News Summary
Generated by OK AI. Editorially reviewed.- पेम्बा शेर्पाले २०८२ वैशाख ३१ गते सगरमाथा आरोहण गरे, मिर्गौला प्रत्यारोपण गरेको अवस्थामा।
- अहिले उनी स्वस्थ छन् र आफ्नो अनुभवबाट अरुलाई प्रोत्साहन गर्दै छन्।
विश्वकै अग्लो टाकुरो टेक्ने लक्ष्यसहित पेम्बा शेर्पा ‘क्याम्प फोर’ बाट उक्लिए । यतिबेला रातको ८ बजेको थियो । २०८२ वैशाख ३० गतेको कुरा हो ।
पेम्बाका निम्ति सहासिक कीर्तिमान रच्ने पाइला मात्र थिएन यो, जिन्दगीकै बाजी थियो । किनभने मिर्गौला प्रत्यारोपण गरेको शरीर लिएर उनी हिमाली कठोरतासँग संघर्ष गरिरहेका थिए ।
उनी सगरमाथातर्फ उक्लिरहेका ३०० आरोहीको लस्करमा मिसिए । ११ घण्टाको संघर्षपूर्ण यात्रापछि सर्वोच्व शिखरमा पाइला टेके । यतिबेला बिहानको ९:३० बजेको थियो ।
त्यसदिन ३०० आरोहीमध्ये ४० जनाले मात्र सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यही ४० मध्ये एक थिए, पेम्बा ।
तीन वर्षअघि पेम्बासँग यस्तो सहास, जोश, उर्जा थिएन । किनभने त्यसबेला उनले हप्तामा ३–४ पटक डायलासिस गराउनुपर्थ्यो । रगतमा हेमोग्लोबिनको मात्रा ५ मा झरेको थियो, जुन १२ भन्दामाथि हुनुपर्छ ।
शौचालय जाँदा अरुले बोकेर लैजानुपर्थ्यो । दुईचार पाइला चाल्न पनि सहारा चाहिन्थ्यो । मिर्गौला प्रत्यारोपण गर्ने पालो छिटो आयो भने अलि वर्ष बाँच्छु कि भन्ने आशा बोकेर कठिन दिनहरू काटिरहेका थिए ।
आफ्नो जीवन यसरी फिर्ला र यो खुसीको पल आउला भनेर उनले कल्पना नै गरेका थिएनन् । संसारकै सबैभन्दा अग्लो ठाउँमा पुगेर उनले आफ्नो उपचार गर्ने डाक्टर पुकारचन्द्र श्रेष्ठको फोटो, अनि केही स्वास्थ्य सन्देश लेखिएका व्यानर प्रदर्शन गरी फोटो खिचाए ।
स्कुल नहुँदा पढाइ छुट्यो
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको सोलावनमा जन्मिएका पेम्बाको बाल्यजीवन त्यति सुखद् रहेन । खेतीपाती र चौरी पालन परिवारको मुख्य पेशा थियो । बल्लतल्ल दुई छाक खाना जुट्थ्यो, अरु कुराको दुःखै थियो ।
परिस्थितिले उनलाई ५ कक्षा भन्दा बढी पढ्ने अवसर दिएन । ५ सम्म पढ्न गाउँमै स्कुल थियो । त्यहाँ भन्दा बढी पढाइ हुने स्कुल निकै टाढा पर्थ्यो । हिँडेर जाँदा दिनभर लाग्ने, उतै डेरा गरेर बस्नुपर्ने ।
छोरालाई डेरामा राखी खर्च गर्न सक्ने हैसियत परिवारको थिएन । बुबाआमाको बाध्यता बुझेका उनले थप पढाइका लागि स्कुल जाने इच्छा त्यागेर पाङ्गोम भन्ने ठाउँमा लामा पढ्न गए ।
४ वर्ष त्यहाँ पढेपछि घर फर्किए । १४ वर्षकै उमेरमा पर्यटकको भारी बोक्ने काममा जोडिए । ३ वर्षसम्म भरिया काम गरेर अलिअलि खर्च जम्मा पारेपछि उनलाई लाग्यो, ‘अब धेरै कमाउन विदेश जानुपर्छ ।’ कसरी विदेश जाने सकिन्छ, त्यो बुझ्न लागिपरे । पेम्बालाई थाहा भयो, विदेश जान मिल्ने उमेर भएकै रहेनछ । उमेर बढाएर नागरिकता बढाएपछि विदेश जान मिल्ने भयो ।
राम्रो कमाउने र भविष्य सुन्दर बनाउने सपना बोकेर पेम्बा २०७० सालमा मलेसिया उडे । सुरक्षागार्डको काम थियो, कमाइ ठिकै हुन्थ्यो । तर त्यहाँ समयले साथ दिएन । काममा जाँदै गर्दा उनी चढेको मोटरसाइकललाई गाडीले ठक्कर दियो । दाहिने खुट्टा भाँच्चियो । उपचार गरेर ठिक हुन ८ महिना लाग्यो । निको भएर काममा सुरु गरेको एक महिनामै फेरि अर्को दुर्घटनामा परे । पहिलाकै ठाउँमा खुट्टा फेरि भाँच्चियो ।
यसपछि पनि तंग्रिन अर्को ८ महिना लाग्यो । अब उनलाई मलेसिया बस्न मन भएन । कमाएको सबै उपचारमै सकिपछि फर्कने खर्च पनि थिएन । अरु दुई महिना काम गरेर खर्चको जोहो गरेपछि उनी नेपाल फर्किए निराश भएर ।
फेरि उठ्ने प्रयास
मलेसियाबाट फर्किएपछि अब के गर्ने ? पेम्बा अन्योलमा थिए । नयाँ उपायको खोजी गर्दैजाँदा भाषा पढेर जापान जाने प्रयासमा लागे । उनको भिषा पनि आयो । जापान उड्नु भन्दा एक महिनाअघि उनले बिहे गरे ।
राम्रो कमाएर आएपछि सँगै रमाउने बाचा जीवनसाथीसँग गरेर उनी २०७२ मा जापान लागे । टायोटा कम्पनीमा काम पाए । कमाइ राम्रै भयो । ४ वर्ष बढी काम गर्दा एक करोड बढी जम्मा गरे । जापानमै बसेर अझै बढी कमाउने मौका थियो पेम्बालाई । तर पनि उनले त्यहाँको बसाइ अन्त्य गर्ने निर्णय गरे ।
अझै बढी कमाउँछु भन्दाभन्दै धेरैको पूरै जवानी विदेशकै श्रमले खाइदिएको उनले देखेका थिए । बिहे गर्नेबित्तिकै छाडेर हिँड्दा श्रीमतीसँग गरेको बाचा पनि पूरा गर्नु थियो । पेम्बाले श्रीमतीलाई पनि जापान लैजाने कोसिस नगरेका होइनन् तर उनको भिषा लाग्दै लागेन ।
नेपाल फर्किएपछि उनको योजना थियो–जम्मा भएको केही रकमले जग्गा किन्ने अनि बाँकीले कुनै व्यवसाय गर्ने । ठिक्क कमाएर परिवारसँगै रमाउने।
भत्कियो सपना
२०२० मार्चमा उनी नेपाल फर्किन विमान चढे । करिब २ वर्ष मलेसिया बसेर रित्तोहात फर्किएका बेलाजस्तो यस पटक उनको मनमा निराशा थिएन । एउटा सुखी र सुन्दर परिवारको सपना थियो । लामो समयपछि श्रीमती, बुबाआमा, आफन्त र साथीभाइलाई भेट्दाका रोमाञ्चक र आनन्दायी क्षणहरूको परिकल्पनाले भरिएको थियो मन ।
उनलाई विमानभित्रै अलि गाह्रो भयो । निसास्एिजस्तो हुनथाल्यो । श्वास फेर्न कठिन भयो । उनले ठाने आफूलाई कोरोना भयो क्यारे । विश्वव्यापाी महामारीको रुप लिएको कोरोना त्यो समय भर्खर फैलिँदै थियो ।
उनको विमान यात्रा कठिन भयो । राति ९ बजे उनी नेपाल ल्याण्ड भए । उनकी श्रीमती बौद्ध सिमलटारमा डेरा लिएर बसेकी थिइन् । डेरामा गएपछि पेम्बालाई झन् गाह्रो हुनथाल्यो । राति १२ बजे श्रीमती र जेठानको साथमा उनी चाबहिलको मेडिकेयर अस्पताल पुगे ।
अस्पतालमा जाँच गरेपछि डाक्टरले सुनाए–‘तपाईँको दुवै मिर्गौला फेल भयो।’ मिर्गौला फेल भनेको के हो ? पेम्बालाई थाहै थिएन । श्रीमती र जेठानले पनि मेसो पाएनन्, यो कस्तो अवस्था हो भनेर ।
डाक्टरले धेरै कुरा भनेका थिए । पेम्बाको दिमागमा भने एउटै कुरा घुमिरह्यो-अब पानी खान मिल्दैन ।
‘पानी नै नखाई कसरी बाँचिएला ? कति गाह्रो हुन्छ होला ? कस्तो अप्ठ्यारो अवस्था हो यो ?’ यसैले उनलाई पलपलमा पिरोलिरह्यो ।
यसअघि पेम्बाको परिवार, आफन्त, गाउँले वा चिनजानका कसैलाई पनि मिर्गौला फेल हुने समस्या देखिएकै थिएन । त्यहाँबाट त्रिवि शिक्षण अस्पताल रिफर भयो । ९ दिन अस्पताल बस्दा तीन पटक डायलासिस गरियो । यस बीचमा पेम्बा र उनका परिवारले मिर्गौला फेलबारे सबै जानकारी पाइसकेका थिए ।
उच्चरक्त चापले गर्दा मिर्गौला फेल भएको पेम्बाले थाहा पाए । जापानमा हरेक दुई महिनामा स्वास्थ्य जाँच हुन्थ्यो । एक पटक उनको प्रेसर बढेको देखिएपछि डाक्टरले औषधि दिए । दुई महिनापछि जाँच गर्दा प्रेरस ठिक देखियो । पेम्बाले ठाने, अब रोग निको भइहाल्यो औषधि किन खानु । उनलाई थाहा थिएन्, प्रेसर घट्दैमा औषधि छाडिहाल्नु हुँदैन भन्ने । थाहै नपाई प्रेसर बढेर मिर्गौलामा हानेछ ।
त्यस्तो कुनै लक्षण पनि देखिएको थिएन । अचानक नसोचेको दशा आइलागेपछि उनको जीवन यात्राले नयाँ मोड लियो । सपना, योजनाहरू लथालिङ्ग भए । अब एउटै मात्र चिन्ता भयो, कसरी बाँच्ने ?
कोरोनाको त्रासका कारण नेपालमा लकडाउन सुरु भइसकेको थियो । शिक्षण अस्पतालमा डायलासिस गर्ने व्यवस्था मिलेन । पेम्बाले एक निजी अस्पतालमा डायलासिस सेवा लिन थोले । १७ महिनासम्म डायलासिस र उपचार गराउँदा त्यहाँ मात्रै ३५ लाख सकियो ।
सरकारले निःशुल्क डायलासिसको व्यवस्था गरेको छ भन्ने कुरा सुरुमा थाहै भएन । प्रत्यारोपण अघिका केही महिनाबाहेक उनले त्यो सहुलीयत उपयोग गर्न पाएनन् ।
नयाँ जीवन
नियमित डायलासिससँगै मिर्गौला प्रत्यारोपणको पनि तयारी भइरहेको थियो । उनलाई मिर्गौला दिन परिवार, आफन्तबाट धेरै जना तयार भए । परीक्षण गर्दा बुबाको मिल्ने देखियो । मिर्गौला प्रत्यारोपणको मिति ३ पटकसम्म तय गरियो तर हुन सकेन । कहिले कोरोनाको जोखिम, कहिले के नमिल्ने ।
एक दिन पेम्बाले थाहा पाए, भक्तपुरमा पनि मिर्गौला प्रत्यारोपण हुन्छ भनेर । टिचिङमा धाएको साढे २ वर्षपछि उनी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुगे । पहिल्यै धेरै परीक्षण भइसकेको र दाता पनि तयार रहेकाले त्यहाँ छिट्टै पालो आउने भयो । पेम्बा र उनको परिवारमा आशा पलायो ।
२०७९ कार्तिक २ गते पेम्बाले नयाँ जीवन पाए । बुबाको एउटा मिर्गौला उनको शरीरमा प्रत्यारोपण भयो । बिस्तारै अवस्था सुध्रिँदै गयो । पेम्बा तन्दुरुस्त भए । जीवन र मृत्युको दोसाधबाट उम्किएपछि दैनिक गुजाराका लागि कामको खोजीमा लागे ।
चाबहिलको एक इन्स्टिच्युटमा जापानिज भाषा पढाउने जागिर पाए । डायलासिस गराइरहेकै बेला छोरी जन्मिएकी थिइन् । परिवारले पनि आकार लिइसकेको थियो ।
अनि हिमाल चढ्ने मुड बन्यो
पेम्बाको दैनिकी सामान्य बन्दै गयो । मिर्गौला प्रत्यारोपण गरेको मान्छे कमजोर हुन्छ, गाह्रो–गह्रुंगो काम गर्नुहुँदैन, मन लागेका कुरा खान पाउँदैन, यस्तै–यस्तै सहानुभूति हुन्थ्यो उनीप्रति । यो गर्न हुन्छ, त्यो गर्नुहुँदैन भनेर सिकाउनेहरूको पनि कमी थिएन । यी सबै कुरालाई स्वभाविक नै मानिरहेका थिए ।
‘मिर्गौला प्रत्यारोपण गरेको मान्छे ३ हजार मिटरमाथि पहाड चढ्नु हुँदैन, त्यहाँ पुगेपछि प्रत्यारोपण मिर्गौलाले काम गर्दैन, फेरि बिग्रिन्छ’ धेरैले उनलाई यो सुनाइरहेका थिए ।
हिमालको काखमा जन्मिए, हुर्किएको मान्छे यो कुराले उनलाई चिन्ता लागिरहन्थ्यो । उत्सुकता पनि उत्तिकै थियो, यो साँच्चै होला त ? उनले आफ्नो उपचार गर्ने डाक्टरहरू पनि उनले सोधे । जवाफ पाए–होइन चिकित्सकीय रुपमा त्यस्तो केही प्रमाण छैन ।
मिर्गौला प्रत्यारोपण गरेको कोही व्यक्ति ३ हजार मिटरमाथि चढेको छ त ? उनले धेरैतिर बुझेपछि थाहा पाए, छैन ।
आफैँ चढेर हेर्ने निधो गरे, ‘एक पटक आफैँ चढेर हेर्छु, के हुँदो रहेछ भन्ने लाग्यो’ पेम्बा भन्छन् ।
आफ्नै जिल्लाको लोबुचे हिमाल चढ्ने योजना बनाए । बुबाआमा र अरुले पनि उनलाई नजा भनेर धेरै सम्झाए । सबैको आग्रह भन्दा पेम्बाको जिद्दीले जित्यो । मिर्गौला प्रत्यारोपण गरेको १७ महिनापछि २०८० चैत ९ गते साथीहरू सहित ६,११९ मिटर अग्लो लोबुचे हिमालको चुचुरोमा पुगे।
स्वास्थ्यमा केही फरक पर्छ कि भनेर उनले हिमाल चढ्नुअघि जाँच गरेका थिए । फर्किएलगतै पनि जाँच गरे । पहिला गरिएको परीक्षणमा क्रियटिनिन्(रगतमा विकार पदार्थको मात्रा) ०.९ थियो । हिमाल चढेपछि गरेको परीक्षणमा ०.७ आयो । मिर्गौलाको स्वास्थ्यमा सुधार भएको पो देखियो ।
‘रे’ कै आधारमा धेरैले बनाएको भाष्य मिथ्या सावित भयो ।
यो सफलतापछि पेम्बाले सगरमाथा चढ्ने अठोट लिए । निकै खर्च लाग्थ्यो, त्यो कसरी जुटाउने ? । उनले आफ्नो अठोट सुनाउँदै हात जोडेरै सहयोग माग्न थाले । आफन्त र केही संस्था समेतबाट गरी १४ लाख जम्मा भयो । यो रकम आवश्यकता भन्दा आधा मात्रै थियो । तयारी थालिसकेका थिए । जापानमा कमाएको थोरै बचेको पैसा, भाषा पढाएर कमाएको अलिअलि अनि केही ऋण समेत खोजेर खर्च जुटाएपछि लक्ष्यमा अघि बढ्ने मेसो मिल्यो ।
यस पटक उनलाई कसैले रोक्न खोजेन, सबैले भरोसा दिए । आफ्नो मनको र अरुको समेत भरोसा टुट्न दिएनन्, लक्ष्य हासिल गरेरै छाडे ।
अहिले पेम्बालाई ‘ठूला–ठूला’ मान्छेहरूको फोन आइरहेको छ । सबैभन्दा पहिला रक्षामन्त्रीले फोन गरेर बधाई दिए, जो उनकै गाउँले समेत हुन् । स्वास्थ्य मन्त्रीले पनि सम्झिए । प्रधानमन्त्रीसँग भेट्ने आश्वासन पाएका छन् ।
उनको उपचार गर्ने अस्पतालले सम्मानमा एक दिन र्याली नै निकाल्ने भनेको छ । धेरै पीडादायी क्षणहरू छिचोलेका पेम्बा अहिले निकै खुसी देखिन्छन् ।
डाक्टरहरूले भन्थे–स्वास्थ्यबारे धेरै ख्याल गर्ने भएकाले आम व्यक्ति भन्दा मिर्गौला प्रत्यारोपण गर्नेहरू स्वस्थ हुन्छन् । उनले ठान्थे–त्यस्तो कहाँ हुन्छ ? हामीलाई सान्त्वना दिन भनेका होलान् ।
सगरमाथा चढ्ने क्रममा कयौँ दिन हिमालमै बिताउनुपर्छ । आरोहणका लागि गएका धेरै जना बिरामी परेका थिए । कसैलाई रुघाखोकी थियो, कसैमा टाउको दुख्ने समस्या । केही न केही बिरामी नभएको मान्छे भेट्नै मुस्किल। तर पेम्बालाई केही पनि भएन ।
अहिले उनले पत्याए–डाक्टरले ठिकै भनेका रहेछन् ।
मिर्गौला प्रत्यारोपण गरेपछि बाहिर निस्कनै पनि डराउने व्यक्तिहरू धेरै देखेका छन् उनले । ‘त्यसरी डराउनुपर्दैन, बाहिर निस्कनुहोस्, खुलेर बाच्नुहोस्, हामी त्यति कमजार हुँदैनौँ, जति सोचिरहेका छौँ’ पेम्बाको सुझाव छ ।
प्रतिक्रिया 4