पसिना आउनु हाम्रो शरीरको एक प्राकृतिक प्रक्रिया हो, जसले शरीरको तापक्रम नियन्त्रण गर्न र अन्य शारीरिक कार्यहरूमा सहयोग गर्छ । पसिना एक तरल पदार्थ हो, जुन छालामा रहेका पसिना ग्रन्थीहरू मार्फत उत्पादन हुन्छ । पसिना आउनु सामान्य र स्वस्थ प्रक्रिया भए पनि, कतिपय अवस्थामा अत्याधिक वा कम पसिना आउनुले स्वास्थ्य समस्यालाई संकेत गर्न सक्छ ।
पसिना के हो ?
पसिना एक पारदर्शी तरल पदार्थ हो, जसमा मुख्य रूपमा पानी हुन्छ, साथै सोडियम, क्लोराइड, पोटासियम, युरिया र अन्य रसायनिक तत्त्वहरूको थोरै मात्रा हुन्छ । यो छालामा रहेका पसिना ग्रन्थीहरूबाट निस्किन्छ । मानव शरीरमा दुई प्रकारका पसिना ग्रन्थीहरू हुन्छन् ।
एक्राइन ग्रन्थी : यी ग्रन्थीहरू शरीरभरि फैलिएका हुन्छन् र मुख्य रूपमा पानी र लवण भएको पसिना उत्पादन गर्छन् । यिनीहरूले शरीरको तापक्रम नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
एपोक्राइन ग्रन्थी : यी ग्रन्थीहरू काखी, कम्मर र यौनाङ्ग वरपर हुन्छन् । यिनीहरूले प्रोटिन र लिपिडयुक्त पसिना उत्पादन गर्छन्, जुन ब्याक्टेरियासँग मिसिएर गन्ध उत्पन्न गर्छ।
पसिना सामान्यतया गन्धरहित हुन्छ, तर जब यो ब्याक्टेरियासँग मिसिन्छ, तब दुर्गन्ध उत्पन्न हुन सक्छ । पसिनाको मुख्य कार्य शरीरको तापक्रम नियन्त्रण गर्नु हो, तर यसले छालालाई नरम राख्न र ब्याक्टेरियालाई हटाउन पनि सहयोग गर्छ ।
पसिना किन आउँछ ?
पसिना आउनुका विभिन्न शारीरिक, मानसिक र वातावरणीय कारणहरू हुन्छन् । यी कारणहरूले पसिना ग्रन्थीहरूलाई सक्रिय बनाउँछन् ।
पसिना आउने मुख्य कारण
तापक्रम नियन्त्रण
गर्मी, व्यायाम वा ज्वरोको कारण जब शरीरको तापक्रम बढ्छ मस्तिष्कको हाइपोथालामसले पसिना ग्रन्थीहरूलाई सक्रिय बनाउँछ । पसिना छालाबाट बाहिर निस्किँदा शरीरको तापक्रम घट्छ ।
शारीरिक गतिविधि
व्यायाम वा शारीरिक श्रमको समयमा मांसपेशीहरूले ताप उत्पन्न गर्छन्, जसले पसिना उत्पादनलाई बढाउँछ । यो शरीरको तापलाई सन्तुलनमा राख्ने प्राकृतिक तरिका हो ।
तनाव र चिन्ता
मानसिक तनाव, चिन्ता वा डरले स्वायत्त स्नायु प्रणाली सक्रिय हुन्छ, जसले पसिना ग्रन्थीहरूलाई उत्तेजित गर्छ । यो विशेष गरी हत्केला, पाखुरा र खुट्टामा देखिन्छ ।
हर्मोनल परिवर्तन
गर्भावस्था, रजनाेवृत्ति, वा किशोरावस्थामा हर्मोनल परिवर्तनले पसिना उत्पादनलाई प्रभावित गर्छ । रजनाेवृत्तिको समयमा हुने ‘हट फ्ल्यास’ले अत्यधिक पसिना उत्पन्न गर्छ ।
खानपान
मसालेदार खाना, क्याफिन, र रक्सीले शरीरको तापक्रम बढाउन सक्छ, जसले पसिना निम्त्याउँछ । यस्ता खानाले मस्तिष्कलाई तापक्रम बढेको संकेत दिन्छ ।
रोग र औषधि
ज्वरो, संक्रमण, मधुमेह, थाइरोइड रोग, वा केही औषधिहरूले पसिना उत्पादनलाई प्रभावित गर्छ । रातमा पसिना आउनु कतिपय रोगहरूको लक्षण हुन सक्छ।
वातावरणीय कारक
गर्मी र उच्च आर्द्रता पसिना ग्रन्थीहरूलाई सक्रिय बनाउँछ । चिसो वातावरणमा भने पसिना कम आउँछ ।
कति पसिना सामान्य हो ?
पसिनाको सामान्य मात्रा व्यक्ति, वातावरण र गतिविधिमा निर्भर हुन्छ । सामान्य अवस्थामा, एक व्यक्तिले दिनभरमा ०.५ देखि १.५ लिटर पसिना उत्पादन गर्छ । व्यायाम वा गर्मीमा यो मात्रा १० लिटरसम्म पुग्न सक्छ ।
व्यायामको समयमा
एक घण्टाको मध्यम व्यायाममा ०.८ देखि १.४ लिटर पसिना निस्कनु सामान्य हो । यो शरीरको तापक्रम नियन्त्रणको प्राकृतिक प्रक्रिया हो ।
गर्मी वा आर्द्रता
उच्च तापक्रममा पसिना बढी आउँछ, विशेष गरी यदि व्यक्ति हावायुक्त ठाउँमा छैन भने । यो सामान्य हो र शरीरलाई चिसो राख्न आवश्यक हुन्छ ।
तनावमा
चिन्ता वा तनावको समयमा हत्केला, खुट्टा, वा काखीमा पसिना आउनु सामान्य हो । यो स्वायत्त स्नायु प्रणालीको प्रतिक्रिया हो ।
रातमा हल्का पसिना
गर्मी वा बाक्लो लुगा लगाउँदा रातमा हल्का पसिना आउनु सामान्य मानिन्छ ।
पसिनाको मात्रा व्यक्तिको उमेर, लिङ्ग, वजन, फिटनेस स्तर, र वंशाणुगतमा पनि निर्भर हुन्छ । पुरुषहरू सामान्यतया महिलाहरूभन्दा बढी पसिना उत्पादन गर्छन्, र फिट व्यक्तिहरूमा पसिना ग्रन्थीहरू बढी प्रभावकारी हुन्छन् ।
कति पसिना असामान्य हो ?
अत्याधिक पसिना वा कम पसिना आउनु असामान्य मानिन्छ र यो स्वास्थ्य समस्याको संकेत हुन सक्छ ।
अत्याधिक पसिना
अत्याधिक पसिना भनेको सामान्यभन्दा धेरै पसिना आउनु हो, जुन आवश्यकताभन्दा बढी हुन्छ । यो दुई प्रकारको हुन्छ
हाइपरहाइड्रोसिस
यो वंशाणुगत कारणले हुन्छ र सामान्यतया हत्केला, खुट्टा, काखी वा अनुहारमा केन्द्रित हुन्छ । यो कुनै रोगको लक्षण नभएर स्वायत्त स्नायु प्रणालीको अति सक्रियताले हुन्छ।
सेकेन्डरी हाइपरहाइड्रोसिस
यो कुनै स्वास्थ्य अवस्था वा औषधिको साइड इफेक्टले हुन्छ । यसका सम्भावित कारणहरूमा रगतमा चिनीको स्तर कम हुँदा, थाइरोइड ग्रन्थीको अति सक्रियता हुँदा, क्षयरोग वा मलेरिया जस्ता संक्रमण हुँदा, लिम्फोमा क्यान्सर, एन्टिडिप्रेसेन्ट्स, दुखाइ कम गर्ने औषधिको सेवन र रजनाेवृत्ति आदिको कारण हुन्छ ।
लक्षण
कपडा भिज्ने गरी पसिना आउनु, विशेष गरी काखीमा । रातमा अत्याधिक पसिना, जुन गम्भीर रोगको संकेत हुन सक्छ । सामाजिक वा व्यवसायिक जीवनमा असहजता ।
छालामा ब्याक्टेरियल वा फंगल संक्रमण, किनकि पसिनाले छाला सधैँ भिजेको हुन्छ ।
कम पसिना
कम पसिना आउनु वा पसिना नआउनु पनि असामान्य हो । यो अवस्थाले शरीरको तापक्रम नियन्त्रण गर्न नसक्दा हिट स्ट्रोक वा अन्य जटिलताहरू निम्त्याउन सक्छ । यसका कारणहरूमा सोरियासिस वा एक्जिमा जस्ता छाला रोग, स्नायु प्रणालीको क्षति, पसिना ग्रन्थीहरूको अवरोध, निर्जलीकरण आदि हो ।
लक्षण
-गर्मीमा पनि पसिना नआउनु ।
-छाला सुख्खा र तातो हुनु ।
-चक्कर लाग्ने, थकान वा हिट स्ट्रोकको जोखिम ।
-पसिनासँग सम्बन्धित स्वास्थ्य समस्याहरू
जल वियाेजन : अत्याधिक पसिनाले शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमी हुन सक्छ, जसले कमजोरी, चक्कर, वा मिर्गौलाको समस्या निम्त्याउँछ ।
छालाको संक्रमण : भिजेको छालाले ब्याक्टेरियल वा फंगल सङ्क्रमणको जोखिम बढाउँछ ।
सामाजिक र मानसिक प्रभाव : अत्याधिक पसिनाले आत्मविश्वास कम हुने, सामाजिक दूरी वा चिन्ता बढाउन सक्छ ।
गम्भीर रोगको संकेत : रातमा अत्याधिक पसिना आउनु क्षयरोग, लिम्फोमा वा मधुमेहको लक्षण हुन सक्छ ।
पसिना व्यवस्थापनका उपायहरू
-नियमित नुहाउने र एन्टिब्याक्टेरियल साबुन प्रयोग गर्ने ।
-काखीमा डियोडोरेन्ट वा एन्टिपर्सपिरेन्ट प्रयोग गर्ने ।
-हल्का र हावा चलखेल हुने सुतीको कपडा लगाउने ।
-गर्मीमा पर्याप्त पानी पिउने र जल वियाेजनबाट बच्ने ।
-गर्मी र आर्द्रताबाट बच्ने ।
-छालालाई मोइस्चराइज (ओसिलाेपना) राख्ने ।
-चिकित्सकसँग परामर्श गरी सम्भावित रोगको उपचार गर्ने ।
प्रतिक्रिया 4