+

के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

२०८२ वैशाख  २२ गते १८:१८ २०८२ वैशाख २२ गते १८:१८
Shares
के फ्लेभरयुक्त कण्डमले संक्रमणको जोखिम हुन्छ ?

बनाना, स्ट्रबेरी, चकलेट वा म्याङ्गो फ्लेभरका कण्डम । बजारमा थरीथरीका बास्नादार कण्डम छन् । यी कण्डमले गर्भ रोक्न र यौन संक्रमणबाट बचाउँछ । तर, यस्ता फ्लेभरले कुनै हानि गर्दैन ? यो प्रश्न कहिल्यै सोच्नु भएको छ ।

सबैभन्दा पहिला फ्लेभरको कुरा बुझौँ ।

स्ट्रबेरी, चकलेट, बनाना, म्याङ्गोदेखि भेनिलासम्म-यी फ्लेभरहरू कण्डमको बाहिरी सतहमा थपिने खानयोग्य रसायन वा सुगन्ध हुन् । यिनको काम हो, यौन सम्पर्कलाई थप रमाइलो बनाउनु, खासगरी ओरल सेक्सको क्रममा बास्ना थप्नु ।

यसको डिजाइन मुख मैथुनमा स्वाद होस् तर गन्ध नहोस् भन्नको लागि डिजाइन गरिएको हो ।

फ्लेभरयुक्त कण्डम कति सुरक्षित ?

फ्लेभरयुक्त कण्डमले यौन जीवनमा रङ थप्छ, तर यो पूर्ण सुरक्षित छ भन्ने ग्यारेन्टी भने दिन सकिँदैन ।

तथ्याङ्क भन्छ, कण्डमले यौनजन्य रोग एचआईभी, क्ल्यामिडियाबाट ९८ प्रतिशत सम्म सुरक्षा दिन्छ । तर फ्लेभरयुक्त कण्डमले योनीको स्वास्थ्यमा भने जोखिम ल्याउन सक्छ।

एक अध्ययनले देखाए अनुसार यस्ता कण्डम प्रयोग गर्दा १० देखि ३० प्रतिशत महिलामा संक्रमणको जोखिम बढ्छ ।

के साच्चै फ्लेभरले संक्रमण गराउँछ ?

फ्लेभरयुक्त कण्डमले संक्रमण गराउने सम्भावना धेरै कुरामा निर्भर गर्छ ।

चिनी र सुगन्धित रसायन

फ्लेभरयुक्त कण्डममा प्रायः चिनी वा चिनी–आधारित तत्वहरू प्रयोग गरिन्छ, जसले स्वाद र सुगन्ध थप्छ । तर, फ्लेभरयुक्त बस्तु योनी वा यौनाङ्गको संवेदनशील छालाको लागि सधैं राम्रो हुँदैन ।

योनीमा स्वाभाविक रूपमा पाइने ब्याक्टेरियाको सन्तुलनलाई चिनीले बिगार्न सक्छ, जसले ब्याक्टेरियल भजाईनोसिस वा यीस्ट इन्फेक्सन (ढुसी) जस्ता समस्याहरू निम्त्याउन सक्छ ।

जस्तै, यदि तपाईंले स्ट्रबेरी फ्लेभरको कण्डम प्रयोग गरेमा त्यसमा चिनीको मात्रा धेरै छ भने योनीको पीचको स्तर बिग्रन सक्छ । योनीको स्वस्थ पीएच स्तर अम्लीय (३.८–४.५) हुन्छ, तर चिनीले यो सन्तुलनलाई क्षारीय बनाइदिन्छ, जसले ब्याक्टेरियाहरु जम्मा हुने मौका दिन्छ । फलस्वरुप  चिलाउने, पोल्ने, वा गन्ध आउने समस्या हुनसक्छ ।

एलर्जी र छालाको प्रतिक्रिया

फ्लेभरयुक्त कण्डममा प्रयोग हुने रसायनहरू, जस्तै कृत्रिम सुगन्ध वा रंग, कसै–कसैलाई एलर्जी गराउन सक्छ । यदि छाला संवेदनशील छ भने, चकलेट फ्लेभरको कण्डमले यौनाङ्गमा रातोपन, चिलाउने, वा पोल्ने हुनसक्छ ।

लुब्रिकेन्टले समस्या

धेरै फ्लेभरयुक्त कण्डममा लुब्रिकेन्ट पनि हुन्छ, जुन प्रायः सिलिकन–आधारित वा पानी–आधारित हुन्छ । तर केही लुब्रिकेन्टमा ग्लिसरिन जस्ता तत्वहरू हुन्छन्, जसले योनीमा यीस्ट इन्फेक्सनलाई प्रोत्साहन दिन सक्छ ।

त्यसैले, यदि फ्लेभरयुक्त कण्डम प्रयोग गर्दै हुनुहुन्छ भने, लुब्रिकेन्टको सामग्री पनि हेर्नु महत्वपुर्ण हुन्छ ।

गलत तरिकाले प्रयोग

कण्डमको फ्लेभरलेभन्दा पनि यसको गलत प्रयोगले संक्रमणको जोखिम बढ्छ ।   जस्तो की, कण्डमको प्याकेट खोल्दा वा लगाउँदा हात सफा छैन भने, ब्याक्टेरिया सजिलै यौनाङ्गमा प्रवेश गर्न सक्छ ।

यसबाहेक कसैलाई कण्डम प्रयोग गर्दा ल्याटेक्सको एलर्जीको सम्भावना पनि हुनसक्छ । ल्याटेक्स भनेको कण्डममा प्रयोग हुने रबर हो ।

लेटेक्स एलर्जी विशेष गरी ती व्यक्तिहरूलाई हुन सक्छ जो लेटेक्स सामग्री (जस्तै कन्डम, मेडिकल ग्लोभ्स, बेलुन) को सम्पर्कमा आउँदा शरीरको रोग प्रतिरोधक प्रणालीले असामान्य प्रतिक्रिया देखाउँछ ।

कसलाई जोखिम बढी हुन्छ ?

– यदि साबुन, पर्फ्युम, वा अन्य रसायनले छिट्टै एलर्जी हुन्छ भने, फ्लेभरयुक्त कण्डमले असर गर्न सक्छ ।

– यीस्ट इन्फेक्सनको इतिहास भएमा चिनी र ग्लिसरिन भएको फ्लेभरले यीस्ट इन्फेक्सनलाई बढावा दिन सक्छ ।

– यदि हरेक दिन फ्लेभरयुक्त कण्डम प्रयोग गर्नुहुन्छ भने, योनीको पीएच सन्तुलन बिग्रने सम्भावना बढ्छ ।

– थप चिप्लोपनाको लागि पानीमा आधारित लुब्रिकेन्ट भएको किन्न सकिन्छ । यो सुरक्षित विकल्प हो ।

कसरी सुरक्षित रहने ?

– कण्डमको प्याकेटमा ‘सुगर फ्री र ‘नन ग्लिसिरिन’ लेखिएको मात्र खरिद गर्ने ।- कण्डम प्रयोग गर्नुअघि र पछि हात र यौनाङ्ग सफा गर्ने । यो सानो अभ्यासले पनि ब्याक्टेरियाको जोखिमबाट बचाउँछ ।

-फ्लेभरयुक्त कण्डम मुखमैथुनको लागि प्रयोग गर्नु उपयुक्त हुन्छ ।

-यदि योनीमा हुन सक्ने संक्रमणको डर छ भने सादा कण्डम प्रयोग गर्नुहोस् ।

– नयाँ फ्लेभरको कण्डम प्रयोग गर्नुअघि सानो मात्रा छालामा लगाएर टेस्ट गर्न सकिन्छ । यदि रातोपन वा चिलाउने भयो भने, त्यो फ्लेभर तपाईंको लागि होइन ।

-यदि बारम्बार योनीमा चिलाउने वा संक्रमण हुन्छ भने, फ्लेभरयुक्त कण्डम प्रयोग गर्नुअघि डाक्टरसँग सल्लाह लिन सकिन्छ ।

कण्डम
डा. मोहन भुसाल
लेखक
डा. मोहन भुसाल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । डा. भुसालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३०७१ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय