
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा विगतमा कुकुरले टोकेको तर खोप नलगाउँदा रेबिजको डरले धेरै मानिस अस्पतालमा खोप लगाउन आइरहेका छन्।
- भारतको राज्यस्तरका कबड्डी खेलाडी बृजेशको रेबिजबाट मृत्यु भएपछि रेबिजबारे चासो बढेको छ।
- डा. पुनले औषधि पसलबाट दिइने गलत जानकारी र खोप नलगाउने कारणले रेबिजबाट मृत्यु हुने गरेको बताए ।
हस्याँङफस्याङ गर्दै एक व्यक्ति ओपीडी कक्षमा प्रवेश गरे। उनले भने, ‘डाक्टर साब, ६ महिनाअघि मलाई कुकुरले टोकेको थियो। यो घटनाले अहिले पनि तर्साइरहन्छ। कतै मलाई रेबिज हुने त होइन भन्ने डरले राति सुत्नसमेत सकेको छैन।’
त्यस्तै, अर्का ३८ वर्षीय पुरुष आफूलाई १२ वर्षअघि कुकुरले टोकेको तर खोप नलगाएको भन्दै ओपीडी कक्षमा आइपुग्नु भएको थियो । उहाँलाई पनि रेबिजकै डर थियो ।
पछिल्ला केही दिनयता दैनिक दर्जनको हाराहारीमा मानिसहरू विगतमा कुकुरले टोकेको तर खोप नलगाउँदा रेबिजको डरले यतिबेला खोप लगाउन अस्पतालमा आइरहेका छन् ।
उनीहरूमा उमेर फरक, टोकेको समय फरक अनि ठाउँ भए तापनि एउटा कुरा भने सबैको समान थियो । त्यो हो- भारतको राज्यस्तरका एकजना कबड्डी खेलाडीको केही समयअघि रेबिजका कारण मृत्यु हुनु अनि मृत्यु हुनुअघि खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनु ।
अहिले दैनिक विगतमा (महिनौं, वर्षौं अगाडि) कुकुरले टोकेको तर विभिन्न कारणले खोप नलिएकाहरू अधिकांश अस्पताल आउने गरेका हुन् । त्यही भाइरल भिडियो हेरेपछि आफैं वा परिवारको दबाब वा सल्लाहमा खोप लगाउन अस्पताल आइपुग्ने गरेको उनीहरूले स्वीकारेका छन् ।
के थियो भारतमा भएको घटना ?
३ जुलाई २०२५ मा ‘द हिन्दू’ दैनिक पत्रिकाको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार बृजेश नामका राज्यस्तरका कबड्डी खेलाडीलाई दुई महिनाअघि कुकुरलाई रेस्क्यु गर्दा टोकेको तर रेबिज विरुद्धको खोप नलगाउँदा रेबिज रोगबाट उनको मृत्यु भएको थियो ।
यो एउटा दुखद अनि सजिलै सम्बोधन गर्न (बचाउन) सक्ने घटना थियो। किनभने, हाल रेबिज विरुद्धको खोप (भारत तथा नेपाल दुवै देशमा) सामान्य मेडिकल पसल फार्मेसी, सरकारी वा निजी अस्पतालमा सहजै पाइन्छ ।
नेपालमा रेबिज हुनुका मुख्य कारण के छन् ?
नेपालमा दुई दशकअघि र अहिले रेबिजबाट मृत्यु हुनेको संख्या तुलना गरेर हेर्ने हो भने, उल्लेखनीय रूपमा घटेको पाइँदैन । बरु औसतमा वर्षेनी रेबिज बढेकै देखिन्छ।
विगतभन्दा अहिले रेबिज विरुद्धको खोप सहज रूपमा उपलब्ध हुँदाहुँदै पनि किन रेबिजको कारणले मृत्युवरण गर्नुपर्ने अवस्था आउँछ भन्ने प्रश्न अस्वाभाविक तर गम्भीर देखिन्छ।
यसै प्रश्नको उत्तर खोज्ने क्रममा मैले दर्जनौं रेबिज रोग लागेर अस्पताल आइपुगेकासँग अनुसन्धान्त्मक कुराकानी (मेडिकल हिस्ट्री लिँदा) गरेको थिएँ। सबैभन्दा बढी रेबिज रोगबाट मृत्युवरण गर्नुपर्ने मुख्य कारणमा औषधि पसलबाट दिइने गलत जानकारी नै देखिन्छ।
लगभग एक वर्षअघि एक युवक मेरो ओपीडी कक्षमा आउँदा नै हावा अनि पानीदेखि डराउने (एरोफोबिया र हाइड्रो फोबिया) भइसकेको थियो। उनको भनाइअनुसार गाउँमा कुकुरले टोकेको अनि नजिकैको औषधि पसलमा जाँदा कुकुर देखिरहने भएकोले डराउनु नपर्ने तर टिटानसको खोप लगाए पुग्ने भनिएको रहेछ। अन्तत: ती युवाको रेबिजबाट मृत्यु हुन पुग्यो।
यस्तो अवस्था नदोहोरियोस् भन्नका लागि विशेषगरी औषधि बिक्रेताहरूलाई रेबिजसम्बन्धी प्रशिक्षणको आवश्यकता देखिन्छ। काठमाडौँ शहर बाहिरका बिरामीका लागि पहिलो अनि विश्वासिलो ठाउँ भनेको नै औषधि पसल (फर्मेसी) हो ।
त्यस्तै सानो कुकुरले टोकेको (विशेषत: घर बाहिर समुदायमा बस्ने कुकुर) त हो नि भनेर खोप नलगाउँदा पनि धेरै मानिसको रेबिजबाट ज्यान जाने गरेको देखिन्छ।
यी बाहेक घाउ सानो छ भनेर खोप नलगाउने, बच्चाहरूले कुकुरले टोकेको कुरा घरमा थाहा दियो भने पिट्छन् भनेर नभन्ने जस्ता कारणले पनि रेबिज हुने गरेको मेरो अनुसन्धानको नतिजा/तथ्यांकले देखाउँछ।
विगतमा कुकुरले (वा अरु कुनै जनावरले) टोकेको थियो ? अब के गर्ने ?
मसँगको भेटमा धेरैले ‘रेबिज त वर्षौंपछि पनि देखिन्छ रे नि डाक्टर साब’ भन्ने गर्छन् । यसलाई आधा सत्य मान्न सकिन्छ।
यदि टोक्ने कुकुर (वा जनावर) १० दिनसम्म स्वस्थ देख्नु भएको छ भने वर्षौंपछि रेबिज देखिने हुँदैन। तर टोक्ने कुकुर (वा जनावर) १० दिन अगावै देखिएन, मर्यो वा बाँचे/नबाँचेको थाहा भएन भने रेबिज वर्षौंपछि पनि नदेखिएला भन्न सकिँदैन।
यद्यपि, नेपालमा अधिकांश रेबिज बिरामीलाई टोकेको औसतमा ४-६ महिनामा लक्षण देखा परेर मृत्यु हुने गरेको देखिन्छ। तसर्थ टोक्ने जनावर १० दिनपछि पनि स्वस्थ देख्नुभएको थियो भने आत्तिनु पर्दैन र खोप पनि आवश्यकता पर्दैन।
भाइरल भिडियोको प्रभाव: सकारात्मक र नकारात्मक पक्ष
नेपालमा अहिले पनि रेबिजबाट दर्जनौंको मृत्यु हुने गरेको तथ्यांक देखिन्छ। भारतीय खेलाडीको भाइरल भिडियोपछि रेबिजबारे चासो अनि जानकारी लिनेको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ। यो आफैंमा सकारात्मक पक्ष हो ।
किनभने, धेरैले कुकुरले टोक्दैमा किन खोप लगाउनु भनेर खोपको बेवास्ता गर्दा रेबिज मृत्युदरले निरन्तरता पाइरहेको देखिन्छ। तर कतिपयलाई भने यही भाइरल भिडियोले गर्दा अनवाश्यक तनाव पनि सिर्जना गरेको देखिन्छ। जसले गर्दा मानसिक स्वास्थ्य समस्या विकसित हुनसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन। यसको लागि सही (विज्ञको) परामर्श आवश्यक पर्छ ।
अन्त्मा, रेबिज एक प्राणघातक सरुवा रोग हो। नेपालमा आजसम्म रेबिज देखिइसकेपछि कसैको पनि सफल उपचार भएको रेकर्ड छैन । तसर्थ, रेबिजबाट बच्ने एक मात्र विकल्प/उपाय भनेको रेबिज विरुद्धको खोप नै हो।
भारतमा पनि ती खेलाडीले कुकुरले टोक्ने बित्तिकै रेबिज विरुद्धको खोप लगाएको भए मृत्युवरण गर्नुपर्ने थिएन ।
नेपालमा रेबिज एक साइलेन्ट किलरको रूपमा देखिइरहेको हुनाले कुकुर वा अरु कुनै जनावरले टोक्ने बित्तिकै खोप लिनु पर्ने/नपर्ने बारेमा तुरुन्त स्वस्थाकर्मीसँग सम्पर्क अनि परामर्श लिनु आवश्यक छ ।
(डा. पुन सरुवा रोग विशेषज्ञ हुन् ।)
प्रतिक्रिया 4