+

हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?

२०८२ वैशाख  २१ गते १४:२० २०८२ वैशाख २१ गते १४:२०
हामीलाई धेरै मिठो लाग्ने ‘अल्ट्रा–प्रोसेस्ड’ खानेकुरा कति खतरनाक ?

केक, कुकिज, पेस्ट्रिज र आइसक्रिमले तपाईंको जिब्रोलाई कत्तिको लोभ्याउँछ ? यदि हेर्दा मुखै रसाउने परिकार स्वास्थ्यका लागि जोखिमयुक्त बन्न सक्छ ।

किनकी, यस्ता अल्ट्रा–प्रोसेस्ड खानेकुराले मोटोपन, मुटुरोग, मधुमेह र क्यान्सरजस्ता रोग समस्या निम्त्याउँन सक्छन्, जसले असामयिक मृत्युको जोखिम बढाउँछ । यस्ता खानेकुराको अत्याधिक सेवनले स्वास्थ्यमा दीर्घकालीन असर पार्ने र मृत्युको सम्भावना बढाउने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

अध्ययनले के भन्छ ?

अमेरिकन जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित एक अध्ययनले विश्वका आठ देश – कोलम्बिया, चिली, मेक्सिको, ब्राजिल, अष्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिकामा अल्ट्रा–प्रोसेस्ड खानेकुराको प्रभाव विश्लेषण गरेको छ ।

अध्ययनले देखाए अनुसार यस्ता खानेकुरा कम खाने देशहरूमा अल्पायुमै हुने मृत्युको दर केवल ४ प्रतिशत छ । बेलायत र अमेरिकाजस्ता देशहरू, जहाँ यस्ता खानेकुराको खपत निकै उच्च छ, त्यहाँ समयपूर्व हुने मृत्युको दर १४ प्रतिशतसम्म पुगेको देखाएको छ ।

बेलायतमा एक वयस्कले आफ्नो दैनिक ऊर्जाको ५३ प्रतिशत यस्ता खानेकुराबाट प्राप्त गर्छन् । सन् २०१८–२०१९ मा बेलायतमा १७ हजार ७८१ मृत्युको कारण अल्ट्रा–प्रोसेस्ड खानेकुरासँग जोडिएका कारणहरू रहेको अनुमान छ ।

के भन्छन् विशेषज्ञ ?

धेरै अध्ययनले अल्ट्रा–प्रोसेस्ड फूड र खराब स्वास्थ्यबीच सम्बन्ध देखाएका छन्, तर यी एक-अर्काको कारण हुन् भन्ने ठोस प्रमाण अझैँ आइनसकेकोले शतप्रतिशत सही हो कि होइन भन्ने कुरा प्रमाणित गर्न चुनौतीपूर्ण रहेको पोषणविद् प्रतिमा सेन बताउँछिन् ।

‘यस्ता खानेकुराले मोटोपन बढाउने, पोषण कम गराउने, मुटुको रोग, टाइप २ मधुमेह र डिप्रेसनको जोखिम बढी हुने देखिन्छ’ सेन भन्छिन्, ‘सायद यही कारणले छिटो मृत्यु हुनसक्ने दावी गरिएको हुनुपर्छ।’

अल्ट्रा–प्रोसेस्ड फूड कसरी चिन्ने ?

पोषणविद् अनुश्री आचार्यका अनुसार अल्ट्रा–प्रोसेस्ड खानेकुरा ती हुन्, ‘जो औद्योगिक प्रक्रियाबाट गुज्रिएर तयार गरिन्छन् । यिनमा चिनी, चिल्लो, नुन र कृत्रिम रसायनको मात्रा अत्याधिक हुन्छ ।

आइसक्रिम, बिस्कुट, केक, प्रोसेस्ड मासु, चिप्स, ड्रिंक्स, चाउचाउ र ठूलो परिमाणमा उत्पादन हुने पाउरोटी तथा ब्रेकफास्ट सिरियल यस्ता खानेकुराका उदाहरण हुन् ।

यिनलाई स्वादिलो बनाउन र लामो समय टिकाउन नुन, तेल, चिनी मिसाइन्छ र प्रशोधन गरिन्छ । यस्ता खानेकुराले पोषणभन्दा क्यालोरी बढी दिन्छन्, जसले स्वास्थ्यमा नकारात्मक असर पार्ने आचार्य बताउँछिन्।

प्राकृतिक खानेकुरालाई स्वादिलो पार्न र लामो समयसम्म टिकाउने प्रयोजनले तयार पारिएको खानेकुरा प्रोसेस्ड भन्दा पनि अल्ट्राप्रोसेड खानेकुरा एक तहले बढी हानिकारक हुने पोषणविद प्रतिमाको भनाइ छ ।

‘यी खानेकुरा प्रिर्जटिभसँगै अत्याधिक चिनी, चिल्लो, नुन र कृत्रिम रसायन मिसाइने हुँदा एकपटक खाएपछि अर्को पटक खाने र्तिसना बसिरहन्छ । एक त यो खानेकुरा कति खाएको सम्म पत्तो पाइँदैन । त्यहीमाथि यसमा मिसाइने हानिकारक तत्व शरीरका लागि घातक बन्छ, ’उनी सुनाउँछिन् ।

कसरी यी खानेकुरा शरीरका लागि घातक ?

पोषणविद् सेनका अनुसार यी खानेकुरामा चिनी, चिल्लो र नुनको मात्रा धेरै हुन्छ, जसको धेरै उपभोगले शरीरको भित्री अंगहरूमा बोसो बढ्ने, मोटोपन, मेटाबोलिक सिन्ड्रोम, उच्च रक्तचाप, टाइप २ मधुमेह, मुटुरोग र डिप्रेसनको संकेतहरू बिस्तारै देखाउन थाल्छ । फलस्वरुप कम उमेरमै यस्ता रोगको शिकार बनाउँछ ।

यस्ता खानाले इन्सुलिन रेसिस्टेन्स बढाएर मधुमेहको खतरा निम्त्याउँछ भने एलडीएल कोलेस्ट्रोलको स्तर बढाएर मुटुरोगको सम्भावना उच्च बनाउँछ। यसबाहेक, यस्ता खानेकुरामा फाइबर र एन्टिअक्सिडेन्टको कमी हुन्छ । यो अवस्थाले क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढाउँछ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. विधान निधि पौडेल पनि यी खानेकुराले आन्द्राको स्वस्थ ब्याक्टेरियालाई नष्ट गर्ने र यसले पाचन प्रणालीमा दीर्घकालीन समस्या ल्याउने बताउँछन् । डा. पौडेलका अनुसार यसले कोलोन क्यान्सरजस्ता रोगको सम्भावना पनि बढाउँछ। यी खानेकुरा छिट्टै पच्ने खालका हुन्छन्, जसले चाँडै भोक लाग्ने बनाउँछ ।

फलस्वरूप, मानिसले बारम्बार यस्तै खानेकुरा खाने बानी बस्छ, जसले मोटोपन र अन्य स्वास्थ्य समस्यालाई झनै बढाउँछ। डा. प्रतिमा भन्छिन्, ‘यी खानेकुराले फलफूल र सागसब्जीजस्ता पोषक तत्वयुक्त खाना विस्थापित गर्छन्, जसले स्वास्थ्यमा दोहोरो हानि पुर्‍याउँछ।

यसले दीर्घकालमा मृत्युको सम्भावना बढाउँछ । तथापि, यो सिधै मृत्युको कारण हो भन्ने ठोस प्रमाण अझै अपर्याप्त रहेको तर स्वास्थ्य जोखिमसँगको सम्बन्ध स्पष्ट हुने उनको भनाइ छ ।

नेपालमा यस्ता खानेकुराको प्रभाव

नेपालमा अल्ट्रा–प्रोसेस्ड फूडको प्रभावबारे ठोस अध्ययन भएको देखिँदैन ।

तर, शहरी क्षेत्रमा फास्ट फूड, प्याकिङ गरिएका स्न्याक्स र कार्बोनेटेड पेयको खपत पहिलेको भन्दा बढ्दो छ । यद्यपि, पश्चिमी मुलुकमा भन्दा यहाँ यसका उपभोगकर्ता कम नै रहेको पोषणविद् आचार्य बताउछिन् ।

‘नेपालमा केक, बेकरी आइटम खासै खाने चलन छैन । केक खानका लागि पनि कसैको जन्मदिन वा कुनै समारोह आउनुपर्छ’ आचार्य भन्छिन्, ‘नेपालमा यस्ता खानेकुराले सिधै स्वास्थ्यमा असर पारेकोर र मृत्यु निम्त्याएको तथ्यांक उपलब्ध छैन ।’

यसो भन्दैमा ढुक्क भइहाल्ने अवसस्था भने नभएको सेन बताउँछिन् । शहरीकरण र व्यस्त जीवनशैलीका कारण अहिले यस्ता खानेकुरा रुचाउनेको संख्या बढ्दै गइरहेको उनको भनाइ छ ।

‘हतारका बेला छिटो तयार हुने, समयको बचत हुने, मिठो पनि हुने हुँदा यी खानेकुरामा निर्भरता अहिले बढेको देखिन्छु’,  उनी भन्छिन्, ‘जसले नसर्ने रोगको जोखिम बढदै गएको छ ।’

अल्ट्रा–प्रोसेस्ड फूडको सट्टा स्थानीय र प्राकृतिक खाना खान आहार तथा पोषणविद्हरू जोड दिन्छन् । पोषणविद् आचार्य गहुँ, कोदो, फापर, दाल र मौसमी सागसब्जी, फलफुल, खान सुझाव दिन्छन् ।

यस्ता खानाले पोषण प्रदान गर्नुका साथै रोगबाट बचाउँछन् । साथै, प्याकेज्ड खानाको लेबल पढ्ने र चिनी, नुन र चिल्लोको मात्रा जाँच्ने बानी बसाल्नुपर्ने गर्नुपर्ने उनीहरूको सुझाव छ ।

प्रशोधित खानेकुरा
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय