+
+
Shares

एआई धेरै प्रयोग गर्ने बानीले बनाउँदैछ दिमाग कमजोर

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले गरेको अध्ययनले च्याटजीपीटी प्रयोग गर्दा मस्तिष्कको संज्ञानात्मक गतिविधि सुस्त भएको देखाएको छ।
  • कार्नेगी मेलोन विश्वविद्यालय र माइक्रोसफ्टको अध्ययनले एआईमा अत्यधिक निर्भरता हुँदा आलोचनात्मक सोच कमजोर हुने पत्ता लगाएको छ।
  • अक्सफोर्ड युनिभर्सिटी प्रेसको अध्ययनले ६० प्रतिशत विद्यार्थीमा एआई प्रयोगले शैक्षिक क्षमतामा नकारात्मक असर परेको देखाएको छ।

तपाईंले पछिल्लोपटक कुनै एआई च्याटबोटलाई केही काम गर्न भन्नुभएको थियो ? सायद तपाईंले त्यसलाई कुनै जटिल प्रश्नको उत्तरका लागि निबन्धको रूपरेखा बनाउन भन्नुभएको हुनसक्छ । अथवा कुनै ठूलो डेटा सेटको गहन विश्लेषण गर्न वा तपाईंले जागिरका लागि आवेदन गर्ने पत्र आफ्नो जागिरको विवरणसँग मिल्छ कि मिल्दैन भनेर जाँच गर्न पनि अह्राएको हुन सक्छ ।

यसरी एआई च्याटबोटबाट आफूले चाहेको काम क्षणभरमा गराउन पाउँदा निकै मज्जा लाग्छ । तर यो शुभसंकेत भने होइन । वैज्ञानिकहरूका अनुसार यदि तपाईंले माथि उल्लेख गरिएजस्ता कामहरू आफैंले नगरेर एआईबाट गराउनुहुन्छ भने त्यो हानिकरक हुनसक्छ । यस्ता कामको जिम्मा एआईलाई दिँदा हाम्रो दिमागले कम मेहनत गर्न थाल्ने र त्यसबाट दिमाग भुत्ते बन्दै जाने वैज्ञानिकहरूको ठम्याइ छ।

दैनिक व्यवसायिक जीवनमा बौद्धिक तथा प्राज्ञिक हिसाबले आफैंले मेहेनत गर्नुपर्ने कामका लागि एआईको सहारा लिनाले मानिसको आलोचनात्मक सोच र समस्या समाधान गर्ने क्षमतामा पनि नकारात्मक असर पर्न सक्छ ।

केही महिनाअघि म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले प्रकाशित गरेको एक शोधले निबन्ध लेख्नका लागि च्याटजीपीटी प्रयोग गरेका व्यक्तिहरूमा संज्ञानात्मक प्रक्रियासँग सम्बन्धित मस्तिष्कको गतिविधि सुस्त भएको देखाएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार यसले सिकाइ क्षमतामा सम्भावित गिरावटको गम्भीर चिन्तालाई उजागर गरेको छ ।

यस अध्ययनमा ५४ जनालाई सहभागी गराइएको थियो र उनीहरूलाई एमआइटी र त्यस वरपरका विश्वविद्यालयहरूबाट छनोट गरिएको थियो । ती सहभागीहरूको मस्तिष्क गतिविधि रेकर्ड गर्नका लागि इलेक्ट्रोएन्सेफेलोग्राफीको प्रयोग गरिएको थियो । यस प्रक्रियामा टाउकोको छालामा इलेक्ट्रोडहरू जडान गरिन्छन्।

सहभागीहरूले एआईलाई निबन्धका प्रश्नहरूको सार तयार गर्ने, स्रोतहरू खोज्ने र भाषा तथा शैली सुधार्ने जस्ता कामहरू गराएका थिए।

एआईलाई विचारहरू उत्पन्न गर्न र तिनलाई व्यवस्थित गर्न पनि प्रयोग गरिएको थियो । यद्यपि केही प्रयोगकर्ताले त्यस्तो काममा एआई खासै प्रभावकारी नहुने धारणा राखेका थिए।

एआईले सहज बनाइदिन्छ उत्तरको खोजी

कार्नेगी मेलोन विश्वविद्यालय र एआई प्लेटफर्म कोपाइलट निर्माता कम्पनी माइक्रोसफ्टले गरेको एक अर्को अध्ययनले एआईमा आवश्यकता भन्दा बढी निर्भर हुने मानिसमा समस्या समाधान गर्ने बौद्धिक क्षमता कमजोर हुन सक्ने तथ्य पत्ता लगाएको छ।

उक्त अध्ययनका क्रममा शोधर्ताहरूले ३१९ जना बौद्धिक श्रम गर्ने कर्मचारीहरूमा सर्भेक्षण गरेका थिए । ती कर्मचारीहरूले आफ्नो कामको क्रममा हप्तामा कम्तीमा एक पटक एआई प्रविधिको प्रयोग गर्थे ।

त्यसक्रममा उनीहरूलाई एआई प्रयोग गर्दा आलोचनात्मक सोच कसरी अपनाउनुहुन्छ ? भनेर सोधियो। साथै सो अध्ययनमा एआईलाई दिइएका ९00 वटा फरक–फरक कार्यहरूको विश्लेषण गरिएको थियो । जसमा नयाँ निष्कर्ष निकाल्नका लागि डाटाको विश्लेषण गर्नेदेखि लिएर कुनै काम गर्दा तोकिएका नियमहरूमा खरो उत्रन्छ कि उत्रँदैन भन्ने जाँच पनि समावेश थियो।

सो अध्ययनले के देखायो भने- एआईको क्षमतामा बढी भर पर्ने मानिसहरूले आलोचनात्क चेतको प्रयोग कम गर्छन् ।

शोधकर्ता भन्छन्– हुनत जेनेरेटिभ एआईले कामको दक्षता बढाउन सक्छ । तर यसले कामसँग जोडिएको मानिसको गहन सोचलाई अवरुद्ध गर्न सक्छ । लामो समयसम्म एआई प्रविधि र उपकरणमा अत्यधिक निर्भर हुँदा मानिसको समस्या समाधान गर्ने क्षमतामा कमी आउन सक्छ ।

यस्तै प्रकारको अर्को अध्ययन बेलायतमा स्कूले बालबालिकामाथि पनि गरिएको थियो । उक्त शोध गत अक्टोबरमा अक्सफोर्ड युनिभर्सिटी प्रेसले प्रकाशित गरेको थियो। सो अध्ययनले ६० प्रतिशत विद्यार्थीमा एआईको प्रयोगले उनीहरूको शैक्षिक क्षमतामा असर पारेको देखायो ।

उल्लिखित अध्ययनहरूले डरलाग्दो परिदृश्य उदांगो पारिदिएका छन् । एआईको तीव्र रूपमा बढ्दो प्रयोगबीच एउटा टड्कारो प्रश्न उठेको छ । के एआइले हाम्रो संज्ञानात्मक अर्थात कग्नेटिभ क्षमतालाई कमजोर बनाउँदै छ ?

अक्सफोर्ड युनिभर्सिटी प्रेसकी जेनरेटिभ एआई विशेषज्ञ तथा शोधकर्ता डा. एलेक्जेन्ड्रा टोमेस्कु भने सबैमा यस्तै लागू हुनैपर्छ भन्ने नरहेको दाबी गर्छिन् । उनका अनुसार ९० प्रतिशत विद्यार्थीले एआई प्रयोगले उनीहरूको कम्तीमा एउटा शैक्षिक क्षमतामा सुधार गरेको बताएका छन् । तर एक चौथाइले चाहिँ एआईको प्रयोग जटिल रहेको भन्दै त्यसको सही प्रयोगका विषयमा मार्गदर्शन चाहेका छन् ।

च्याटजीपीटीका प्रमुख स्याम अल्टम्यानका अनुसार च्याट जिपिटीका साप्ताहिक प्रयोगकर्ताको संख्या ८० करोडभन्दा बढी छ । च्याटजीपीटीले विद्यार्थीहरूका लागि १०० वटा प्रम्प्टहरूको एउटा सेट पनि जारी गरेको छ ताकि उनीहरूले यो प्रविधिको राम्रो उपयोग गर्न सकून्।

तर विज्ञहरू भने विद्यार्थीहरूलाई एआई उपकरण प्रयोग गर्न प्रोत्साहित गर्नुअघि यसले सिकाइमा पार्ने असरबारे अझ धेरै व्यापक शैक्षिक अनुसन्धान गर्नु आवश्यक रहेको बताउँछन् ।

राम्रो नतिजा, तर सिकाइ कमजोर

विज्ञहरूले एआईको अत्यधिक प्रयोगका कारण समयक्रममा उसको क्षमता र सीप कमजोर बन्दै जाने अवस्थालाई कग्निटिभ एट्रोफी नामाकरण गरेका छन् । प्रोफेसर वेन होम्सका अनुसार बिरामीको जाँच गर्नुअघि एक्सरे विश्लेषणका लागि एआई उपकरणहरूमा भर पर्ने रेडियोलोजिस्टहरूमा त्यो समस्या देखिएको छ।

हार्वर्ड मेडिकल स्कुलले प्रकाशित गरेको एउटा अध्ययनमा एआईको सहयोगले केही चिकित्सकहरूको प्रदर्शन सुधारिएको तर केहीको प्रदर्शन भने कमजोर भएको देखिएको थियो।

आखिर मानिस र एआई कसरी एकअर्कासँग मिलेर काम गर्छन् भन्ने कुरा बुझ्न थप अनुसन्धानको आवश्यकता रहेको शोधकर्ताहरूको भनाई छ। यसले त्यस्ता विधिहरू विकास गर्न सकिनेछ जसले मानिसको प्रदर्शनलाई नोक्सान नगरी सुधार गर्नेछ।

कतिपय विज्ञको चिन्ता के छ भने स्कुल वा विश्वविद्यालयका विद्यार्थीहरू आफ्ना कामका लागि एआईमा आवश्यकता भन्दा बढी निर्भर हुन सक्छन्। यसले गर्दा उनीहरूले शिक्षाबाट प्राप्त हुने आधारभूत सीपहरू विकास गर्न नपाउने खतरा छ।

एआईको सहयोगले कुनै विद्यार्थीको निबन्धले राम्रो अंक त ल्याउन सक्छ । के उसले यथार्थमा उक्त विषयमा पर्याप्त बुझाइको विकास गरेको हुन्छ त ? विज्ञका अनुसार एआई प्रयोगले विद्यार्थीको नतिजा त राम्रै देखिन सक्छ तर वास्तवमा उनीहरूको सिकाइ कमजोर हुँदै गएको छ।

च्याटजीपीटीका अधिकारी के भन्छन् ?

च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईमा अन्तर्राष्ट्रिय शिक्षा विभागकी प्रमुख जयना देवानीका अनुसार कम्पनी यस्तो बहसप्रति पूर्णरूपमा सजग छ । विद्यार्थीहरूले आफ्ना कामहरू च्याट जिपिटीबाट गराउनुपर्छ भन्ने पक्षमा आफूहरू कत्ति पनि नरहेको उनी बताउँछिन् । उनका अनुसार च्याटजीपीटीको सर्वोत्तम प्रयोग ट्यूटरको रूपमा गर्नुपर्छ न कि सिधै उत्तर दिने उपकरणको रूपमा।

उनका अनुसार च्याट जिपिटीमा रहेको स्टडी मोड सेटिङ प्रयोग गरेर विद्यार्थीहरूले च्याटजीपीटीसँग प्रश्नोत्तर गर्न सक्छन् । विद्यार्थीले सोधेको प्रश्नलाई च्याट जिपिटीले एकैपटकमा पूरा उत्तर दिनुको साटो भाग-भागमा विभाजन गरेर बुझ्न सहज हुनेगरी उत्तर दिन्छ।

च्याटजीपीटीको प्रयोग लक्ष्योन्मुख भएर तथा सोच–विचार गरेर गरियो भने त्यसले सिकाइ प्रक्रियालाई तिव्रता दिने दाबी उनको छ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?