बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मन पर्ने चीज खाँदा, उनीहरू खाँदै गरेको वस्तु कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले खाना खाँदा अक्सर घाँटीमा अड्किन सक्छ । त्यसैले, खानेकुरा खुवाउँदा आमाबाबुले बढी ध्यान दिनुपर्छ ।
बच्चाहरूमा खानेकुरा वा अन्य वस्तुहरू घाँटीमा अड्कने समस्यालाई चिकित्सकीय भाषामा चोकिङ भनिन्छ, तुरुन्त ध्यान नदिएमा श्वासप्रश्वासमा अवरोध भई ज्यानै जोखिममा पर्न सक्छ । विशेष गरी ५ वर्षमुनिका बच्चाहरूमा यस्तो जोखिम बढी हुन्छ, किनभने उनीहरूको श्वास नली सानो हुन्छ र खानेकुरा राम्ररी चपाउन सक्ने क्षमता पूर्णरूपमा विकास भएको हुँदैन ।
बच्चाको घाँटीमा खानेकुरा अड्किएमा तुरुन्त के गर्ने त ?
चोकिङ के हो र किन हुन्छ ?
चोकिङ तब हुन्छ जब खानेकुरा, खेलौना वा अन्य कुनै वस्तु श्वासनली वा घाँटीमा अड्किएर श्वासप्रश्वासमा अवरोध उत्पन्न गर्छ । बच्चाहरूमा यो समस्या निम्न कारणले हुन सक्छ । खानेकुरा राम्ररी नचपाउँदा यस्तो समस्या हुन सक्छ । अंगुर, गेडागुडी, क्यान्डी, वा मासुजस्ता खानेकुराहरू सजिलै अड्किन सक्छन् ।
सिक्का, बटन, वा साना खेलौनाका टुक्राहरू बच्चाले मुखमा राख्दा अड्किन सक्छ । साथै बच्चाहरू हतारमा खाँदा वा खेल्दै खाँदा खानेकुरा अड्किन सक्छ । श्वास नलीको सानो आकार पनि यो समस्या निम्तिन सक्छ । साना बच्चाहरूको श्वासनली साँघुरो हुने भएकाले सानो वस्तुले पनि पूर्ण अवरोध निम्त्याउँन सक्छ ।
चोकिङका लक्षणहरू
-अचानक खोक्न नसक्नु वा कमजोर खोकी ।
-श्वास फेर्न गाह्रो हुनु वा असामान्य श्वासको आवाज निस्कनु ।
-अनुहार, ओठ वा नङ निलो हुनु ।
-हातले घाँटी समात्नु वा घाँटीमा अड्किएको संकेत गर्नु ।
-बोल्न वा रोक्न नसक्नु ।
-बेहोस हुने अवस्था ।
-यस्ता लक्षण देखिएमा तुरुन्त प्राथमिक उपचार सुरु गर्नुपर्छ ।
प्राथमिक उपचारका उपायहरू
सबैभन्दा पहिले बच्चाको अवस्था जाँच्नुपर्छ । यदि बच्चा खोक्न, बोल्न वा रोक्न सक्छ भने, यो आंशिक अवरोधको संकेत हो । यस्तो अवस्थामा बच्चालाई खोक्न प्रोत्साहन गर्नुहोस्, किनभने खोकीले अड्किएको वस्तुलाई बाहिर निकाल्न सक्छ ।
बच्चालाई नजिकबाट निगरानी गर्नुपर्छ । तर तुरुन्त कुनै शारीरिक हस्तक्षेप गर्नुहुँदैन । यदि खोकी कमजोर हुँदै जान्छ वा बच्चाले श्वास फेर्न गाह्रो मान्छ भने, तुरुन्त थप उपायहरू अपनाउने ।
यदि बच्चा बोल्न, रोक्न वा खोक्न सक्दैन भने यो पूर्ण अवरोधको संकेत हो । यस्तो अवस्थामा तुरुन्त प्राथमिक उपचार सुरु गर्नुपर्छ ।
एक वर्षमुनिका बच्चाहरूका लागि प्राथमिक उपचार
पछाडि थपथपाउने
बच्चालाई आफ्नो हातमा उत्तानो पारेर राख्ने, बच्चाको टाउको शरीरभन्दा तल हुने गरी । बच्चाको काँधको बीचमा, हातको कडा भागले ५ पटक बिस्तारै तर बलपूर्वक थपथपाउने । प्रत्येक थपथपाइपछि अड्किएको वस्तु बाहिर निस्कियो कि निस्किएन जाँच्ने ।
छातीमा थिच्ने
यदि पछाडिको थपथपाइले काम गरेन भने, बच्चालाई सिधा पार्ने आफ्नो हातमा राख्ने । दुई औँलाले बच्चाको छातीको बीचमा स्तनको रेखाभन्दा अलिकति तल ५ पटक बिस्तारै थिच्ने ।
यो प्रक्रिया दोहोर्याउने, पछाडिको थपथपाइ र छातीको थिचाइलाई पटक-पटक प्रयोग गर्दै, जबसम्म वस्तुबाहिर ननिस्कियोस् वा बच्चा बेहोस नहोस् ।
१ वर्षभन्दा माथिका बच्चाहरूका लागि प्राथमिक उपचार
हेल्मिच म्यानुभर
बच्चालाई सिधा उभ्याउने वा बसाउने । बच्चाको पछाडि उभिएर आफ्नो हातलाई बच्चाको कम्मरमा राख्ने एउटा हातलाई मुठी बनाउने र मुठीको औँलातर्फको भागलाई बच्चाको नाभीभन्दा माथि र छातीको हड्डीभन्दा तल राख्ने । अर्को हातले मुठीलाई समात्ने र ५ पटक तीव्र र माथितिर धक्का दिने । प्रत्येक धक्कापछि अड्किएको वस्तुबाहिर निस्किएको छ कि छैन जाँच्ने ।
पछाडि थपथपाउने
यदि हाइमलिक म्यानुभरले काम गरेन भने, बच्चालाई अगाडि झुकाउने र काँधको बीचमा ५ पटक बलपूर्वक थपथपाउने । यी दुवै प्रक्रियालाई पटक-पटक दोहोर्याउने ।
बच्चा बेहोस भएमा
यदि बच्चा बेहोस हुन्छ भने, तुरुन्त सिपिआर सुरु गर्नुपर्छ । बच्चालाई सिधा, समतल सतहमा राख्ने र छाती थिच्ने । एक वर्षमुनिका बच्चाहरूका लागि दुई औँलाले छातीको बीचमा ३० पटक थिच्ने । एक वर्षभन्दा माथिका बच्चाहरूका लागि एक वा दुई हातले ३० पटक थिच्ने ।
बच्चाको नाक र मुख ढाक्ने गरी आफ्नो मुख राख्ने र दुई पटक बिस्तारै श्वास दिने । प्रत्येक श्वास एक सेकेन्डको हुनुपर्छ । यो ३० थिचाइ र २ श्वास प्रक्रिया दोहोर्याउने । जबसम्म बच्चाले श्वास फेर्न थाल्दैन वा चिकित्सकीय सहायता आइपुग्दैन।
चोकिङबाट बच्ने उपायहरू
-बच्चालाई खानेकुरा सानो टुक्रामा काटेर दिने, बच्चालाई अङ्गुर, टमाटर, वा मासुजस्ता खानेकुरा साना टुक्रामा काटेर दिनुपर्छ ।
-खेलौनाको साइजमा ध्यान दिनुपर्छ, ३ वर्षमुनिका बच्चाहरूलाई साना खेलौनाहरू नदिने ।
-बच्चाले खाना खाँदा निगरानी गर्ने, बच्चालाई खाना खाँदा हिँड्न, खेल्न, वा हाँस्न नदिने ।
-अभिभावक र हेरचाहकर्ताहरूले सीपीआर र चोकिङ उपचारको तालिम लिनु महत्त्वपूर्ण छ ।
प्रतिक्रिया 4