+

बच्चा जन्मिएपछि कहिले सुरु गर्ने यौन जीवन ?

२०८२ मंसिर  १६ गते १४:०५ २०८२ मंसिर १६ गते १४:०५
Shares
बच्चा जन्मिएपछि कहिले सुरु गर्ने यौन जीवन ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामान्य सुत्केरी महिलाले ६ हप्ता अर्थात् ४२ दिनपछि मात्र यौन सम्पर्क गर्नु सुरक्षित मानिन्छ र चिकित्सकले अनुमति दिन्छन्।

बच्चा जन्मिएपछि यौन जीवन कहिले सुरु गर्दा ठीक हुन्छ ? यो प्रश्न धेरै नयाँ आमाबाबुको हुनेगर्छ । सो प्रश्न एकदमै स्वाभाविक हो, किनकि बच्चा जन्मिएपछि शरीरमा ठूलो परिवर्तन आउँछ, नयाँ आमामा हर्मोन बदलिन्छ, थकान बढ्छ र मानसिक तनाव पनि हुन्छ । तर यौन जीवन फेरि सुरु गर्नु दाम्पत्य सम्बन्धका लागि मात्र होइन, श्रीमान–श्रीमती दुवैको मानसिक स्वास्थ्य र आत्मविश्वासका लागि पनि महत्वपूर्ण हुन्छ ।

सामान्य सुत्केरी

सामान्य सुत्केरी भएकी महिलाले ६ हप्ता अर्थात् ४२ दिनपछि मात्र यौन सम्पर्क गर्नु सुरक्षित मानिन्छ । यो ६ हप्ताको अवधिलाई ‘पोस्टपार्टम पिरियड’ भनिन्छ । यो समयमा साल बसेको स्थान गर्भाशयभित्रको घाउ लगभग निको भइसकेको हुन्छ । रक्तस्राव बन्द भइसकेको हुन्छ । बच्चा जन्मिँदा खुलेको पाठेघरको मुख पूरै बन्द भइसकेको हुन्छ । संक्रमणको जोखिम एकदमै कम हुन्छ ।

त्यसैले, यो अवधि पछि  ६ साताको जाँच पछि चिकित्सकले अब यौन सम्पर्क गर्न सकिन्छ भनेर अनुमति दिन्छन् ।

जो प्रसवबिना चिरफार गरी बच्चा जन्माइएका सुत्केरी हुन्छन् । उनीहरूमा यो समय लम्बिन्छ ।

सिजेरियन सुत्केरी

शल्यक्रियामार्फत बच्चा जन्माएका महिलाका लागि बाहिरी घाउ त ६ देखि ८ हप्तामा निको भइसकेको हुन्छ । तर, भित्री टाँका र गर्भाशयको अवस्था हेर्न पनि कम्तीमा ६–८ हप्ता कुर्नु उपयुक्त मानिन्छ । कतिपय चिकित्सकले ८–१२ हप्ता कुर्न सल्लाह दिन्छन् ।

तर ६ हप्ता भनेको ‘न्यूनतम समय हो, अनिवार्य समय भने होइन । धेरै महिलालाई ३–४ महिना वा ६ महिनासम्म पनि यौनइच्छा हुँदैन, यो सामान्य कुरा हो ।

यौनइच्छा नहुने कारण

बच्चा जन्मिएपछि ३ महिनासम्म र कहिलेकाहीँ ६–१२ महिनासम्म पनि महिलालाई यौनइच्छा नहुनु एकदमै सामान्य र प्राकृतिक कुरा हो ।

हर्मोनको ठूलो परिवर्तन

बच्चा जन्मिएपछि इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोन एकदमै कम हुन्छ । यी दुई हर्मोन नै यौनइच्छा जगाउने मुख्य हर्मोन हुन् । स्तनपान गराउँदा प्रोल्याक्टिन हर्मोन धेरै बन्छ, जसले इस्टोजनलाई दबाउँछ र यौनइच्छा शून्य जस्तै बनाइदिन्छ।

स्तनपान

स्तनपान गराउने आमाहरूलाई ९० प्रतिशतसम्म यौनइच्छा कम हुन्छ । प्रोल्याक्टिनले डोपामिन (आनन्द दिने हर्मोन) लाई रोक्छ, जसले यौन उत्तेजना नै आउन दिँदैन । यो प्रकृतिको अवस्था हो, जसले आमालाई अर्को बच्चा चाँडै गर्भ नरहोस् भन्ने सुनिश्चित गर्छ ।

अत्यधिक थकान र निन्द्राको कमी

नवजात शिशुले रातभरि ४-५ पटक उठाउँछन् । ३ महिनासम्म आमालाई ३–४ घण्टा पनि लगातार निन्द्रा पर्दैन । यस्तो अवस्थामा शरीरले यौन होइन, ‘सुत्ने र आराम’लाई मात्र प्राथमिकता दिन्छ ।

योनी सुख्खापन र दुखाइको डर

इस्ट्रोजेन हर्मोन कम भएकाले योनी एकदम सुक्खा हुन्छ । पहिलोपटक सम्पर्क गर्दा दुख्छ भन्ने डरले पनि इच्छा मारिदिन्छ ।

पोस्टपार्टम डिप्रेसन र शरीरप्रति असन्तुष्टि

धेरै आमाहरूलाई ‘मेरो शरीर बिग्रियो, म आकर्षक छैन’ जस्तो लाग्छ । ३०–४० प्रतिशतलाई पोस्टपार्टम डिप्रेसन हुन्छ, जसले यौनइच्छा कम गराउँछ ।

प्राथमिकता परिवर्तन

आमाको दिमागमा अब ‘बच्चाको सुरक्षा र हेरचाह’ पहिलो नम्बरमा हुन्छ । मस्तिष्कले यौनलाई ‘अहिले जरुरी छैन’ भनेर पछाडि धकेलिदिन्छ ।

यौन इच्छा कहिले फर्किन्छ ?

३ महिनासम्म वा त्योभन्दा बढी यौनइच्छा नहुनु कुनै रोग वा समस्या होइन, यो शरीर र दिमागले बच्चा र आमाको सुरक्षाका लागि बनाएको अस्थायी विचार हो । जब निन्द्रा ठीक हुन्छ, स्तनपान कम हुन्छ र हर्मोन सन्तुलनमा आउँछ, इच्छा आफैं फर्किन्छ ।

स्तनपान गराउने आमाहरूमा प्रोल्याक्टिन हर्मोन बढी हुन्छ, जसले यौनहर्मोन (इस्ट्रोजेन र टेस्टोस्टेरोन) लाई दबाउँछ । त्यसैले, स्तनपान गराउने आमाहरूलाई ६ महिना–१ वर्षसम्म पनि इच्छा कम हुन्छ । स्तनपान नगराएका आमाहरूमा २–३ महिनामै इच्छा फर्किन सक्छ ।

डिप्रेसन, थकान, शरीरको दुखाइ, आत्मविश्वासको कमीले पनि इच्छा कम गराउँछ ।

कहिले सुरु गर्नु उचित हुन्छ ?

नेपालका धेरै दम्पतीले गर्ने गल्ती के हो भने ६ हप्ता पुग्नासाथ ‘अब त केही हुँदैन भनी जबरजस्ती गर्छन् । तर यो गलत हो । सुरु गर्ने सही समय भनेको दुवै जना शारीरिक र मानसिक रूपले तयार भएको अवस्था नै  हो ।

यी अवस्था विचार गरेर मात्र सुरु गर्नु उचित

-रक्तस्राव पूरै बन्द भएको

– योनी सुख्खा नभएको

– दुखाइ नभएको

-मानसिक रूपले तनावमुक्त भएको

– बच्चा राम्रोसँग सुत्ने बानी परिसकेको (राति कम्तीमा ४–५ घण्टा सुत्ने)

यी सबैका साथै मानसिक रूपमा आमा तयार भएपछि दुवै जनाको आपसी सहमति र उत्साह भएमा यौन जीवनमा पुनः फर्किन सकिन्छ ।

सुरु गर्दा के ध्यान दिने ?

-पहिलो पटक धेरै दुख्न सक्छ ।

-वाटर–बेस्ड लुब्रिकेन्ट अनिवार्य प्रयोग गर्ने ।

-कन्डम प्रयोग गरी गर्भ निरोधका लागि र संक्रमणबाट बच्ने ।

-पहिला सुरुवात बिस्तारै गर्ने, जबरजस्ती नगर्ने ।

-फोरप्ले लामो गर्ने, किनकि योनीमा प्राकृतिक चिप्लोपना कम उत्पादन हुन्छ ।

– यदि सम्पर्क गर्ने क्रममा दुखाइ बढेको अनुभूति भएमा फेरि २–४ हप्ता कुरेर मात्र सुरु गर्न सकिन्छ । यो बखत प्रसूति तथा स्त्रीरोग विशेषज्ञको सल्लाह पनि लिन सकिन्छ।

-बच्चा सुतिसकेको बिहानको समय वा हप्तामा २–३ पटक ३० मिनेट ‘हामी दुईको मात्र’ समय राख्नुहोस् ।

-श्रीमानले बच्चाको हेरचाह र घरको काममा सघाउँदा श्रीमतीको माया र यौनइच्छा दुवै बढ्छ ।

-योग–व्यायामले तनाव कम गर्छ ।

मानसिक स्वास्थ्य र सम्बन्धमा प्रभाव

बच्चा जन्मिएपछि धेरै श्रीमान् र श्रीमतीबीच यौनका विषयमा कुरै हुँदैन । श्रीमान् लामो पखाईले थाक्छन्, श्रीमती दोषी महसुस गर्छिन् । यो अवस्थाले सम्बन्धमा दरार ल्याउन सक्छ । त्यसैले खुलस्त कुरा गर्नु जरुरी छ ।

यौनजीवन सुत्केरी
डा. उपमा बस्नेत
लेखक
डा. उपमा बस्नेत
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

डा. बस्नेत हाल वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत छिन् । प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २१११२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय