+

सर्पदंसबाट कसरी बच्ने ?

गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्छ । त्यसकारण समयमै सावधानी अपनाउन सकेमा यसबाट बस्न सकिन्छ ।

सर्पको टोकाइबाट बच्न बाहिर हिंड्दा बाहुला भएको लुगा लगाउने, गाउँघरको शौचालय प्रायःजसो बाहिर हुने भएका कारण टर्चलाइट बालेर जाने, भुईंमा नसुती खाटमा सुत्ने, खाटमा झुल लगाएर सुत्दा पनि केही हदसम्म बच्न सकिन्छ ।

Advertisement

सर्पले कहाँ कहाँ टोक्न सक्छ ?

नेपालमा धेरैजसो शरीरको तल्लो भागमा टोकेको देखिन्छ । गाउँघरमा खेतबारीमा काम गर्दा अचानक सर्पले टोकेको हुन सक्छ । खुट्टा र हातमा टोकेको बढी भेटिन्छ । सर्पले शरीरको जुनसुकै ठाउँमा टोक्न सक्छ ।

कस्तो सर्पले टोक्न सक्छ ?

नेपालमा तीन प्रजातिका विषालु सर्पले टोकेको पाइन्छ, ती हुन् गोमन, करेत, भाइपर लगायत । तराईमा गोमन र करेतको टोकाइबाट अधिकांश मानिसको मृत्यु भएको पाइन्छ । करेत सर्पले विशेषगरी रातको समयमा र मानिसहरू सुतेकै बेला टोक्ने गरेको पाइने विज्ञ बताउँछन् ।

सर्पले टोकेको कसरी थाहा हुन्छ ?

सर्पले टोक्नासाथ थाहा पाउने तरिका सर्पले टोकेको ठाउँमा सर्पको दुईवटा दाँतको डाम देखिन्छ । टोकेको व्यक्तिले नजिकै सर्प देखेको हुन्छ । आफूलाई सियोले घोचेजस्तै अनुभव हुन्छ । टोकेको ठाउँमा निलो डाम वा रगत देखिन्छ ।

सर्पले टोकेपछि देखिने लक्षण

बान्ता हुने, रिंगटा लाग्ने, आँखा लटपटिने हुने, आँखा धमिलो हुने, सर्पले टोकेको ठाउँ सुन्निने, निलो डाम हुने र जिब्रो निकाल्न वा मुख खोल्न गाह्रो हुने लक्षण देखिन्छ ।

यसको प्राथमिक उपचारमा सर्पले टोक्ने बित्तिकै टोकेको ठाउँमा ब्यान्डेज वा सफा कडाले बाँड्ने र त्यसपछि तुरुन्तै नजिकैको अस्पतालमा गएर उपचार गराइहाल्नुपर्छ ।

सर्पले टोकेको कति समयभित्र अस्पताल पुर्‍याउने ?

सर्पले टोकेको एक घण्टाको समयावधिलाई सुनौलो समय मानिन्छ । यो समयभित्र सर्पले टोकेको व्यक्तिलाई अस्पताल पुर्‍याउन सके बचाउन सक्ने सम्भावना बढी हुन्छ । यदि समयमा उपचार गराउन नसकेमा जोखिम बढ्छ ।