+

अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?

२०८२ असार  २३ गते २२:०५ २०८२ असार २३ गते २२:०५

बिरामीहरू अस्पताल पुगेर उपचारको याचना गर्छन् । डाक्टर भने अस्पतालमा हाजिर हुन्छन् अनि निजी क्लिनिकतिर दौडिन्छन् । सरकारी अस्पतालका डाक्टरले आफ्ना निहित मागका लागि गरिब बिरामीलाई सास्ती दिइरहेका छन् ।

अस्पतालबाट डाक्टर हराए, कहाँ जाने बिरामी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिकित्सकहरूको आन्दोलनका कारण देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छन्।
  • अस्पतालमा चिकित्सकको आन्दोलनले बिरामीहरूको उपचार प्रभावित बनेको छ।
  • वीर अस्पतालमा भेटिएका अधिकांश बिरामी ‘अब कहाँ उपचार गर्ने’ भन्ने चिन्तामा देखिए।

२३ असार, काठमाडौं । फाटेका जुत्ता, एकसरो मटमैलो कपडा, दाहिने हातमा ब्यान्डेज । निराश र थकित अनुहार लिएर वीर अस्पतालको प्रांगणमा थचक्क बसेका छन्, ५८ वर्षीय कृष्ण सिलवाल ।

छिन–छिनमा टिकट काउन्टर (ओपीडी) मा नजर डुलाउँछन् । तर काउन्टर खुल्ने छाँटकाँट देखिंदैन ।

‘काठ बोक्दा लडेर हात खुस्कियो’ उनले मलिन स्वरमा भने, ‘उपचार गर्न आएको, डाक्टर त आन्दोलनमा पो रहेछन् ।’

हेटौंडा घर भएका सिलवाल हिजो मात्रै उपचारका लागि काठमाडौं आएका थिए ।

गाउँमै हात खुस्काएका सिलवाललाई छरछिमेकले काठमाडौं जान सल्लाह दिएका थिए, ‘ठूलो अस्पतालमा उपचार राम्रो हुन्छ’ भनेर ।

वीर अस्पतालको प्रांगणमा भेटिएका कृष्ण सिलवाल ।

तर, काठमाडौंमा उनका कोही आफन्त छैनन् । होटलमा बास बस्दा ऋणपान गरेर ल्याएको केही पैसा सकियो ।

‘दुखाइ सहेर बसेको छु’ उनी सुस्तरी बोल्छन्, ‘हामी गरिबको स्वास्थ्यभन्दा कसैको निर्णय ठूलो हुने रहेछ ।’

यतिबेला सिलवाल जस्ता हजारौं बिरामी उपचारको पर्खाइमा अस्पताल परिसरमा चुपचाप बसिरहेका छन् ।

ती सबैको मुखबाट एउटै प्रश्न निस्किन्छ- हाम्रो पीडा सुन्ने कोही छ ?

‘दुखाइका कथा सुनाउन होइन, मल्हम लगाउन डाक्टर चाहिएको हो’ सिलवालले भने, ‘डाक्टर हराए, अब हाम्रो उपचार कसले गर्छ ?’

०००

‘तपाईंहरूको आन्दोलनले मेरो बुवाको ज्यान तलमाथि नहोस्’ वीर अस्पतालको रिपोर्ट लिने कोठा छेउमा बसेर यति भन्दै गर्दा अजितकुमार मिश्रका आँखा रसाए ।

अस्पतालको चिसो भुईंमा गत बुधबारदेखि डेरा जमाएको छ मिश्रको परिवार । काखे बच्चा सहित भुईंमा म्याट ओछ्याएर बसेकी छिन्, अजितकुमारकी श्रीमती । उनीहरु राति त्यहीं सुत्छन् ।

अजितले पेटको समस्या भएका बुबा नन्दकिशोर मिश्रलाई काठमाडौं ल्याएको ६ दिन भयो, अहिलेसम्म भर्ना गरिएको छैन ।

‘धेरै चिकित्सकलाई देखाएँ । मधुमेह र अन्य केही रोगको परीक्षण गर्नुभएको छ’ अजितले भने, ‘आज रिपोर्ट आउँछ भनिएको थियो । तर देखाउनलाई डाक्टर छैनन् ।’

बुवाको उपचारका लागि वीर अस्पताल आएका अजितकुमार मिश्र ।

साधारण लेखपढ समेत नगरेका अजितलाई रिपोर्टको बिल हेर्नै सकस परिरहेको थियो ।

२०७९ सालमा संघकै पहलमा स्वास्थ्य संस्थामा हड्ताल गर्न नपाइने ऐन आयो । अहिले संघ आफैंले अस्पताल बन्द गर्‍यो । कानूनको उल्लंघन गरेर गरिएका आन्दोलनको मूल्य बिरामीहरूले तिर्नुपरेको छ ।

‘काठमाडौंमा कोही छैनन् । यतिका दिन भइसक्यो, यताउता भौंतारिइरहेको छु’ अजितले सुस्केरा हाले, ‘ऋणपान गरेर ल्याएको पैसा सकियो । अब घर फर्किने खर्च समेत छैन ।’

अजितका बुवाको दिसा–पिसाब कपडामै खुस्किन्छ । डाक्टरले रिपोर्ट लिएर सोमबार भेट्न बोलाएका थिए । तर डाक्टर नै आन्दोलनमा भएपछि उनी बिलखबन्दमा छन् ।

एकातिर आर्थिक अभाव, अर्कातिर सेवा नपाउँदाको दुःख उनले एकसाथ वर्णन गरे । उनले भने, ‘डाक्टरका समस्या होलान्, तर हामी बिरामीको पीडा चाहिं कसले बुझ्ने ?’

बाँच्ने आशा, मर्ने डर

बिरामीहरू अस्पताल प्रांगणको बेन्चमा टोलाइरहेका छन् । तीमध्ये एक थिइन्, नुवाकोटकी लक्ष्मी महत पाण्डे ।

पेटको समस्या लिएर आएकी लक्ष्मीलाई बिहान ८ बजे काउन्टरमा पुग्दै गर्दा थाहा भयो- डाक्टरहरू आन्दोलनमा छन्, आज सेवा बन्द छ ।

‘सरकारी अस्पतालमै उपचार नपाउने हो भने हामी जस्ताले कहाँ जानु ?,’ उनले आक्रोश पोखिन्, ‘उपचार त परको कुरा, चेकजाँच समेत गर्न पाइएन ।’

एक महिनादेखि अस्पताल धाउन थालेकी लक्ष्मी महत पाण्डे।

उनको हातमा सरकारी अस्पतालको रिपोर्ट छ । ‘बन्दले त दुःख भैगो नि’ एक महिनादेखि अस्पताल धाउन थालेकी लक्ष्मीले भनिन्, ‘आज रिपोर्ट बुझाउनुपर्ने, जँचाउनुपर्ने, तर डाक्टर छैनन् ।’

विपन्नको भरोसा भनिए पनि सरकारी अस्पतालको सेवा नै बन्द हुँदा उनी चिन्तित छिन् । भन्छिन्, ‘सरकारी अस्पताल नै बन्द भएपछि हामी जस्ता विपन्न कहाँ जानु ?’ स्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही गर्न नहुने उनको भनाइ छ ।

०००

गुल्मीका यमन चन्द वीरको काउन्टर बाहिर टोलाइरहेका थिए । घाँटीको ‘भोकल कर्ड’ मा मासु पलाएर उनी सर्जरीका लागि काठमाडौं आएका हुन् ।

दुईपटक शल्यक्रिया गराइसकेका यमनको सर्जरी यसपटक पनि अन्तिम समयमा सारियो, कारण– डाक्टरहरूको हड्ताल ।

‘१७ जेठमा सर्जरी गर्ने भनेर बोलाइयो’ उनले भने, ‘२३ गते पनि क्यान्सरको इमर्जेन्सी केस परेको भनेर सर्जरी गरिएन । अहिले फेरि हड्ताल रहेछ । अब कहिले हुने हो थाहा छैन ।’

वैदेशिक रोजगारीका लागि साउदी अरबमा हुँदा स्वास्थ्य समस्या बिग्रिएपछि उनी उपचारका लागि नेपाल फर्किएका हुन् । यमनले केही वर्षअघि भारतको दिल्लीमा घाँटीको पहिलो शल्यक्रिया गराएका थिए ।

घाँटीको ‘भोकल कर्ड’ मा मासु पलाएर सर्जरीका लागि आएका यमन चन्द।

तीनपटक स्थगित सर्जरी स्थगित भइसकेका यमनले भने, ‘सरकारी अस्पताल सर्वसाधारणका लागि हो । तर हरेक पटक पालो सारिन्छ । होटलमा बस्दा दैनिक २ हजार रुपैयाँ खर्च हुन्छ । अझै कति दिन पर्खनुपर्ने हो थाहा छैन ।’

चिकित्सकले उपभोक्ता अदालतबाट लापरबाहीको आधारमा जरिवाना तोकिएको भन्दै आन्दोलन चर्काएका छन् । आकस्मिक बाहेक सबै सेवा ठप्प छ ।

हाजिर गरेर डाक्टर टाप, निजी अस्पताल मालामाल

उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज सोमबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा कृष्ण सिलवाल, यमन चन्द जस्ता हजारौं बिरामी अत्यावश्यक स्वास्थ्य सुविधाबाट वञ्चित भए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, देशभर ३ हजार ८२३ अस्पताल छन् । एकदिन ओपीडी बन्द हुँदा चार लाखभन्दा बढी बिरामी सेवाबाट वञ्चित हुन्छन् ।

उपचारका लागि टिकट काट्न वीर अस्पताल पुगेका धेरै बिरामी बन्द सटरमा टाँसिएको सूचना पढेर फर्किन बाध्य भए । तर आन्दोलनरत चिकित्सक भने अस्पताल परिसरमा देखिएनन् ।

उनीहरु हाजिर गर्दै निजी अस्पताल र क्लिनिकमा गए । अनलाइनखबरकर्मीले वीर अस्पतालमा तीन घन्टा बिताउँदा अस्पतालमा एकाध डाक्टर बाहेक देखिएनन् ।

‘सबै चिकित्सक हाजिर गर्दै निजी क्लिनिकमा व्यस्त भएका छन्’ वीरकै एक वरिष्ठ चिकित्सकले भने, ‘संघका पदाधिकारीले चुनावको अजेन्डा लिनका लागि नागरिकलाई सास्ती दिए ।’

वीर अस्पताल प्रशासनका अनुसार अधिकांश डाक्टरले आज हाजिर भने गरेका छन् ।

डाक्टर आन्दोलनको न्यायोचित पक्ष होलान् । कानूनी स्पष्टता पनि आवश्यक होला । तर जति न्याय चिकित्सकलाई चाहिएको छ, त्योभन्दा बढी जीवनको हक बिरामीलाई चाहिएको छ ।

वीर अस्पतालका सूचना अधिकारी सीताराम खड्काका अनुसार अस्पताल प्रशासनले बन्द सटर खोलेर सेवा दिन खोजेको थियो । तर चिकित्सक संघका प्रतिनिधिहरु आएर ताला लगाए ।

‘जबर्जस्ती ताला खोलेर सेवा दिन खोज्दा झडप होला भन्ने लाग्यो र ओपीडी सेवा सुरु गर्न सकेनौं,’ सूचना अधिकारी खड्काले भने ।

केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

अत्यावश्यक सेवा बन्द गरेर निमुखा जनताको स्वास्थ्यमा खेलबाड गरेको जनस्वास्थ्यविज्ञ बताउँछन् ।

उसो त, स्वास्थ्य संस्थामा हड्ताल वा घेराउ गर्न नहुने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र आन्दोलन, बन्द जस्ता कार्यमा उत्रिने जो–कोहीलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन (पहिलो संशोधन) अध्यादेश २०७९ संघकै पहलमा भएको थियो । संघले नै बनाएको उक्त ऐन विरुद्ध आफैंले सोमबार स्वास्थ्य संस्था बन्द गर्‍यो ।

‘सेवा बन्द समाधान होइन’

चिकित्सकको आन्दोलनले देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा अवरुद्ध भइरहँदा वरिष्ठ जनस्वास्थ्यविद् डा. शरद वन्तले सेवा बन्दलाई समाधानको उचित उपाय नभएको बताए ।

उपभोक्ता अदालतले चिकित्सकहरूमाथि गरेको जरिवाना र त्यससँगैको प्रतिकारका रूपमा शुरु भएको सेवा बन्दको उनले वैधानिक ढंगले समाधान खोजिनुपर्ने तर्क गरे ।

चिकित्सक संघले चिकित्सकको हक–अधिकारको सवाल उठाउनु स्वाभाविक भए पनि उनले सेवा अवरोध गर्ने शैलीप्रति असहमति जनाए । ‘संवेदनशील विषयमा संघले जिम्मेवार ढंगले प्रस्तुत हुन जरुरी छ,’ डा. वन्त भन्छन् ।

‘संघर्षको तरिका सेवा नै अवरोध गर्ने होइन’ वन्तले भने, ‘विगतमा पनि यो शैलीको विरोध भइरहेको छ । यो उचित माध्यम होइन भन्नेमा छु ।’

उनले अगाडि थपे, ‘हामी चिकित्सकको हकको माग गर्छौं, तर अर्काको हक हनन हुने गरी सेवा नै बन्द गर्नु सह्य हुँदैन ।’ डा. वन्तले दोषी चिकित्सकलाई सजाय दिनुपर्छ भन्ने धारणा पनि राखे ।

‘यदि चिकित्सक निर्दोष छन् भने उनलाई सजाय दिने कुरा आउँदैन, दोषी साबित भए भने उनी चिकित्सक भएको कारण क्षमा गर्न मिल्दैन । दण्ड त पाउनैपर्छ,’ उनले भने ।

चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले भने पटक पटक सरकारलाई अल्टिमेटम दिंदा पनि छलफल नगरेका कारण आन्दोलनमै उत्रिनुपरेको बताए ।

‘बाध्य भएरै आन्दोलनमा उत्रिनु परेको हो,’ स्वास्थ्य सेवा ठप्प पार्ने निर्णयको बचाउमा उनले भने ।

सांकेतिक आन्दोलनबाट पनि दबाब दिन सकिन्थ्यो नि भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘सांकेतिक भाषा सरकारले सुन्दैन । पटक–पटक प्रधानमन्त्रीदेखि स्वास्थ्यमन्त्रीसम्मलाई यो विषयमा सुुनाइयो । तर सुनुवाइ भएन ।’

डा. कार्कीका अनुसार यी समस्या एकाएक आएका होइनन् । चैतदेखि नै अदालतमा चिकित्सकमाथि मुद्दा चल्न थालेपछि ऐन संशोधनका लागि लबिइङ सुरु गरिएको थियो ।

स्वास्थ्य, कानून, गृह, उद्योग, प्रधानमन्त्री, महान्यायाधिवक्ता लगायतसँग भेट पनि भयो । तर कुनै सार्थक प्रतिक्रिया आएन ।

‘आजबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द भयो,’ कार्कीले भने, ‘यो आन्दोलन सामान्य विरोध होइन, यसले चिकित्सा पेशालाई जोगाउने वा गुमाउने मोडमा पुर्‍याएको छ ।’

उनका अनुसार आन्दोलन चरणबद्ध रूपमा घोषणा हुन्छ । ‘अहिले चिकित्सकबाट लाइसेन्स संकलन गरिरहेका छौं, यदि माग पूरा भएन भने ती लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने तयारी छ’, उनले चेतावनी दिए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

अस्पताल चिकित्सक आन्दोलन वीर अस्पताल

धेरै कमेन्ट गरिएका

लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय