युरोपमा अहिले निकै चिसो तथा हिमपातको मौसम छ । यस्तोमा बिजुलीको खपत पनि अति उक्त हुन्छ । माग बढ्दा मूल्य पनि बढ्ने अर्थशास्त्रको नियम खुल्ला बजार भएको युरोपमा त लाग्नु नै पर्ने थियो । तर त्यहीँ युरोपको एउटा देश फ्रान्समा भने बिजुलीको मूल्य घटेको मात्र होइन निःशुल्क नै भयो ।
समाचार अनुसार अत्यधिक उत्पादन तर न्यून माग भएसँगै सरकारले केही समयका लागि जनतालाई निःशुल्क रूपमा बिजुली आपूर्ति गरेको हो । यहीँ डिसेम्बर ८ का दिन फ्रान्सको डे अहेड बजारमा बिजुलीको मूल्य शून्यमा झर्यो । अर्थात केही घण्टासम्म बिजुली वास्तवमा निःशुल्क भयो ।
ब्लुम्बर्गका अनुसार ऊर्जा अधिकता अर्थात एनर्जी सरप्लसको दुर्लभ अवस्था नै त्यसको कारक हो । डिसेम्बरको महिनामा त्यहाँ अत्यधिक चिसो हुनुपर्नेमा तापमान असामान्य रूपमा धेरै रहेको हुँदा न्यानो पार्ने उर्जाको माग तीव्र रूपमा कम भएको छ । त्यसैगरी तीव्र हावाले गर्दा वायु ऊर्जाबाट उत्पादित बिजुलीको परिमाणमा वृद्धि भएको छ । त्यस्तै आणविक ऊर्जा भट्टीहरू समेत ८५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेको हुनाले ग्रिडमा अतिरिक्त विद्युत् आपूर्ति भएसँगै बिजुली बिक्री नै नभएर खेर जाने अवस्था आएको हो ।
वास्तवमा युरोफमा यस्तो अवस्था अधिकाधिक मात्रामा देख्न थालिएको छ । कम माग हुने समयमा नवीकरणीय ऊर्जा उत्पादन बढ्ने हुनाले मूल्य तीव्र गतिमा शून्यमा झर्दछ । कहिलेकाहीँ त बोलकबोल बजारमा बिजुलीको मूल्य शून्यबाट पनि तल झर्दछ ।
युरोमा जाडो याममा गर्मी !
समाचार अनुसार हालैका दिनहरुमा फ्रान्स सहित पूरै युरोपमा जाडोकी मौसम आम रूपमा पहिले भन्दा केही न्यानो छ । अर्थात् तापमान केही धेरै हुनाले मानिसहरूले हिटर लगायतका तातो बनाउने उपकरणको प्रयोग धेरै गरेका छैनन् । सोही कारण बिजुलीको मागमा अचानक कमी आयो । अर्कोतर्फ बिजुलीको उत्पादन पनि बढ्यो।
रोयटर्सका अनुसार सन् २०२२ मा ऊर्जा संकटका बेला भएको तीव्र वृद्धिपछि हाल ऊर्जाको मूल्य सन् २०१८ यताकै सबैभन्दा न्यून विन्दुमा झरेको हो । सन् २०२२ को ऊर्जा संकटले त्यहाँ विभिन्न उद्योग बन्द गर्न वा ऊर्जा खपत कम गर्न बाध्य पारेको थियो । त्यसले बिजुलीको दीर्घकालीन माग नै कम बनाएको थियो ।
-एजेन्सी
प्रतिक्रिया 4