सूर्ती, तमाखु, चुरोट, गुट्खा, यी मुखको क्यान्सर गराउने प्रमुख तत्व हुन् ।
यी तत्वको लतका कारण मुखको स्वास्थ्य विग्रिने भय त हुन्छ नै, कालान्तरमा मुखको क्यान्सर समेत हुने जोखिम रहन्छ । छिटो पत्ता लागेन र उपचार भएन भने यसले अकालमै ज्यान लिन पनि सक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर वर्षेनी मुखको क्यान्सरबाट ३ लाख मानिस मृत्युको मुखमा पुग्ने गर्छन् । नेपालमा मात्र वर्षमा १० हजार जनामा मुखको क्यान्सर देखिने र त्यसमध्ये करिब ४ हजारको मृत्यु हुने गरेको छ । नेपालमा पनि यो रोगको प्रकोप बढ्दो छ ।
किन हुन्छ मुखको क्यान्सर ?
सूर्तीजन्य पदार्थमा ७०० भन्दा बढी रसायनिक तत्वहरू हुन्छन्, जसमध्ये कम्तिमा ७० प्रकारका तत्वहरु (जस्तैः बेन्जोपाइरिन, नाइट्रोसमाइन, फर्मल्डिहाइड) क्यान्सर उत्पन्न गर्ने (कार्सिनोजेनिक) हुन्छन् ।
यी रसायनिक तत्वहरूले मुखको कोषिकाहरूको डीएनएमा क्षति पुर्याउँछन् । जब डीएनएमा क्षति हुन्छ, कोषिकाहरू अनियन्त्रित रूपमा विभाजन हुन थाल्छन्, जसले ट्युमर वा क्यान्सरको रूप लिन्छ ।
मुखको तन्तुमा लगातार पोल्ने र घाउ हुने
सूर्ती चपाउँदा वा धुवाँको रूपमा सेवन गर्दा यसले मुखको सतही झिल्ली (म्यूकस मेम्ब्रेन), जिब्रो, गिँजा र ओठमा लगातार पोल्ने र चोट पुर्याउँछ ।
गुट्खा वा तमाखुको लामो समयसम्मको सम्पर्कले मुखमा घाउ, सेतो वा रातो दाग (ल्यूकोप्लाकिया वा एरिथ्रोप्लाकिया) उत्पन्न गर्छ । यी दागहरू प्रि–क्यान्सरस (क्यान्सर पूर्वकाे) अवस्था हुन्, जुन समयमै उपचार नगरे क्यान्सरमा परिणत हुन्छ ।
रोगप्रतिरोधक क्षमतामा ह्रास
सूर्तीजन्य पदार्थले शरीरको रोग प्रतिरोधक प्रणालीलाई कमजोर बनाउँछ। यसले मुखको तन्तुहरूमा हुने साना–साना क्षतिहरूलाई निको पार्ने शरीरको क्षमतालाई कम गर्छ ।
फलस्वरूप, क्यान्सर उत्पन्न गर्ने कोषिकाहरूलाई नियन्त्रण गर्न शरीर असमर्थ हुन्छ, जसले क्यान्सरको जोखिम बढाउँछ ।
अक्सिजनको कमी र विषाक्त प्रभाव
चुरोट वा बिडीको धुवाँमा कार्बन मोनोअक्साइड र अन्य विषाक्त ग्यासहरू हुन्छन्, जसले मुखको कोषिकाहरूमा अक्सिजनको आपूर्ति कम गर्छ ।
अक्सिजनको कमीले कोषिकाहरूको सामान्य कार्यमा बाधा पुग्छ । र, असामान्य कोषिकाहरूको विकास हुन्छ । साथै, सूर्तीको धुवाँले मुखको तन्तुहरूमा विषाक्त पदार्थ जम्मा गर्छ, जसले क्यान्सरको जोखिमलाई थप बढाउँछ ।
सूर्तीसँगै मदिरा झन् जोखिमपूर्ण
धेरैजसो सूर्ती खानेहरूले मदिरा पनि सेवन गर्छन् । सूर्ती र मदिरा दुवै पिउँदा मुखको क्यान्सरको जोखिमलाई ३० गुणासम्म बढाउँछ ।
मदिराले मुखको तन्तुहरूलाई झन् कमजोर बनाउँछ । सूर्तीका रासायनिक तत्वहरूको अवशोषणलाई सहज बनाउँछ, जसले क्यान्सरको सम्भावना थप बढाउँछ ।
लामो समयसम्म खानेमा क्यान्सरको जोखिम
नियमित दशकौंसम्म चुरोट पिउने वा गुट्खा चपाउने व्यक्तिमा क्यान्सरको सम्भावना धेरै हुन्छ । यो जोखिम सेवनको मात्रा र अवधिमा निर्भर गर्छ ।
लक्षण
– मुख, जिब्रो, गिजा, वा ओठमा सेतो, रातो, वा कालो दाग देखिनु ।
– दुई हप्ताभन्दा बढी समयसम्म निको नहुने घाउ वा अल्सर ।
– चपाउन, निल्न, वा बोल्न गाह्रो हुनु ।
– मुखमा डल्लो वा गाँठो महसुस हुनु ।
– दाँत हल्लिनु वा बिना कारण झर्नु ।
– लगातार मुख दुख्ने वा रगत बग्ने ।
मुखको क्यान्सरका विभिन्न चरणहरु छन् ।
चरण १ : पहिलो चरणमा छालाको सतहमा देखिन्छ । ट्युमर २ सेमी अथवा त्यो भन्दा सानो हुनसक्छ ।
चरण २ : ट्युमर २–४ सेन्टिमिटरको हुन्छ, तर लिम्फ नोड्समा फैलिएको हुँदैन।
चरण ३ : ट्युमर ४ सेन्टिमिटरभन्दा ठूलो हुन्छ वा नजिकैको लिम्फ नोड्समा फैलिएको हुन्छ।
चरण ४ : ट्युमर अन्य भागमा सरेको जस्तै कि हड्डीहरुमा, बाहिर गालाको छालामा, घाँटीमा अथवा फोक्सोमा सरेको छ भने त्यो अन्तिम चरण हो ।
उपचारका विधिहरू
मुखको क्यान्सरको उपचार रोगको चरण र बिरामीको स्वास्थ्य अवस्थामा निर्भर गर्छ ।
उपचार
शल्यक्रिया : सुरुवाती चरणमा ट्युमर र प्रभावित तन्तु हटाउन शल्यक्रिया गरिन्छ ।
रेडिएसन थेरापी : कतिपय बिरामीलाई विकिरणद्वारा सेकाउन पर्ने हुन्छ । विकिरणले क्यान्सर कोषिकाहरूलाई नष्ट गरिन्छ।
केमोथेरापी : औषधिहरूको प्रयोग गरी क्यान्सर कोषिकाहरूलाई मारिन्छ ।
इम्युनोथेरापी : शरीरको रोग प्रतिरोधक प्रणालीलाई बलियो बनाएर क्यान्सरसँग लड्ने क्षमता बढाइन्छ ।
टार्गेट थेरापी : क्यान्सर कोषिकाहरूलाई विशेष रूपमा लक्षित गरी उपचार गरिन्छ ।
रोकथाम
– सूर्तीजन्य पदार्थको सेवन पूर्ण रूपमा छोड्ने ।
– यदि लत लागेको छ भने चिकित्सकको सल्लाहमा लत छोड्ने कार्यक्रममा सामेल हुने ।
– मदिराको सेवन सीमित गर्ने वा छोड्ने ।
– नियमित मौखिक स्वच्छता कायम राख्ने, जस्तैः दाँत माझ्ने, मुख कुल्ला गर्ने ।
– सन्तुलित आहार खाने, जसमा फलफूल र सागसब्जी समावेश हुने ।
– नियमित स्वास्थ्य जाँच गराउने, विशेषगरी दन्त चिकित्सकसँग ।
– मुख, जिब्रो र गिँजामा सानो दाग सेतो वा कालो वा रातो जस्तो देखा पर्न सक्छ ।
सेतो दागलार्ई ल्युकेप्लिया भनिन्छ । यसको आकार बढ्दै गई डल्लोको रुप लिन सक्छ ।
प्रतिक्रिया 4