+

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

२०८२ असार  १७ गते ९:३० २०८२ असार १७ गते ९:३०

लामो समयसम्म प्रयास गर्दा सन्तान भएको छैन भने एकपटक यो परीक्षण गर्नुपर्छ । शुक्रकीट विश्लेषणले शुक्रकीटको संख्या, गतिशीलता र आकार जाँच्छ ।

Shares
गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भधारणपूर्व स्वास्थ्य परीक्षण आवश्यक छ, जसले गर्भ र बच्चाको स्वास्थ्य सुनिश्चित गर्न मद्दत गर्छ।
  • महिला र पुरुषले रक्तचाप, मधुमेह, हर्मोनल र यौनजन्य रोग जाँच गर्नुपर्छ।
  • तीन महिना अघिबाट फोलिक एसिड सेवन गर्न र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिइन्छ।

स्वस्थ, हृस्टपुस्ट बच्चा। सन्तान चाहने दम्पतीको साझा सपना हो, यो । सपना त सबैले देख्छन्, तर सपनालाई वास्तविकतामा बदल्न तयारी चाहिन्छ ।

अधिकांश दम्पतीले करियर, आर्थिक अवस्था, आफ्नो उमेर, पहिलेको सन्तान भए उमेर अन्तर । यी कुरालाई ध्यानमा राखेर गर्भाधानको योजना बुन्छन् ।

धेरैलाई थाहा नहोला, यी योजनामा सबैभन्दा पहिलो नम्बरमा आउनुपर्ने महत्वपूर्ण कुरा हो, गर्भधानपूर्व स्वास्थ्य परीक्षण ।

यदि स्त्रीरोग विशेषज्ञ वा चिकित्सकसँग परामर्श गरी सिफारिस गरिएको स्वास्थ्य परीक्षण, गर्भधानपूर्व नै गर्ने हो भने अन्यासमा गर्भ खेर जाने गम्भीर अवस्थाबाट गुज्रिरहन पर्दैन । गर्भवती र आउने बच्चाको स्वास्थ्य सुनिश्चित गर्न सकिन्छ । सम्भावित जोखिमलाई रोकथाम तथा उपचार गर्न  सकिन्छ।

स्वास्थ्य परीक्षण महिलाले मात्र होइन, पुरुषले पनि गर्नुपर्छ । किनकी, बच्चा स्वस्थ हुन बाबुको शुक्रकीट र आमाको अण्डा दुवै स्वस्थ हुन आवश्यक छ।

महिलाले के परीक्षण गराउने ?

उच्च रक्तचाप

रक्तचाप उच्च भएमा गर्भ रहे पनि तुहिने जोखिम हुन्छ । बच्चाको तौल कम हुने, अंगहरू विकास नहुने हुनसक्छ । जसले गर्भपतनको जोखिम बढाउँछ । रक्तचाप उच्च भएमा चिन्ता लिनुपर्दैन । गर्भधारणअघि रक्तचाप बढे पनि औषधिले नियन्त्रण गर्न सकिन्छ ।

मधुमेह

मधुमेह परिवारमा मधुमेहको इतिहास छ भने परीक्षण गर्नुपर्छ । मधुमेहले भ्रूण विकासमा असर गर्न सक्छ, जस्तै बच्चाको तौल बढ्ने, मुटु वा नशासम्बन्धी समस्या हुनुसक्छ ।

बीएमआई

यो समयमा बीएमआई परीक्षण गर्नुपर्छ । बीएमआइ शरीरको तौल र उचाइको आधारमा तपाईंको समग्र स्वास्थ्य अवस्थाको मूल्यांकन गर्ने परीक्षण विधि हो । बीएमआईले शरीरमा बोसोको अनुमानित मात्रा देखाउँछ, जुन गर्भधारणपूर्वको स्वास्थ्य जाँचको महत्त्वपूर्ण हिस्सा हुन सक्छ, किनभने स्वस्थ तौलले गर्भावस्था र गर्भधारणको सम्भावनालाई सकारात्मक असर गर्छ ।

गर्भावस्थाका लागि उपयुक्त बीएमआई १८.५ देखि २४.९ को बीचमा हुनुपर्छ । अत्यधिक मोटोपन वा कुपोषणले हार्मोनल असन्तुलन भई गर्भधारणमा कठिनाइ वा बच्चामा जटिलता ल्याउन सक्छ । मोटोपन भए तौल घटाउने र कुपोषण भए पौष्टिक आहार लिनुपर्छ ।

रक्त परीक्षण

रक्तअल्पता, प्लेटलेटको कमी वा रगतको गाढापन/पातलोपन जाँच गर्न यो परीक्षण गरिन्छ । रक्तअल्पताले आमा र बच्चा दुवैलाई कमजोर बनाउँछ ।

यदि सानो चोटपटकमा पनि लामो समयसम्म रक्तस्राव हुने, ब्रश गर्दा रगत बग्ने वा साना चोटमा नीलो दाग बस्ने समस्या छ भने थ्रोम्बोफिलिया स्क्रिनिङ गर्नुपर्छ । बारम्बार गर्भपतन भएको अवस्थामा पनि यो जाँच जरुरी हुन्छ ।

पाठेघरसम्बन्धी परीक्षण

भिडियो एक्स–रे — पाठेघरको संरचना, सिस्ट वा जन्मजात असामान्यताहरू जाँच, गर्भाशय र अण्डाशयको अवस्था जाँच गर्छ । फाइब्रोइड, सिस्ट, वा अन्य संरचनात्मक समस्याहरू पत्ता लगाउन यो उपयोगी हुन्छ ।

प्याप स्मेयर — पाठेघरको मुखको क्यान्सर जाँच गर्न यो परीक्षण गरिन्छ । यदि क्यान्सर वा अन्य समस्या छ भने गर्भावस्थाको योजना बनाउनुअघि उपचार गर्नुपर्छ ।

जेनेटिक काउन्सेलिङ — परिवारमा वंशाणुगत रोगहरू (जस्तै थ्यालासेमिया, सिकल सेल एनेमिया)को इतिहास छ भने जेनेटिक काउन्सेलिङको साथै परीक्षण गर्नुपर्छ । यसले बच्चामा यस्ता रोगहरूको जोखिम मूल्यांकन गर्न सहयोग गर्छ ।

हर्मोनल प्रोफाइल — यो परीक्षण वैकल्पिक हो । यदि महिनावारी अनियमित छ । बच्चा पहिलेदेखि प्रयास गर्दा बच्चा बसिरहेको छैन भने एलएच, एफएसएच, प्रोल्याकटिन, एन्टी मोल्युकुलर जस्ता हर्मोनल परीक्षण गर्नुपर्ने हुनसक्छ ।

यौनजन्य रोग परीक्षण — यौन जीवनमा सक्रिय रहँदा यौन प्रसारित रोग लाग्ने सम्भावना रहने हुँदा एचआईभी, सिफिलिस,र हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ ।

पुरुषले कस्तो परीक्षण गर्ने ?

वीर्य क्षमता परीक्षण

लामो समयसम्म प्रयास गर्दा सन्तान भएको छैन भने एकपटक यो परीक्षण गर्नुपर्छ । शुक्रकीट विश्लेषणले शुक्रकीटको संख्या, गतिशीलता र आकार जाँच्छ । यदि शुक्रकीटको गुणस्तर वा संख्या कम छ भने गर्भाधानमा कठिनाइ हुन सक्छ । यो परीक्षणले यस्ता समस्याहरू समयमै पत्ता लगाई उपचार गर्न मद्दत गर्छ।

यौन तथा अन्य संक्रामक रोग

एचआइभी, सिफालिस र हेपटाइटिसको परीक्षण जरुरी हुन्छ । यी रोग श्रीमानमा भए श्रीमती हुँदै बच्चामा सर्नसक्छ ।

हर्मोन असन्तुलन पहिचान

टेस्टोस्टेरोन, एफएसएच जस्ता हर्मोनहरूले शुक्रकीट उत्पादन र प्रजनन प्रणालीलाई नियन्त्रण गर्छन् । हर्मोनल परीक्षणले यी हर्मोनहरूको असन्तुलन पत्ता लगाउँछ, जुन प्रजनन समस्याको कारण हुन सक्छ ।

मधुमेह तथा थाइराइड

मधुमेह वा थाइराइड जस्ता रोगहरू पत्ता लगाउँछ, जसले प्रजनन स्वास्थ्य अवस्था पत्ता लगाउँछ ।

अण्डकोषको समस्या

अण्डकोष जाँचले भेरिकोसेल अण्डकोषको नसामा सुन्निने समस्याजस्ता अवस्थाहरू पत्ता लगाउँछ, जसले शुक्रकीटको गुणस्तरमा असर गर्छ ।

माथि उल्लेखित समस्या देखिए पहिला यी समस्याको उपचार गरेर मात्र गर्भधारण गर्नुपर्ने हुन्छ ।

३ महिना अघिबाट फोलिक एसिड

माथि उल्लेखित परीक्षणसँगै करिब तीन महिना अघिबाट दैनिक ४०० –८०० सम्म माइक्रोग्राम फोलिक एसिड लिनुपर्छ । यो भिटामिन बी ९ हो ।

यसले शिशुको मस्तिष्क र मेरुदण्डको विकासमा सहयोग गर्छ । यसले न्युरल ट्युब डिफेक्ट जस्ता जन्मजात समस्याहरूको जोखिम ५०–७० सम्म कम गर्छ ।

फोलिक एसिडले गर्भवती महिलामा रक्तअल्पता रोक्न र कोष निर्माणमा मद्दत गर्छ । यो सप्लिमेन्ट र पौष्टिक आहार हरियो सागसब्जी, गेडागुडीमार्फत प्राप्त गर्न सकिन्छ ।

जति उमेर बढ्यो त्यति गर्भधारणमा समस्या

२० देखि ३० वर्षको उमेर गर्भधारणको लागि उपयुक्त मानिन्छ । जति उमेर बढ्दै गयो त्यति नै महिलाको डिम्बको गुणस्तर कमजोर हुँदै जान्छ । मात्रा घट्दा गर्भ रहन नै समस्या हुने, गुणस्तरमा कमी आउँदा डाउन सिन्ड्रोम हुने, बच्चा स्वस्थ नहुने, अपाङ्गता, प्रस्तुति गराउन पनि समस्या आउन सक्ने सम्भावना हुने भएकाले ३५ वर्षअघि नै सन्तान जन्माउनु शिशु र आमाको लागि उचित हुन्छ ।

त्यसबाहेक, जन्मजात नै स्वास्थ्य समस्या १ सय जनमामा ३ जनामामा देखिन्छ । वंशाणुगत कारण, उमेर बढ्दै गएको दम्पति, बाबुआमामा अनियन्त्रित मधुमेह र रक्तचाप छ भने सन्तान अस्वस्थ र अशक्त हुने सम्भावना हुन्छ ।

स्वस्थ जीवनशैली आवश्यक

मोटोपन, उच्च रक्तचाप, धूम्रपान वा तनावले पनि हर्मोनल सन्तुलनमा खराबी ल्याउँछ । शुक्रकीटको गुणस्तर र प्रजनन स्वास्थ्यमा नकारात्मक असर गर्छ । त्यसैले, आनीबानी सुधार्न आवश्यक छ ।

— हरियो सागसब्जी, फलफूल, गेडागुडी, प्रोटिन (माछा, अण्डा) र फोर्टिफाइड अनाज खाने, जसले फोलिक एसिड, आइरन र अन्य पोषक तत्त्व प्रदान गर्छ ।

— चुरोट र रक्सीले डिम्ब र शुक्रकीटको गुणस्तरमा असर गर्छ । त्यसैले पूर्णरूपमा बन्द गर्नुपर्छ ।

— हल्का व्यायाम (हिँड्ने, योग, पौडी) ले तौल नियन्त्रण, हार्मोनल सन्तुलन र तनाव कम गर्छ ।

—तौल नियन्त्रण गर्नुपर्छ । मोटोपन वा कुपोषणले गर्भधारणमा कठिनाइ ल्याउन सक्छ ।

— ध्यान, योग वा रमाइलो गतिविधि (घुम्न जाने) मार्फत मानसिक स्वास्थ्य राम्रो राख्ने, किनभने तनावले हार्मोनल असन्तुलन निम्त्याउछ ।

— दैनिक ७–८ घण्टा गुणस्तरीय निद्रा लिने, जसले शरीर र प्रजनन प्रणालीलाई स्वस्थ राख्छ ।

— अत्यधिक क्याफिन (कफी, चिया) ले गर्भधारणको सम्भावना घटाउन सक्छ । दैनिक २०० मिलिग्रामभन्दा कम लिने ।

गर्भधान
डा. दिजा खनाल
लेखक
डा. दिजा खनाल
प्रसूति तथा स्त्री रोग विशेषज्ञ

डा. खनाल हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन् । प्रसूति रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल नम्बर २०९८६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?

गर्भावस्थाको पहिलो महिना के गर्ने, के नगर्ने ?