रोगजारीका लागि मलेसिया गएका पाल्पाका ५६ वर्षीय रामबहादुर थापा (नाम परिवर्तन) लाई काम गर्ने क्रममा मस्तिष्कघात भयो । यस घटनापछि उनको जीवन पूरै बदलियो
उनलाई हेमिप्लेजिया नामक अशक्त अवस्थाले सतायो, जसले गर्दा उनको शरीरको देब्रे भाग नचल्ने भयो । कमाउन गएको मान्छे थला परेपछि उनको र उनका परिवारको भविष्यमाथिजीवनयात्रा कष्टपूर्ण भयो।
उनी उपचार गरेर ठिक हुने आशामा नेपाल फर्किए तर धेरै नयाँ चुनौतीहरूको सामना गर्नुपर्यो । काठमाडौंमा पढ्न बसेको छोराले लिएको डेरामा बसेका उनीहरू फिजियोथेरापीका लागि नियमित वीर अस्पताल आउने गर्थे । अस्पताल आएको तेस्रो दिन फिजियोथेरापी युनिटको एक कुनामा बसेर रामबहादुर रोइरहेको देखेँ ।
त्यो देखेपछि नजिकै गएर रुनुका कारण सोधेँ । उनीहरूले एकाएक पीडा पोख्न थाले ।
छोरा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि तयारी गर्दै थिए । डेरामा अपाङ्गता भएका बाबु र आमासमेत बसेको थाहा पाएपछि घरधनीले निस्केर जाने चेतावनी दिए ।
छोरा एक जना मात्रै बस्ने आफूहरूले डेरा दिएकोमा बाबु, आमा पनि ल्याएर राखेको भन्दै छाडेर जान घरधनीले चेतावनी दिए । १५ दिन भित्र डेरा छाड्न अल्टिमेटम दिइएको थियो । उसै पनि कठिन परिस्थिति आइलागेका बेला घरघनीले समेत निस्कन उर्दी जारी गरेपछि उनीहरू ठूलो समस्यामा रहेछन् । आर्थिक अवस्था एकदमै कमजोर भएकाले दैनिक ट्याक्सीमा आउ-जाउ गर्न समेत खर्च नभएको दुखेसो उनीहरूले पोखे ।
त्यसपछि मैले काठमाडौं महानगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरें। रामबहादुरको परिस्थितिबारे जानकारी गराएपछि डेराबाट अस्पताल आउन-जान काठमाडौं महानगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरिदियो । अरुले बोकेर यताउता गराउनुपर्ने अवस्थाका रामबहादुर १५ दिन जतिको उपचारपछि बिस्तारै आफैँ शौचालय जानसक्ने भएका थिए ।
यसैबीच छोराले पोखराको इन्जिनियरिङ कलेजमा नाम निकाले । यता घरबेटीले समेत निस्कन भनेको र छोरा पनि उतै बस्नुपर्ने भएकाले उनीहरू पोखरा सर्ने निर्णय गरे ।
तर रामबहादुरको उपचारलाई पनि निरन्तरता दिनुपर्ने थियो । मैले पोखरामा फिजियोथेरापी क्लिनिक चलाउने एक साथीलाई सम्पर्क गरें। बलबहादुरको अवस्थाबारे जानकारी गराएर सहयोगका लागि आग्रह गरेँ । रामबहादुरलाई नि:शुल्क फिजियोथेरापी सेवा दिन ती साथी सहमत भए ।
यहाँ रामबहादुर एक प्रतिनिधि पात्र हुन् । यही खालको समस्या झेल्ने बिरामी तथा परिवारको संख्या धेरै छ । रामबहादुरको अवस्था र कथाले प्रतिबिम्बित गर्छ, लामो फिजियोथेरापी सेवा आवश्यक भएका उनी जस्ता बिरामीका लागि सार्वजनिक पुनर्स्थापना केन्द्र कति आवश्यक छ भनेर ।
दीर्घकालीन अपाङ्गता भएका र पुनर्स्थापनाका लागि लामो समयको फिजियोथेरापी उपचार गराउनुपर्ने औसत नेपाली परिवारका लागि आर्थिक भार मुख्य चुनौति हो । एकातिर उपचारको भार छँदैछ, अर्कोतर्फ लामो समय कुनै शहरमा हेरचाह गर्ने सहयोगीसहित बस्नुपर्ने हुन्छ । दिनहुँ बासस्थानबाट उपचार केन्द्रमा लाने-ल्याउने गर्नु पनि आर्थिक र समय दुवै कोणबाट चुनौतिपूर्ण देखिन्छ ।
यस खालको समस्याले गर्दा पहुँच उपचार तथा हेरचाहबाट वञ्चित हुनुपरेका बिरामी पनि भेटिन्छन् समुदायमा ।
पहुँचयोग्य र किफायती सरकारी पुनर्वास केन्द्रहरूको अभावले रामबहादुर जस्ता धेरै व्यक्तिहरूलाई हराएको कार्यक्षमता पुन: प्राप्त गर्न र आफ्नो समुदायमा पुन:र्स्थापित हुनबाट वञ्चित भइरहेका छन् ।
यसबाहेक, यो घटनाले दैनिक पुनर्वास, निरन्तर घरेलु अभ्यास र स्वास्थ्यलाभ प्रक्रियामा बलियो पारिवारिक सहयोगको महत्त्वलाई प्रकाश पार्छ। व्यावसायिक मार्गदर्शन अमूल्य भए पनि, घरको वातावरण भित्रको निरन्तर प्रयास र प्रोत्साहनले अर्थपूर्ण कार्यात्मक सुधारहरू प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
अनावश्यक तनाव र झमेला अनि सहानुभूतिको अभावलाई पनि जोड अपाङ्गता भएका व्यक्तिहरूलाई निरुत्साहित गर्न सक्छ । यस्ता घटनाहरूले तत्काल कठिनाइ मात्र सिर्जना गर्दैनन्, प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारमा भावनात्मक असर गर्छ । समस्याबाट निस्किएर जीवनलाई नयाँ ढंगले अघि बढाउन आत्मबललाई कमजोर बनाउन सक्छ ।
रामबहादुरको मार्मिक कथाले नेपालको स्वास्थ्य सेवामा तत्काल प्रणालीगत सुधारको आवश्यकतालाई जोड दिन्छ । सरकारले देशका विभिन्न भागमा राम्रो र पहुँचयोग्य सरकारी पुनर्वास केन्द्रहरूको स्थापनालाई प्राथमिकता दिनुपर्छ। स्वास्थ्य बीमा योजनाहरूमा फिजियोथेरापी र पुनर्वास सेवाहरूलाई एकीकृत गर्नाले परिवारहरूमा पर्ने आर्थिक बोझलाई गर्न सकिन्छ ।
अपाङ्गता भएका व्यक्तिहरूप्रति समझदारी र सहानुभूति प्रवर्द्धन गर्न जनचेतना अभियानहरूमा लगानी गर्नु पनि समावेशी र सहयोगी समाजलाई बढावा दिन महत्त्वपूर्ण छ। यस्ता प्रयासहरू मार्फत मात्र हामी रामबहादुर जस्ता व्यक्तिहरूले अपाङ्गता अवस्थाबाट जीवन पुनर्निर्माण गर्न सक्ने र सम्मानका साथ बाँच्ने अवसर पाउने कुरा सुनिश्चित गर्न सक्छौं।
प्रतिक्रिया 4