News Summary
Generated by OK AI. Editorially reviewed.- अस्पताल व्यवस्थापनले अस्पतालको समग्र सञ्चालन र रणनीति बनाउने जिम्मेवारी लिन्छ।
- चिकित्सकहरू विशेषज्ञता र क्लिनिकल सेवामा दक्ष हुन्छन्, तर व्यवस्थापन र नेतृत्वका लागि तालिम आवश्यक हुन्छ।
- अन्तर्राष्ट्रिय अभ्यासमा अस्पतालको नेतृत्व नन क्लिनिकल व्यक्तिहरूले गर्ने प्रवृत्ति बढ्दै गएको छ।
डा.बच्चु कैलाश कैनीसँग अस्पताल व्यवस्थापकका रुपमा काम गरेको ३४ वर्षको अनुभव छ । नेपाल र बेलायतमा गरी ९ अस्पतालमा उनले अस्पताल व्यवस्थापकको जिम्मेवारी निभाएका छन् ।
१८ वर्षदेखि बेलायतमा रहेका कैनी हाल अंग्लिया रस्किन विश्वविद्यालयमा स्वास्थ्य सेवा व्यवस्थापनको सिनियर लेक्चरका रुपमा कार्यरत छन् ।
नेपालमा पनि अस्पतालको नेतृत्वदायी भूमिकामा अस्पताल व्यवस्थापन अध्ययन गरेको जनशक्ति हुनुपर्छ भन्ने अभियानमा कैनी लागिरहेका छन् । अस्पताल व्यवस्थापन विषय नै अध्ययन गरेका व्यक्तिले नेतृत्व गर्दा अस्पतालले राम्रो प्रतिफल दिनसक्ने र अन्तर्राष्ट्रिय अभ्यासले पनि त्यो देखाएको उनको भनाइ छ । नेपालमै पनि अस्पताल व्यवस्थापकले व्यवस्थापन सम्हालेका अस्पतालको नतिजा धेरै राम्रो रहेको कैनीको दावी छ ।
यसै विषयमा डा. बच्चु कैलाश कैनीसँग गरिएको कुराकानीको सम्पादित अंश:
चिकित्सकले अस्पतालको नेतृत्व गर्ने होइन, त्यसका लागि छुट्टै विषय अध्ययन गरेको व्यवस्थापक हुनुपर्छ भनिरहनुभएको छ किन हो यो खास ?
अस्पताल व्यवस्थापन भनेको समग्र अस्पताललाई व्यवस्थापन गर्ने कुरा हो । जस्तो, अस्पतालका रणनीतिहरू बनाउने, अस्पताललाई नेतृत्व दिने, अस्पतालका दैनिक कामहरू सञ्चालन गर्ने हुन्छ । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरू हुन्छन् । ती सबैलाई सहयोग गर्ने सहजिकरण गर्ने पेशा चाहिँ अस्पताल व्यवस्थापन हो ।
अस्पताल व्यवस्थापनका दुईवटा पक्ष हुन्छन्, एउटा व्यवस्थापकका रुपमा व्यवस्थापन गर्ने, यसमा अस्पतालका विभिन्न पक्षको व्यवस्थापन गर्ने हुन्छ । आवश्यक सामग्रीको आपूर्ति गर्नेदेखि जनशक्ति व्यवस्थापन, ढिला सुस्ती केही छ भने त्यो हटाउने, आर्थिक कुराहरू मिलाउने, त्यहाँको आम्दानी खर्चको व्यवस्थापन गर्ने आदि अस्पताल व्यवस्थापकहरूले गर्छन् र त्यो चाहिँ अस्पताल व्यवस्थापनको पाटो हो।
त्यो भन्दा माथिल्लो चाहिँ अस्पतालको नेतृत्वदायी भूमिकामा बसेर गर्ने कामहरू पर्छन् । यसमा अस्पतालको रणनीति बनाउने, अस्पताल व्यवस्थापन अथवा सञ्चालक समिति अथवा बोर्ड अफ डाइरेक्टर्सहरू अथवा अस्पताल हेर्ने जुन माथिल्लो निकाय हुन्छ त्यो माथिल्लो निकायलाई नेतृत्वदायी भूमिकामा बसेर रणनीतिहरू बनाउन सहयोग गर्ने यो सबै कुरा अस्पताल व्यवस्थापनमा पर्छ ।
छोटोमा भन्नुपर्दा अस्पताल व्यवस्थापनले अस्पतालको नेतृत्वदायी भूमिका लिने, जिम्मेवारी बहन गर्ने, अस्पताललाई समग्र रुपमा अगाडि बढाउने दिशा निर्देश गर्ने काम गर्छ ।
स्वास्थ्य सेवा दिने संस्थामा स्वास्थ्य बुझेको चिकित्सक नै नेतृत्वमा हुनुपर्छ भन्ने बुझाइ छ, चिकित्सक भन्दा पनि व्यवस्थापकले अस्पतालको नेतृत्व गर्दा झन राम्रो कसरी हुन्छ ?
चिकित्सकहरू आफ्नो विशेषज्ञतामा दक्ष हुनुहुन्छ जस्तो हाडजोर्नीमा काम गर्नेले हाडजोर्नीको बारेमा धेरै जान्नुहुन्छ, त्यसैगरी बालरोगका चिकित्सकले बालरोगबारे, न्यूरोलोजी, कार्डियोलोजी जस्ता आ-आफ्नै विशेषज्ञता छन् ।
उहाँहरू चिकित्सकको रुपमा चिकित्सा सेवा दिनका लागि दक्ष हो तर तर चिकित्सकहरूले व्यवस्थापन पढ्नुभएको हुँदैन ।
जस्तो व्यवस्थापनको कुरा गर्ने हो भने आर्थिक व्यवस्थापनका कुराहरू हुन्छन् । स्वास्थ्य व्यवस्थापनमा अस्पतालको आय-व्यय हेरेर अस्पताल कुन दिशामा गइरहेको छ, अस्पताललाई सही दिशामा ल्याउनका लागि आर्थिक रुपमा सबल र सक्षम बनाउनका लागि के कति कामहरू गर्नुपर्छ भन्ने कुरा चिकित्सकहरूले पढेका हुँदैनन् ।
त्यति मात्र होइन अस्पतालको रणनीति बनाउने छुट्टै किसिमको व्यवस्था हुन्छ । छुट्टै किसिमको शैली हुन्छ । छुट्टै किसिमको विज्ञान हुन्छ । यसका लागि छुट्टै किसिमको पढाइ र तालिम हुन्छ । अस्पतालमा काम गर्ने चिकित्सकहरूले धेरै पक्षहरू जानेका हुँदैन, बुझेका हुँदैन ।
यसमा अर्को के हो भने, चिकित्सकहरू अस्पतालको व्यवस्थापन अथवा नेतृत्वदायी भूमिकामा बस्दा चिकित्सकीय समयमा जे जति क्लिनिकल सेवा दिनुपर्ने थियो त्यो दिन सक्नुहुँदैन । यसो हुँदा बिरामीलाई पनि असर गर्छ र अस्पतालको सेवा सञ्चालनमा असर गर्छ।
अर्को तिर उहाँहरूले जे जान्नुभएको छैन अथवा जे गर्न उहाँहरू सक्षम हुनुहुँदैन त्यो उहाँहरूले गर्दै हुनुहुन्छ ।
अन्तराष्ट्रिय अभ्यासमा हेर्नुहुन्छ भने बेलायतमा ७८ प्रतिशत अस्पतालको नेतृत्वदायी भूमिकामा बस्ने प्रमुख कार्यकारीहरू, निर्देशकहरू नन क्लिनिकल छन् ।
म पनि नन क्लिनिकलको रुपमा अस्पतालको सीईओ भएर नेपालमा काम गरिसकेको मान्छे हुँ ।
त्यसकारण अहिलेको ट्रेन्ड चाहिँ के छ भने, अस्पताल सञ्चालन गर्नका लागि अर्थात नेतृत्वदायी भूमिकामा बस्नका लागि यी सबै कुराहरू जानेको हुनुपर्छ जुन चिकित्सकले जानेको हुँदैन।
यसको निष्कर्ष चिकित्सकले चाहिँ अस्पतालको नेतृत्व गर्नै हुँदैन भन्ने हो ?
अस्पतालमा चिकित्सकहरूले अस्पतालको नेतृत्वदायी भूमिकामा जाने हो भने दुईटा कुरा गर्नु जरुरी छ । एउटा कुरा, उहाहरूले चिकित्सकीय आफ्नो जिम्मेवारी सम्पूर्ण रुपमा त्यागेर पूर्णरुपमा व्यवस्थापक बनेर आउनुपर्यो । किनभने अस्पतालको नेतृत्वदायी भूमिकामा बस्ने, कार्यकारी रुपमा बस्ने र निर्देशकहरूको जिम्मेवारी लिने भनेको ‘पार्ट टाइम’ काम हैन, त्यो भनेको सम्पूर्ण रुपमा ‘फुल टाइम’ काम हो ।
त्यसकारणले त्यो गर्नु पर्यो, एउटा कुरा।
दोस्रो कुरा, उहाहरू अस्पतालको व्यवस्थापकीय अथवा नेतृत्वदायी भूमिकामा आउनुहुन्छ भने अस्पताल व्यवस्थापनको तालिम लिनुपर्यो।
मैले तपाईलाई अघि भर्खरै मात्रै पनि बेलायतको उदाहरण दिएँ नि, ७८ प्रतिशत म जस्ता ननक्लिनिकल मान्छेहरूले अस्पताल हाँकेका हुन्छन् अथवा जिम्मेवारी लिएका हुन्छन् । बाँकी २२ प्रतिशत जो चिकित्सकीय पृष्ठभूमिबाट अस्पतालको नेतृत्वमा आएका हुन्छन्, उनीहरूले पनि अस्पताल व्यवस्थापनको तालिम लिएका हुन्छन् ।
नेपालमा थुप्रै अस्पतालहरूले राम्रो सेवा दिन नसक्नुको कारण नेतृत्व तहमा अस्पताल व्यवस्थापक नभएर नै हो भन्न मिल्छ ?
अहिले तपाईंले हेर्नुभयो भने नेपालका अधिकांश सरकारी अस्पतालहरू फेलियर छन् भन्छु म । केही नगन्य अस्पतालहरूले राम्रो सेवा दिरहेका छन्।
थोरैले मात्रै बिरामीलाई अपेक्षित रुपमा सेवा र सुविधा दिइरहेका छन् तर अधिकांश अस्पतालहरू अहिले फेलियर छन् । त्यो फेलियर हुनुको मुख्य कारण त्यो अस्पतालको नेतृत्वदायी भूमिकामा बसेका मान्छेहरूले राम्रोसँग अस्पताल सञ्चालन गर्न नसक्नु हो ।
त्यसकारणले गर्दा चिकित्सकहरूले चिकित्सकीय काम नै गर्नुपर्छ ।
यदि उहाँहरू अस्पताल व्यवस्थापनमा आउने हो भने अस्पताल व्यवस्थापनको तालिम लिएर आउनुपर्छ ।
अहिले तपाईंले काठमाडौँका अधिकांश अस्पतालहरू, ठूला कर्पोरेट भनिएका अस्पतालहरू हेर्नुभयो भने फेलियर छन् । २ अर्ब, ३ अर्ब लगानी गरेका अस्पतालहरू अहिले तलब खुवाउन नपाउने अवस्थामा पुगिरहेका छन्।
त्यहाँ के भयो भने अस्पतालमा चिकित्सकको भूमिका असाध्यै बढी भयो व्यवस्थापनमा । उहाहरूले क्लिनिकलको पाटोमा जति दक्षतापूर्वक काम गर्न सक्नुहुन्छ, त्यति काम अस्पतालको नेतृत्वमा रहेर गर्न सक्नुहुन्न ।
यो अवस्थामा अस्पताल व्यवस्थापकलाई अस्पतालको व्यवस्थापनको जिम्मेवारी दिन उचित हुन्छ ।
अस्पतालको नेतृत्वमा पुग्ने चिकित्सकहरू २० वर्ष, ३० वर्ष काम गरेका अनुभवी चिकित्सक हुन्छन्, व्यवस्थापन पढेर आएको मान्छे भर्खरको युवा हुनसक्छन्, उनीहरूलाई वरिष्ठ चिकित्सकहरूले नेतृत्वमा स्वीकार गर्लान् त ? यसमा अन्य देशको अभ्यास के छ ?
मैले तपाईंलाई अघि भर्खर दुईटा किसिमको जिम्मेवारी बताएँ नि, एउटा व्यवस्थापकीय जिम्मेवारी, अर्को चाहिँ नेतृत्वदायी जिम्मेवारी । व्यवस्थापकीय जिम्मेवारीमा जाने मान्छेहरूले अस्पतालको दैनिक कार्य, गतिविधिको व्यवस्थापन गर्ने हो । जो मान्छेले लामो समय व्यवस्थापनमा रहेर काम गरेको हुन्छ, अनुभवी हुन्छ, ऊ अस्पतालको नेतृत्वदावी भूमिकामा पुग्ने हो ।
जस्तो म अस्पताल व्यवस्थापनमा ३४ वर्ष काम गरेँ । लामो समय अस्पतालमा व्यवस्थापकको रुपमा, अस्पतालको प्रशासन प्रमुखको रुपमा, अस्पतालको विभागीय प्रमुखको रुपमा काम गरें । नेपाल र बेलायतमा झण्डै मैले १० वटा अस्पतालहरूमा काम गरिसकेपछि अस्पतालको नेतृत्वदायी भूमिकामा पुगेको थिएँ।
त्यसकारणले हामी जस्ता व्यक्तिहरू जसले व्यवस्थापन पढिसकेपछि वर्षौँ अस्पतालमा काम गरेका छौँ, ती व्यक्तिहरूले नेतृत्वदायी भूमिकामा बस्दा खेरी कसैले नस्वीकार्ने भन्ने हुँदैन । यस खालका व्यक्तिले नेतृत्व गर्दा अस्पताल व्यवस्थापन राम्रो हुन्छ भन्ने भावना छ ।
बाहिरको कुरा हेर्ने हो भने नन क्लिनिकल व्यक्तिहरू, जो सीईओ अथवा अस्पतालको नेतृत्वदायी भूमिकामा पुगेका हुन्छन्, उहाहरूलाई सर्वसमत रुपमा मान्ने चलन छ ।
तर नेपालमा ठिक यसको उल्टो छ । तपाईंलाई म दुईवटा उदाहरण दिन्छु, नेपालमा मैले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा प्रशासन प्रमुख भएर बस्दा अनुभव गरेको छु।
मैले अस्पताल व्यवस्थापनमा मास्टर्स गरेर नेपालको एमबीए, बीएल, बिएड गरेको मान्छे, अस्पताल व्यवस्थापनमा भारतबाट दुई वर्ष डिग्री गरेर आएको मान्छेलाई समेत स्वीकार गर्ने अवस्था थिएन त्यहाँका चिकित्सकहरूले।
यो सन् २००५ भन्दा अगाडिको कुरा हो । त्यहाँ काम गर्दागर्दै बेलायतमा स्वीकार गरेर, अस्पतालको सीईओका रुपमा बोलाएपछि म उता गएको थिएँ ।
नेपालमा डाक्टर भन्नेबित्तिकै असाध्यै सम्मानित पेशा, असाध्यै उच्च रुपमा दक्ष व्यक्ति भन्ने मानिन्छ । समाजले एकदमै माथिल्लो माथिल्लो दर्जा दिएका व्यक्तिहरू हुनुहुन्छ उहाँहरू।
चिकित्सहरूलाई के लाग्छ भने, नन क्लिनिकल भनेको चाहिँ यो खासै पढाइ होइन यो केही होइन, अरु सबै हाम्रै अण्डरमा बस्नुपर्छ भन्ने लाग्छ । उहाँहरूलाई अहिले पनि हामीले मान्नु हुँदैन भन्ने जुन प्रचलन छ, मान्यता छ जुन एउटा कल्चरै भन्छु म ।
त्यो कल्चरका रुपमा नेपालमा विकसित भएको छ । र, त्यो कल्चर बिस्तारै परिवर्तन भएको छ, बिस्तारै परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
अहिले पनि सरकारी कतिपय अस्पतालहरूमा अस्पताल व्यवस्थापकहरूले काम गरिरहनुभएको छ, भलै त्यो न्यून संख्यामा छ ।
निजी अस्पतालमा हामी जस्तै अस्पताल व्यवस्थापकहरूले काम गर्नुभएको छ । हामी जस्तै अस्पताल व्यवस्थापकहरू नेतृत्वदायी भूमिकामा बसेर पनि काम गर्नुभएको छ।
बिस्तारै परिवर्तन हुँदैछ । गैरचिकित्सकहरूले अस्पतालको समग्र रुपमा व्यवस्थापन हेर्ने र नेतृत्वदायी भूमिकामा बस्ने कुनै दिन छिट्टै आउँछ भन्ने मलाई लाग्छ ।
अस्पतालको व्यवस्थापनमा चिकित्सकको सट्टा अस्पताल व्यवस्थापन पढेको व्यक्ति रहँदा हुने फाइदा के हो, विशेषगरी सरकार वा अस्पताल सञ्चालक र सेवाग्राहीलाई ?
चिकित्सकको सट्टा व्यवस्थापक भन्ने नै हुँदैन चिकित्सकको भित्र पनि आफ्नै व्यवस्थापकीय जिम्मेवारीहरू हुन्छन् । आ-आफ्नो विभागको नेतृत्यदायी जिम्मेवारी चिकित्सकले नै लिने हो । अस्पताल व्यवस्थापनको सबैभन्दा प्रमुख मान्छे, त्यो अस्पतालको कार्यकारी निर्देशक, अस्पतालको प्रबन्ध निर्देशक, अस्पतालको प्रमुख कार्यकारी अधिकृतलगायत हुन्छन् ।
त्यो भन्दा तलपट्टि अस्पतालमा चिकित्सकहरू विभागीय प्रमुख हुन्छ । जस्तो-: मेडिकल डाइरेक्टर हुन्छ, मेडिकल सुपरिटेण्डेन्ट हुन्छ, अर्को नर्सिङको मेट्रोन हुन्छ, प्रशासनको प्रमुख हुन्छ । यी सम्पूर्ण पेशाकर्मीहरूसँग मिलेर काम गर्ने हो अस्पतालमा । त्यसकारणले अस्पतालमा डाक्टरको सट्टा व्यवस्थापकले काम गर्ने भन्ने होइन ।
व्यवस्थापकको छुट्टै काम हुन्छ, अस्पतालका चिकित्सकहरूको छुट्टै काम हुन्छ । चिकित्सकको पनि व्यवस्थापकीय काम हुन्छ । उसले पनि आफ्नो विभाग प्रमुखका रुपमा काम गर्ने, आफ्नो मातहत रहेका कर्मचारीहरूलाई तालिम दिने, कर्मचारीहरूको अनुगमन, सुपरिवेक्षण गर्ने लगायतका कामहरू चिकित्सकका व्यवस्थापकीय काम हुन् ।
अस्पतालका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, सपोर्ट सर्भिसका मान्छेहरू र अस्पताल व्यवस्थापन सबै मिलेर काम गर्ने हो ।
अस्पताल व्यवस्थापकहरूले नेतृत्वदायी भूमिकामा बस्दा कस्तो फाइदा हुन्छ भन्ने प्रश्न जुन छ, त्यसबारे भर्खरै निक साइमन इन्स्टिच्युटले एउटा रिपोर्ट प्रस्तुत गरेको थियो ।
त्यसमा हेर्ने हो भने हामीजस्ता अस्पताल व्यवस्थापकहरू जुन-जुन अस्पतालमा काम गर्नुभएको छ, त्यो अस्पतालमा न्यूनतम सेवा मापदण्ड रेटिङ राम्रो देखिएको छ ।
त्यति मात्र हैन अहिलेको समग्र ट्रेन्ड हेर्दा पनि जुन-जुन निजी अस्पताल अथवा गैरसरकारी संस्थाहरूले सञ्चालन गरेका अस्पतालहरू, जहाँ हामी जस्ता व्यवस्थापकले नेतृत्व गरेका छन् तिनको रेटिङ हेर्ने हो भने राम्रो देखिन्छ ।
त्यहाँ उहाहरूको भूमिका छ। त्यो अस्पतालको प्रभावकारिता बढेको छ ।
अस्पतालको आम्दानी वृद्धि गर्नका लागि, अस्पतालमा बिरामीको सुरक्षा अथवा सुरक्षित रुपमा बिरामीलाई सेवा प्रदान गर्नका लागि, अस्पतालमा भएका अनुपयोगी अथवा नचाहिने खर्च कटौती गर्नका लागि अस्पताललाई नाफामा लैजानका लागि व्यवस्थापकहरूको असाध्यै ठूलो भूमिका हुन्छ।
त्यो कसैले पनि नजरअन्दाज गर्न मिल्दैन।
अन्तराष्ट्रिय अभ्यासमा हेर्नुभए पनि हाम्रै छिमेकी मुलुक भारतमा हेर्नुहोस्, अन्य दक्षिण एसियाका मुलुकहरूमा हेर्नुहोस् अथवा बेलायतको अभ्यास हेर्नुहोस्।
अस्ट्रेलिया, क्यानाडा, जापान अथवा अमेरिकामा पनि हेर्ने हो भने अस्पताल व्यवस्थापकहरूले अस्पतालमा राम्रो भूमिका पाएका छन्।
राम्रो काम गरेका छन् र त्यसको प्रतिफल समग्र रुपमा बिरामीका लागि, संस्थाका लागि र सञ्चालकहरूका लागि र समग्र रुपमा स्वास्थ्य व्यवस्थापन प्रणालीकै लागि उपयोगी सिद्ध भएको छ।
स्वास्थ्यकर्मीहरूलाई अस्पताल व्यवस्थापकहरूले कसरी सहयोग गरिरहेका छन् भन्नेमा थुप्रै अनुसन्धानहरू भएका छन् । कसरी सहयोग गर्दा कस्तो प्रतिफल आएको छ ? भन्ने कुरा हामीले समग्र रुपमा देखेका छौँ । त्यसकारणले सबै समग्र रुपमा हेर्ने हो भने अस्पताल व्यवस्थापकको भूमिकाका कारण अस्पतालको सर्वोत्कृष्ट प्रतिफल आउँछ भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया 4