+

मायोपियाले गर्दा २०५० सम्म विश्वका आधा व्यक्तिलाई आवश्यक पर्न सक्छ चस्मा

२०८२ जेठ  ८ गते १९:३२ २०८२ जेठ ८ गते १९:३२
Shares
मायोपियाले गर्दा २०५० सम्म विश्वका आधा व्यक्तिलाई आवश्यक पर्न सक्छ चस्मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२० मा २.६ अर्ब मानिसमा मायोपिया भएको अनुमान गरिएको र २०५० सम्म विश्वको आधा जनसंख्या प्रभावित हुने सम्भावना छ।
  • स्क्रिन प्रयोग, बाहिरी गतिविधि र पोषण जस्ता परिवर्तनहरूबाट मायोपिया नियन्त्रण गर्न सकिन्छ, र चिकित्सकीय उपचार उपलब्ध छन्।

मायोपिया, जसलाई ‘नजिकको दृष्टिदोष’ पनि भनिन्छ । यो आँखाको यस्तो अवस्था हो, जहाँ व्यक्तिले नजिकका वस्तुहरू स्पष्ट देख्न सक्छ तर टाढाका वस्तुहरू धमिलो देखिन्छन्। यसको लक्षणमा टाढाका वस्तुहरू जस्तै सडक संकेत वा बोर्ड स्पष्ट देख्न कठिनाइ हुन्छ । तर, किताब पढ्न वा मोबाइल प्रयोग गर्दा सामान्यतया समस्या हुँदैन।

हाल जीवनशैलीमा भएका परिवर्तनहरू जस्तै:- स्क्रिनको बढी प्रयोग, लामो समयसम्म नजिक मात्रै हेरेर काम गर्नुपर्ने र बाहिरी गतिविधिहरूमा कमी हुँदा मायोपियाको समस्या बढिरहेको छ । यो एक गम्भीर विश्वव्यापी स्वास्थ्य समस्या बनेको छ ।

सन् २०२० मा झण्डै २.६ अर्ब मानिसमा मायोपिया भएको अनुमान गरिएको थियो । सन् २०५० सम्ममा विश्वको आधा जनसंख्यामा मायोपिया हुने पूर्वानुमान गरिएको छ जसको अर्थ विश्वको आधा भन्दा बढी मानिसहरूले चस्माको प्रयोग गर्नुपर्नेछ ।

नेपालमा पनि विशेष गरी शहरी र शहरउन्मुख क्षेत्रहरूमा मायोपियाको भार बढ्दै गएको छ । मायोपिया नेपालमा बालबालिकाको दृष्टि कमजोरीका प्रमुख कारणहरूमध्ये पर्छ । उच्च मायोपिया (६ डायोप्टरभन्दा बढी) सन् २०५० सम्ममा विश्व जनसंख्याको करिब १० प्रतिशतमा देखिने अनुमान गरिएको छ।

यसले आँखाको पर्दा च्यातिने, जलबिन्दु र रेटिनामा हुने अन्य विनाशकारी परिवर्तनहरूजस्ता दृष्टि गुमाउने गम्भीर रोगहरूको जोखिम बढाउँछ । त्यसैले मायोपियाको बढ्दो प्रचलन केवल सौन्दर्यसम्बन्धी चिन्ता मात्र होइन, अन्धोपन हुने प्रमुख कारणहरूको  अवस्थाको जोखिम कारक पनि हो ।

शहरी बालबालिकामा ग्रामीण बालबालिकाको तुलनामा मायोपिया बढी देखिन्छ । यसको कारण घरभित्रका गतिविधिमा धेरै समय बिताउनु, पढाइको दबाब र डिजिटल स्क्रिनको ज्यादा प्रयोगसँग सम्बन्धित छ ।

विश्व मायोपिया सचेतना सप्ताह

विश्व मायोपिया सचेतना सप्ताह प्रत्येक वर्ष मे १९ देखि २५ सम्म मनाइन्छ । सन् २०२५ को मूल नारा ‘स्क्रिन डाउन, आइज अप’ हो। यस नाराले बालबालिकाको आँखाको स्वास्थ्य सुरक्षित गर्न र सुधार गर्न स्क्रिन समय घटाएर बाहिरी गतिविधि बढाउन जोड दिन्छ ।

यस अभियानको उद्देश्य मायोपियाको बढ्दो प्रचलनबारे जनचेतना बढाउनु र स्वस्थ दृष्टि बानीहरूको प्रवर्द्धन गर्नु हो ।

मायोपियाका कारकहरू

१. आनुवांशिक कारक

यदि बाबुआमा मध्ये एक जनामा मायोपियाको समस्या छ भने बच्चामा मायोपिया हुने जोखिम दोब्बर हुन्छ । यदि दुवै अभिभावकमा मायोपिया छ भने बच्चामा देखिने जोखिम ५ गुणा हुन्छ । त्यसैले तपाईं वा तपाईंको जोडी माइनस चस्मा लगाउनुहुन्छ भने, आफ्नो सन्तानको दृष्टिमा विशेष ध्यान दिनुहोस् र स्कुल जानुअघि नै आँखाको परीक्षण गराउनुहोस्।

२. वातावरणीय कारक

लामो समयसम्म नजिक हेरेर गर्नुपर्ने कार्य, डिजिटल उपकरण प्रयोग गरेर शैक्षिक वा मनोरञ्नात्मक गतिविधि गर्नु मायोपिया बढ्ने प्रमुख कारण हो । दैनिक ३ घण्टाभन्दा बढी नजिकको काम गर्ने मायोपिक बालबालिकामा मायोपिया तीव्र गतिमा बढ्ने सम्भावना हुन्छ । अर्को कारण भनेको घामसँगको सम्पर्क घट्नु हो । घरभित्रै बस्ने जीवनशैलीले बालबालिकामा घामको सम्पर्क कम गराउँछ, जसले मायोपिया बढ्न मद्दत गर्छ। त्यसैले दैनिक कम्तीमा २ घण्टा बाहिर समय बिताउन सल्लाह दिइन्छ ।

३. जातीयता

केही जातीय समूहहरू, विशेषगरी पूर्वी एसियालीहरू जस्तै चिनियाँ, जापानी र कोरियनहरूमा मायोपिया देखिने र यसको वृद्धि हुने सम्भावना बढी हुने गर्दछ।

४. सुरु हुने उमेर

जति चाँडो बच्चामा मायोपिया विकास हुन्छ, त्यसको प्रगति हुने सम्भावना त्यति नै बढी हुन्छ। यदि तपाईंको बच्चाले ५ वर्षको उमेरमा वा त्यसभन्दा अगाडि नै मायोपिक चस्मा लगाउन थाल्छ भने, उसलाई मायोपिया बढ्ने जोखिम धेरै हुन्छ । ३ वर्षको उमेरमा दृष्टि सामान्य देखिएका बच्चाहरूलाई पनि नियमित रूपमा अनुगमन गर्न आवश्यक हुन्छ, किनभने उनीहरूमा पछि मायोपिया विकास हुनसक्छ।

५. अन्य कारकहरू

शहरी जीवनशैली, नजिकको काम गर्दा कमजोर प्रकाश, अपर्याप्त पोषण र पर्याप्त निद्राको अभावले पनि मायोपिया हुने जोखिम बढाउन सक्छ । यी जोखिमहरू घटाउनका लागि, नजिकको काम गर्दा उचित प्रकाशको व्यवस्था गर्नुहोस्, सन्तुलित आहार दिनुहोस् र बच्चाहरूलाई पर्याप्त निद्रा पुर्‍याउन सहयोग गर्नुहोस् ।

मायोपिया कसरी रोक्ने वा कम गर्ने ?

माथि उल्लेखित जोखिम कारकहरूलाई दुई भागमा बाँड्न सकिन्छ

१. परिवर्तन गर्न नसकिने : जस्तै, अनुवांशिकता र जातीयता।

२. परिवर्तन गर्न सकिने : जस्तै, नजिकको कामको बानी, बाहिरी समय, निद्राको समय, आहार आदि।

मायोपिया नियन्त्रणका लागि दुई किसिमका उपायहरू छन्:

१. ‘ननमेडिकल’ : औषधि वा चिकित्सकीय उपचारको प्रयोग नगरी गरिने उपाय
२. मेडिकल : औषधिमा आधारित

‘ननमेडिकल’ उपाय

१. स्क्रिन समय घटाउने

मायोपियाको वृद्धि घटाउने एक महत्वपूर्ण उपाय भनेको आँखाको स्वास्थ्य जोगाउन स्क्रिन समय कम गर्नु हो । १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई शैक्षिक प्रयोजन बाहेक अन्य कामका लागि डिजिटल उपकरण प्रयोग नगर्न सल्लाह दिइन्छ । मायोपिया नियन्त्रणको दृष्टिकोणले स्क्रिन समय प्रतिदिन ३ घण्टाभन्दा बढी हुनु हुँदैन ।

यो समय पनि एकैपटक नभई अन्तरालमा विभाजन गरेर प्रयोग गर्नु उपयुक्त हुन्छ । २०-२०-२० नियम पालना गर्न सिफारिस गरिन्छ । यसको अर्थ हो, हरेक २० मिनेटको नजिकको कामपश्चात् २० सेकेन्डको विश्राम लिनुहोस् र करिब २० फिट टाढाको वस्तु हेर्नुहोस्।

२. बाहिरी गतिविधि बढाउने

प्रत्येक दिन कम्तीमा २ घण्टा बाहिर समय बिताउन सिफारिस गरिन्छ। प्राकृतिक घामको सम्पर्कले मायोपियाको वृद्धि ढिलो गर्न मद्दत गर्दछ।

३. उचित पोषण

सन्तुलित आहार, विशेषतः भिटामिन ए, सी, र ई जस्ता एन्टिअक्सिडेन्टले भरिपूर्ण खानाले आँखाको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्न सक्छ । गाजर, पालुंगो, हरिया पात भएका तरकारी र बदाम जस्ता खाद्यपदार्थ खानामा समावेश गर्नु राम्रो हुन्छ । माछाको तेललाई पनि मायोपिया व्यवस्थापनमा लाभदायक मानिन्छ।

४. पर्याप्त निद्रा

बालबालिकाहरूले प्रत्येक रात कम्तीमा ७ घण्टा निद्रा पाउनु आवश्यक छ। ‘छिटो सुत्ने र छिटो उठ्ने’ दिनचर्या अपनाउनु मायोपिया वृद्धि घटाउन सहयोगी हुन सक्छ।

मेडिकल उपायहरू

१. प्रारम्भिक आँखाको परीक्षण

सबै बालबालिकाले विद्यालय सुरु गर्नुअघि पूर्णआँखा परीक्षण गराउनुपर्छ ।कम तौलमा जन्मिएको वा जन्मपश्चात लामो समय अस्पतालमा बसेका बालबालिकाको आँखा परीक्षण समय-समयमा गरिरहनुपर्छ ।

२. विशेष चस्मा

विशेष प्रकारका चस्माहरू अहिले उपलब्ध छन् जसले मायोपियालाई सुधार गर्न मात्र होइन, नियन्त्रण पनि गर्ने दावी गरिन्छ। यी चस्माहरूलाई विभिन्न अनुसन्धान लेखहरूले समर्थन गरेका छन्। यद्यपि यी सामान्य चस्माभन्दा महँगो हुन सक्छन्, मायोपियाको वृद्धि व्यवस्थापनमा यी आर्थिक रूपमा प्रभावकारी मानिन्छन्।

३. कम मात्रामा एट्रोपिन ड्रप्स

मायोपियाको वृद्धि ढिलो गर्न राति ०.०१% एट्रोपिन आँखाको ड्रप्सको प्रयोग गर्नु सामान्य र प्रभावकारी विधि हो। यो औषधि आँखा विशेषज्ञको मात्र लिखित सल्लाहअनुसार प्रयोग र अनुगमन गर्नुपर्छ। डाक्टरको सल्लाहबिना यो ड्रप्स प्रयोग बन्द नगर्नुहोस्, किनकि यसले मायोपिया पुनःवृद्धि हुन सक्छ।

४. बाइफोकल वा प्रोग्रेसिभ लेन्सहरू

केही चिकित्सकहरूले मायोपियाको वृद्धि ढिलो गर्नका लागि उपचारको रूपमा बाइफोकल वा प्रोग्रेसिभ चस्मा सिफारिस गर्न सक्छन्।

औषधीय उपचारको छनोट चिकित्सकीय निर्णयमा निर्भर हुन्छ । त्यसैले आँखा डाक्टरसँग अथवा दृष्टि विशेषज्ञसँग परामर्श गरेर आँखाको अवस्था बारे जानकारी लिन र उपचार गर्न आवश्यक छ ।

आँखा चस्मा मायोपिया
अजित कुमार ठाकुर
लेखक
अजित कुमार ठाकुर
अजित कुमार ठाकुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय