News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको पहिलो विद्यालय दरबार हाई स्कुलले स्थापना भएको १७२ वर्षपछि पहिलो महिला प्रधानाध्यापक शारदा कुमारी पौडेललाई नियुक्त गरेको छ।
- पौडेलले २०७८ सालमा कोभिड–१९ महामारीको समयमा प्रधानाध्यापक नियुक्त भइ भर्चुअल कक्षा सञ्चालन गराएकी थिइन्।
- दरबार हाई स्कुलले रोबोटिक्स कक्षा सञ्चालन गर्ने नेपालकै पहिलो सरकारी विद्यालय बनेको छ र विद्यार्थीले अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएका छन्।
यस वर्ष नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राजनीतिक जटिलताले सिर्जना गरेको परिस्थिति भए पनि देशका लागि यो एउटा ऐतिहासिक उपलब्धि थियो । देशकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्तिले विशेष रुपमा अन्तर्राष्ट्रिय ध्यान आकर्षण गर्यो। यद्यपि, नेपालकै सन्दर्भमा भएको अर्को महत्वपूर्ण नियुक्तिले भने कमै चर्चा पाएको देखिन्छ ।
स्थापना भएको १७२ वर्षपछि, नेपालको पहिलो विद्यालय दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) ले पहिलो पटक महिला प्रधानाध्यापक पाएको छ । यस विद्यालयको स्थापना वि.सं. १९१० मा भएको थियो।
२०८२ साल मङ्सिर ४ गते शारदा कुमारी पौडेल दरबार हाइ स्कुलको प्रधानाध्यापक नियुक्त भइन् । यसअघि उनी विद्यालयको कार्यवाहक प्रधानाध्यापकका रूपमा कार्यरत थिइन् ।
परम्परागत अवरोधहरू चिर्दै
प्रधानाध्यापकको जिम्मेवारी चुनौतीपूर्ण रहेको पौडेल बताउँछिन् । यो नयाँ भूमिकामा जिम्मेवारी थपिनुका साथै आत्मविश्वासको पनि बृद्धि भएको अनुभूति उनले गरेकी छिन् । उनको नियुक्ति तीन प्रतिस्पर्धीबीचको खुला प्रतिस्पर्धामार्फत भएको हो । प्रतिस्पर्धीमध्ये महिला उम्मेदवार भने उनी एक्लै थिइन्।
यस विद्यालयलाई महिला प्रधानाध्यापक पाउन किन यत्रो समय लाग्यो त ? विगतमा शिक्षण पेशामा महिलाहरूको पकड कम रहेको र यो पेशामा रहेका महिलाहरू पनि प्राय प्राथमिक तहसम्म मात्र सीमित रहने गरेको पौडेल बताउँछिन् ।

‘पहिलेको सामाजिक संरचनाले महिलाहरूलाई पारिवारिक कार्यहरूमा सीमित राख्यो, जसका कारण उनीहरूले आफ्नो पेशागत दक्षतामा पर्याप्त समय दिन सकेनन्’ उनी भन्छिन्, ‘त्यसैले प्रायः सबै क्षेत्रहरूमा जस्तै दरबार हाई स्कुलमा पनि महिलाहरूलाई नेतृत्व तहसम्म पुग्न धेरै समय लाग्यो ।’
यद्यपि पौडेल आफू भाग्यमानी भएको महसुस गर्छिन् । उनका बुबाले दिएका प्रेरणाबाट उनले शिक्षण पेशा रोजेकी हुन् । ‘मेरो बुबाले मलाई सधैँ समाजका लागि केही गर्ने प्रेरणा दिनुहुन्थ्यो, त्यसैले म शिक्षण पेशामा सक्रिय भएर लागें’ पौडेल भन्छिन् ।
स्याङ्जामा जन्मेकी पौडेल, २०६१ सालबाट शिक्षण पेशामा प्रवेश गरेकी हुन्। महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा पहिलो नियुक्ति भएपश्चात उनले त्यहाँ १० वर्षसम्म स्वास्थ्य शिक्षा पढाइन् । दरबार हाई स्कुलमा भने उनी २०७१ सालमा स्थायी माध्यमिक तहकी शिक्षिकाका रूपमा नियुक्त भइन् । त्यहाँ उनले अर्थशास्त्र पढाउन थालिन्।
२०७६ मा पौडेल विद्यालयको सहायक प्रधानाध्यापक नियुक्त भइन् । त्यतिबेला दरबार हाई स्कुलमा जम्मा जम्मा ७१ जना विद्यार्थी मात्र थिए । २०७८ मा कोभिड–१९ महामारीले चरम रूप लिएको समयमा, अधिकार र जिम्मेवारीहरू सीमित राखेर उनलाई प्रधानाध्यापक नियुक्त गरिएको थियो । उनकै नेतृत्वमा विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुन थालेको थियो।
कोभिड-१९ ले निम्त्याएको चुनौतीहरूका बाबजुद विद्यालयले अतिरिक्त क्रियाकलापको पक्षलाई सुदृढ बनाउँदै गयो। विद्यालयले कोभिड–१९ को प्रभावबारे राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गर्यो र रोबोटिक्स ल्याब पनि स्थापना गर्यो।
सार्वजनिक विद्यालयको पुनरुत्थान
दरबार हाई स्कुल रोबोटिक्स कक्षा सुचारू गर्ने नेपालकै पहिलो सरकारी विद्यालय बन्यो । साथै, रोबोटिक्स कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न प्रतियोगितामा सफलता हासिल गरे । यहाँका विद्यार्थीहरू नेपाल बाहिरका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा समेत सहभागी भए ।
यसैबीच, २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको विद्यालय भवनको पुनर्निर्माण कार्य पनि सम्पन्न भयो । काठमाडौं महानगरपालिकाको सहकार्यमा कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरियो र भौतिक कक्षा पुनः सञ्चालन भएपछि विद्यार्थी संख्या बढेर ३५० पुग्यो।
शैक्षिक गुणस्तर सुधारिँदै जाँदा दरबार हाई स्कुलले सर्वसाधरणको ध्यानाकर्षण गर्यो । आफ्ना छोरोछोरी निजी विद्यालयमा पढाइरहेका अभिभावकहरूले बिस्तारै दरबार हाई स्कुल रोज्न थाले । यो नेपाली शिक्षण क्षेत्रमा भएको अहिलेसम्मकै एउटा दुर्लभ परिवर्तन हो ।

पौडेलकै नेतृत्वमा विद्यालयको क्यान्टिन र सुरक्षा प्रणालीमा पनि सुधार गरियो । हाल विद्यालयमा १०९५ विद्यार्थी छन् । अहिलेको विद्यार्थी संख्या व्यवस्थापन गर्नु प्रअ पौडेलका लागि चुनौती बन्न पुगेको छ ।
हाल संस्कृत माध्यमिक विद्यालय पनि एकै भवनभित्र सञ्चालन भइरहँदा थप चुनौती देखिएको छ । संस्कृत माध्यमिक विद्यालयमा मात्र करिब ९०० विद्यार्थी छन्।
‘एउटै भवनमा दुई फरक संस्था सञ्चालन हुँदा कहिलेकाहीँ विद्यार्थी र शिक्षकबीच मतभेद हुनु स्वभाविक हो’ पौडेल भन्छिन्, ‘तर त्यस्तो अवस्थामा म स्वयम् चाहिँ विशेष रूपमा संवेदनशील हुनुपर्छ ।’
भीडका कारण विद्यालयले टिफिन ब्रेक समेत पटक-पटक सञ्चालन गर्नुपरेको छ, जसले कहिलेकाहीँ अव्यवस्था निम्त्याउछ । यो समस्याको समाधानका लागि प्रयास भइरहेको उनी बताउँछिन्।
भविष्यका कक्षाकोठाहरू
विद्यार्थी संख्या हरेक वर्ष बढ्दै गइरहे पनि विद्यालयमा शैक्षिक स्रोतसाधन सीमित छन् । यद्यपि, हाललाई भने अभिभावकको सहयोगमा विद्यालयले थप कर्मचारी नियुक्त गर्न सकेको छ ।
शिक्षक अभाव हुन नदिन विद्यालयले हालसालै ‘टिचर्स बैंक’ नामक नवीन योजनाको थालनी गरेको छ । यस अवधारणा अन्तरगत वैकल्पिक शिक्षकहरूको समूह निर्माण गरिन्छ। उदाहरणका लागि, कुनै शिक्षक एक हप्ता वा सोभन्दा बढी समय कक्षा लिन नसक्ने हुँदा, टिचर्स बैंकमा सूचीकृत शिक्षकहरूलाई सम्पर्क गर्न सकिन्छ ।
यसका लागि विद्यालयले सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिलाई सहभागी हुन आह्वान गर्छ । सार्वजनिक सूचना पश्चात, उनीमाथि धेरै प्रश्नहरू आए । अहिले भने यो सम्पूर्ण प्रक्रिया उनी स्वयंले व्यवस्थापन गरिरहेकी छिन्।
पौडेलको पदावधि ४ वर्ष लामो हुनेछ । अनलाइनखबरसँगको कुराकानीमा उनले आफ्नो कार्यकाल भरिमा पूरा गर्ने लक्ष्य राखेका योजनाहरू सेयर गरिन् ।

विद्यार्थीको प्राविधिक दक्षता बढाउनु उनको पहिलो प्राथमिकतामा छ । तसर्थ उनी विद्यालयको प्रविधिगत क्षमता सुदृढ बनाउन प्रयासरत रहने छिन् । विद्यालयमा थप ऐच्छिक विषयहरू राख्ने उनको योजना हो । उनी खेलकुदलाई पनि विशेष प्राथमिकतामा राख्न चाहन्छिन् । साथै, विद्यार्थीको वक्तृत्वकला क्षमताको विकास गर्ने र रोबोटिक्स कार्यक्रमको गुणस्तरमा थप सुधार ल्याउनु उनको लक्ष्य छ।
‘म दरबार हाई स्कुललाई यस्तो विद्यालय बनाउन चाहन्छु जहाँका विद्यार्थीहरू आत्मविश्वासी, सीपयुक्त र परीक्षामा मात्र नभई जीवनका अन्य क्षेत्रमा पनि प्रतिस्पर्धा गर्न सक्षम होउन्’ पौडेल भन्छिन्।
प्रतिक्रिया 4