श्वसन प्रणालीमा दीर्घकालीन सुन्निने र कफ जम्ने रोग हो, दम । यसमा घ्यारघ्यार हुने, धेरै खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने लगायतका विभिन्न लक्षण देखिन्छ ।
नेपालमा हालको तथ्यांक अनुसार करिब १० लाखभन्दा बढी व्यक्ति विभिन्न प्रकारका श्वास सम्बन्धी समस्याबाट प्रभावित छन्, जसमा धेरैजसो बालबालिका र वृद्धवृद्धाहरू अस्थमाको उच्च जोखिममा छन् ।
काठमाडौं उपत्यकामा गरिएको एक अध्ययनअनुसार, विद्यालयस्तरीय बालबालिकामध्ये करिब ७.५ प्रतिशतले कहिलेकाहीं घ्यारघ्यार गर्ने, ५.२ प्रतिशतले निरन्तर श्वास-प्रश्वासमा कठिनाइ भएको, १६ प्रतिशतमा रातको खोकी र ९.४ प्रतिशतमा व्यायाम गर्दा दमको लक्षण देखिएको पाइन्छ । यस्तै, वृद्धवृद्धाहरूमा दमका कारण अन्य दीर्घरोग झन् जटिल बन्दै गइरहेका छन् ।
यस्तो अवस्थामा, पछिल्लो समय नेपालमा दमको उपचारका लागि आयुर्वेद उपचारप्रति आकर्षण बढ्दो छ । विभिन्न सरकारी तथा निजी आयुर्वेद अस्पतालहरूमा दमका बिरामीहरूले आयुर्वेदिक औषधि, पञ्चकर्म, योग तथा जडीबुटीजन्य उपचारबाट राहत पाइरहेका छन् ।
नेपालमा प्रचलित विभिन्न उपचार पद्धतिमध्ये आयुर्वेद पनि एक महत्त्वपूर्ण चिकित्सा विधि हो । यो प्राचीन र समग्र चिकित्सा पद्धति हो जसले शरीर, मन र आत्माको सन्तुलन कायम राख्न सहयोग गर्छ ।
अनुमान अनुसार नेपालमा दमका १० मध्ये १ जना बिरामीले अहिले आयुर्वेदिक उपचार वा वैकल्पिक चिकित्सा अपनाइरहेका छन् ।
दमको कारण र आयुर्वेदिक दृष्टिकोण
आयुर्वेद अनुसार, प्रत्येक व्यक्तिको शरीर तीन प्रमुख दोष-वात, पित्त र कफको सन्तुलनमा आधारित हुन्छ । जब यी दोष असन्तुलित हुन्छन्, तब शरीरमा रोग उत्पन्न हुन्छ । अस्थमामा विशेष गरी कफ दोषको अत्याधिक वृद्धि हुने, श्वासनलीमा जाम हुने, सुन्निने र कफ जम्ने हुन सक्छ जसले श्वासप्रश्वासमा कठिनाइँ ल्याउँछ । साथै, वात दोषले नलीहरूको संकुचन पैदा गर्दा श्वास-प्रश्वासको गहिराइ घटाउँछ र श्वासको गतिमा असन्तुलन उत्पन्न हुन्छ ।
दमको लक्षणलाई नियन्त्रण गर्न र यसको दीर्घकालीन उपचारका लागि मुख्य रूपले श्वासनलीको शुद्धिकरण, वात र कफ दोषको सन्तुलन र शरीरको सामान्य स्थिति कायम राख्नका लागि विभिन्न उपचार विधिहरू अपनाइन्छ ।
आयुर्वेदिक उपचारका सिद्धान्तहरू
आयुर्वेदमा दमको उपचारमा मुख्य ध्यान शरीरको दोष (वात, पित्त, कफ) को सन्तुलन राख्न, श्वासनलीको शुद्धिकरण गर्ने हुन्छ । र, शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनेमा केन्द्रित हुन्छ । यसका लागि विभिन्न उपचार विधिहरू प्रयोग गरिन्छ ।
आयुर्वेदमा श्रोतोशोधन भनेको शरीरका प्रमुख नलीहरू र मार्गहरूको शुद्धिकरण गर्नु हो । दममा श्वासनली सुनिने वा अवरोध देखा पर्नसक्छ । यसलाई हटाउनका लागि पञ्चकर्म जस्ता विधिहरू जस्तै वमन, विरेचन आदि प्रयोग गरिन्छ । श्वासप्रश्वासका नलीहरूलाई खुला राख्न र वायुदोषलाई सन्तुलित गर्नका लागि आयुर्वेदमा वातानुलोमन औषधिहरू प्रयोग गरिन्छ । यसले श्वासप्रश्वासको गति सुधार्न र नलीमा कुनै पनि अबरोध हटाउन मद्दत पुर्याउँछ ।
आयुर्वेदमा कफको नियन्त्रणका लागि विशिष्ट जडीबुटी र औषधिहरू प्रयोग गरिन्छ जसले श्वसन मार्गमा सान्द्रता घटाउँछ र श्वासप्रश्वासलाई सहज बनाउँछ ।
यसको उपचारमा पञ्चकर्म विधिहरू अत्याधिक प्रभावकारी मानिन्छ । यी विधिहरू शरीरको शुद्धिकरण र दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छन् । पञ्चकर्ममा समावेश उपचार विधिहरूको विवरण यस प्रकार छ ।
वमन : कफको अत्याधिक जमावटलाई निकाल्ने उपचार ।
विरेचन : शरीरबाट विषाक्त पदार्थ, पित्त र कफको उत्सर्जन गराउने प्रक्रिया ।
स्नेहन : औषधीय तेलको मालिसले श्वसन नलीहरूलाई खुल्ला र लचिलो बनाउँछ ।
स्वेदन : स्टीम उपचारले शरीरको विषाक्त पदार्थ र कफलाई बाहिर निकाल्छ ।
साथै दक्ष आयुर्वेद चिकित्सकको सल्लाहमा विभिन्न आयुर्वेदिक औषधिहरूको सेवन गर्न सकिन्छ । आयुर्वेदमा दमको उपचारमा विभिन्न औषधिहरूको प्रयोग गरिन्छ । यी औषधिहरूको उद्देश्य श्वास प्रणालीलाई बलियो बनाउनु र कफ, वात दोषलाई सन्तुलनमा राख्नु हो ।
केही प्रमुख आयुर्वेदिक औषधिहरूमा जस्तै दशमूल, व्यासादी काढा, आदि चूर्णहरूको प्रयोगले श्वसन मार्गमा फोहोर र अवरोधलाई हटाउन मद्दत गर्छ । साथै तालीसादी चूर्ण, यष्टिमधु चूर्ण, सेतोपलादि, पुष्करमूल चुर्ण, कन्टकारी घृत, वासा घृत, कनकासव, मृगमदासव, श्वासकुठार रस, लक्ष्मीबिलास रस, आदि पनि बिरामीको रोगावस्ता निर्क्योल गरेर प्रयोग गर्न सकिन्छ ।
आयुर्वेदिक घरेलु उपचारहरू
आयुर्वेदमा औषधीय उपचारका अतिरिक्त विभिन्न घरेलु उपायहरू पनि उपलब्ध छन् जसले दमको लक्षणलाई कम गर्न र रोगीको स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । तुलसीको पात र महको मिश्रण सेवन गर्नाले श्वास नलीहरूलाई शुद्ध गर्छ र कफलाई नियन्त्रणमा राख्न मद्दत पुर्याउँछ ।
तुलसीमा प्राकृतिक औषधीय गुणहरू पाइन्छ जुन श्वासप्रश्वासमा राहत पुर्याउँछ । अदुवा र महको मिश्रण नियमित सेवन गर्दा खोकी र श्वासप्रश्वासको समस्या कम हुन्छ । अदुवामा एन्टिबैक्टेरियल गुण पाइन्छ, जसले श्वास नलीलाई सफा र स्वच्छ राख्छ । स्टीम इनहेलेसनले कफलाई नरम बनाउँछ र श्वसन नलिकाबाट निकाल्न मद्दत गर्छ । यसले श्वासप्रश्वासमा सुधार ल्याउन मद्दत गर्दछ र दमको लक्षणलाई कम गर्न सक्छ ।
प्रतिक्रिया 4