News Summary
Generated by OK AI. Editorially reviewed.- मेरियमवेबस्टरले सन् २०२५ को वर्ष शब्द \'स्लप\' घोषणा गरेको छ, जसले एआईबाट उत्पादन गरिने कम गुणस्तरको डिजिटल सामग्री जनाउँछ।
विगत १८० वर्षभन्दा धेरै समयदेखि भाषा र शब्दको दस्तावेजीकरण गर्दै आएको विश्वप्रसिद्ध शब्दकोश संस्था मेरियमवेबस्टरले ‘स्लप (Slop)’ लाई सन् २०२५ को वर्ष शब्द (वर्ड अफ द इयर) घोषणा गरेको छ। शब्दकोशका अनुसार ‘स्लप’ भन्नाले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट ठूलो मात्रामा उत्पादन गरिने कम गुणस्तरको डिजिटल सामग्रीलाई जनाउँछ।
एआई स्लप भनेको के हो ?
मेरियम वेबस्टरका अनुसार एआई स्लप त्यस्तो डिजिटल सामग्री हो, जुन बाहिरबाट आकर्षक देखिए पनि त्यसमा न त गुणस्तर हुन्छ, न त कुनै ठोस सूचना । यसमा एआईद्वारा तयार गरिएका भिडियो, फोटो, अडियो, फेक न्युज, कमजोर लेख तथा अर्थहीन मनोरञ्जन सामग्री समावेश हुन्छन् । यस्ता सामग्री अत्यन्तै छिटो र ठूलो परिमाणमा उत्पादन भइरहेका छन् ।
शब्दकोश कम्पनीका अनुसार सन् २०२५ मा ‘एआई स्लप’ लगभग सबै ठाउँमा देखियो । सामाजिक सञ्जालमा बेतुका भिडियो, अनौठा विज्ञापन, तस्बिर र भ्रामक समाचारहरू भाइरल भए । कार्यस्थलहरूमा समेत एआईबाट तयार गरिएका कमजोर रिपोर्ट र प्रस्तुतिहरू देखिए, जसले सहभागीहरूको समय खेर फाल्ने काम गर्यो । विज्ञहरूले यो प्रवृत्तिलाई ‘वर्क स्लप’ नाम दिएका छन् ।
द गार्डियन को रिपोर्टअनुसार यस वर्ष सबैभन्दा तीव्र गतिमा बढेका केही युट्युब च्यानलहरू पूर्णरूपमा एआई स्लपमा आधारित थिए । ब्लूमबर्गको एक रिपोर्टले युट्युब किड्समा पनि ठूलो संख्यामा एआईद्वारा बनाइएका भिडियोहरू रहेको र ती सामग्री अत्यन्तै साना बालबालिकाले हेरिरहेको खुलासा गरेको छ । सो खुलासासँगै युट्युबले आफ्नो मनिटाइजेसन नीतिमा परिवर्तन गर्नुपरेको थियो।
‘स्लप’ शब्दको इतिहास
‘स्लप’ शब्दको प्रयोग पहिलो पटक सन् १७०० को पहिलो दशकमा भएको थियो । जसले नरम हिलो वा लेदोलाई जनाउँथ्यो । समयक्रममा यसको अर्थ परिवर्तन हुँदै फ्याँकिएको खाद्य पदार्थ बन्यो । त्यसपश्चात् फोहोरलाई जनाउन यो शब्द प्रयोग गर्न थालियो भने अन्ततः कम मूल्य वा न्यूनस्तरको वस्तुलाई जनाउने शब्दका रूपमा यसको प्रयोग हुनथाल्यो । अहिले यो शब्द डिजिटल संसारमा न्यूनस्तरका एआई सामग्रीलाई जनाउन प्रयोग भई स्थापित समेत भइसकेको छ ।
हाल विकिपिडिया, स्पटिफाइ तथा पिन्टेरेस्ट जस्ता प्लेटफर्मले एआई स्लप नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । तर, अर्कोतर्फ मेटा र ओपनएआई जस्ता कम्पनीहरूले नयाँ एप र फिचर सार्वजनिक गरिरहेका छन् जसले ठूलो मात्रामा एआई सामग्री उत्पादन गर्न सहज बनाएको छ । यस कारण एआई स्लपसम्बन्धी बहस अझ तीव्र बनेको छ।
शोधकर्ताको चेतावनी
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताले गरेको एक अध्ययनले च्याटजिपिटीजस्ता एआई टुलमा अत्यधिक निर्भरता बढ्दा मानिसको स्मरणशक्ति र सोच्ने क्षमतामा नकारात्मक असर पर्नसक्ने चेतावनी दिएको छ। लामो समयसम्म एआई स्लपको सम्पर्कमा रहँदा बालबालिका तथा किशोरकिशोरीहरूको मानसिक विकासमा प्रतिकूल प्रभाव पर्ने उक्त अध्ययनले देखाएको छ।
एआई सामग्रीको बढ्दो प्रयोग र त्यसले निम्त्याउने चुनौतीबीच ‘स्लप’ लाई वर्ड अफ द इयर घोषणा गर्नुले डिजिटल युगमा गुणस्तर, विश्वसनीयता र सामाजिक प्रभावबारे बढ्दो चिन्ता प्रतिबिम्बित भएको विश्लेषकहरूको भनाइ छ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया 4