खान, बस्न, लगाउन जस्तै अपरिहार्य बनिसक्यो, मोबाइल फोन । बरु, साथी नभए पनि हुन्छ । तर, मोबाइलबिना बाँच्न सक्दैनन्, अहिलेका पुस्ता ।
मोबाइल अहिले जीवनको अभिन्न अंग बनिसकेको छ । सञ्चार, मनोरञ्जन र सूचनाको पहुँचलाई सहज बनाउने यी उपकरणले हाम्रो दैनिकीमा गहिरो प्रभाव पारेका छन् ।
तर, यही सहजताले ल्याएको एउटा नयाँ चुनौती हो-नोमोफोबिया ।
केही दिन अघि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘झिल्को’ले यही नोमोफोबिया विषयलाई बाल मनोस्वास्थ्यको सन्दर्भमा उठाएर समाजमा गम्भीर प्रश्न खडा गरेको छ ।

निर्देशक यादवकुमार भट्टराई झिल्कोमार्फत नोमोफोबियालाई बालबालिकाको सन्दर्भमा प्रस्तुत गरी डिजिटल मिडियाको अत्याधिक प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई कलात्मक र संवेदनशील ढंगले प्रस्तुत गरेका छन् ।
के हो त नाेमोफोबिया ?
मोबाइल नहुँदा लाग्ने डर (नो मोबाइल फोन फोबिया) लाई विज्ञले दिएको छोट्करी नाम हो, नोमोफोबिया । यो एक प्रकारको मनोवैज्ञानिक अवस्था हो ।
यो समस्या तब उत्पन्न हुन्छ । जब मोबाइल फोनबाट टाढा हुँदा मनमा एक किसिमको भय उत्पन्न हुन्छ । इन्टरनेट कनेक्शन नहुँदा, वा मोबाइलको ब्याट्री कम हुँदा उत्पन्न हुने असामान्य डर वा चिन्ता हुन्छ ।
अझ सरल भाषामा भन्नुपर्दा, कतिपय व्यक्तिहरूलाई लामो समयसम्म मोबाइल फोनबिना रहन मन नपर्न सक्छ, तर कतिपयलाई मोबाइलको सम्पर्क केही क्षण गुमाउँदा डर वा चिन्ता हुन्छ । यही अवस्थालाई नोमोफोबिया भनिन्छ ।
मोबाइल फोनको प्रयोग केवल वयस्कमा मात्र सीमित छैन । साना बालबालिकाहरू पनि मोबाइलमा यति अभ्यस्त भएका छन् कि उनीहरूले मोबाइलबिना खाना खान, सुत्न वा स्कूल जानसमेत अस्वीकार गर्छन्।
अभिभावकहरूले पनि बालबालिकालाई फकाउन वा व्यस्त राख्न मोबाइलको सहारा लिन थालेका छन् । यो प्रवृत्तिले नोमोफोबियालाई झनै बढावा दिएको छ ।
बालबालिकामा होइन, मोबाइलको पहुँच भएको र यसलाई चलाउन जान्ने अधिकांशमा यो प्रत्यक्ष-अप्रत्यक्ष रुपमा देख्न सकिन्छ ।
कारण
नोमोफोबिया किन हुन्छ भन्ने स्पष्ट कारण पत्ता लागिसकेको छैन । तर, केही पक्ष यसका लागि जिम्मेबार मानिन्छन् ।
– स्मार्टफोनले धैर्यताको बानी विकास गर्न दिँदैन । किनकी, यस्ता डिजिटल उपकरणले तुरुन्तै नतिजा दिन्छ । मनले चाहनेबित्तिकै कुनै कुरा खोज्न वा कसैसँग कुराकानी गर्न छिटो र सहज बनाउँछ ।
-यसले मनोरन्जन पनि दिइरहेको हुन्छ । जसले लत लाग्ने र बारम्बार प्रयोग गर्ने बानी बस्छ।
– पहिलेदेखि नै चिन्ता वा डरको समस्या भएकाहरूलाई नोमोफोबिया हुनसक्छ ।
– मोबाइलबारे बारम्बार सोच्ने र धेरै प्रयोग गर्ने बानी ।
-घुलमिल हुन नसक्ने, अरूसँग कुराकानीमा असहज महसुस हुने वा आफूलाई कमजोर ठान्ने भावना ।
– कुनै काम नगर्ने, विलासिताको जीवन विताउने ।
नोमोफोबिया भएको कसरी थाहा पाउने ?
नोमोफोबियाले प्रभावित व्यक्तिमा विभिन्न शारीरिक, मानसिक, र व्यवहारगत लक्षणहरू देखिन्छन् ।
जस्तो कि,
– दिनको अधिकांश समय मोबाइल वा डिजिटल मिडियामा बिताउने । सुत्दा पनि मोबाइल नजिक राख्ने र २४ सै घण्टा फोन अन राख्ने ।
– एकभन्दा बढी मोबाइल फोन प्रयोग गर्ने वा सधैं चार्जर बोकेर हिँड्ने ।
– मोबाइल नजिक नहुँदा, ब्याट्री कम हुँदा, वा इन्टरनेट कनेक्शन नहुँदा अत्तालिने, डराउने वा छटपटाउने ।
– फोन नबज्दा पनि बजेको भान हुने । बारम्बार फोन चेक गर्ने र सन्देश वा सूचना नआउँदा पनि मन बेचैन भइराख्ने ।
– मोबाइलबिना सामाजिक गतिविधि वा संवादमा सहभागी हुन गाह्रो मान्ने । यस्ता गतिविधिबाट टाढा रहने ।
-माथि उल्लेखित जस्तो नहुँदा डर, रिस, छटपटी, मुटुको धड्कन बढ्ने, सास फेर्न गाह्रो हुने, एकाग्रता कम हुने र दैनिक काममा बाधा पुग्ने ।
यी लक्षणहरूले बालबालिकाको पढाइ, सामाजिक सम्बन्ध, र व्यक्तित्व विकासमा दीर्घकालीन असर पार्छ ।
नोमोफोबियाको प्रभाव
नोमोफोबियाले बालबालिकाको बौद्धिक, भावनात्मक र सामाजिक विकासमा गम्भीर असर पार्छ ।
अहिले धेरैजसो बच्चा कोहीसँग नबोल्ने, मोबाइलमा मात्र घन्टौंसम्म एकोहोरिने, मुख ठुस्स पारेर बस्ने, बोलाउँदा पनि नबोल्ने गरेको छरछिमेक, साथीभाइ वा परिवारमै देखेको हुनुपर्छ ।
डिजिटल मिडियाको अत्याधिक प्रयोगले उनीहरूको रचनात्मकता, समस्या समाधान गर्ने क्षमता र सामाजिक घुलमिल गर्ने बानीमा ह्रास आउँछ ।
मोबाइलमा लत लाग्दा बालबालिकाले बाहिरी खेलकुद, प्रकृतिसँगको मिलाप र साथीहरूसँगको प्रत्यक्ष अन्तरक्रियाबाट उनीहरु वञ्चित हुन्छन् ।
यसबाहेक, उमेर नपुगी अनुचित सामग्रीको सम्पर्कमा आउने जोखिम पनि उत्तिकै छ ।
मोबाइल नहुँदा देखिने रिस, जिद्दीपन, र छटपटीले उनीहरूको मानसिक स्वास्थ्यमा थप जटिलता थप्छ। झिल्को चलचित्रले पनि यी सबै पक्षलाई कथाको माध्यमबाट देखाएर समाजमा चेतना जगाउने प्रयास गरेको छ।
उपचार
मोबाइल नहुँदा डर लाग्ने समस्यालाई आधिकारिक रूपमा रोग मानिएको छैन । यो हालै देखिएको नयाँ अवस्था हो । त्यसैले यसको विशेष उपचार छैन । तर, मनोचिकित्सकले अन्य डर (फोबिया) को उपचारजस्तै यसको पनि उपचार गर्छन् ।
– व्यवहार सम्बन्धी थेरापी : यी थेरापीहरूले डर र नकारात्मक विश्वासलाई कम गर्न मद्दत गर्छन् । नोमोफोबियाको लागि यो थेरापीले फोन हराउने, सम्पर्कमा नहुने वा फोन प्रयोग गर्न नपाउने डरलाई समाधान गर्न सक्छ ।
– कग्निटिभ बिहेभियरल थेरापी (सीबीटी) : यो थेरापीमा व्यक्तिलाई डर पैदा गर्ने विचारहरूलाई सामना गर्न र बदल्न सिकाइन्छ ।
-एक्सपोजर थेरापी (बिस्तारै डरको सामना गर्ने ) : यसमा व्यक्तिलाई बिस्तारै फोन नहुँदाको अवस्थामा राखिन्छ, ताकि डर कम होस् ।
हिप्नोथेरापी : यो थेरापीमा मनोवैज्ञानिकले व्यक्तिलाई शान्त रहन र फोन नहुँदा पनि सहज हुने तरिका सिकाउँछन्, जस्तैः दिमागमा शान्त तस्बिरहरू कल्पना गर्ने।
यी उपायहरूले नोमोफोबियाको डरलाई बिस्तारै कम गर्न मद्दत गर्छ।
यो समस्या देखिएपछि कसरी नियन्त्रण गर्ने ?
नोमोफोबियालाई नियन्त्रण गर्न व्यक्तिगत, पारिवारिक, र सामाजिक तहमा सचेत प्रयास आवश्यक छ ।
– डिजिटल मिडियाको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे सचेत हुने ।
– बालबालिकालाई मोबाइल प्रयोगका लागि निश्चित समय तोक्ने ।
– उनीहरूलाई बाहिरी खेल, रचनात्मक गतिविधि र परिवारसँग समय बिताउन प्रोत्साहन गर्ने ।
– नोमोफोबियाका लक्षण देखिएमा तुरुन्तै मनोचिकित्सक, मनोविद् वा स्वास्थ्यकर्मीसँग परामर्श लिने ।
– बालबालिकालाई मोबाइलको सट्टा अन्य रुचिकर गतिविधिमा संलग्न गराउने। उनीहरूको भावनात्मक आवश्यकतामा ध्यान दिने ।
– निश्चित समय मोबाइल र इन्टरनेटबाट टाढा रहने अभ्यास गर्ने ।
प्रतिक्रिया 4