उच्च तापक्रम, आद्रता र वातावरणीय परिवर्तनले शारीरिक, मानसिक र भावनात्मक अवस्थालाई असर गर्छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव यौन इच्छा, यौन व्यवहार र यौन सन्तुष्टिमा पर्न सक्छ ।
गर्मीको मौसममा तापक्रम वृद्धि र आर्द्रताले शरीरको शारीरिक कार्य प्रणालीमा परिवर्तन ल्याउँछ । यी परिवर्तनहरूले यौन इच्छा र यौन सम्पर्कको गुणस्तरलाई प्रभावित गर्न सक्छन् ।
शारीरिक थकान र ऊर्जा ह्रास
गर्मीमा शरीरले तापक्रम नियन्त्रण गर्न धेरै ऊर्जा खर्च गर्छ । पसिना बढी निस्कने र डिहाइड्रेसन (जलवियाेजन) को जोखिमले शारीरिक थकान बढ्छ । यस्तो अवस्थामा यौन क्रियाकलापका लागि आवश्यक ऊर्जा र उत्साह कम हुन सक्छ । उच्च तापक्रमले शरीरको मेटाबोलिज्म र हर्मोनल सन्तुलनमा असर गर्छ, जसले यौन इच्छालाई कम गर्न सक्छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन् ।
हर्मोनल परिवर्तन
गर्मीले टेस्टोस्टेरोन र इस्ट्रोजेन जस्ता यौन हर्मोनको स्तरमा परिवर्तन ल्याउन सक्छ । विशेष गरी पुरुषहरूमा उच्च तापक्रमले टेस्टोस्टेरोनको उत्पादनमा कमी ल्याउन सक्छ, जसले यौन इच्छा र प्रदर्शनमा असर गर्छ । महिलाहरूमा पनि गर्मीको तनावले महिनावारी चक्रमा अनियमितता वा यौन इच्छामा कमी ल्याउन सक्छ ।
मानसिक तनाव र चिडचिडापन
गर्मीले मानसिक स्वास्थ्यमा पनि असर गर्छ । उच्च तापक्रम र असहज वातावरणले चिडचिडापन, तनाव र अनिद्राको समस्या निम्त्याउँछ । यस्तो अवस्थामा यौन सम्पर्कप्रति रुचि कम हुनसक्छ । विभिन्न मनोवैज्ञानिक अध्ययन अनुसार तनावले यौन सन्तुष्टि र सम्बन्धको गुणस्तरमा नकारात्मक प्रभाव पार्छ भन्ने देखाएको छ ।
शारीरिक असुविधा
गर्मीमा पसिना, चिपचिपापन र तातो वातावरणले यौन सम्पर्कलाई असहज बनाउन सक्छ । छालाको सम्पर्क, अङ्कमाल वा लामो समयसम्मको शारीरिक निकटताले असुविधा उत्पन्न गर्न सक्छ । यो अवस्थामा जोडीहरूले यौन सम्पर्कबाट टाढा रहन रुचाउन सक्छन् ।
निद्रा र जीवनशैलीमा परिवर्तन
गर्मीले निद्रा राम्रोसँग नलाग्न सक्छ, जसले थकान र यौन इच्छामा कमी ल्याउँछ । साथै, गर्मीमा खानपान र व्यायामको तालमेल बिग्रन सक्छ, जसले समग्र स्वास्थ्य र यौन जीवनमा असर गर्छ ।
गर्मीले यौनजीवन प्रभावित हुनुका कारणहरू
जैविक कारणहरू
डिहाइड्रेसन
गर्मीमा शरीरबाट पसीनामार्फत धेरै पानी निस्कन्छ । जसले रक्तसञ्चार र ऊर्जा स्तरमा कमी ल्याउन सक्छ । यौन सम्पर्कका लागि रक्तसञ्चार महत्वपूर्ण हुन्छ र यसको कमीले यौन प्रदर्शनमा असर गर्छ ।
टेस्टोस्टेरोनमा कमी
उच्च तापक्रमले पुरुषहरूमा टेस्टोस्टेरोनको स्तर कम गर्न सक्छ, जुन यौन इच्छा र उत्तेजनाको लागि महत्वपूर्ण हर्मोन हो ।
योनीको सुख्खापन
महिलाहरूमा गर्मीले योनीको प्राकृतिक चिप्लोपनमा कमी ल्याउन सक्छ, जसले यौनसम्पर्कलाई असहज वा पीडादायक बनाउन सक्छ ।
मनोवैज्ञानिक कारणहरू
मुडमा परिवर्तन : गर्मीको असहजताले मुड खराब हुन सक्छ, जसले यौनसम्पर्कप्रति रुचि कम गर्छ ।
तनाव र चिन्ता : गर्मीमा तापक्रम र कामको बोझले तनाव बढ्न सक्छ, जसले यौनइच्छा र सन्तुष्टिमा कमी ल्याउँछ ।
गर्मीमा यौनजीवन सुधार्ने उपाय
हाइड्रेसन : पर्याप्त पानी र इलेक्ट्रोलाइट्सयुक्त पेय पदार्थ पिउनाले डिहाइड्रेसनबाट बच्न सकिन्छ, जसले यौनऊर्जा कायम राख्छ ।
अनुकूल वातावरण : एयर कन्डिसनर वा पङ्खाको प्रयोगले तापक्रम नियन्त्रण गर्न सकिन्छ, जसले यौनसम्पर्कलाई सहज बनाउँछ ।
सही समय छनोट : बिहान वा साँझको चिसो समयमा यौनसम्पर्क गर्नाले गर्मीबाट बच्न सकिन्छ ।
स्वच्छता : गर्मीमा पसिना र चिपचिपपनले असुविधा हुन सक्छ, त्यसैले यौनसम्पर्क अघि नुहाउनाले ताजगी र आरामदायी अनुभव हुन्छ ।
हल्का खानपान : गर्मीमा हल्का र पौष्टिक खानेकुरा खानाले ऊर्जा स्तर कायम रहन्छ ।
तनाव व्यवस्थापन : योग, ध्यान, र गहिरो सास लिने अभ्यासले गर्मीको तनाव कम गर्न सकिन्छ, जसले यौन इच्छा बढाउँछ ।
सर्वेक्षण र खोजहरू
गर्मीले यौन जीवनमा पार्ने प्रभावको विषयमा सीमित प्रत्यक्ष अध्ययन भए पनि, समग्र यौन स्वास्थ्य र वातावरणीय कारकहरूको प्रभावमा केही अनुसन्धानहरूले यो विषयलाई समेटेका छन् ।
डब्ल्यूएचओको एक अध्ययनले यौन सन्तुष्टि र स्वास्थ्यमा वातावरणीय कारकहरूको भूमिका रहेको उल्लेख गरेको छ । गर्मीले तनाव र थकान बढाउने कुरा यस अध्ययनमा समेटिएको छ, जसले यौन इच्छा र प्रदर्शनमा कमी ल्याउन सक्छ ।
इन्टरनेशनल जर्नल अफ इम्पोटेन्स रिसर्चमा प्रकाशित एक अध्ययन अनुसार यौन सम्पर्कका विभिन्न आसन र शारीरिक दबाबको प्रभावलाई उल्लेख गरेको छ । जसमा गर्मीमा शारीरिक असुविधाले यौन सम्पर्कको गुणस्तरमा असर पार्न सक्छ भन्ने कुरा अप्रत्यक्ष रूपमा समेटिएको छ ।
प्रतिक्रिया 4