+

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

२०८२ असार  ८ गते ९:३० २०८२ असार ८ गते ९:३०
Shares
गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गर्भावस्थाको सातौं महिनामा शारीरिक र मानसिक परिवर्तनहरू देखिन्छन्, र यस समयमा स्वास्थ्य परीक्षण आवश्यक हुन्छ।
  • सातौं महिनामा बच्चाको विकास, यात्रा र खानपानमा सावधानी अपनाउनु आवश्यक छ।
  • सम्भावित जटिलता जस्तै उच्च रक्तचाप र मधुमेहको पहिचान र उपचार गर्नुपर्छ।

गर्भावस्थाको सातौं महिना पुग्दासम्म २९ देखि ३२ हप्ता पुगिसकेको हुन्छ । यो अन्तिम त्रैमासिकको सुरुवाती चरण हो । जुन गर्भवती महिलाका लागि एक महत्वपूर्ण कोसेढुंगा हो ।

यो समयसम्म आइपुग्दा महिलाले गर्भावस्थाका आधा भन्दा बढी चुनौतीहरू पार गरिसकेकी हुन्छिन् । यो चरणले उनलाई मातृत्वको नजिक पुर्‍याउँछ । पहिलेको भन्दा बच्चाप्रति बढी संवेदनशील देखिन्छन् । पाठेघरको ठूलो आकार प्रष्ट देखिन थाल्छ ।

यो महिनाको अन्तिममा बच्चा जन्मियो भने पनि सकुशल बाँच्ने सम्भावना रहन्छ । अबका दिनमा गर्भवती महिला र बच्चा दुवैमा उल्लेखनीय परिवर्तनहरू देखिन्छन् ।

कस्ता शारीरिक परिवर्तन देखिन्छ ?

सातौं महिनामा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तनहरू देखिन्छन्। यी परिवर्तनले गर्भावस्थालाई थप जटिल र विशेष बनाउँछन् ।

अलिअलि आकार लिएको पेटको चौडाइ बढेर स्पष्टरुपमा बाहिर देखिन थाल्छ । नाइटोभन्दा अलिकति माथि पेट बाहिर निस्कन्छ, जसले गर्भवती महिलालाई असहज महसुस गराउन सक्छ । पहिलाका लुगाहरू ठिक हुँदैनन् ।

अर्को परिवर्तन भनेको यो समयमा स्तनको आकार बढ्दै जान्छ । र, वरपरको छाला कालो (डार्क प्याचेज) देखिन सक्छ । साथै, स्तनबाट पँहेलो रङको दूध (कोलोस्ट्रम) निस्कन सुरु हुन सक्छ, जुन बच्चाको लागि पहिलो पौष्टिक आहार हो ।

अब हातखुट्टा सुन्निएको आभास हुन थाल्छ । दिनभरको कामपछि वा साँझतिर हात–खुट्टा सुन्निन सक्छ । यो सामान्यतया रक्तसञ्चार र पानीको सन्तुलनमा हुने परिवर्तनका कारण हुन्छ । गर्भाशयको आकार बढ्दै जाँदा मूत्राशयमा दबाब पर्छ, जसले बारम्बार पिसाब लाग्ने समस्या लाग्न सुरु हुन्छ ।

प्रोजेस्टेरोन हर्मोनको वृद्धिका कारण आन्द्राको गति सुस्त हुन्छ, जसले कब्जियत र एसिडिटीको समस्या आउनसक्छ । बच्चाको आकार बढ्दै जाँदा फोक्सोमा दबाब पर्छ, जसले सास फेर्न अलि गाह्रो हुन सक्छ । शारीरिक परिवर्तन र हर्मोनल प्रभावले थकान र निद्रामा समस्या हुन सक्छ ।

मानसिक र भावनात्मक परिवर्तन

सातौं महिनामा गर्भवती महिलाको मानसिक अवस्थामा पनि मिश्रित भावनाहरू देखिन्छन् । यी भावनाहरूमा उमंग, उत्साह, डर, तनाव र अनिश्चितता समावेश हुन्छन् ।

बच्चाको आगमन नजिकिँदै जाँदा गर्भवती महिलामा उत्साह र खुसीको भावना बढ्छ । साथै तनाव र डरले पनि पिछा छोड्दैन । प्रसवको डर, सामान्य वा शल्यक्रिया मार्फत डेलिभरी हुने अनिश्चितता र बच्चाको स्वास्थ्यको चिन्ताले तनाव हुनसक्छ ।

शारीरिक असुविधा र हर्मोनल परिवर्तनले मानसिक थकान र झर्को लाग्ने सम्भावना बढ्न सक्छ ।

सम्भावित जटिलता

सातौं महिनामा केही स्वास्थ्य समस्या वा जटिलताहरू देखिन सक्छन् । यी जटिलताहरूलाई समयमै पहिचान र उपचार गर्नु आवश्यक हुन्छ ।

उच्च रक्तचाप  : गर्भावस्थाको २० हप्तापछि उच्च रक्तचापको समस्या देखिन सक्छ । यो अवस्थाले प्रि–एक्ल्याम्पसिया वा एक्ल्याम्पसियाको जोखिम बढाउँछ । लक्षणहरूमा टाउको दुख्ने, आँखा धमिलो हुने, र चक्कर लाग्ने समावेश छन् ।

प्रि–एक्ल्याम्पसिया र एक्ल्याम्पसिया :  पिसाबमा प्रोटिन देखिनु र हात–खुट्टा अत्यधिक सुन्निनु प्रि–एक्ल्याम्पसिया र एक्ल्याम्पसियाका लक्षण हुन् । यो गम्भीर अवस्था हो र तत्काल चिकित्सकीय उपचार आवश्यक हुन्छ ।

मधुमेह  : २४ देखि ३० हप्ताको बीचमा ग्लुकोज च्यालेन्ज टेस्ट (जीसीटी) मार्फत मधुमेहको जाँच गरिन्छ । किनकी, यो समयमा आमामा मधुमेह हुने जोखिम हुन्छ।

यदि मधुमेह देखियो भने चिन्ता लिनुपर्दैन । चिकित्सकले सिफारिस गरेको उपचारले समयमै नियन्त्रण गरियो भने यसको जटिलताहरू कम गर्न सकिन्छ ।

प्रिटर्म लेबर : विशेष गरी पाठेघरको मुख वा पिसाबको संक्रमण, डायरिया, वा बान्ताका कारण कसैको समयअगावै प्रसव पीडा सुरु हुन सक्छ । यस्तो अवस्थामा बच्चाको पूर्ण विकास नभएको हुनाले विशेष हेरचाह चाहिन्छ ।

बच्चाको गति कम हुनु : यदि बच्चा दशपटकभन्दा कम चल्छ भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

बच्चाको विकास

गर्भावस्थाको सातौं महिनामा बच्चाको विकास आधाभन्दा बढी हुन्छ । यो समयमा बच्चाको मुख्य अंगहरू परिपक्व हुँदै जान्छन ।

तौल र लम्बाइ  : बच्चामा बोसोको विकास हुन थाल्छ । बच्चा औसतमा लम्बाइ १४ ३८ देखि ४२ सेन्टिमिट र बच्चाको तौल १ देखि १.५ किलोग्राम पुग्छ ।

फोक्सोको परिपक्वता : २८ हप्तापछि बच्चाको फोक्सोले स्वतन्त्र रूपमा काम गर्न सक्ने क्षमता विकास हुन्छ ।

मस्तिष्कको विकास : मस्तिष्कको विकास तीव्र हुन्छ, जसले बच्चाको संवेदनशीलता र प्रतिक्रियालाई बढाउँछ । बच्चाले बाहिरी आवाज पूर्णरुपमा सुन्ने क्षमता विकास हुने, प्रतिक्रिया दिने र चल्ने गर्छ ।

हाडजोर्नीको विकास :  यस अवधिमा बच्चाको हड्डी कडा हुन थाल्छ । यसबाहेक अन्य अंगहरू जस्तै, मुटु, आन्द्रा र अन्य अंगहरूको विकास पनि राम्रोसँग हुन थाल्छ ।

यात्रा र सावधानी

सातौं महिनामा यात्रा गर्न निषेधित त छैन । तर केही सावधानी अपनाउनु आवश्यक हुन्छ ।

छोटो यात्रा : छोटो दूरीको यात्रा गर्न सकिन्छ । तर, सवारी साधन सहज र झट्कारहित हुनुपर्छ । यसका लागि सकेसम्म आफ्नै सवारी प्रयोग गर्नु उचित हुन्छ ।

लामो यात्रा : लामो यात्रा गर्नुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । यदि कुनै जटिलता छैन भने यात्रा गर्न सकिन्छ ।

हवाई यात्रा : ३४ हप्तासम्म यदि चिकित्सकले अनुमति दिएमा र आवश्यक कागजातहरू पेस गरेमा हवाई यात्रा गर्न सकिन्छ ।

के कस्ता परीक्षण गर्ने ?

यो समयमा नियमित स्वास्थ्य जाँच र परीक्षणहरू गर्नु आवश्यक हुन्छ ।

रक्त परीक्षण : हेमोग्लोबिन, रगतमा चिनीको मात्रा, थाइराइड र कलेजोको कार्यक्षमता जाँच ।

पिसाबको परीक्षण : प्रोटिन वा संक्रमणको उपस्थिति पत्ता लगाउन ।

रक्तचाप जाँच : प्रत्येक भेटमा वा हरेक १–२ हप्तामा रक्तचाप जाँच गर्नुपर्छ ।

अल्ट्रासाउन्ड : बच्चाको तौल, पानीको मात्रा, स्थिति र सालनालको अवस्था जाँच गर्ने ।

खानपान कस्तो गर्ने ?

सातौं महिनामा खानपानमा विशेष ध्यान दिनुपर्छ, किनभने यो समयमा कब्जियत र एसिडिटीको समस्या बढ्न सक्छ ।

—  हरियो सागपात, मौसमी फलफूल ।

— प्रोटिनमा दाल, मासु, अण्डा, दूध, र दुग्धजन्य पदार्थ ।

— दिनमा ३ देखि ४ लिटर पानी पिउने ।

— चिकित्सकले सिफारिस गरेका सप्लिमेन्टहरू आइरन र क्याल्सियम नियमित खाने ।

—  दिनमा ३ पटक पेट चर्किने गरी होइन, ६ पटक गरेर ठिक्क मात्रामा खाने ।

के नखाने ?

—  चुरोट र रक्सी ।

—  काँचो मासु, अण्डा, र दूध ।

—  अत्यधिक तेल र मसलायुक्त खाना ।

—  कफी र चिया पनि सकेसम्म खानुहुँदैन । किनकी, यी पेयले मस्तिष्कलाई उत्तेजित गरी चिन्ता र मानसिक तनाव बढाउन सक्छ ।

चिकित्सकलाई तत्काल भेट्नुपर्ने अवस्था

निम्न लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

—  टाउको दुख्ने, आँखा धमिलो हुने वा चक्कर लाग्ने ।

—  छाती पोल्ने, वाकवाकी वा बान्ता हुने ।

—  बच्चा कम चल्ने (दिनमा १० पटकभन्दा कम)।

— योनीबाट रगत बग्ने वा प्याड भिज्ने अवस्था ।

— हात–खुट्टा देखि योनी अत्यधिक सुन्निनु ।

परिवारको साथ र सहयोग

यो समयमा परिवारको भावनात्मक र शारीरिक सहयोग आवश्यक हुन्छ ।

—  घरको काममा सहयोग गर्ने, गर्भवतीलाई पर्याप्त आरामको व्यवस्था गराउने, पौष्टिक खानाको व्यवस्था गर्ने र खान बेलाबखतमा सम्झाउनुपर्छ ।

—  गर्भवती महिलालाई प्रेम, समझदारी र सहानुभूतिपूर्ण व्यवहारले मानसिक रूपमा बलियो बनाउँछ ।

ध्यान दिनुपर्ने कुरा

—  चिकित्सकले तोकेको समयमा नियमित जाँच गर्ने ।

— हल्का फुल्का व्यायाम, जस्तै १५ देखि २० मिनेटको हिँडनुपर्छ ।

— देब्रे कोल्टे फर्केर सुत्नुपर्छ, जसले रक्तसञ्चारमा सहयोग गर्छ ।

— हल्का संगीत सुन्ने, पढ्ने वा बाहिर घुम्ने ।

— भारी सामान नउठाउने, झट्ट उठ्ने–बस्ने नगर्ने र बिस्तारै उठ्ने ।

गर्भावस्था सातौं महिना
डा. दिजा खनाल
लेखक
डा. दिजा खनाल
प्रसूति तथा स्त्री रोग विशेषज्ञ

डा. खनाल हाल परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कार्यरत छिन् । प्रसूति रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल नम्बर २०९८६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

सुत्केरीपछि कसरी छिट्टै सामान्य अवस्थामा फर्कने ? यी ७ उपाय

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको सातौं महिना, के गर्ने, के नगर्ने ?

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

उच्च रक्तचाप व्यवस्थापनका लागि घरमा के-के गर्ने ? यी ६ उपाय

गर्भावस्थाको आठौं महिना, के गर्ने, के नगर्ने ?

गर्भावस्थाको आठौं महिना, के गर्ने, के नगर्ने ?

आफ्नै देशमा पराई : एक डाक्टरको आत्मकथा

आफ्नै देशमा पराई : एक डाक्टरको आत्मकथा

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो