+

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

२०८२ वैशाख  २५ गते १०:५३ २०८२ वैशाख २५ गते १०:५३
Shares
के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

शरीरमा कुन भिटामिनको कमी भयो ? कमी भएका भिटामिनको नामसहित थरीथरीका सप्लिमेन्ट बजारमा पाइन्छन् । भिटामिन सप्लिमेन्टको बजार तीव्ररुपमा बढ्दै गइरहेको छ । यसरी बढ्नुको कारण हो, भिटामिन खाए शरीर स्वस्थ रहन्छ भन्ने विश्वास गर्नु ।

लण्डनको मार्केट रिसर्च फर्म मिनटेलको तथ्यांकअनुसार ब्रिटेनमा दुई तिहाई मानिसले भिटामिन, खनिज र सप्लिमेन्ट खाने गर्छन् ।कतिपयले यसको कमीको पूरा गर्न मात्र होइन, बरु, भिटामिन खाएपछि रोग नै लाग्दैन भन्ने सोचले खाने गर्छन् ।

बजारमा कयौं सप्लिमेन्ट उपलब्ध छन् । जसमा फरक-फरक भिटामिन र  मिनरल्सको मिश्रण अर्थात् मल्टीभिटामिन हुन्छन्, जो शरीरका लागि फाइदाजनक नै हुन्छ भन्न मुस्किल हुन्छ । वास्तवमा स्वस्थ रहनका लागि १३ भिटामिन शरीरका लागि आवश्यक छ । तर, के ती भिटामिनको पूर्तिका लागि सप्लिमेन्ट लिनु उपयुक्त छ ? के हरेक दिन सप्लिमेन्ट लिनुपर्छ ?

भिटामिन दुई प्रकारका हुन्छन् । बोसोमा घुलनशील र पानीमा घुलनशील । बोसोमा घुलनशील भिटामिनहरू भिटामिन ए, डी, ई र के शरीरमा जम्मा हुन्छन् । त्यसैले, यिनको सप्लिमेन्ट नखाए पनि शरीरमा यिनको स्तर कायम राख्न सकिन्छ।

तर, अत्याधिक मात्रा लिनाले ओभरडोजको जोखिम हुनसक्छ, त्यसैले धेरै मात्रामा यी भिटामिनहरू लिनु हुँदैन । पानीमा घुलनशील भिटामिनहरू (भिटामिन सी र बी, जस्तै फोलिक एसिड) शरीरमा जम्मा हुँदैनन् ।

त्यसैले, यी सन्तुलित मात्रा लिइरहन सकिन्छ । यदि यी भिटामिनहरू आवश्यकताभन्दा बढी लिइयो भने अत्याधिक मात्रा पिसाबको माध्यमबाट बाहिर निस्कन्छ । यद्यपि, भिटामिन बी लाई कलेजोले भण्डारण गर्न सक्छ।

केही मल्टिभिटामिनको चक्कीमा क्याल्सियम, जिंक र आइरन जस्ता खनिजहरू हुन्छन् । यी तीनवटै खनिजहरू खानाबाट पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ ।

हरेक दिन भिटामिन सप्लिमेन्ट लिनु सधैं उचित हुँदैन । घामको सम्पर्क वा सप्लिमेन्टबाट मात्र प्राप्त हुने भिटामिन डी बोहक सन्तुलित खानाबाट अधिकांश भिटामिन र खनिज प्राप्त गर्न सकिन्छ ।

सप्लिमेन्ट तब मात्र आवश्यक हुन्छ जब खानाबाट यी पोषक तत्वको कमी भएमा लिनुपर्छ । चिकित्सकको सिफारिसमा विशेष अवस्था जस्तै, गर्भावस्था, वृद्धावस्था, महिनावारीमा आइरन कमी हुँदा पनि सप्लिमेन्टको आवश्यक पर्छ ।

क्याल्सियम : क्याल्सियम हड्डीहरू बलियो र स्वस्थ राख्न लागि आवश्यक छ । जुन हरेक दिन ७०० मिलिग्राम आवश्यक पर्छ ।

जिंक : जिंक प्रतिरक्षा प्रणाली र पाचन प्रणालीका लागि आवश्यक छ । महिलाहरूलाई दैनिक ७ मिलिग्राम र पुरुषहरूलाई ९.५ मिलिग्राम चाहिन्छ ।

आइरन : खानाबाट ऊर्जा निकाल्न र रगतमा अक्सिजन पुर्‍याउन आइरन आवश्यक छ। १९ देखि ५० वर्ष उमेरका महिलाहरूलाई दैनिक १४.८ मिलिग्राम र पुरुषहरूलाई ८.७ मिलिग्राम आइरन चाहिन्छ ।

सप्लीमेन्ट लिँदा कसलाई फाइदा हुनसक्छ ?

ब्रिटेनको सरकारी स्वास्थ्य संस्था एनएचएसका अनुसार ब्रिटेनमा बस्ने मानिसहरूले शरद र हिउँदमा भिटामिन डी को सप्लिमेन्ट लिनुपर्छ ।भिटामिन डी ले क्याल्सियम अवशोषणमा मद्दत गर्छ, जुन दाँत, हड्डी र मांसपेशीहरूलाई बलियो र स्वस्थ राख्न आवश्यक हुन्छ । यो फस्फेट र म्याग्नेसियम अवशोषणमा पनि सहयोग गर्छ।

भोक कम लाग्ने वा वृद्ध व्यक्तिहरूलाई केही विशेष मल्टिभिटामिन लिनु फाइदाजनक हुनसक्छ । यसबारे चिकित्सकसँग सल्लाह भने लिनुपर्छ। वृद्ध व्यक्तिहरू वा घरभित्रै बस्नेहरूलाई वर्षभरि भिटामिन डी को सप्लिमेन्ट र क्याल्सियम लिनुपर्छ ।

किनकी, उनीहरू घामको सम्पर्कमा नरहने र वृद्ध व्यक्तिहरूमा पहिलेको जति शरीरले काम गर्ने अवस्थामा नरहने हुँदा उनीहरूलाई यसको आवश्यक पर्छ ।

यदि डाइटमा हुनुहुन्छ र केही विशेष खानामा आफैंले रोक लगाउनुभएको छ, चाहे यो जीवनशैली परिवर्तनका लागि होस् वा तौल घटाउनका लागि, तब सप्लिमेन्टले फाइदा गर्न सक्छ  । र, यो ती खानाबाट प्राप्त हुने पोषक तत्त्वहरूको पूर्ति गर्छ । तर, चिकित्सकको सल्लाह र परीक्षणबिना औषधि लिन भने हुँदैन ।

यदि कम क्यालोरी को डाइटमा हुनुहुन्छ भने मल्टिभिटामिन लिनु फाइदाजनक हुन सक्छ । यहाँ केही डाइटहरूको उल्लेख गरिएको छ जहाँ सप्लिमेन्टको आवश्यकता पर्न सक्छ।

यदि दुग्ध उत्पादनबाट टाढा रहनुहुन्छ भने क्याल्सियम सप्लिमेन्ट वा क्याल्सियमयुक्त सप्लिमेन्ट फाइदाजनक हुन सक्छन् । भेगन (दुग्ध उत्पादन पनि नखाने पूर्ण शाकाहारी) व्यक्तिहरूमा भिटामिन बी१२ र क्याल्सियमको कमी हुने जोखिम हुन्छ, त्यसैले यी पोषक तत्त्वहरूको सप्लिमेन्ट लिन सुझाव दिइन्छ।

महिनावारीमा अत्यधिक कमजोरी हुने महिलाहरूमा आइरनको कमी हुन सक्छ।

ब्रिटेनको नेशनल डाइट एन्ड न्यूट्रिशन सर्भे अनुसार ३५ देखि ४९ वर्ष उमेरका ४.८ प्रतिशत महिलाहरूमा आइरनको कमीले रक्तअल्पत्ता हुने गरेको छ । जबकि १२.५ प्रतिशतमा आइरनको भण्डारण कम पाइएको छ। तर, आइरनको चक्की.लिनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।

गर्भधारण गर्नुभन्दा पहिलेको १२ हप्ता मा फोलिक एसिडको सप्लिमेन्ट लिन सुझाव दिइन्छ । यसले बच्चाहरूमा न्यूरल ट्यूब डिफेक्ट को जोखिम कम गर्छ ।

भिटामिन सी ट्याबलेट : जीवनरक्षक कि समयको बर्बादी ?

मानिसहरूले रुघाखोकीबाट बच्न वर्षौंदेखि भिटामिन सी लिइरहेका छन् । यसलाई सुपरफूडको दर्जा प्राप्त पनि छ । किनभने यो एक प्रकारको एन्टिअक्सिडेन्ट पनि हो ।
तर, यसले संक्रमण, रोग वा रुघाखोकीका प्रारम्भिक लक्षणहरू रोक्न सक्छ भन्ने प्रमाण निकै कम छ ।

शरीरले अतिरिक्त भिटामिन सी भण्डारण गर्न सक्दैन, धेरै मात्रा लिँदा यो पिसाब मार्फत बाहिर निस्कन्छ। सामान्यतया, भिटामिन सी फलफूल र तरकारीहरूमा पाइन्छ।

एउटा सुन्तलामा करिब ७० मिलिग्राम भिटामिन सी हुन्छ, त्यसैले यसको कमी सामान्यतया हुँदैन ।

हरेक व्यक्तिका लागि भिटामिन र खनिजको आवश्यकता फरक हुन्छ। यो उमेर, गतिविधिको स्तर, लिंग र अन्य कुराहरूमा निर्भर गर्छ ।

स्वस्थ र सन्तुलित खानाबाट सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्, भिटामिन डी मात्र अपवाद रहेको धेरैजसो विशेषज्ञहरूको मान्यता छ ।

यद्यपि, नेशनल डाइट एन्ड न्यूट्रिशन सर्भेले भने केही मानिसहरूले मानक खुराक लिन सक्दैनन् र सप्लिमेन्टबाट यसको पूर्ति गर्छन् ।

यसको सट्टा उनीहरूले आफ्नो खानामा सुधार गर्नुपर्छ । खानामा पाँच प्रकारका फलफूल र तरकारीहरू समावेश गरेर स्वस्थ रहन सकिन्छ ।

चक्की भिटामिन
डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

किन गन्हाउँछ काखी, कसरी हटाउने ?

किन गन्हाउँछ काखी, कसरी हटाउने ?

सुतेका बेला किन बन्द हुन्छ नाक, के छ उपचार ?

सुतेका बेला किन बन्द हुन्छ नाक, के छ उपचार ?

बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बच्चाले खानेकुरा अड्काए तुरुन्त के गर्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

बालबालिकामा बढ्दैछ आस्थमाको समस्या, कसरी रोक्ने ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?

कसरी गरिन्छ दमको आयुर्वेदिक उपचार ?