११ वैशाख, काठमाडौं । भक्तपुरको दुधपाटीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आइतबार स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रमुख अतिथि बनाएर १३ औँ वार्षिक उत्सव मनाउने कार्यक्रम तय गरेको थियो । दिउँसो १२ बजे सुरु गर्ने भनिए पनि मन्त्री आउन ढिला भएपछि २ बजे मात्रै कार्यक्रम सुरु भयो ।
कार्यक्रमको सुरुमै स्वागत मन्तव्य दिन आएका केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले १३ वर्षमा भएका उपलब्धिको फेयरिस्त सुनाए ।
मन्तव्यको अन्त्यतिर उनले केन्द्रले १३ वर्षसम्म जति प्रयास गरे पनि जग्गा नपाएको ठूलै गुनासो पोखे ।
‘आफनो एक इन्च पनि जग्गा नभइकन केन्द्र बिस्तारका लागि भौँतारिएको आज १३ वर्ष भइसकेछ मन्त्री ज्यू’ उनले मन्त्रीको ध्यानाकर्षण गराए ।
स्थापना कालदेखि जग्गा प्राप्तिका लागि धेरै नेतृत्वमार्फत प्रयास गरे पनि सफल नभएको गुनासो उनले पोखे।
‘यस अवधिमा हामीले ८ जना प्रधानमन्त्री, २० जना स्वास्थ्य मन्त्री र ३० जना भन्दा बढी सचिव समक्ष समस्या सुल्झाइदिनका लागि बारम्बार अनुरोध नगरेको होइन’ उनले हैरानी पोखे, ‘धेरै पटक उहाँहरूलाई गुहार्यौँ । धेरै पटक आश्वासन पनि पायौँ । नेपाल सरकारको नीति कार्यक्रममा पनि यो घोषणा भएकै हो । अर्थ मन्त्रालयको बजेट भाषणमा यो कार्यक्रम आएकै हो । तर मन्त्री ज्यू यो कहाँ अल्मलिएको छ ?
देशका लागि नमुना काम गर्ने सरकारी स्वास्थ्य संस्थाले एक भवन र उपयुक्त जग्गा किन पाउन सकिरहेको छैन ? भन्दै उनले प्रश्न गरे ।
सरकारी स्वास्थ्य संस्थाले स्थापनाको १३ वर्षमै यो खालको उपलब्धि प्राप्त गर्नु चानचुने कुरा नभएको दावी श्रेष्ठले गरे ।
केन्द्रका लागि जग्गा प्राप्ति गर्न निकै ढिलाइ भएको कुरा मन्त्री पौडेलले पनि स्वीकार गरे ।
‘जमिन प्राप्ति र त्यहाँ निर्माण प्रक्रिया थाल्न ढिलो भएको स्थिति छ’ मन्त्री पौडेलले भने, ‘बिस्तार गर्न जरुरी छ । बिरामीको उपचारलाई सहज बनाउन पनि आवश्यक छ । यसलाई अझ प्रतिष्ठान बनाएर अगाडि बढाउन आवश्यक छ ।’
प्रत्यारोपण केन्द्रलाई जमिन छिट्टै उपलब्ध गराइदिन उनले भक्तपुरका स्थानीय तहलाई आग्रह पनि गरे ।
आफ्नो पालिकामा राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना होस् भन्ने चाहना भए, छिट्टै निर्णय गर्न नत्र अन्तै जाने चेतावनी समेत मन्त्री पौडेलले दिए ।
‘यो अस्पताललाई आफ्नो पालिकामा लैजानु छ भने छिट्टै निर्णय गर्नुहोस्’ मन्त्री पौडेलले भने, ‘सुरक्षित राख्न सक्नुभएन भने बगेको पानी हो, आफ्नो रफ्तारमा जान्छ । गुडेको रेल जस्तै हो समयमा चढ्नु भएन भने छुट्छ ।’
राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्ने हरेक कार्यक्रममा छुट्दै–नछुट्ने कुरा हो–अस्पताल स्थापनाका लागि जग्गा नपाएको गुनासो र जग्गा प्राप्त गर्न प्रयास भइरहेको आश्वासनको भाषण ।
तर यो प्रक्रिया केही अघि बढ्ने अनि मन्त्रालयतिरै फाइल अड्किने भइरहेको छ, निकै वर्षदेखि ।
किन चाहियो जग्गा ?
मानव अंग प्रत्यारोपणका लागि छुट्टै विशिष्टिकृत अस्पताल बनाउने उद्देश्यले सरकारले २०६९ वैशाख ११ मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गर्यो ।
भक्तपुर अस्पतालले उपलब्ध गराएको भवनमा कार्यालय स्थापना गरियो । पछि यो नाम परिवर्तन भएर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र बन्यो ।
बेलायतबाट फर्किएर वीर अस्पतालमा मिर्गाैला प्रत्यारोपण सुरु गरेका डा. पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्र सञ्चालनको नेतृत्व पाएका थिए । केन्द्रले २०६९ माघ ६ गतेबाट मिर्गाैला प्रत्यारोण सेवा सुरु गर्यो।
२०७३ मंसिर २२ गते केन्द्रमा कलेजो प्रत्यारोपण समेत भयो । स्थापनाको १३ वषर्मा केन्द्रले १४०१ जनाको मिर्गाैला प्रत्यारोपण गरेको छ भने ३३ जनाको कलेजो प्रत्यारोपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च प्राथमिकता दिएको यस केन्द्रको मुख्य समस्या भनेको आफ्नै भवन नहुने हो ।
स्थापनाको १३ वर्षसम्म पनि भक्तपुर अस्पतालकै भवनबाट सेवा दिइरहेको छ । राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई भवन दिएको
भक्तपुर अस्पतालकै लागि समेत ठाउँ साघुरो भइरहेको छ ।
यस्तो अवस्थामा थप सेवा सञ्चालनका लागि प्रत्यारोपण केन्द्र बिस्तारका लागि अन्त सार्नुको विकल्प देखिँदैन ।
आफ्नै कार्यकालमा बिस्तार गर्ने इच्छा
केन्द्र स्थापनाको १३ वर्षमा करिब डेढ वर्षबाहेक अस्पतालको नेतृत्वमा डा.पुकार चन्द्र श्रेष्ठ नै रहेका छन् । प्रत्यारोपण केन्द्रको स्थापना, यहाँको सेवा सुधार र उन्नतिको श्रेय डा.श्रेष्ठले लिँदै आएका छन् ।
केन्द्रको नेतृत्वमा रहने उनको कार्यकाल अब करिब ६ महिना बाँकी छ । नयाँ जग्गा प्राप्त गरी आफ्नै नेतृत्वमा प्रत्यारोपण केन्द्रलाई बिस्तार गर्ने र त्यसको श्रेय लिने डा.श्रेष्ठको ठूलो इच्छा थियो ।
यसका लागि उनले निकै प्रयास पनि गरे । अब त्यो इच्छा पूरा नहुने अवस्था आएपछि डा. श्रेष्ठले मन्त्रीसमक्ष एक खालको निराशा पोखे ।
अघिल्लो वर्ष उनले मन्त्री पौडेलकै अगाडि सरकारले जग्गा उपलब्ध गराएमा अस्पतालकै खर्चमा ६ महिनाभित्र अस्थायी भवनहरू बनाएर केन्द्र बिस्तार गर्ने घोषणा गरेका थिए । मन्त्री पौडेलले पनि छिट्टै जग्गा प्राप्त हुने बताएका थिए ।
तर एक वर्षभित्र जग्गा प्राप्तिका लागि कुनै प्रगति हुन सकेन ।
प्रक्रिया अघि बढ्यो जग्गा पाइएन
सुरुमा डा.पुकारले प्रत्यारोपण केन्द्र बिस्तारका लागि सल्लाघारीमा रहेको नेपाल ट्रस्टको ९९ रोपनी जग्गा रोगेका थिए । त्यसका लागि प्रक्रिया पनि अघि बढ्यो । ट्रस्टको जग्गा रहेको भन्दै विभिन्न अल्झन भयो ।
दुधपाटीकै सिद्धपोखरी र रानी पोखरीको बीचमा रहेको नेपाली सेनाले प्रयोग गरेको जग्गा पनि प्रत्यारोपण केन्द्रले मागेको थियो । सेना तयार नभएपछि त्यसको प्रसंग नै बन्द भयो ।
त्यसपछि अघिल्लो वर्षबाट भक्तपुरकै सिपाडोलमा रहेको इँटा कारखानालाई दिइएको जग्गा प्राप्तिका लागि प्रयास गर्न थालियो।
सरकारले इँटा कारखानालाई दिएको यो जग्गाको सम्झौता डेढ वर्ष अघि नै सकिएको थियो । २५८ रोपनी जग्गामध्ये केन्द्रले १०० रोपनी माग गरेको थियो ।
यसका लागि पनि प्रक्रिया अघि बढेको थियो । तर यो पनि सरकारले दिएन । जग्गा माग गरिएका दुवै फाइल अर्थ मन्त्रालयमा गएर अड्किएको राष्ट्रिय प्रत्यारोपण केन्द्रका एक कर्मचारीले जानकारी दिए ।
अहिले फेरि चाँगुनारायण नगरपालिकाको सुडालमा रहेको ३५ रोपनी जग्गा प्राप्तिका लागि प्रत्यारोपण केन्द्रले प्रयास गरेको छ ।
यसको फाइल पालिकाबाट सिफारिस गरी जिल्ला प्रशासन कार्यालयमा पुगेको केन्द्रका कर्मचारीले बताए ।
जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रीहरूले प्रयास गरे पनि त्यहाँ भन्दा माथिल्लो तहबाट निर्णय नहुँदा हरेक प्रयास सफल हुन नसकेको प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठको गुनासो छ ।
केन्द्रको आफ्नै जग्गा र भवन नहुँदा मिर्गाैला र कलेजो बाहेकका अन्य प्रत्यारोपण सेवा बिस्तार गर्न कठिन भइरहेको श्रेष्ठले बताए।
प्रत्यारोण केन्द्रले यो बीचमा जग्गा नै नपाएको भने होइन । चाँगुनारायण नगरपालिका–३ झौखेलमा करिब ३० रोपनी जग्गा २०७८ सालमा उपलब्ध गराइएको थियो । तर त्यो जग्गा अस्पताल बनाउन उपयुक्त नभएको डा.श्रेष्ठको भनाइ छ ।
उनका अनुसार जग्गा डाँडाकाडा र भिरालो रहेकोले भवन बनाउन कठिन हुने खालको छ । त्यहाँ पुग्ने बाटो पनि साँघुरो रहेकाले जटिल खालका बिरामीको उपचार गर्ने अस्पताल त्यहाँ बनाउन उपयुक्त नहुने उनले बताए ।
प्रतिक्रिया 4