News Summary
Generated by OK AI. Editorially reviewed.- पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा यूटीआई भनिन्छ र यो पिसाब नलीदेखि मूत्राशयसम्मका भागमा हुने संक्रमण हो।
- यूटीआई मुख्यतः ब्याक्टेरिया, फंगल वा भाइरसका कारण हुन्छ र महिलामा पुरुषभन्दा बढी देखिन्छ।
- यूटीआईको उपचार एन्टिबायोटिकले गरिन्छ र लक्षण गम्भीर भएमा अस्पताल भर्ना आवश्यक हुन्छ।
पिसाब संक्रमणलाई चिकित्सकीय भाषामा पिसाब नलीको संक्रमण अर्थात छोटकरीमा ‘यूटीआई’ भनिन्छ । पिसाब बन्नेदेखि निस्कने प्रक्रियासम्म संलग्न हुने जुन-जुन भाग छन्, ती स्थानमा हुने संक्रमण यूटीआई हो ।
यो प्रणालीमा सुक्ष्म जीवाणुहरू ब्याक्टेरिया, फंगल वा भाइरस प्रवेश गरी बढ्न थालेपछि समस्या देखापर्छ । यही कारणले नै पिसाबको समस्या देखापर्छ ।
यो समान्यदेखि जटिल अवस्थासम्म हुनसक्छ । पिसाबको संक्रमण बढ्दै गएर रगतमा संक्रमण भएमा यसले ज्यानै लिने खतरा पनि हुन्छ । पिसाबको संक्रमण पुरुषमा भन्दा महिलामा धेरै हुन्छ । सबै महिलाहरूको जीवनमा कम्तीमा एक पटक सबैलाई पिसाबको संक्रमण हुन्छ । तर पुरुषमा चाहिँ नहुन पनि सक्छ ।
किन हुन्छ पिसाब संक्रमण
धेरैजसो पिसाब संक्रमणको कारण ब्याक्टेरिया हुन्छ । ई. कोलाई जुन आन्द्रामा हुन्छ, यो ब्याक्टेरिया पिसाब नली तथा मूत्राशयमा पुगेपछि संक्रमण हुन्छ । पिसाब संक्रमण हुने अधिकांश केसमा ई. कोलाई ब्याक्टेरियाको संक्रमण नै मूल कारण हुन्छ ।
क्लेब्सिएला निमोनिया, प्रोटियस मिराबिलिस, एन्टेरोकोकस, स्टेफिलोकोकस स्याप्रोफाइटिकस जस्ता ब्याक्टेरियाको कारणले पनि पिसाबको संक्रमण हुनसक्छ ।
फंगल संक्रमणको कारण पनि यूटीआई हुनसक्छ । तर यस्ता केस कम हुन्छन् । प्राय: मधुमेहको समस्या भएका व्यक्तिमा फंगलका कारण यूटीआई हुन्छ ।
एकदमै बिरलै र कुनै कुनै अवस्थामा भाइरल संक्रमणका कारणले पिसाबको संक्रमण हुन्छ । एडेनोभाइरस, पोलियोमाभाइरस जस्ता भाइरस यूटीआईको कारण हुन सक्छन् ।
दुई प्रकार का हुन्छन्
यूटीआईलाई माथिल्लो मूत्रमार्गको संक्रमण र तल्लो मूत्रमार्गको संक्रमण गरी दुई भागमा विभाजन गरिएको छ ।
१.अप्पर यूटीआई अर्थात माथिल्लो मार्गको संक्रमण भनेको मूत्राशयबाट मिर्गौलातर्फको संक्रमण हो ।
२.लोअर यूटीआई अर्थात तल्लो मार्गको संक्रमण भनेको मुत्राशय तथा त्यो भन्दा तलतिरको भाग पिसाब नलीको संक्रमण हो ।
तल्लो भागको संक्रमण भन्दा माथिल्लो भागको संक्रमण बढी खतरनाक मानिन्छ । त्यो संक्रमण मिर्गौलामा विस्तार भएर मिर्गौलामा पिप जमेर ठूलो समस्या निम्त्याउने, मिर्गौला नै खराब बनाउने जोखिम यसमा रहन्छ ।
पिसाब संक्रमणका कारण के हुन् ?
-सरसफाइमा ध्यान नदिनु : शौचालय प्रयोग गरेपछि पछाडिबाट अघि तर्फ सफा गर्ने बानीले पिसाब मार्गमा संक्रमण निम्त्याउन सक्छ । विशेष गरी यो समस्या महिलामा बढी हुन्छ ।
-अत्यधिक पसिना आउने र शरीरमा पानीमा मात्रा कम हुँदा
-लामो समयसम्म पिसाब रोकेर बस्नु
-कम पानी पिउनु : शरीरमा पानी कम हुँदा पिसाब कम बन्ने
-यौन सम्बन्धपछि सरसफाइ नगर्दा : सम्बन्धपछि मूत्रमार्गमा ब्याक्टेरिया सरेर संक्रमण हुन्छ । ब्याक्टेरिया बाहिर ननिस्केर मूत्राशयमा बढ्न थाल्छ ।
-प्रतिरोधात्मक शक्ति कमजोर हुँदा
-गर्भवती महिलामा हॉर्मोन परिवर्तन भएर
-मधुमेह : मधुमेह हुँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र पिसाबमा चिनीको मात्रा हुने भएकाले त्यो ब्याक्टेरियाका लागि पोषण बन्न पुग्छ । छिटो वृद्धि हुन यसले मद्दत गर्छ ।
-पुरुषहरूमा प्रोस्टेटको समस्या हुँदा : पुरुषहरूमा प्रोस्टेट बढेको खण्डमा पूरै पिसाब गर्न कठिन हुन्छ । पिसाब थैलीमा पिसाब जम्मा भएर बसिरहने समस्याल संक्रमण हुनसक्छ।
-मिर्गौलामा स्टोन भएको खण्डमा
-साबुन, स्प्रे, पर्फ्यूम जस्ता उत्पादनले जलन वा रासायनिक प्रतिक्रिया भएर पनि पिसाब संक्रमण हुन्छ ।
महिलामा किन बढी हुन्छ ?
पुरुषको तुलनामा महिलामा यूटीआई करिब ३० गुणा बढी हुने अध्ययनहरूले देखाएका छन् । १५ देखि ४५ वर्ष उमेरका महिलामा यो समस्या धेरै हुन्छ ।
महिलाको पिसाब नलीको लम्बाइ ३-४ सेन्टिमिटरको मात्रै हुन्छ । जुन पुरुषमा १८-२० सेन्टिमिटर लामो हुन्छ । यसरी महिलामा पिसाब नलीको मुख मलद्वारको नजिक हुने हुँदा ब्याक्टेरिया छिटै भित्र पस्न सक्छ । यही कारणले पनि महिलामा पिसाब संक्रमणको जोखिम धेरै हुन्छ ।
गर्भावस्था, महिनावारीको समय, महिनावारी सुकेपछिको समयमा पनि महिलामा यूटीआईको जोखिम धेरै हुन्छ । कतिपय अवस्थामा हर्मोन परिवर्तनको कारण पनि महिलामा बढी पिसाब संक्रमण हुन्छ ।
लक्षणहरू
-बारम्बार पिसाब लाग्ने
-पिसाब गर्दा दुख्ने वा पोल्ने
-पिसाबको गन्ध कडा हुने
-पिसाब धमिलो देखिने
-तल्लो पेट दुख्ने
कुन अवस्थामा यो जटिल बन्छ ?
यूटीआई बिग्रिएर जटिल अवस्था पनि आउन सक्छ । अप्पर यूटीआईको अवस्थामा मिर्गौलामा संक्रमण भएमा त्यसले मिर्गौलामा क्षति पुर्याउन सक्छ । पिसाब संक्रमणको सबैभन्दा जखिम अवस्था भनेको युरोसेप्सिस हो । यूटीआई बिग्रिएर जब पिसाबको संक्रमण रगतमा फैलिन्छ यो अवस्थालाई युरोसेप्सिस भनिन्छ ।
युरोसेप्सिस एक जटिल रोग हो । पिसाबको संक्रमण रगतमा फैलिएपछि यसले मुटु, कलेजो, फोक्सो जस्ता अंगमा क्षति पुर्याउन सक्छ । युरोसेप्सिस भएमा बिरामीको मृत्यु हुने जोखिम धेरै हुन्छ ।
कुनै-कुनै केसमा अप्रेसनपछि पनि बिरामीमा यो समस्या देखिन सक्छ ।
आजकाल एन्टियोबायोटिक्सहरू रेसिस्टेन्ट हुने(काम नगर्ने) दर बढेकाले पिसाब संक्रमणका बिरामी गम्भीर अवस्थामा पुग्ने र मृत्यु हुने दर बढेको छ ।
कसरी रोकथाम गर्ने ?
-पर्याप्त पानी पिउनु
-पिसाब लागेपछि धेरै बेर नरोक्ने
-अगाडिबाट पछाडितिर सफा गर्ने (विशेष गरी महिलाले)
-यौनसम्पर्कपछि पिसाब गर्ने
-धेरै कसिलो खालको अन्डरवेयर नलगाउने
– मधुमेह नियन्त्रणमा राख्ने
उपचार कसरी हुन्छ ?
यूटीआईको मुख्य उपचार एन्टिबायोटिक हो । पिसाब जाँच तथा आवश्यक परेको खण्डमा अल्ट्रासाउण्ड गरेर डाक्टरले कुन औषधि उपयुक्त हुन्छ भनी दिन्छन् । यसमा विशेष गरी पिसाबमा सुक्ष्म जीवाणुहरू छन्/छैनन् भनी पिसाबको कल्चर गरेर हेरी जाँच गर्ने प्रचलन छ ।
लक्षणअनुसार दुखाइ वा ज्वरोको औषधि दिइन्छ । धेरै पिसाब पोलेको छ भने पिसाब पोल्न कम गर्ने औषधि पनि दिइन्छ ।
यसमा धेरै पानी पिउन सुझाव दिइन्छ । यसले शरीरबाट ब्याक्टेरियालाई बाहिर निकाल्न मद्दत गर्छ । यदि मूत्रमार्ग तथा मिर्गौलामा स्टोन छ भने त्यो स्टोन हटाउन उपचार तथा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
धेरै ज्वरो छ भने वा कडा कम्मर दुखाइ छ, पिसाबमा रगत आएको छ, २-३ दिन एन्टिबायोटिक खाँदा पनि सुधार नआए, गर्भवती महिला भएमा अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4