News Summary
Generated by OK AI. Editorially reviewed.- ल्यान्सेटको रिपोर्ट अनुसार, विश्वभर प्रोस्टेट क्यान्सरका केसहरू २०४० सम्म २९ लाख पुग्ने अनुमान छ।
- प्रोस्टेट क्यान्सर पुरुष प्रजनन् प्रणालीको भाग हो र उमेरसँगै बिस्तारै बढ्ने गर्दछ, जसको परीक्षण र उपचार आवश्यक छ।
मेडिकल जर्नल ल्यान्सेटको पछिल्लो रिपोर्ट अनुसार, विश्वभर प्रोस्टेट क्यान्सरका केसहरू बढ्ने आँकलन गरिएको छ । उक्त प्रतिवेदन अनुसार, ल्यान्सेटले सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केसहरू १४ लाख रहेकोमा सन् २०४० मा यो संख्या २९ लाख पुग्ने प्रक्षेपण छ ।
प्रतिवेदन अनुसार यो ११२ देशहरूमा पुरुषहरूमा हुने सामान्य क्यान्सर हो । प्रोस्टेट क्यान्सर सबै क्यान्सरका केसहरूको १५ प्रतिशत हो । सन् २०२० मा, विश्वभर ३ लाख ७५ हजार पुरुषहरूको प्रोस्टेट क्यान्सरबाट मृत्यु भयो । सन् २०४० सम्ममा यी मृत्युहरू ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । पुरुषहरूमा क्यान्सरबाट हुने मृत्युको यो पाँचौं प्रमुख कारण हो ।
प्रोस्टेट भनेको के हो ?
प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको भाग हो र यो मुत्रथैलीको तल अवस्थित हुन्छ । यो सुपारी जत्रो आकारको हुन्छ र उमेरसँगै बढ्दै जाने कन्सल्टेन्ट युरोलोजिस्ट डा. अनिलपुकार साह बताउँछन् ।
‘४५–५० वर्षको उमेरपछि पुरुषहरूमा प्रोस्टेट सम्बन्धी समस्याहरू देखा पर्छन्’ साह भन्छन्, ‘यसको मतलब यो क्यान्सर हुन सक्छ भन्ने होइन । साथै, सबै व्यक्तिमा समस्या देखिन्छ भन्ने पनि होइन।’
साहका अनुसार जब यो बढ्न थाल्छ तब डाक्टरले प्रोस्टेट स्पेसिफिक एन्टिजेन ‘पिएसए’ परीक्षण गर्न सिफारिस गर्छन् । परीक्षणपछि क्यान्सरको शंका लागेमा, थप परीक्षणहरू गरिन्छ र नतिजाको आधारमा उपचार सुरु गरिन्छ ।
बिस्तारै बढ्छ प्रोस्टेट क्यान्सर
यो रोग बढ्दो उमेरपछि देखापर्छ र यो बिस्तारै बढ्दै जान्छ, अर्थात् यो क्यान्सर शरीरमा बिस्तारै बढ्छ । यसबाहेक, थाइराइड क्यान्सर र केही प्रकारका स्तन क्यान्सरहरू छन् ती पनि शरीरमा बिस्तारै बढ्ने क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाही बताउँछन् ।
मानिसहरूको औसत उमेर बढ्दै जाँदा, प्रोस्टेट क्यान्सरका केसहरू पनि देखा पर्न थाले, तर केसहरूको संख्या थाहा भएको भन्दा बढी हुन सक्ने शाहीले जानकारी दिए । भारतको क्यान्सर रजिस्ट्रीका अनुसार, पछिल्लो दशकमा प्रोस्टेट क्यान्सरका घटनाहरू बढेका छन् तर पश्चिमी देशहरूको तुलनामा यस्ता क्यान्सर राेगी दुईदेखि तीन गुणा कम छन् ।
‘नेपालमा पनि प्रोस्टेट क्यान्सरका केसहरूको संख्या कम छ किनभने त्यहाँ कुनै स्क्रिनिङ कार्यक्रम छैन’शाही भन्छन्, ‘त्यसैले यो पत्ता लाग्दैन तर पश्चिमी देशहरूमा बढी स्क्रिनिङ गरिन्छ ।’ स्क्रिनिङ नहुँदा यसबाट हुने मृत्युको संख्या अनुमान गर्न चुनौतीपूर्ण रहेको डा.शाही बताउँछन् ।
के यो जीवनशैलीजन्य रोग हो ?
पुरुषहरूको उमेर बढ्दै जाँदा प्रोस्टेट क्यान्सरका घटनाहरू बाहिर आउँछन् । यसको कारण पनि वंशाणुगत नै हो । साथै, भेगन वा शाकाहारीहरूको तुलनामा मांसाहारीहरूलाई यो क्यान्सर हुने सम्भावना बढी हुन सक्ने कन्सल्टेन्ट युरोलोजिस्ट डा. साहको भनाइ छ । ‘यसको मतलब यो होइन कि भेगन वा शाकाहारीहरूलाई यो लाग्दैन’ डा.साह भन्छन्, ‘हामीले बुझ्नुपर्छ कि धूम्रपान गर्नेलाई मुटु रोग लाग्ने जोखिम बढी हुन्छ र धूम्रपान नगर्नेलाई पनि मुटु रोग लाग्न सक्छ, त्यस्तै हो यो पनि।’
पश्चिमी देशहरूमा प्रशोधित खानेकुराहरू धेरै खाने, धूम्रपान, मदिरा सेवन समेत बढी हुने समुदायमा क्यान्सरको क्यान्सरको जोखिम धेरै हुने डा.साह बताउँछन् ।
ल्यान्सेटको प्रतिवेदनले प्रोस्टेट क्यान्सर ढिलो पत्ता लाग्ने र कम वा मध्यम आय भएका देशहरूमा ढिलो निदान हुनु यसको एउटा कारण रहेको देखाएको छ ।
रोगको लक्षण
यदि कसैको परिवारमा क्यान्सरको इतिहास छ भने, परीक्षण गराउन सल्लाह दिइन्छ । किनकी प्रोस्टेट क्यान्सरको खासै लक्षण नहुने डा. शाहीको भनाइ छ । पिएसएकाे स्तर व्यक्तिको उमेरमा पनि निर्भर हुन्छ । अमेरिकी सरकारको आधिकारिक वेबसाइट, राष्ट्रिय क्यान्सर संस्थानका अनुसार, पिएसए स्तर सामान्य वा असामान्य भन्ने हुँदैन । पहिले ४.० नानाेग्राम प्रति मिलि वा सोभन्दा कमलाई सामान्य मानिन्थ्यो ।
तर यो भन्दा पनि कम स्तर भएका व्यक्तिहरूमा प्रोस्टेट क्यान्सर पत्ता लागेको देखियो र यो भन्दा बढी अर्थात् १० नानाेग्राम प्रति मिलिसम्म भएकाहरूमा यस्ताे क्यान्सर देखिएको थिएन ।
सुरुमा यसको लक्षण देखिँदैन तर यदि बारम्बार पिसाब लाग्ने, पिसाबको स्राव र पिसाबमा रगत बग्ने जस्ता समस्याहरू देखा पर्छन् भने तत्काल परीक्षण डा.शाहीको सुझाव छ।
डा.शाहीका अनुसार यदि यो क्यान्सर फैलिएको छ भने हड्डीमा पुग्छ । यस्तो अवस्थामा ढाड दुखाइ, हड्डी भाँच्चिने र हड्डी दुख्ने जस्ता समस्याहरू देखिन्छन् ।
यदि क्यान्सर वयस्क व्यक्तिमा पत्ता लाग्यो र प्रोस्टेटमा मात्र सीमित छ भने, रोबोटिक सर्जरी सिफारिस गरिन्छ । यसले १०–१५ वर्षसम्म आयु बढाउँछ । तर यदि यो हड्डीहरूमा फैलियो भने गाह्रो हुन्छ र यसको उपचार फरक हुने डा.शाहीले बताए ।
औषधिको उपलब्धता
प्रोस्टेट क्यान्सर रगत परीक्षणमार्फत पत्ता लगाउन सकिन्छ र यो सुविधा धेरैजसो प्रयोगशालाहरूमा उपलब्ध हुन्छ । जाँचका क्रममा प्रोस्टेट बढेको पाइएमा, इमेजिङ, अल्ट्रासाउन्ड र एमआरआई पनि गरिने कन्सल्टेन्ट युरोलोजिस्ट डा.साह बताउँछन् ।
उनी भन्छन् ‘सुरुवाती चरणमा, बिरामीको रोबोटिक शल्यक्रिया गरिन्छ र त्यो भाग हटाइन्छ तर यदि अन्यत्र फैलिसकेकाे छ भने, हर्मोन थेरापी दिइन्छ र त्यसपछि बिरामीको अवस्था अनुसार उपचार गरिन्छ ।’
वंशाणुगत रोग
क्यान्सर यस्तो रोग हो जुन वंशाणुगत पनि हो, अर्थात् यदि परिवारमा कसैलाई क्यान्सर छ भने, अन्य सदस्यहरूलाई पनि क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले यदि परिवारमा प्रोस्टेट क्यान्सर वा अन्य कुनै क्यान्सर छ भने परीक्षण गराउनुपर्ने क्यान्सर रोग विशेषज्ञ डा.शाहीको सुझाव छ ।
‘यदि परिवारमा कसैलाई प्रोस्टेट क्यान्सर भएको छ भने, परिवारका पुरुष सदस्यहरूले ४५ वर्षको उमेरपछि प्रत्येक दुई वर्षमा पिएसए परीक्षण गराउनुपर्छ ।’ शाही भन्छन् ‘महिलाहरूले स्तन क्यान्सरका लागि आफैंले परीक्षण गराउनुपर्छ ।’
विदेशको अवस्था कस्तो छ ?
ल्यान्सेटको रिपोर्ट अनुसार सन् २०२० पछि पूर्वीएसिया, दक्षिण अमेरिका, पूर्वीयुरोप, उत्तर अमेरिका जस्ता देशहरूमा प्रोस्टेट क्यान्सरका घटना र मृत्युमा वृद्धि हुनेछ ।
अमेरिका र युरोपका धनी व्यक्तिहरूले अब आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेका छन् र यसको सकारात्मक प्रभाव देखिन एक दशक लाग्नेछ । यदिे १९८० र १९९० को दशकलाई हेर्यौँ भने, मानिसहरूले जंक फूड बढी खान्थे, जसको प्रभाव अहिले देखिन थालेको छ ।
अमेरिकामा यसको धेरै स्क्रिनिङ हुन्छ, त्यसैले धेरै केसहरू प्रकाशमा आउँछन् र यो विकसित देशहरूमा पनि रहेको देखिएको छ ।
प्रतिक्रिया 4