News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका केही आईभीएफ सेन्टरमा सीआईबीले छापामारी गरी केहीलाई नियन्त्रणमा लियो, जो पछि जमानतमा छुटेका छन्।
- आईभीएफ सेन्टरहरूले नाबालिका किशोरीहरूबाट अण्डा लिएर गैरकानुनी व्यापार गरेको प्रहरीको आरोप छ।
- नेपालमा अण्डादानसम्बन्धी स्पष्ट कानुन छैन, स्वास्थ्य मन्त्रालयले सहायक प्रजनन प्रविधि ऐनको तयारी गरिरहेको छ।
भर्खरै काठमाडौंका केही आईभीएफ सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छापामारी केही व्यक्तिलाई नियन्त्रणमा लियो । उनीहरू प्रहरीको हिरासतबाट जमानतमा छुटिसकेका छन् यो खबरले निकै बजार ततायो ।
प्रहरीको आरोप छ, ती आईभीएफ सेन्टरले नाबालिका किशोरीहरूबाट अण्डा लिएर गैरकानुनी तरिकाले व्यपार गर्यो । यस सन्दर्भमा अण्डा दान के हो, यसको सान्दर्भिकता, वैज्ञानिक, कानुनी र नैतिक पक्षहरू के हुन्छन् ? अन्तर्राष्ट्रिय अभ्यास के छ ? नेपालको अवस्था के छ ? एक पल्ट केलाउने प्रयास गरौं ।
अण्डा दान न त रगत दानजस्तो सजिलो प्रक्रिया हो, न त मिर्गौला दानजस्तो जटिल । रगत दान गर्दा खास कुनै तयारी आवश्यक पर्दैन । यो शरीरले स्वाभाविक रूपमा पुनः उत्पादन गर्ने तत्व हो, जसले स्वास्थ्यमा खासै असर गर्दैन ।
अर्कोतर्फ, मिर्गौला दान भने जीवनभरका लागि एउटा महत्वपूर्ण अंग गुमाउनु हो, जुन प्रायः आफ्नै नातेदारलाई मात्र दिइन्छ । दाताले जीवनभर आफ्नो स्वास्थ्यप्रति बढी सावधानी अपनाउनुपर्छ ।अण्डा दान न त एकदमै सजिलो, न त अत्यन्त जटिल हुन्छ ।
अण्डा दानका लागि विशेष हर्मोन इन्जेक्सन, नियमित जाँच र सानो शल्यक्रिया आवश्यक हुन्छ । जसले शारीरिक र भावनात्मक दुवै असर पार्न सक्छ । अण्डा दान एक जिम्मेवार र सचेत निर्णय हो ।
अण्डा बन्ने प्रक्रियाको कुरा गर्दा, प्रत्येक महिला जन्मजातै सीमित संख्यामा अण्डासहित जन्मिन्छिन्, जुन संख्या जीवनभर पुनः उत्पादन हुँदैन । अण्डाको विकास वास्तवमा महिलाको भ्रूणवस्थामै सुरु भइसकेको हुन्छ । जब उनी आमाको गर्भभित्र करिब २०औं हप्तामा पुग्छिन्, त्यतिबेला भ्रूणको अण्डाशयमा ६–७ लाखजति अण्डा कोश बन्न थाल्छन्।
यी कोशहरू मायोसिस(कोष विभाजन प्रक्रिया) को पहिलो चरणमा पुगेर प्राइमरी अण्डकोश बन्छन् र त्यसै अवस्थामा रोकिन्छन् । जन्मको समयमा तीमध्ये धेरैजसो नष्ट भइसकेका हुन्छन् र करिब १–२ लाख मात्र बाँकी रहन्छन्। जन्मपछि कुनै नयाँ अण्डा निर्माण हुँदैन, बरु बचेका अण्डाहरू पनि उमेरसँगै क्रमशः प्राकृतिक रूपमा नष्ट हुँदै जान्छन् ।
किशोरावस्थामा पहिलो मासिक धर्म सुरु हुँदासम्म करिब ४० हजार अण्डा बाँकी रहन्छन्, तर सम्पूर्ण प्रजननकालमा करिब ४००–५०० अण्डाहरू मात्र निस्कन्छन् । हरेक महिनावारीको समयमा लगभग १५–२० अण्डा परिपक्व हुन खोज्छन् तर तीमध्ये एउटा मात्र अण्डा बाहिर निस्कन्छ । बाँकी अण्डाहरू मरेर जान्छन् ।
उमेरसँगै अण्डाको संख्या र गुणस्तर दुवै घट्दै जान्छ, ३० वर्षपछि तीव्र रूपले गिरावट आउँछ र ४० वर्षमा करिब ३ प्रतिशत मात्र अण्डा बाँकी हुन्छन् । अन्ततः महिनावारी रोकिएसँगै महिलाको प्रजनन क्षमता पूर्णरूपमा समाप्त हुन्छ । यही वैज्ञानिक तथ्यका आधारमा ढिलो सन्तान जन्माउन चाहने महिलाले उमेरमै सोचेर अण्डा जम्मा गरेर राख्नु उपयुक्त हुन्छ भनिएको हो ।
अण्डा दान गर्दा पनि उपयुक्त उमेरमा दान गर्नु समाजसेवी कार्य हो । जब महिलाले आफ्नो सन्तानप्रतिको चाहना पूरा गरिसकेकी हुन्छिन्, त्यो पछि अण्डा दान गर्नु उत्तम हुन्छ। यस्तो दानले निःसन्तान महिलाहरूलाई आमा बन्ने अवसर प्रदान गरेर उनीहरूको जीवनमा आशा र खुसी ल्याउन मद्दत गर्छ।
तर, अण्डा दानजस्तो संवेदनशील विषयलाई उचित कानुनी व्यवस्थाबिना सञ्चालन गर्नु जोखिमपूर्ण हुन्छ । अण्डादानलाई व्यवस्थित गरिएका मुलकको अभ्यास हेर्दा अण्डा दानसम्बन्धी स्पष्ट नियम, उमेर सीमा, स्वास्थ्य सुरक्षा र गोपनीयताको व्यवस्था गरिएको पाइन्छ ।
नेपालमा भने हालसम्म यसमा स्पष्ट कानुन छैन । यद्यपि, हाल सहायक प्रजनन् प्रविधि (सम्बन्धी) सम्बन्धी कानुन बन्ने प्रक्रियामा रहेको बताइन्छ ।
विशेषगरी, १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई उनीहरूको सहमति भए पनि यस प्रक्रियामा सहभागी गराउनु कानुनी र नैतिक रूपमा अस्वीकार्य हुनुपर्छ। तसर्थ, अण्डा दानलाई समाजसेवा र विज्ञानको संयोजनका रूपमा स्वीकार गर्दा पनि यसलाई सुरक्षित, नैतिक र कानुनी ढंगले अगाडि बढाउनु अत्यावश्यक छ ।
अण्डादान कसरी गरिन्छ ?
अण्डा दान प्रक्रियामा पहिलो चरणमा २१–३२ वर्ष उमेर समूहका स्वस्थ महिलाहरूको चयन गरिन्छ । यसपछि उनीहरूमा एन्टी-मुलेरियन हर्मोन, फोलिकल-स्टिमुलेटिङ हार्मोन र एचआईभी, हेपाटाइटिसजस्ता रोग छ, छैन परीक्षण गरिन्छ ।
दोस्रो चरणमा अण्डा उत्पादन बढाउन ८ देखि १२ दिनसम्म हर्मोन इन्जेक्सन (जस्तै, गोनल-एफ वा मेनोपुर) दिइन्छ । ट्रान्सभ्याजिनल अल्ट्रासाउन्डबाट अण्डाको वृद्धि निगरानी गरिन्छ । तेस्रो चरणमा सिडेशन दिएर योनिमार्ग हुँदै नलीबाट अण्डा निकालिन्छ, जुन प्रक्रिया करिब २०–३० मिनेट लाग्छ ।
यसमा सानो मात्रामा जोखिम (पेट फुल्ने, रक्तस्त्राव) हुनसक्छ । अन्तिम चरणमा अण्डालाई शुक्राणुसँग ल्याबमा मिलाएर निषेचन गरिन्छ । भ्रूण ३ देखि ५ दिनमा विकास गरी ब्लास्टोसिस्ट चरणमा पुगी क्याथेटरबाट सजिलै गर्भाशयमा रोपण गरिन्छ।
अण्डादान फाइदा र जोखिमहरू
अण्डा दान एक जैविक प्रक्रिया हो, जसमा स्वस्थ र प्रजननसक्षम युवतीले आफ्ना अण्डाहरू बाँझोपनको समस्या भएका महिलालाई दान गर्छिन् । दान गरिएका अण्डालाई आईभीएफ प्रविधिबाट शुक्राणुसँग निषेचन गरिन्छ र भ्रूण बनाएर ग्रहणकर्ताको गर्भाशयमा राखिन्छ ।
यस प्रक्रियाले निसन्तान दम्पतीलाई सन्तान प्राप्तिको आशा दिन्छ । ४० वर्षपछि पनि गर्भधारण सम्भव गराउने विकल्प दिन्छ । यदि दाता रोगमुक्त छ भने बच्चाको स्वास्थ्य पनि राम्रो हुने सम्भावना रहन्छ।
यस्ता माध्यमबाट दाताले अरूलाई आमा बन्न सहयोग गरी समाजमा सकारात्मक भूमिका खेल्न सक्छिन् । तर, यस प्रक्रियामा केही जोखिम पनि छन्-जस्तै, हर्मोनको प्रयोगले अण्डाशय फुल्ने र शरीरमा पानी जम्ने समस्या आउन सक्छ । भावनात्मक रूपमा पनि दातालाई आफ्नो जैविक सन्तानलाई कहिल्यै नदेख्ने पीडा हुन सक्छ ।
कानुनी रूपमा बच्चाको नागरिकता, दाताको पहिचान र गोपनीयता सम्बन्धी अन्योल रहन सक्छ । साथै, गरिब र असहाय युवतीहरूलाई आर्थिक प्रलोभनमा पारेर शोषण गरिने सम्भावनाले चिन्ताजनक अवस्था सिर्जना गर्न सक्छ, जसले गर्दा यो प्रक्रिया अत्यन्त सावधानीपूर्वक, पारदर्शी र नियमनसहित सञ्चालन गर्नु आवश्यक हुन्छ।
अण्डादानलाई किन तत्काल बन्द गर्नुहुँदैन ?
कुनै एकआईभीएफ सेन्टरले गल्ती गर्यो वा गरेन भन्ने कुरा अनुसन्धानपछि निष्कर्ष निस्किएला । तर, एक–दुई घटनालाई आधार मानेर सबै आईभीएफ क्लिनिकहरू वा अण्डा दान प्रक्रियालाई अवैध वा अनैतिक ठहर गर्नु नितान्त गलत र गैरजिम्मेवार ठहर्छ ।
नेपाल जस्तो देशमा बच्चा जन्माउन नसक्ने अधिकांश महिलाले सामाजिक अवहेलना खेप्नु पर्ने हुन्छ । उनीहरूले शारीरिक, मानसिक र सामाजिक रूपमा अनेक पीडा भोगिरहेका हुन्छन् । यस्तो अवस्थामा अण्डा दान र आईभीएफ सेवा जीवन बदल्ने आशाको स्रोत हुन सक्छन् ।
अर्को तर्फ क्यान्सरको उपचार गराइरहेका, थैलेसिमिया, हिमोफिलिया जस्ता आनुवंशिक रोग भएका, उमेर ढल्किसकेका र उमेर नै नपुगी अण्डाशय काम नलाग्ने भएका महिलाले सन्तानको चाहना गर्दा पनि अण्डादानको भूमिका अत्यन्तै सान्दर्भिक हुन्छ ।
यस्तो संवेदनशील अवस्थामा कानुन छैन भनेर अण्डादान तत्काल बन्द गर्नु ती खालका महिलाहरूको आशामा निर्ममतापूर्वक प्रहार गर्नु हो ।
त्यसैले तत्काल कानुन तर्जुमा गरी लागू गर्नु अत्यावश्यक छ । तर कानुन नबन्दा यो सेवामा पूर्णप्रतिबन्ध लगाउनु सही निर्णय हुँदैन । बरु सरकारले निगरानी, पारदर्शिता, र न्यूनतम मापदण्ड बनाएर यो प्रक्रिया नियमन गर्नु आवश्यक छ ।
अण्डादान सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन कस्तो छ ?
अण्डा वा डिम्ब दान सम्बन्धी नियमहरू विभिन्न देशहरूमा फरक-फरक छन् । भारतमा सहायक प्रजनन प्रविधि (नियमन) ऐन, २०२१ ले अण्डादान प्रक्रियालाई स्पष्ट र कानुनी रूपमा व्यवस्थापन गरेको छ । यस कानुनअनुसार २३ देखि ३५ वर्ष उमेरका मानसिक र शारीरिक रूपमा स्वस्थ महिलाहरूले मात्र अण्डा दान गर्न पाउँछन् ।
दाताको गोपनीयता, सहमति फिर्ता गर्ने अधिकार र उचित स्वास्थ्य सेवा सुनिश्चित गरिएको छ । साथै, अण्डादानको व्यापारिकरण गर्न पाइँदैन तर अण्डा दान गर्दा लाग्ने खर्चजस्तै मेडिकल परीक्षण, यात्रा र बसोबासको व्यवस्था उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।
अमेरिकामा प्रत्येक राज्यको आफ्नै नियम–कानुन हुन्छन् । प्रायः सबै राज्यले अण्डा दानलाई अनुमति दिएका छन्, तर त्यसमा कडाइका साथ नियमन र संरक्षणका मापदण्ड पनि लागू गरिएको हुन्छ । युरोपमा केही देशले मात्र पूर्णरूपमा रोक लगाए पनि धेरै देशमा अण्डा दान गर्न अनुमति दिइएको छ ।
बेलायतमा सरकारबाट अनुमोदित सबै क्लिनिकहरूमा अण्डादान गर्न पाइन्छ, सन् २००५ देखि दाता गोप्य हुनुपर्छ भन्ने छैन, व्यावसायिक दान निषेध गरिएको छ र अधिकतम भण्डारण अवधि १० वर्ष मात्र छ । स्पेनमा डिम्बदान कानुनी र व्यापक रूपमा स्वीकृत छ । दाताको नाम गोप्य रहन्छ । एक दाताबाट ६ जना बच्चा जन्माउन पाइन्छ । सबै प्रकारका व्यक्तिहरू (विवाहित, अविवाहित, समलिङ्गी वा विषमलिङ्गी) ले सेवा लिन सक्छन् ।
बेल्जियममा दाता गुप्त वा चिनिने व्यक्तिबाट गर्न सकिन्छ । दातालाई क्षतिपूर्ति दिन सकिन्छ । एक दाताले ६ जना रिसिपिएन्टसम्मलाई सेवा दिन सक्छ । धेरै अवस्थामा सरकारी बीमा प्रणालीले खर्च व्यहोर्छ । जर्मनी, इटाली, स्विट्जरल्यान्ड र अष्ट्रियामा व्यावसायिक दान प्रतिबन्धित छ । जर्मनी र स्विट्जरल्यान्डमा दान पूर्णरूपमा निषेध गरिएको छ । इटालीमा मात्र विवाहित विषमलिङ्गी जोडीहरूलाई अनुमति छ।
नेपालमा कस्तो कानुन चाहिन्छ ?
नेपालमा हालसम्म अण्डादान सम्बन्धी कुनै स्पष्ट कानुन छैन। स्वास्थ्य मन्त्रालयले सहायक प्रजनन प्रविधि ऐनको तयारी गरिरहेको जानकारी दिएको छ ।
यस्तो संवेदनशील जैविक प्रक्रियालाई सुरक्षित, नैतिक र पारदर्शी बनाउन कानुनी सुधार अत्यावश्यक छ । दाताको न्यूनतम उमेर सीमा, स्वास्थ्य बीमा, न्यायसंगत मुआब्जाको मापदण्ड र दाता–ग्रहणकर्ताबीचको गोपनीयता सुनिश्चित गर्नुपर्ने हुन्छ ।
साथै, एउटा दाताबाट अधिकतम ६ पटकसम्म मात्र अण्डा निकाल्न पाउने व्यवस्था हुनुपर्छ । एकै दाताबाट धेरैलाई दान दिएर सन्तान जन्माउँदा एकै व्यक्तिका सन्तानबीच नै भविष्यमा विवाह वा अन्य जैविक सम्बन्ध हुने जोखिम हुनसक्छ ।
अण्डा दानसम्बन्धी वैज्ञानिक तथा नैतिक बुझाइ बढाउन कार्यशाला, सञ्चार अभियान र धार्मिक तथा समुदायका अगुवासँग संवाद अपरिहार्य छ। चिकित्सकीय हिसाबले, यो सेवा केवल लाइसेन्स प्राप्त अस्पतालबाट मात्र दिनु पर्छ र दातालाई अनिवार्य रूपमा मनोवैज्ञानिक परामर्श उपलब्ध गराइनुपर्छ ।
(लेखक हाल जानकी मेडिकल कलेज्, जनकपुरमा कार्यरत छन् ।)
प्रतिक्रिया 4