दिनभरको दौडधुप अनि कामको बोझले गर्दा हामी शारीरिक मानसिक दुवै तरिकाले थकित हुन्छौँ । ती थकान मेट्न हाम्रा लागि आनन्दको निद्रा आवश्यक हुन्छ । आनन्दको निद्राका लागि शान्त वातावरण र आरामदायी सुत्ने ठाउँ त चाहिन्छ । यति मात्रै नभएर सुत्ने तरिका पनि सही हुनुपर्छ ।
कसरी सुत्दा सहज हुन्छ भन्ने कुरा मान्छेको बानीमा पनि निर्भर हुन्छ । कोही कोल्टे परेर सुत्दा आनन्द मान्छन् भने कोही उत्तानो परेर सुतिरहेका हुन्छन् । कसैकसैलाई खुट्टा पसारेर सुत्न मनपर्छ । कोही घुँडा खुम्च्याएर सुत्दा सजिलो महसुस गर्छन् ।
सुत्ने सही अवस्था (पोस्चर) पत्ता लगाउन शोधकर्ताहरूले विभिन्न प्रविधिहरू प्रयोग गरेका छन् । उनीहरूले मानिसहरूलाई सुतिरहेको अवस्थामा विभिन्न सेन्सर र ब्याण्ड लगाएर उनीहरूको गतिविधि निगरानी गरे।
हङकङमा शोधकर्ताहरूले ‘ब्ल्याङ्केट एकोमोडेटिभ स्लीप पोस्चर क्लासिफिकेशन सिस्टम’ नामक प्रविधि विकास गरिरहेका छन्, जसमा इन्फ्रारेड क्यामेराको प्रयोग गरिएको थियो । यो प्रविधिले बाक्लो कम्बल ओढेर सुत्दा पनि निद्राको ढाँचा पत्ता लगाउन सक्छ । सामान्यतया, सानो हुँदा हामी धेरैजसो उत्तानो परेर सुत्न रुचाउँछौं। तर, उमेर बढ्दै जाँदा धेरैजसो मानिसलाई कोल्टे फर्किएर सुत्ने बानी हुन्छ।
सुत्दा हाम्रो शरीरले आफूलाई पुनर्जनन गर्छ, त्यसैले सुत्ने तरिका ठीक नभएमा शरीरले आराम नपाउने चिकित्सकहरू बताउँछन् । हाम्रो जीवनको एक तिहाइ हिस्सा सुतेर बित्छ, त्यसैले निद्राको गुणस्तरले हामीलाई स्वस्थ र ऊर्जावान राख्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
प्राकृतिक रूपमा हाम्रो शरीरले जुन अवस्थामा आराम पाउँछ, त्यही अवस्थामा हामी सुतिरहेका हुन्छौँ ।
डेनमार्कमा भएको एक अध्ययनमा शोधकर्ताहरूले सुत्न रुचाइएको तरिका पत्ता लगाउन केही मानिसमा स्लीप डिटेक्टर लगाए । यो अध्ययनको नतिजामा करिब ५० प्रतिशत मानिस कोल्टे फर्किएर, ३८ प्रतिशत उत्तानो परेर र ७ प्रतिशत घोप्टो परेर सुत्न रुचाउँछन् ।
चिकित्सकहरूका अनुसार घोप्टो परेर सुत्नु भन्दा उत्तानो, कोल्टे सुत्नु लाभदायक हुन्छ । कम्मर, मेरुदण्ड दुख्ने समस्या भएका, गर्भवती महिला तथा वृद्धहरू कोल्टे फर्किएर सुत्न राम्रो हुन्छ ।
एसिड रिफ्लक्सको समस्या भएकाहरूले घुँडा धेरै खुम्च्याएर नसुत्न चिकित्सकहरूको सुझाव छ ।
चिकित्सकहरूका अनुसार घाँटी वा काँधमा धेरै दुखाइ छ, वा अनुहारमा चाउरीपनको समस्या छ भने उनीहरूले उत्तानो परेर सुत्नु राम्रो हुन्छ ।
लामो समय कोल्टे फर्किएर सुत्दा घाँटी र काँधमा समस्या आउन सक्छ। आधा अनुहार तकियामा दबिँदा चाउरीपनको समस्या बढ्न सक्ने चिकित्सकहरू बताउँछन् ।
जसलाई रुघाखोकी, साइनस वा एसिड रिफ्लक्सको समस्या छ, उनीहरूले तकिया अलि अग्लो राखेर सुत्नुपर्छ। कोल्टे फर्किएर सुत्दा श्वासनली खुला रहन्छ, जसले राम्रो निद्रा ल्याउँछ।
धेरै घुर्नेहरू उत्तनो वा घोप्टो परेर नसती कोल्टे फर्किएर सुत्न उपयुक्त हुन्छ ।
कति समय सुत्ने ?
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, १८ देखि ६० वर्षका वयस्कले दैनिक ७-८ घण्टा सुत्नुपर्छ । ६१-६५ वर्षका व्यक्तिले ७-९ घण्टा सुत्नुपर्छ । निद्रा पुग्छ कि पुग्दैन कुरा भन्ने कति गहिरो निद्रामा सुतेको छ, त्यसमा पनि निर्भर हुने विज्ञहरूको भनाइ छ ।
विज्ञहरूका अनुसार यदि निद्राको ढाँचा ठीक छैन, गहिरो निद्रा छैन, सपना देख्ने अवस्था छैन रनिद्रामा सन्तुलन छैन भने निद्रापछि पनि थकित नै महसुस हुन्छ । आरामदायी निद्रा नहुँदा थकान, रिस र बिर्सने समस्याहरू हुनसक्छ ।
कहिले डाक्टरको सल्लाह लिने ?
यदि हामीलाई निद्रा लाग्दैन, निद्रा खराब छ, ब्यूँझिदा ताजा महसुस हुँदैन, शरीरमा थकान रहन्छ, दिनमा पनि सुतिरहन मान लाग्छ वा धेरै घुर्ने बानी छ भन् भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
प्रतिक्रिया 4