News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सरकारी अस्पतालहरूको सेवा सुधारका लागि अस्पताल व्यवस्थापन अधिकृतको आवश्यकता रहेको छ।
- लेखकले अस्पताल सञ्चालन र गुणस्तरीय सेवाका लागि सबै पक्षहरूको समग्र प्रयास आवश्यक रहेको बताउनुभयो।
- अस्पताल व्यवस्थापनको विषयलाई सरकारले गम्भीरतापूर्वक लिई निर्णय सच्याउन आवश्यक रहेको लेखकले बताए।
सामान्य रुपमा अस्पताल भन्नेबित्तिकै त्यहाँ चिकित्स र स्वास्थ्यकर्मी हुन्छन्, उनीहरू भएपछि उपचार सेवा सहजै पाइहालिन्छ भन्ने आम बुझाइ रहेछ पाइन्छ । यस्तै आम बुझाइ नेपालको सरकारी संयन्त्रका जिम्मेवार पदमा रहनेहरूमा पनि देखिन्छ।
व्यवस्थित रुपमा अस्पताल सञ्चालन गर्न र गुणस्तरीय सेवा प्रवाहका लागि त्यसमा धेरै पक्षहरू जोडिन्छन् । अस्पतालको भौतिक संरचना, आवश्यक उपकरण र उक्त उपकरणहरू सञ्चालन गर्ने दक्षजनशक्ति, यी सबै अस्पतालका लागि अपरिहार्य छन् । यससँगै डाक्टर, नर्स, पारामेडिक्स, प्रयोगशालाकर्मीदेखि सरसफाइ कर्मचारी सबैको समग्र प्रयासमा मात्रै एउटा अस्पतालले स्वास्थ्य सेवा दिने सामर्थ्य राख्छ ।
यो सँगै अर्को महत्वपूर्ण पक्ष हो अस्पतालको व्यवस्थापन । माथि उल्लेखित सबै पक्षको सही परिचालन तथा व्यवस्थापनका लागि एक कुशल व्यवस्थापक चाहिन्छ । यो सबैको निष्कर्ष हो-व्यवस्थित अस्पताल सञ्चालन गर्न सबै खाले जनशक्तिको आवश्यकता हुन्छ ।
अहिले पनि नेपालमा स्वास्थ्य सेवाको ठूलो हिस्सा निजी क्षेत्रले धानेको देखिन्छ । खासगरी स्वास्थ्य बीमा लागू भएपछि निजी स्वास्थ्य संस्थामा उपचार गराउने केही सेवाग्राहीहरू सरकारी अस्पतालहरूमा पुगिरहेका छन् । निजी क्षेत्रमा रहेका अस्पतालका तुलनामा सरकारी अस्पतालहरू व्यवस्थित नभएका कुरा हामी सबैमाझ छर्लंगै छ ।
देशमा संघीयता लागू भएदेखि र कोरोना महामारी पश्चात सरकारी अस्पतालहरूको सेवामा केही सुधार आएको भने देख्न सकिन्छ । अस्पतालको सेवा प्रवाहको मापन गर्नका लागि स्वास्थ्य मन्त्रालयले लागू गरेको न्यूनतम सेवा मापदण्डको ग्राफ हेर्दा पनि सरकारी अस्पतालहरूमा सुधार भएको देखिन्छ । तर, अझै थुप्रै सरकारी अस्पतालमा सुधार गर्नुपर्ने कुरा धेरै नै छन् ।
नेपालमा २५ वर्षदेखि स्वास्थ्य सेवा व्यवस्थापन (अस्पताल व्यवस्थापन) विषय अध्यापन हुँदै आएको छ । यो विषय अध्ययन गरेका थुप्रै विद्यार्थीहरू विदेशमा समेत गएर अस्पतालको नेतृत्व गरिरहेका छन् । नेपालका पुप्रै निजी अस्पतालको नेतृत्वमा पनि यो विषय पढेर निस्किएका विद्यार्थीहरू छन् । उनीहरूले कुशलतापूर्वक अस्पताल सञ्चालन गरिरहेको देखिन्छ ।
जिल्ला तथा प्रादेशिक स्तरका नेपालका ४४ वटा अस्पतालमा अस्पताल व्यवस्थापन अधिकृतहरूले करार सेवामा काम गरिरहेका छन् । उनीहरूले अस्पतालको नेतृत्व गरिरहेका प्राविधिक चिकित्सक मेडिकल सुपरिटेन्डेन्ट(मेसु)हरूलाई अस्पतालको व्यवस्थापकीय काममा सहयोग गरिरहेका छन् । अस्पतालको क्लिनिकल जनशक्ति तथा प्रशासनिक जनशक्तिको बीचमा पुलको कार्य उनीहरूले गरिरहेका छन् ।
अस्पताल व्यवस्थापन अधिकृतहरूको उपस्थितिले अस्पतालले दिने स्वास्थ्य सेवा र व्यवस्थापनमा सुधारको राम्रो संकेत देखिएको छ । ती अस्पतालका न्यूनतम सेवा मापदण्डमा सुधार आउनुमा पनि यसको भूमिकालाई नकार्न सकिन्न ।
नेपाल प्रहरी अस्पतालले ‘ओ एण्ड एम’ सर्भेमार्फत अस्पताल व्यवस्थापन अधिकृत पदको दरवन्दी स्वीकृत गरी लोकसेवा आयोगबाट स्थायी पदपूर्ति गरिसकेको छ । कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका ५० शय्या भन्दा माथिका अस्पतालमा सो पदको दरवन्दी स्वीकृत गरी लोकसेवा आयोगबाट पाठयक्रम तयार गरिसकेको छ ।
अन्तर्राष्ट्रिय रुपमा प्रचलित र स्थापित भइसकेको यो मापदण्ड र नेपालको हकमा न्यूनतम सेवा मापदण्डमा अस्पताल व्यवस्थापकको आवश्यकता देखाइएको छ । नेपालको स्वास्थ्य नीति र अस्पताल स्थापना, स्तरोन्नति तथा सञ्चालन मापदण्डमा ५० शय्या भन्दा माथिका अस्पतालहरूमा यो जनशक्ति अनिवार्य गरिएको छ ।
आज भन्दा ८ वर्ष पहिला नै यो विषयको आवश्यकता महसुस गरी सरकारी अस्पतालमा करार सेवामा राखिएका ४४ जना भन्दा बढी जनशक्तिहरू अहिले कार्यरत छन् ।
नेपालमा पोखरा विश्वविद्यालयबाट हरेक वर्ष ३०० भन्दा बढी अस्पताल व्यवस्थापक उत्पादन भइरहेका छन् । यो अवस्थामा २०औँ वर्षपछि नेपालका अस्पतालहरूको जनशिक्तका लागि ‘ओ एण्ड एम’ सर्भे हुँदा उक्त पदको दरवन्दी स्विकृत नहुनु दु:खद् छ ।
यहाँ आवश्यकता हुँदाहुँदै यो विषय बढेका विद्यार्थीहरूलाई विदेश जान बाध्य पार्ने प्रवृत्ति हो यो । नेपालका सरकारी अस्पतालहरूको सेवालाई थप गुणस्तरीय बनाउन अस्पताल व्यवस्थापनको आवश्यकता र अपरिहार्यतालाई नबुझ्नु हो ।
तसर्थ यो विषय सरकारले गम्भीरतापूर्वक लिन र निर्णय सच्याउन जरुरी छ ।
सरकारी अस्पतालहरूलाई सफा, सुन्दर र व्यवस्थित बनाउन, यसले दिने सेवालाई विश्वासिलो र चुस्त बनाउन अस्पताल व्यवस्थापन अधिकृतको अपरीहार्यतालाई नकार्न सकिँदैन।
(लेखक सुरेन्द्र अधिकारी हाल भीम अस्पताल रुपन्देहीमा अस्पताल व्यवस्थापकको रुपमा कार्यरत छन् ।)
प्रतिक्रिया 4