+

स्वास्थ्यकर्मीलाई गाउँ छिर्नै नदिएपछि सुटुक्क ‘कमरेडहरू’लाई भेट्न जाँदा

२०८२ वैशाख  २५ गते २२:०५ २०८२ वैशाख २५ गते २२:०५

उनलाई राखिएको एउटा गोठ थियो माओवादीको सेल्टर । बाख्रा, कुखुरा पालिएका थिए । ‘ओहो ! कति धेरै गन्हाउने’ त्यो सम्झिएर डा.झलक अहिले पनि नाक खुम्च्याउँछन् ।

स्वास्थ्यकर्मीलाई गाउँ छिर्नै नदिएपछि सुटुक्क ‘कमरेडहरू’लाई भेट्न जाँदा

२०६१ साल असार महिना, जतिबेला माओवादीको सशस्त्र संघर्ष उत्कर्षमा थियो । डा.झलक गौतमलाई यही समय रुकुमको मोर्चा सम्हाल्ने जिम्मेवारी आइलाग्यो । उनी कमाण्डर तोकिए, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको नेतृत्व गर्नका लागि ।

रोल्पा, रुकुम भन्नेबित्तिकै अहिले पनि अधिकांशको दिमाग झट्ट आइहाल्ने कुरा हो ‘माओवादी’ बिद्रोह’ । करिब एक दशक चलेको त्यो बिद्रोह यिनै जिल्लाबाट सुरु भएको थियो ।

त्यो समय रुकुम भनेपछि सरकारी कर्मचारीहरू सकेसम्म तर्किने गर्थे । त्यहाँ सरुवा गरियो वा काजमा खटाइयो भने अनेक बहाना बनाएर उम्किँन्थे । तर, उनले स्वास्थ्य मन्त्रालयले दिएको जिम्मेवारी कुनै आनाकानी नगरी स्वीकार गरे ।

चुनौती र अप्ठ्याराका माझमा आशा पनि थियो, अरु जान नमानेको ठाउँमा गएर काम देखाउने, आफूलाई प्रमाणित गर्ने ।

‘इमान्दार भएर स्वास्थ्य सेवा दिने हो, माओवादीले के नै गर्लान् र ? यही सोचेँ त्यो बेला’ डा.झलक भन्छन् ।

जिल्ला अस्पतालको मेसु अनि स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी लिएर उनी हान्निए रुकुम खलंगा ।

रुकुमका गाउँ-गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्न जाँदा २०६१ सालमा डा झलक गौतम ।

तारबारभित्र सदरमुकाम

त्यो समय रुकुममा दुईवटा सरकारको हुकुम चल्थ्यो । सदरमुकाम खलंगामा श्री ५ को सरकार, त्यहाँ भन्दा बाहिरको क्षेत्रमा माओवादीको ‘जनसरकार’ ।

सदरमुकाम खलंगा बजार तारबारको घेराभित्र थियो ।

साँझ परेपछि तारबारको ढोका बन्द हुन्थ्यो । भोलिपल्ट बिहान ५ बजेतिर मात्रै त्यो बन्द ढोका खोलिन्थ्यो । यस बीचमा कसैलाई अप्ठ्यारो परेर कतै जानुपर्दा सुरक्षाकर्मीमार्फत प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपछि मात्र तारबारको गेटबाट बाहिर निस्कन पाइन्थ्यो ।

साँझ परेपछि एक खालको कर्फ्यू नै लाग्थ्यो । सुरक्षाकर्मीको अनुमति बेगर हिँडडुन गर्न पाइँदैनथ्यो ।

स्वास्थ्य कार्यालय र अस्पताल भने तारबारको घेराबाहिर अलि माथि थियो । खलंगा बजारबाट पैदल हिँड्दा ४०–४५ मिनेटको दूरीमा ।

तल सदरसुकामको तनाव र दबाबले खासै असर गर्दैनथ्यो । अस्पताल नजिकै एयरपोर्ट थियो । त्यसैले त्यहाँ पनि सेनाको निगरानी चाहिँ भइरहन्थ्यो ।

यातायातका लागि बस चल्ने बाटो खुलेकै थिएन । काठमाडौंबाट हप्तामा दुई पटक र नेपालगन्जबाट दिनहुँ जसो खलंगा एयरपोर्ट विमान आउने–जाने गर्थ्यो । चौरजहारी एयरपोर्टमा पनि विमान आउँथ्यो ।

सञ्चारको नाममा जिल्ला विकास समितिमा एउटा ल्याण्डलाइन फोन थियो । त्यसमा लाइन बसेर पालो कुरेर फोन गर्नुपर्थ्यो । फोनमा गोप्य कुरा गर्ने चान्स नै थिएन । सबैका अगाडि सामान्य सन्चोबिसन्चो सोध्ने मात्रै हो ।

त्यो बेलाको अस्पताल

जिल्ला अस्पताल १५ बेड क्षमताको थियो । तर, प्राय ३०–३५ जनासम्म बिरामी भर्ना भइरहेका हुन्थे ।

सरुवा रोगबाट प्रभावित, सुत्केरी र लडेर, तथा कुनै दुर्घटनामा परेर चोटपटक लागेका बिरामी धेरै आउँथे ।

सुताउने बेड नपुग्दा भुइँमा समेत राखेर उपचार गरिन्थ्यो । दिनमा करिब ३०० जना जति बिरामीको ओपीडीमा जाँच हुन्थ्यो ।

द्वन्द्वग्रस्त क्षेत्र भएकाले सीमाबिहीन चिकित्सक(एमएसएफ) भन्ने संस्थाको सहयोग थियो ।

अस्पतालमा बिरामी जाँच गर्दै डा. झलक गौतम ।

यो संस्थाले चिकित्सकसहित केही जनशक्ति अस्पताललाई दिएको थियो । उपकरण र औषधि पनि । धेरै गम्भीर खालका बिरामीलाई नेपालगन्ज वा काठमाडौं पठाउनु परेको खण्डमा हेलिकप्टरको भाडासमेत त्यो संस्थाले तिरिदिन्थ्यो ।

हवाइ यातायातमा स्वास्थ्य कार्यालयको सिफारिसमा बिरामीका लागि २ सिट छुट्याइएको थियो । स्वास्थ्य कार्यालय र हवाइ निकायसँग त्यो खालको समझदारी थियो । स्वास्थ्य कार्यलयलाई सोधेर अन्तिममा मात्रै त्यो आरक्षण सिट अरुलाई दिइन्थ्यो ।

स्वास्थ्यकर्मीबिहीन गाउँ

त्यो समय रुकुममा जिल्ला अस्पतालसहित ४२ वटा स्वास्थ्य संस्था थिए । जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको त्यति खाँचो थिएन।

गाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको व्यापक अभाव थियो । लगभग उपस्थिति शून्य थियो भन्दा पनि हुन्छ । उत्तरपूर्वी रुकुम, जुन अहिले पूर्वी रुकुम भनेर छुट्टै जिल्ला बनेको छ, त्यो क्षेत्रका स्वास्थ्य संस्था खालीखाली थिए ।

डा.झलकले स्वास्थ्य मन्त्रालयसँग दरबन्दी अनुसारको स्वास्थ्यकर्मी माग गरे । केही महिनापछि २०–२२ जना स्वास्थ्यकर्मी मन्त्रालयले रुकुम पठायो । त्यसमध्ये १८ जनालाई रुकुमको उत्तरपूर्वी क्षेत्रका स्वास्थ्य संस्थामा पठाए ।

तर माओवादीले उनीहरूलाई कार्यक्षेत्र जानै दिएनन्, सदरमुकाम फिर्ता गरिदिए ।

अनि ‘जनसरकार’को सम्पर्कमा

स्वास्थ्यकर्मीलाई गाउँ किन नपठाएको, भन्ने माथिको दबाब, यता बिद्रोहीले जानै दिँदैनन् । माओवादीले फिर्ता पठाएका स्वास्थ्यकर्मीलाई सदमुरकाम राखेको ५–६ महिना भइसकेको थियो ।

उनीहरूलाई कसरी गाउँ पठाउने ? यही मार्गको खोजीमा निकै समय रुमल्लिए डा‍.झलक । बिद्रोही माओवादीका नेतासँग भेटेर वार्ता गर्न शुत्रको खोजीमा लागे । उनीहरूसँग निकट सम्बन्ध रहेका स्वास्थ्यकर्मीको पहिचान गरे अनि भेट्न चाहेको खबर पठाए।

उनको प्रस्ताव स्वीकार भयो । माओवादीका जिल्ला नेताले भेट्न बोलाए ।

जिम्मेवार तहमा रहेको एक सरकारी कर्मचारी, सरकारको निशानामा रहेका बिद्रोहीलाई भेट्न जानु कम्ता चुनौतीपूर्ण थिएन ।

प्रशासन र सुरक्षाकर्मीले चाल पाए भने अर्कै लफडा आइलाथ्यो । प्रशासनलाई शंका समेत हुनुहुँदैनथ्यो ।

डा‍. झलकलाई सम्झना भएअनुसार २०६२ साल मंसिरको एक दिन जनसत्ता चलाउने ‘बिद्रोही कमरेडहरू’ लाई भेट्न उनी बिहानको राति क्वाटरबाट निस्किए कसैले चाल नपाउने गरी ।

साथमा थिए माओवादीसँग भेट्न सम्पर्क शुत्रका रुपमा काम गरेका उनी मातहतकै एक स्वास्थ्यकर्मी ।

निस्कँदा बिहानको साढे ३ बजेको थियो । सदरमुकाम आसपासका गाउँलेहरू दूध, तरकारीहरू लिएर सदरमुकामतिर आइरहेका भेटिन्थे बाटोमा । दिपक विष्ट नाम गरेका ती अहेबले सुरक्षाकर्मीहरू नहिँड्ने गोप्य बाटो प्रयोग गर्दै करिब बिहानको ७ बजेतिर सिम्ली भन्ने ठाउँमा पुर्‍याए ।

पूर्वसर्त अनुसार त्यहाँ डा.झलकलाई माओवादीको जिम्मा लगाएर दिपक निस्किए ।

एउटा गोठ थियो माओवादीको सेल्टर । बाख्रा, कुखुरा पालिएका थिए । ‘ओहो ! कति धेरै गन्हाउने’ त्यो सम्झिएर डा.झलक अहिले पनि नाक खुम्च्याउँछन् । दिनभर उनीहरूले जहाँ राखे त्यहीँ बसे, एक्लै । खाजाको रुपमा मकैभटमास पाए । एक गिसाल चिया पनि ।

साँझ परेपछि माओवादीका एक व्यक्ति आएर भने, ‘लु जाऊँ ।’

डा. झलक लुरुलुरु तिनको पछि लागे । करिब डेढ घण्टा हिँडेपछि भेरी पारीको एक गाउँमा पुगियो । त्यहीँ भेटिए माओवादीका जिल्ला नेता गोपाल शर्मा, जसलाई भेट्न डा.झलक आएका थिए ।

उनीसँग अरू केही नेता पनि थिए । स्वास्थ्यका जिल्ला कमाण्डर र बिद्रोहीका कमाण्डरबीच केही कुरामा छेडछाड पनि भयो ।

डा.झलकले स्वास्थ्यकर्मीलाई गाउँमा जान नदिनुका कारण डा.झलकले सोधे ।

उनीहरूले त्यसको कारण प्रष्ट्याए ।

जतिबेला डा.झलकले स्वास्थ्यकर्मीलाई गाउँमा खटाए, त्यो समय माओवादीका ठूला नेताहरू माओवादी वृत्तमा चर्चित ‘चुनबाङ बैठक’को तयारीका लागि रुकुममै रहेछन् ।

माथिबाटै उनीहरूको इलाकामा छिर्नेलाई कडा निगरानी गर्न भनिएको रहेछ ।

‘हामीसँग सम्पर्क नगरीकन किन पठाएको ?’ उनीहरूले डा. झलकसँग प्रष्टिकरण खोजे ।

स्वास्थ्यकर्मीको नियुक्ति पत्रमा ‘श्री ५ को सरकारको निर्देशन बमोजिम काम गर्छु’ भन्ने उल्लेख थियो । त्यो वाक्यमा उनीहरूको गम्भीर आपत्ति थियो ।

‘हाम्रो जनसत्ता चलेको ठाउँ हो, श्री ५ को सरकार अनुसार होइन हाम्रो सरकारको निर्देशन अनुसार काम गर्नुपर्छ’ बिद्रोही कमाण्डर कड्किए ।

अब के गर्ने त ?

केही समयको छलफलपछि समझदारी बन्यो ।

त्यो क्षेत्रमा जाँदा माओवादीको सिफारिसमा मात्रै कर्मचारी खटाइने । उनीहरूको कुनै कुरा गर्न नपाइने । जनसरकारलाई सघाउनु पर्ने, उनीहरूको निर्देशक अनुसार काम गर्नुपर्ने ।

अनि नियुक्ति पत्रमा लेखिएको ‘श्री ५ को सरकारको निर्देशकअनुसार काम गर्छु’ भन्ने वाक्य हटाउनुपर्ने ।

डा. झलकले उनीहरूका सर्तमा धेरै प्रतिवाद गरेनन्, जसरी पनि स्वास्थ्यकर्मीलाई गाउँ पठाउनै थियो ।

छुट्टिने बेलामा गोपाल शर्माले माथिल्ला नेताहरू समक्ष यो कुरा पुर्‍याएर केही दिनमै हुन्छ कि हुँदैन भन्ने खबर गर्ने आश्वासन दिए।

माओवादी नेता भेटाउन लिएर गएका दिपकको घर त्यतै नजिकै रहेछ । उनलाई बोलाइयो अनि डा.झलकलाई उनकै जिम्मा लगाएर पठाइयो । त्यस रात दिपककै घरमा सुतेर उनीहरू अघिल्लो दिन जस्तै बिहानको राति नै सदरमुकामका लागि निस्किए । बिहानै अरु सहकर्मीहरू नउठ्दै डा.झलक क्वाटरमा पुगिसकेका थिए ।

अघिल्लो दिन एक्कासी हराएको मान्छे, भोलिपल्ट बिहानै देख्दा सबै अवाक्क ! परे । डा.झलक कसैलाई खबर नगरी गायब भएपछि त्यो कुरा सिडियोसम्म पुगेछ । चासो व्यक्त गरेका थिए ।

‘एउटा गाउँको स्वास्थ्य संस्थामा निरीक्षण गर्न गएको थिएँ, काम सकेर फर्किँए’ भनेर उनले बाहना बनाए । हराए भनिएका व्यक्ति सकुसल देखेपछि धेरै केरकार पनि भएन ।

गाउँबाट निस्कन माओवादीको पास

डा.झलकले नेतासँग भेटेर फर्किएको करिब महिनापछि माओवादीले खबर पठाए, ‘ल स्वास्थ्यकर्मीलाई गाउँ पठाउनू ।’

अनि नियुक्ति पत्रअनुसार तोकिएको ठाउँमा स्वास्थ्यकर्मी पठाइयो । स्वास्थ्यकर्मी गाउँ जान त पाए तर थुप्रै अप्ठ्याराहरू थिए ।

जनसत्ताका मान्छेले दिएको पास र अनुमतिबिना स्वास्थ्य संस्था छाडेर बाहिर जान पाइँदैनथ्यो । जिल्लातिर बैठक, तालिम सञ्चालन गर्दा माओवादीको जनसरकारसँग अनुमति लिएर मात्रै उनीहरूको इलाकाबाट निस्कन पाइन्थ्यो ।

गाउँका जनसरकार प्रमुखले लिखित पास बनाइदिन्थे । कहाँ जाने, के कामका लागि जाने, कति दिनपछि फर्कने ? सबै कुरा पासमा लेखिएको हुन्थ्यो ।

लिखित पासबिना हिँडे माओवादीको कारबाही भोग्नुपर्थ्यो, त्यो सुरक्षाकर्मीले भेटे भने पनि समस्या हुन्थ्यो । दोहोरो चेपुवामा थिए स्वास्थ्यकर्मीहरू ।

यही कारण जतिसक्दो चाँडो ती ठाउँबाट सरुवा हुन पाए हुने भन्ने मनस्थिति स्वास्थ्यकर्मीहरूको हुन्थ्यो ।

गाउँका स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यकर्मीले माओवादीले लगेको ठाउँमा गएर उनीहरूका मान्छेको उपचार गरिदिनुपर्ने हुन्थ्यो । माग गरेबमोजिमको स्वास्थ्य संस्थामा रहेका औषधि दिनुपर्थ्यो । कर्मचारीले नियमित लेबी दिनुपर्ने दबाब थियो । ‘त्यो कुरालाई स्वीकार गरेरै स्वास्थ्यकर्मीहरू फिल्डमा खटिएका हुन्थे’ डा.झलक सुनाउँछन् ।

जिल्लामा भित्रिएका औषधिहरू बिद्रोहीले प्रयोग गरेको सुइँको प्रशासनले पायो । अनि, स्वास्थ्य कार्यालयको सिफारिस र अनुमतिमा मात्रै औषधि भित्र्याउन पाउने नियम लगाइएको थियो । निजी औषधि पसलहरूले औषधि भित्र्याउँदा पनि स्वास्थ्य कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्थ्यो ।

स्वास्थ्यकर्मी नै भूमिगत

जिल्लामा काम गर्ने थुप्रै स्वास्थ्यकर्मीले माओवादीमा आस्था राख्ने कुरा डा.झलकलाई थाहा थियो । केही स्वास्थ्यकर्मीहरू जागिर नै छाडेर माओवादीको ‘होलटाइमर मिलिसिया’ बनेर पनि हिँडे । त्यो खबर प्रशासनमा पनि पुग्यो ।

तुरुन्त सेवाबाट बर्खास्त गर्न डा.झलकलाई दबाब आयो । उनले सुरुमा काममा फर्कन भनेर मौखिक आग्रह गरे । पछि गोरखापत्रमा सूचना निकाले । त्यो सूचना निकालेपछि उनलाई धम्की पनि आयो । त्यसपछि सेवाबाट हटाउने थप प्रक्रिया अगाडि बढाएनन् ।

त्यसको केही महिनापछि २०६२/२०६३ को आन्दोलन सुरुभयो । आन्दोलन सफल हुनेबित्तिकै हतियार बिसाएर माओवादी शान्ति प्रक्रियामा आयो ।

ती स्वास्थ्यकर्मी फेरि काममा जोडिए । तिनै मध्येका एक अहिले जागिरमा पेन्सन पकाएर पुनः पार्टीमा सक्रिय भई स्थानीय जनप्रतिनिधि निर्वाचित भएको डा.झलकले सुनेका छन्।

माओवादी नेतृलाई सर्पले टोक्दा

एकदिन बिहान पूरा उज्यालो नहुँदै चिनजानकै एक माओवादी नेतृ क्वारटमा आइन् । उनी डा.झलकलाई अंकल भन्थिन् । उनले सुनाइन्–लौन अंकल मलाई सर्पले टोक्यो ।

राति सेल्टरमा सुतेको ठाउँमा सर्पले टोकेछ । हेर्दा टोकेको दाग देखिए पनि अवस्था सामान्य थियो । विष नभएको सर्पले टोकेको होला भन्ने लाग्यो ।

एकछिन बस्दै गर्नू भनेर डा.झलक नुहाउन बाथरुम छिरे । नुहाएर निस्कँदा त उनी अर्धचेत भइसकिछिन् । तत्काल अरु स्वास्थ्यकर्मीलाई समेत बोलाएर झुण्ड्याउँदै अस्पताल लगियो । निकै समयपछि उनको होस आयो । केहीदिन अस्पतालमै राखेर उपचार गरियो ।

अस्पताल बाहिर सेना र प्रहरीको बाक्लै उपस्थिति थियो ।  बिद्रोही नेतृ भएको थाहा पाएर हो वा होइन उनीहरूले सोधेनन् पनि ।

अस्पताल र प्रशासनको एउटा समझदारी थियो–उपचार गरेकै अवस्थामा कसैलाई पक्राउ नगर्ने, अस्पताल हाताभित्र हतियार लिएर पस्न नपाइने, उपचारमा कुनै अवरोध गर्न नपाइने ।

उपचार भइसकेपछि ती नेतृले भनेकै समयमा डा.झलकले डिस्चार्ज गरिदिए ।

पछि त्यो थाहा पाएर सुरक्षाकर्मीले घुमाउरो तरिकाले व्यंग्य गरे । ‘ठिकै छ, अस्पतालमा सर्पले टोकेका बिरामीको पनि उपचार हुँदोरहेछ भन्ने थाहा पायौँ खुसी लाग्यो’ सुरक्षाकर्मीले डा.झलकलाई भनेका थिए।

डरलाग्दा शव

त्यो समय यस्तो थियो, जिल्लामा कुनै पक्षबाट मान्छे नमारिएको दिन कमै हुन्थ्यो । दुईपक्ष भिडन्त भएर यति मारिए, उति मारिए भन्ने खबर आइरहन्थ्यो ।

कहिले सुरक्षाकर्मीले गिरफ्तार गरेर मार्‍यो भन्ने सुनिन्थ्यो । कहिले बिद्रोही पक्षले कसैलाई भौतिक कारबाही गर्‍यो भन्ने घटना सुनिन्थ्यो ।

यसरी मारिएका व्यक्तिको सुरु–सुरुमा पोस्टमार्टम पनि गर्नुपर्थ्यो । पछि त्यस्ता शव जिल्लामा ल्याउनै छाडियो । पोस्टमार्टम पनि गर्नै छाडियो ।

पोस्टमार्टमका लागि ल्याइएका कतिपय शवहरू निकै विभत्स हुन्थे ।

बम पड्किएर शरीर क्षतविक्षेत भएका, कतिपयको शरीर धारिलो हतियार प्रहार गरी छियाछिया बनाइएका, कसैको शरीरमा कुनै अंग नै नभएका । डा.झलकलाई त्यो कल्पना गर्दा अहिले पनि जिउ सिरिङ्ग हुन्छ ।

उनी ती दिन सम्झिन्छन्, ‘हेर्दा दिमाग नै खल्बलिने खालका हुन्थे । डरलाग्दा शवको पोस्टमार्टम गरेको दिन रातभर निदाउनै सकिँदैनथ्यो’

जिल्ला अस्पताल रुकुम स्वास्थ्य सेवा
लेखक
केदार गौतम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय