यक छ ।’
उत्पादन बढाउनुछ, शिक्षा र स्वास्थ्य सुधार्नु छ । महंगी नियन्त्रण गर्नुछ । यी सबै काम गर्न राजनीतिक दलहरू सुध्रनुपर्छ । तर यसमा चिन्तन गर्नुपर्ने पार्टीभित्र वैचारिक बहस नभएकोमा तपेन्द्र चिन्तित देखिए ।
शाही एमालेभित्र २०७० सालयता वैचारिक बहस ठप्प भएकोमा चिन्तित छन् । ‘अहिले नेताहरूमा कसरी वैचारिक रूपमा प्रस्ट हुने भन्ने छैन, कसरी पद लिने भन्ने मात्र छ,’ उनी एमाले मात्र होइन, कांग्रेस र माओवादीमा पनि उस्तै समस्या देख्छन् ।
उनले भने, ‘नेतृत्वमा एकै व्यक्ति हाबी हुँदा बहस मर्यो । निर्धक्क बहस गर्ने वातावरण बनाउने जिम्मेवारी अब हामी युवाको काँधमा छ ।’
जीवनाथको जिकिर – एनजीओले युवालाई राजनीतिबाट टाढा पुर्याए
कोशी प्रदेश प्रचार विभाग सदस्य ३२ वर्षीय जीवनाथ दाहाल (उदयपुर) अलि फरक र गम्भीर सुनिए । उनी नेपालमा युवा पलायन र निराशाको बीजारोपण २०६८ सालतिरका वैदेशिक परियोजनाबाट भएको मान्छन् ।

‘विद्यालय शान्ति क्षेत्रका नाममा विद्यार्थीलाई राजनीतिबाट टाढा राखियो । उनीहरूले पाठ्यक्रम पढे तर समाज र राजनीति बुझ्न पाएनन्,’ दाहाल भन्छन्, ‘त्यही ब्याचका ७० प्रतिशत युवा अहिले विदेशमा छन् । उनीहरूले विदेशको विकास देखेर नेपाललाई सरापिरहेका छन् ।’
जीवनाथ नेतृत्वमा देखिएको ‘एज ग्याप’ (उमेर अन्तर) लाई पनि समस्या मान्छन् । ‘२०५१ सालमा अमेरिकामा राष्ट्रपति को थियो र अहिले को छ ? हाम्रोमा उही पात्र दोहोरिरहेका छन्,’ उनी भन्छन् ।
यद्यपि, एमाले ‘क्याडर बेस्ड’ (कार्यकर्ता आधारित) पार्टी भएकाले रातारात नेतृत्व परिवर्तन सम्भव नरहेको उनी स्वीकार्छन् । ‘प्रतिनिधि हुन १० वर्ष लाग्छ, नेतृत्वमा पुग्न २५ वर्ष । त्यसैले जो नेतृत्व दाबी गर्न सक्ने हैसियतमा छन्, उनीहरू पनि भविष्य बिग्रने डरले मौन छन्,’ दाहालको बुझाइ छ ।
एमाले महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको होडमा छन् । तर, दाहालको स्पष्टोक्ति छ, ‘जेनजी आन्दोलन वा युवा पुस्ताको चाहना यी दुवै होइनन् ।’
उनले थपे, ‘नेतृत्वका दुई दाबेदारभन्दा पछिल्लो पुस्ता छ, त्योभन्दा पछिल्लो पुस्ता पनि छ । हामी अझ तल्लो पुस्ताका हौं । जसले पार्टीको नेतृत्वमा दाबी गर्नुपर्ने हो, उहाँहरूमा हिम्मत भएन । यसका अनेक कारण होला । एउटा कारण उहाँहरूमा रहेको भविष्यको चिन्ता हो ।’

अहिलेको यो अवस्थालाई ख्याल गरेका युवा पुस्ताले छिट्टै नेतृत्वका लागि आफूलाई तयार गर्ने पनि उनको विश्वास छ, ‘निरन्तर खबरदारी हुन्छ । अन्तरपार्टी संवाद हुन्छ र अन्य पार्टीमा पनि पुस्तान्तरणको बहस चल्छ । विस्तारै बुबा पुस्तालाई स–सम्मान बिदा गरेर काका पुस्ता, नभए नाती पुस्तामा नेतृत्व आउँछ । यो वातावरण बन्छ ।’
एमालेका यी युवा प्रतिनिधिहरू महाधिवेशनमा ‘भिड’ मात्र बन्न चाहँदैनन् । उनीहरू नेतृत्वलाई प्रश्न गर्न चाहन्छन्– ‘हामी कहिलेसम्म भोटर र ताली बजाउने मात्र ?’
वैचारिक बहससँगै शिक्षा, स्वास्थ्य, उत्पादनका एजेन्डा बोकेर काठमाडौं आएका यी प्रतिनिधिहरू ११औं महाधिवेशनबाट ‘काका’ वा ‘हजुरबुबा’ पुस्तालाई स–सम्मान बिदा गर्दै नयाँ युगको ढोका खोल्ने सपना बुनिरहेका छन् ।
तीन दिन उपत्यकामा चल्ने महाधिवेशनमा उनीहरूको यो आवाज कति बुलन्द हुन्छ, त्यसले नै एमालेको आगामी भविष्य तय गर्नेछ ।
प्रतिक्रिया 4