News Summary
Generated by OK AI. Editorially reviewed.- चिकित्सा पेशा सेवा हो कि व्यापार, यस विषयमा कानुनी र सामाजिक बहस चलिरहेको छ।
- उपभोक्ता अदालतले चिकित्सकमाथि लापरवाहीको आरोप लगाएको र क्षतिपूर्ति मागिएको घटनाले चिकित्सकहरूको आत्मबलमा चोट पुर्याएको छ।
- डाक्टरहरूले आफ्नो पेशागत धर्म र मानवता निभाउने प्रयास गरिरहेका बेला, न्यायिक प्रणालीले न्याय सुनिश्चित गर्न आवश्यक छ।
चिकित्सा पेशा व्यापार हो कि सेवा ?
यो प्रश्न सोचनीय छ ।
पछिल्ला केही कानुनी घटनाक्रमहरूले चिकित्सा पेशा तथा स्वास्थ्य सेवालाई ठूलो बहसको केन्द्रमा ल्याइदिएको छ । उपभोक्ता अदालतले ओम, ग्राण्डी सिटी, तथा हिमाल अस्पतालहरूमाथि दोषारोपण गरेका छन् । र उपचारमा खटिएका चिकित्सकहरूलाई लापरवाहीको आरोपमा क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको छ ।
हुनत यस आदेशले धेरै नेपालीहरू हर्षित होलान् । तर त्यही नेपालीहरूलाई सेवा दिने नेपाली चिकित्सकहरू केवल आक्रोशित छैन, उनीहरूको आत्मबलमा नै गहिरो चोट पुगेको छ । विदेशिएका आफ्नै नेपाली चिकित्सक साथीहरूले ‘खुब देशमा सेवा गर्ने भन्थिस्, खुच्चिङ’ भन्दै छन् ।
डाक्टरहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन् ‘म एउटा चिकित्सक हुँ, व्यापारी होइन । मेरो उपचारले तपाईँ निको नभएर मलाई लापरवाहीको क्षतिपूर्ति भराउने हो भने, कृपया म कहाँ नआउनुहोस् ।’
यो केवल भावनात्मक अभिव्यक्ति मात्र होइनन्, यो पेशागत आत्मगौरव र न्यायका लागि गुहार हो । हामीले चिकित्सक हुनका लागि जीवनका अनगिन्ती वसन्तहरू खर्चिन्छौँ।
युवावस्थाको उमंगलाई अस्पताल र पुस्तकालयमा कैद गर्छौँ । चिकित्सक भएर पनि साँझको खाजा छाडेर आकस्मिक ‘कल’ मा दौडिन्छौँ । घरमा बिरामी बच्चा रुँदै बसेको अवस्थामा पनि अर्काको जीवन बचाउन शल्यक्रिया कक्षभित्र पस्दछौँ । यो पीडा केवल हामीले मात्र बुझ्न सक्दछौँ । अरुले त हामीले चढेका गाडी र लगाएको पहिरन देख्छन् तर हामी एसी कोठामा पनि जलिरहेको कहाँ देख्छन् र ?
हामी प्रत्येक दिन मृत्युसँग जुधिरहेका हुन्छौं । अस्पतालको गेटभित्र छिर्दा हामीसँग पैसा होइन, बिरामीको सास गन्ती गर्ने मनोबल मात्र हुन्छ । हामी निद्राविहीन रातहरूलाई बिर्सेर त्यही थकाइमा पनि एउटा शल्यक्रिया सुरु गर्छौं ।
कसैको जीवन बचाउने आशामा, कसैको छोरी, बाबु, श्रीमती वा छोराको सास बचाउने साँचो प्रयास गर्छौ । तर जब कहिलेकाहीँ त्यो प्रयास असफल हुन्छ, हामीलाई व्यापारिक हिसाबले जोखिन थालिन्छ । जसरी कसैले बिग्रिएको मोबाइलको ग्यारेन्टी माग्छ, त्यसरी नै हामीसँग पनि ‘निको नपारे, क्षतिपूर्ति देऊ’ भनिन्छ ।
यति बेला हामीले प्रश्न गर्नैपर्ने भएको छ । के हामी क्लिनिक होइन, सपिङ मलमा काम गर्दैछौं ? के बिरामीहरू हाम्रो दायित्व होइन, ग्राहक हुन् ? अन्तर्राष्ट्रिय रूपमा चिकित्सा सेवा व्यवसाय होइन, उत्तरदायित्व मूलक सेवा हो भन्छन् ।
सन् १९५७ को सुप्रसिद्ध ब्रिटिश फैसला बोलम भि फरिन हस्पिटल म्यानेजमेन्ट कमिटिका अनुसार, ‘यदि चिकित्सकले त्यो उपचार विधि अपनाएका छन्, जुन कुनै जिम्मेवार र अनुभवी चिकित्सकहरूको समुदायले उपयुक्त मानेको छ भने, उपचार असफल भए पनि त्यो चिकित्सकलाई लापरवाहीको दोष लगाउन मिल्दैन ।’ यो फैसला चिकित्सा कानुनमा ‘बोलाम टेस्ट’ का रूपमा चिनिन्छ ।
आज पनि बेलायत, भारत, अमेरिका लगायतका मुलुकमा चिकित्सकीय लापरवाही छ कि, छैन भन्ने निर्धारणको आधार मानिन्छ । अर्थात्, यदि चिकित्सकले विद्यमान चिकित्सा मान्यताअनुसार प्रयास गरेको छ भने, उपचार असफल हुनु लापरवाही होइन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘ग्लोबल पासेन्ट सेफ्टी एक्सन प्लान (२०२१–२०३०)’ ले समेत चिकित्सकको ‘न्यायिक संस्कृति अर्थात जस्ट कल्चर’ को कुरा गर्छ ।
जहाँ असफलताबाट शिक्षा लिइन्छ, दोषारोपण होइन । हाम्रो समाजमा त्यो सांस्कृतिक मान्यतालाई बिथोल्ने प्रयास भएको छ । त्यही भएर अहिले हामी आत्मा थामेर प्रश्न गर्न बाध्य छौँ । के सेवा गर्ने धर्म अब अदालती कागजको किनारमा जोखिने हो ? के प्रयास गर्ने चिकित्सा अब सजायको पात्र बन्ने हो ?
हामी त केवल आफ्नो चिकित्सकीय वा मानव धर्म निभाउँछौं । त्यो धर्म, जुन ‘हिपोक्रेटिक ओथ’ को मर्ममा छ । ‘म बिरामीको हितका लागि आवश्यक सम्पूर्ण उपायहरू अपनाउनेछु, म कसैलाई हानि पुर्याउने छैन ।’ तर न्यायको कठघरामा अहिले त्यो धर्म होइन, हाम्रो भाग्यको असफलता उभिएको छ ।
हामीलाई मात्र होइन, सबैलाई थाहा छ हरेक बिरामी निको हुँदैनन् । विज्ञानले हरेक प्रश्नको उत्तर दिएको छैन । उपचार प्रयास हो, ग्यारेन्टी होइन । तर जब बिरामी निको भएन भने हामीमाथि लगाइने आरोप के हो ? ‘लापरवाही !’
केवल कानुनी बहस होइन, यो आत्मबलको मुद्दा हो । के म अब हरेक सर्जरी गर्ने बेलामा भोलि बिरामीको परिवारले मलाई अदालतमा घिसार्नेछन् भनेर सोच्नु ? के अब म उपकरण, प्राविधिक वा अत्याधुनिक सेवा छैन भने बिमारीलाई बचाउने कोसिस नगर्नु ? त्यसो भए ग्रामीण क्षेत्रमा कसले उपचार गर्ने ? आईसीयू, एनआईसीयू नभएको अस्पतालमा कसले काम गर्ने ? अनि समस्या आयो भने अदालतले लापरवाही भन्दै ठोकुवा गर्ने ? हामीले सुनेका थियौँ, प्रयास हाम्रो धर्म हो, मानवता हो । तर अहिले लाग्दैछ, असफलता अपराध हो ।
एक जना जिल्ला न्यायाधीशको फैसला उच्च अदालतमा उल्टिन्छ । यस्ता दर्जनौँ केस होलान् । के समाजले जिल्ला न्यायधीशलाई दोषी वा लापरवाही गर्यो भन्छन् । के क्षतिपूर्ति माग्ने कानुन छ ? एक जना प्रहरी अधिकृतले २५ दिन थुनामा राखेर अनुसन्धान गर्छन् । दोषी देखाएर सजायको माग गर्छन् । तर त्यो मानिस अदालतबाट निर्दोष सावित हुन्छ । प्रहरीलाई दोषी ठहर्याउने अनि २५ दिनको शारिरिक, मानसिक तनावको क्षतिपूर्ति पाउने व्यवस्था छ ?
चिकित्सकले उपचार गर्यो, प्रयास गर्यो र रोगले साथ दिएन भने हामी लापरवाही प्रमाणित गर्छौ । के यो समाजिक न्याय हो ? तर पनि हामी चिकित्सकले गल्ती गर्न पाउँछन् भन्दैनौँ ।
चिकित्सकको गल्ती प्रमाणित गर्ने आधार बिमारीको मृत्यु होइन । किनकी मृत्यु परम सत्य हो । चिकित्सकको गल्ती, लापरवाही प्रमाणित गर्ने हो त्यसै विभागको विज्ञले । अदालतले हुँदै होइन । नेपालमा यसका लागि नेपाल मेडिकल काउन्सिल छ । यसले चिकित्सक मात्र होइन अस्पताल समेत नियमन गर्ने, आचारसंहिता हेर्ने, छानबिन गर्ने अधिकार पाएको छ । तर पछिल्लो समयमा बिरामीको मृत्यु भयो भने उपभोक्ता अदालत गइन्छ । जहाँ न काउन्सिलले जाँच गर्छ, न मेडिकल विशेषज्ञको राय सुनिन्छ । केवल प्रतिवादी र मुद्दा दर्ता, अनि फैसला क्षतिपूर्ति ।
हामीसँग कानुनी सुरक्षा छैन । छ त केवल निद्राविहीन रातहरू, अभाव बीचको सेवा र समाजप्रतिको कर्तव्यबोध ।
एउटा महत्वपूर्ण तत्व थियो, आत्मबल । तर अब त्यो आत्मबलमा चिसो पसिसकेको छ, कहिले हाथपात गरेर, कहिले मानहानी गरेर त कहिले क्षतिपूर्ति तिर्न लगाएर । त्यसैले उपचार सुरु गर्नु अगाडि स्टाटस लेख्न थालेका छन्, ‘मसँग पैसा छैन, तपाईँ उपभोक्ता हुनुहुन्न । तपाईँ मेरो धर्म हुनुहुन्छ ।’ तर धर्म अब सस्तो छ ।
अदालतको कागजमा धर्मले ठाउँ पाउँदैन । हामी चाहन्छौँ, न्याय होस् । तर त्यो न्याय सन्तुलित होस् । चिकित्सक दोषी छन् भने, सप्रमाण ठहर होस् । मेडिकल काउन्सिलले राय दिओस् । विज्ञहरूले अध्ययन गरून् । अनि मात्र फैसला होस् । र, फैसलाले उनलाई निलम्बन गरोस्, मेडिकल लाइसेन्स रद्ध गरोस् क्षतिपूर्ति होइन ।
मान्छेको मूल्य हुँदैन, उसको ज्यान अमूल्य छ । अर्को कुरा चिकित्सकहरू व्यापारिक सेवा प्रदायक होइनन् । हामी ग्राहक हेर्दैनौँ, हामी आँखा हेर्छौँ । जसमा भरोसा छ, पीडा छ, तर निको हुने ठूलो आशा छ ।
हामी बिग्रेका सर्जरीबाट लुक्दैनौँ । तर हामी चाहन्छौँ, त्यो सर्जरीका पछाडि हाम्रो आँसु पनि अदालतले हेरोस् । हाम्रो इमान छ, अनुभव छ, अनि कर्तव्य छ । न्यायाधीशहरूले विवेक प्रयोग गरून् । पत्रकारहरूले सनसनी होइन, सही कुरा लेखुन् । अनि बिरामीको परिवारले बुझुन्, हामी कसैको शत्रु होइनौँ । बरु हामी तपाईँका लडाकु हौँ, तपाईंहरूको जीवनका लागि लड्ने ।
यदि आज चिकित्सकहरू डराएर, चुपचाप, कानुनी अप्ठ्याराबाट बच्न मात्रै काम गर्न थाले भने, हार्ने को हो ? बिरामी, समाज र त्यो भरोसा, जसको नाम चिकित्सा हो । हामी एउटा युगको मोडमा छौँ । जहाँ चिकित्सक अब सेवा गर्नु अगाडि वकिलको राय खोज्छन् । जहाँ ग्रामीण वा सुविधा नभएका अस्पतालमा सेवा दिनु पनि जोखिम हुन्छ ।
जहाँ आईसीयूमा भर्ना नगरी मृत्यु भएमा पनि मुद्दा लाग्न सक्छ । यदि अब पनि समाज मौन बस्छ भने, भोलि त्यो समाज आफैं उपचारविहीन हुनेछ । चिकित्सक न त व्यापारी हो, न त भगवान । नेपालका चिकित्सक अभावै अभावमा र कामको चापमा पेलिएका, थाकेको, भावुक, डराएको तर इमान्दार मानिस हो । जसले तपाईँलाई बचाउने साँचो प्रयास गर्छन् । बिमारी उपभोक्ता होइनन् । चिकित्सकले सेवा दिने हो, सौदा गर्ने होइन ।
(लेखक डा.बालकृष्ण साह नेपाल चिकित्सक संघ कोशी शाखाका महासचिव हुन् ।)
प्रतिक्रिया 4