News Summary
Generated by OK AI. Editorially reviewed.- झाडापखालाको कारणहरू संक्रमण, जीवनशैली र औषधि सम्बन्धित हुन्छन् र वर्षातको समयमा बढी देखिन्छ।
- जीवनजलले झाडापखालाको डिहाइड्रेसन र इलेक्ट्रोलाइट्सको कमी पूर्ति गर्न मद्दत गर्दछ।
- नेपालमा बालबालिकामा झाडापखालाका कारण मृत्यु हुने संख्या उच्च छ र यसको रोकथाममा स्वच्छता र जीवनजलको प्रयोग आवश्यक छ।
झाडापखाला आम नेपालीले सुन्दै, देख्दै र भोग्दै आएको स्वास्थ्य समस्या हो । गर्मी मौसम सुरु भएपछि यो रोगले धेरै सताउन थाल्छ । केही दशकअघि सम्म यो नेपालमा धेरैको ज्यान लिने रोगका रुपमा रहेको थियो ।
अहिले त्यो अवस्थामा नरहे पनि गर्मी र वर्षातको समय सुरु भएपछि झाडाखपालाको समस्या थुप्रै व्यक्तिलाई देखिइरहेको हुन्छ ।
के हो झाडापखाला ?
झाडापखला एक आम स्वास्थ्य समस्या हो, जसमा दिसा पातलो र बारम्बार हुन्छ । यो अवस्थाले शरीरमा पानी र आवश्यक पोषक तत्त्वहरूको कमी गराउँछ, जसले गम्भीर अवस्थामा मृत्युसम्म निम्त्याउन सक्छ।
किन लाग्छ ?
झाडापखलाका कारणहरू बहुआयामिक हुन्छन्, जसमा संक्रामक, गैर-संक्रामक र जीवनशैलीसँग सम्बन्धित कारकहरू समावेश छन् । सूक्ष्म जीवाणुहरूले पाचन प्रणालीमा संक्रमण गराउँदा झाडापखाला हुन्छ ।
ईस्चेरिचिया कोलाई, साल्मोनेला, शिगेला, भिब्रियो हैजा जस्ता ब्याक्टेरियाले झाडापखला निम्त्याउँछ । यी ब्याक्टेरिया दूषित पानी, खाना वा अस्वच्छ वातावरणका कारण सर्छ ।
यसबाहेक रोटा भाइरसले पनि झाडापखाला गराउँछ । बालबालिकाहरूमा झाडापखलाको प्रमुख कारण हो रोटाभाइरस । नोरोभाइरस र हिपाटाइटिस ए झाडापखाला निम्त्याउँने अर्को कारक हो ।
जिआर्डिया लाम्ब्लिया र एन्टामोइबा हिस्टोलिटिका जस्ता परजीवीहरू दूषित पानी वा खानाबाट सर्छन् र झाडापखला उत्पन्न गर्छ।
यद्यपि कम सामान्य, केही फङ्गल संक्रमणले पनि पाचन प्रणालीलाई प्रभावित गरी झाडापखाला गराइरहेको हुन्छ ।
नेपालमा, विशेष गरी वर्षातको समयमा, दूषित पानी र खानाका कारण ब्याक्टेरियल र भाइरल झाडापखला बढी देखिन्छ । खुला दिसा, सरसफाइको कमी र स्वच्छ पानीको अभावले यस्ता संक्रमणहरू फैलिन्छन् ।
अन्य कारण
ब्याक्टेरिया, भाइरसको संक्रमणबाहेक अन्य विविध कारणले पनि झाडापखाला लाग्छ ।
खाना सम्बन्धी
पचाउन कठिन हुने खानेकुराहरू धेरै खाँदा पनि पखाला लाग्ने गर्छ । बिग्रिएको वा दूषित खानाले पाचन प्रणालीमा जलन पैदा गरेर झाडापखला हुन्छ।
औषधि
एन्टिबायोटिक्स, म्याग्नेसियमयुक्त औषधिहरू वा केमोथेरापी औषधिहरूले आन्द्राको सामान्य ब्याक्टेरियालाई असर गर्छ, जसले झाडापखला निम्त्याउँछ।
आन्द्रा सम्बन्धी रोगहरू
इरिटेबल बावेल सिन्ड्रोम, क्रोन्स रोग वा अल्सरेटिभ कोलाइटिस जस्ता जीर्ण रोगहरूले झाडापखाला उत्पन्न गर्छ।
मानसिक तनाव
कतिपय अवस्थामा मानसिक तनावले पाचन प्रणालीलाई प्रभावित गर्छ, जसले झाडापखला निम्त्याउन सक्छ।
ट्राभलर्स डायरिया
नयाँ ठाउँमा यात्रा गर्दा फरक तथा दूषित पानी र खानाले ‘ट्राभलर्स डायरिया’ निम्त्याउन सक्छ।
कमजोर प्रतिरक्षा प्रणाली
एचआईभी/एड्स वा क्यान्सर जस्ता रोगले प्रतिरक्षा प्रणाली कमजोर बनाउँदा झाडापखलाको जोखिम बढ्छ।
झाडापखलाका प्रभावहरू
डिहाइड्रेसन (पानीको कमी) : बारम्बार दिसा र बान्ताले शरीरबाट पानी र इलेक्ट्रोलाइट्स (जस्तै सोडियम, पोटासियम) घटाउँछ, जसले डिहाइड्रेसन निम्त्याउँछ।
पोषक तत्त्वको कमी : झाडापखलाले शरीरले खानाबाट पोषक तत्त्वहरू अवशोषण गर्न सक्दैन, जसले कुपोषणको जोखिम बढाउँछ ।
गम्भीर जटिलताहरू : लामो समयसम्म झाडापखला भएमा मिर्गौलासम्बन्धी समस्या, रक्तचापमा कमी र मृत्युसम्म हुन सक्छ ।
बालबालिकामा जोखिम : नेपालमा प्रत्येक वर्ष हजारौँ बालबालिकाहरू झाडापखलाकै कारण मृत्युको शिकार हुन्छन् ।
झाडापखला लाग्दा किन जीवनजल खाइन्छ ?
झाडापखाला लाग्नेबित्तिकै जीवनजल खानुपर्छ भन्ने प्राय सबैलाई थाहा भएको कुरा हो । झाडापखालाको उपचारमा जीवनजलको सेवन एक प्रभावकारी उपचार मानिएको छ ।
विश्व स्वास्थ्य संगठनले पनि यसलाई सिफारिस गरेको छ । झाडापखलाका कारण डिहाइड्रेसन हुने र इलेक्ट्रोलाइट्सको कमी हुन्छ । जीवनजलको सेवनले यसलाई पूर्ति गर्ने काम गर्छ ।
यसमा कसरी गर्छ त जीवनजलले ?
जीवनजलको संरचना र कार्य
जीवनजलमा पानी, ग्लुकोज (चिनी), सोडियम, पोटासियम र क्लोराइड जस्ता इलेक्ट्रोलाइट्सको सन्तुलित मिश्रण हुन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक लिटर जीवनजल तयार गर्दा त्यसमा २.६ ग्राम सोडियम क्लोराइड, २.९ ग्राम ट्राइसोडियम साइट्रेट डाइहाइड्रेट, १.५ ग्राम पोटासियम क्लोराइड र १३.५ ग्राम ग्लुकोज हुनुपर्छ ।
कुन तत्त्वले के काम गर्छ ?
पानी : शरीरमा हराएको तरल पदार्थको पूर्ति गर्छ।
ग्लुकोज : आन्द्रामा सोडियम र पानीको अवशोषणलाई सहज बनाउँछ । ग्लुकोज र सोडियमको संयोजनले आन्द्राको कोशिकाहरूलाई पानी र इलेक्ट्रोलाइट्स अवशोषण गर्न मद्दत गर्छ।
सोडियम र पोटासियम : शरीरमा इलेक्ट्रोलाइट्स सन्तुलन कायम राख्छ, जसले मांसपेशी, स्नायु र मुटुको कार्यलाई सामान्य राख्छ।
क्लोराइड : इलेक्ट्रोलाइट्स सन्तुलनमा सहयोग गर्छ ।
जीवनजल कसरी र कति खाने ?
बालबालिकाका लागि प्रत्येक दिसा पछि ५०-१०० मिलिलिटर जीवनजल दिनुपर्छ। २ वर्षमुनिका बालबालिकालाई चम्चाले थोरै-थोरै दिने। वयस्कका लागि प्रत्येक पटक दिसा भएपछि २०० देखि २५० मिलिलिटर वा आवश्यकता अनुसार दिनुपर्छ ।
प्रतिक्रिया 4