+

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

२०८२ वैशाख  २३ गते १८:४७ २०८२ वैशाख २३ गते १८:४७
Shares
बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बच्चाहरूमा देखिने सबैभन्दा बढी दीर्घकालीन समस्या मध्ये एक हो, आस्थमा । कतिपयले आज्मा वा आस्थमा उच्चारण गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा करिब ३० करोडमा आस्थमा छ । त्यसमा सबैभन्दा बढी संख्या बच्चाको छ । बालबालिकामा हुने आस्थमालाई बाल दम पनि भनिने गरिएको छ । ठूला व्यक्तिमा हुने दम र बालबालिकामा हुने दम फरक हुन्छ ।

आस्थमा लाग्नेको संख्या वृद्धि हुनुको कारण मध्ये एक हो, यसको उपचार तथा रोकथामबारे सचेतना कम हुनु । यसबारे सचेत गराउन हरेक वर्ष आजकै दिनमा ‘आस्थमा डे’ मनाउने गरिन्छ । विश्व आस्थमा दिवस २०२५ को नारा ‘सबैका लागि इन्हेलर उपचारको पहुँच सुनिश्चित गरौँ’ भन्ने रहेको छ ।

यो नाराले इन्हेलरको असमान पहुँच हटाउन, जनचेतना फैलाउन, स्वास्थ्य प्रणाली सुधार गर्न, र अस्थमाबाट हुने मृत्यु घटाउन जोड दिन्छ । किनकी, ग्रामीण र विकट क्षेत्रहरूमा दमबारे जानकारी र उपचारको अभाव छ ।

धेरै ठाउँमा इन्हेलरको उपलब्धता सीमित छ र मानिसहरूमा यसको प्रयोगबारे गलत धारणा पनि छन् ।

के हो त आस्थमा ?

बाल दम एक दीर्घकालीन श्वासप्रश्वास रोग हो, जसले फोक्सोको श्वासनलीलाई असर गर्छ । यो समस्याले श्वासनलीमा असर गरी त्यहाँका अंगलाई सुन्नाउने र साँघुरो बनाउने गर्छ। यसले कतिपय अवस्थामा सास फेर्न गाह्रो समेत पार्छ । खोकी लागेर छातीमा चाप महसुस हुन्छ ।

लामो समयसम्म दमको उपचार भएन भने श्वासनली बिग्रँदै जाने, फोक्सोका भागहरू खुम्चिने, फोक्सोको संक्रमण जस्ता जटिलता आउन सक्छ ।दमको आक्रमण अचानक ट्रिगर भएर गम्भीर रूप लिन सक्छ, जसले तत्काल चिकित्सकीय उपचार आवश्यक पर्न सक्छ ।

कारण

धुलो, धुवाँ, परागकण, जनावरको रौँले पनि आस्थमालाई ट्रिगर गर्छ । शहरी क्षेत्रको प्रदूषित हावाले आस्थमाको जोखिमलाई थप बढाउँछ । अहिले प्रदूषणको प्रकोप बढिरहको बेलामा तुलनात्मक रुपमा शहरी क्षेत्रमा बसोबास गर्ने बालबालिकामा दमको बिरामी बढ्ने देखिन्छ ।

त्यस्तै, चुरोटको धुवाँले वायुमार्गमा पोल्ने र अवरोध गर्न पैदा गर्छ । गर्भावस्थामा धूम्रपान गर्ने आमाबाट जन्मिएका बच्चामा आस्थमाको जोखिम बढ्छ । बाल्यकालमा बारम्बार हुने श्वासप्रश्वास सङ्क्रमणले दीर्घकालीन अस्थमा निम्त्याउन सक्छ ।

यदि परिवारमा कसैलाई दम छ भने, बच्चामा यो रोग हुने सम्भावना ३ देखि ६ गुणा बढ्छ ।

किन बढ्दैछ ?

पछिल्लो समय भएका अधिकांश अध्ययनले बालबालिकाहरूमा आस्थमाको समस्या तीव्र रूपमा बढ्दै गएको छ । माथिल्लो उल्लेख गरिएको मध्ये धुलो, वायु प्रदूषण र सेकेन्डह्यान्ड चुरोटको धुवाँजस्ता एलर्जी निम्त्याउने तत्त्वहरूसँग बालबालिकाहरूको बढ्दो सम्पर्कमा आउनु प्रमुख कारण हो ।

साथै, बाल्यकालमा रोगप्रतिरोधी क्षमता बलियो हुने, रोगहरूको सम्पर्कमा कमी आउनुले पनि यो समस्यालाई बढावा दिएको छ । त्यसैगरी, यो समस्या प्रतिरोधी क्षमता कम हुँदा पनि देखिन्छ । यस्तोमा स्तनपानको दरमा कमी आउँदा बच्चालाई पर्याप्त पोषण नपुगेर रोगप्रतिरोधात्मक प्रणाली कमजोर हुँदै जानुले पनि दमको जोखिमलाई थप बढाएको छ।

जोखिम कारक

व्यापक प्रदूषण, एलर्जी, कम तौलमा जन्मिनु, सुर्तीजन्य पदार्थयुक्त वातावरममा गर्भमा रहँदा वा जन्मिसकेपछि बढी रहनु । परिवारमा कसैलाई यो समस्या पहिले नै थियो भने पनि सन्तानमा हुने जोखिम हुन्छ ।

कस्तो लक्षण देखा पर्छ ?

दमका लक्षणहरू सामान्यदेखि गम्भीरसम्म हुन सक्छन् । गम्भीर देखिए तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

जस्तो कि,

– सामान्य हिँडडुल गर्दा पनि सास फुल्ने समस्या ।

– छातीबाट घ्यार घ्यार आवाज आउनु ।

– इन्हेलर प्रयोग गर्दा पनि सुधार नहुनु ।

– छातीमा असहज अनुभव हुनु वा मांसपेशी खुम्चिनु ।

– अत्याधिक पसिना आउनु ।

– अनुहार, ओठ वा नङ निलो हुनु ।

शंका लागेमा के परीक्षण गर्ने ?

चिकित्सकले शंका लागेमा केही परीक्षण गर्न सुझाव दिन सक्छन् । फोक्सोको कार्य परीक्षण – यी परीक्षणहरूले तपाईंको बच्चाको फोक्सोमा हावाको मात्रा र उनीहरूले कति छिटो सास फाल्न सक्छन भनेर मापन गर्छ ।

यसबाट आएको रिर्पोटले बच्चाको अस्थमाको गम्भीरता निर्धारण गर्न स्वास्थ्य सेवा प्रदायकलाई मद्दत गर्छ । एलर्जी छाला परीक्षण र रक्त परीक्षण- यी परीक्षणहरूले कुनै एलर्जीले पो बच्चाको रोगप्रतिरोधी प्रणालीमा प्रतिक्रिया निम्त्याइरहेको छ कि भनेर पहिचान गर्न मद्दत गर्छ ।

छातीको एक्स–रे – दमले छातीमा समस्या पनि देखिन सक्ने सम्भावितका लागि छातीको एक्स–रे लगायत अन्य इमेजिङ परीक्षणहरू प्रयोग गर्न सक्छन् ।
वयस्कको जस्तो बच्चामा भने पल्मोनरी कार्य परीक्षण गर्न सकिँदैन ।

त्यसैले, उनीहरूमा अस्थमाको औषधि प्रयोग गरेर बच्चाले कति राम्रो प्रतिक्रिया दिन्छ भनेर परीक्षण गर्नुपर्ने हुनसक्छ ।

उपचार

दम पूर्णरूपमा निको हुने रोग होइन । यसको उपचार भनेको उचित व्यवस्थापनले यसलाई नियन्त्रण गर्नु मात्र हो ।

– चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा इन्हेलर प्रयोग गर्नाले सासनली सुन्निएको र साँघुरिएको छ भने यसलाई फुकाउन र सुन्निएको कम गर्न मद्दत गर्छ ।

–  ‘रिलिभर’ एकदम गाह्रो भएको बेलामा तुरुन्तै आराम दिने औषधि हुन्छ भने अर्को लामो समयसम्म श्वासप्रश्वास नलीमा सुन्निने समस्या कम गर्ने औषधि हुन्छ ।

– खाने औषधिको धेरै साइड इफेक्ट हुने भएकाले सिधै श्वास लिने औषधि नेबुलाइजको प्रयोग गरिन्छ । केही बच्चा वर्षमा एकपटक दम हुन्छ भने खाने औषधिले हुन्छ । तर घरीघरी गम्भीर रूपमा बिरामी हुने बच्चामा नेबुलाइजर श्वासप्रश्वासको माध्यमबाट औषधि पनि दिनुपर्छ ।

– धुलो, धुवाँ, चिसो हावा वा एलर्जी गराई ट्रिगर गराउने तत्व पहिचान गरी टाढा रहनु महत्त्वपूर्ण छ ।  ट्रिगरहरू पहिचान गर्न चिकित्सकसँग परामर्श लिन सकिन्छ ।

– नियमित व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन र धूम्रपानबाट टाढा रहनाले दमलाई नियन्त्रण गर्न सहयोग गर्छ । अस्थामा दमको नियन्त्रणको लागि सधैँभरी औषधि लिनुपर्छ ?

दमको समस्या भएका व्यक्तिले सधैंभरि औषधि प्रयोग गर्नुपर्ने हुँदैन । केही समयको नियन्त्रणपछि यो निको हुने सम्भावना हुन्छ । पाँच वर्षभन्दा सानो उमेरमा देखिएको दम पाँच वर्षपछि कम हुन्छ ।

औषधिले नियन्त्रण गरेमा कम हुँदै जाने र निको हुने सम्भावना हुन्छ ।

आस्थामा बाल दम
डा. अरुण कुमार सिंह
लेखक
डा. अरुण कुमार सिंह
बालरोग विशेषज्ञ

एसोसिएट प्रोफेसर समेत रहेका डा. सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

के धेरै रिसाउँदा हृदयाघातको जोखिम बढ्छ ?

के धेरै रिसाउँदा हृदयाघातको जोखिम बढ्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

नोमोफोबिया : डिजिटल संसारले दिएको मानसिक विचलन

नोमोफोबिया : डिजिटल संसारले दिएको मानसिक विचलन

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?