+

उत्तानो पारेर सुत्केरी गराउनु गलत तर किन छ अझै त्यही अभ्यास ?

२०८३ वैशाख  २८ गते १७:११ २०८३ वैशाख २८ गते १७:११

प्रसवको समयमा महिलाले अनुभव गर्ने पीडा शरीरको अवस्था, बच्चाको स्थिति र अपनाइएको मुद्रासँग सम्बन्धित हुन्छ ।

उत्तानो पारेर सुत्केरी गराउनु गलत तर किन छ अझै त्यही अभ्यास ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिलाले बच्चा जन्माउने तरिका समयसँगै बदलिँदै आएको छ, अहिले अधिकांश अस्पतालमा सुताएर बच्चा जन्माउने अभ्यास प्रचलित छ।
  • १७औँ शताब्दीमा फ्रान्सेली चिकित्सक फ्राँस्वा मोरिसोले महिलालाई सुताएर बच्चा जन्माउन सुझाव दिएका थिए, जसले अस्पताल केन्द्रित प्रसूति प्रणाली विस्तार गर्‍यो।
  • विज्ञानले सक्रिय मुद्रामा बच्चा जन्माउँदा गुरुत्वाकर्षणको सहयोग, प्रजनन् अंगको फराकिलोपन, कम पीडा र सिजेरियन जोखिम कम हुने देखाएको छ।

महिलाहरूले बच्चा जन्माउने तरिका समयसँगै बदलिँदै आएको छ । कुनै समय महिलाहरू बसेर, घुँडा टेकेर वा अडेस लागेर सहज रूपमा बच्चा जन्माउँथे । अहिले अस्पतालमा सुत्केरी हुने प्रणाली विकसित भएसँगै धेरैजसो महिलालाई सुताएर बच्चा जन्माउने अभ्यास छ ।

तर यो मुद्राले आमा र बच्चा दुवैका लागि केही जोखिम बढाउन सक्ने वैज्ञानिक अध्ययनहरूले संकेत दिएका छन् ।

त्यसो भए पनि किन विश्वभरका धेरै अस्पतालमा अझै यही तरिका अपनाइन्छ ? यसको उत्तर इतिहास, चिकित्सा प्रणाली र सामाजिक सोचसँग जोडिएको छ ।

प्राचीन समयको प्राकृतिक प्रसूति

इतिहास हेर्दा संसारभरका महिलाहरूले प्रायः उभिएर, बसेर वा अगाडि झुकेर बच्चा जन्माउने गर्थे ।

टर्कीकी रानी क्लियोपेट्राको समयदेखि नै महिलाहरू घुँडा टेकेर बच्चा जन्माउने गरेको कथन भेटिन्न । कतिपय संस्कृतिमा विशेष ‘बर्थिङ स्टुल’ अर्थात् बच्चा जन्माउने कुर्सी प्रयोग हुन्थ्यो ।

यी मुद्राहरू केवल परम्परा मात्र थिएनन्, शरीरको संरचनासँग पनि मेल खाने वैज्ञानिक आधार थिए । टुक्रुक्क बस्दा कम्मरमुनिको हड्डीको भागको आकार केही फराकिलो हुन्छ, जसले बच्चालाई जन्मनलीबाट बाहिर आउन सजिलो बनाउँछ । साथै, गुरुत्वाकर्षणले पनि बच्चालाई तल झर्न सहयोग पुर्‍याउँछ ।

विशेषज्ञहरूका अनुसार महिलाको शरीर स्वाभाविक रूपमा सक्रिय भएर बच्चा जन्माउन बनेको हो । त्यसैले, प्रसव पीडाको बेला धेरै महिलाले स्वतः अगाडि झुक्ने, हिँड्ने वा आसन बदल्ने प्रयास गर्छन् ।

उत्तानो पारेर बच्चा जन्माउने चलन कसरी सुरु भयो ?

आजको अस्पताल प्रणालीमा महिलालाई बेडमा सुताएर बच्चा जन्माउने अभ्यास व्यापक छ । यसको इतिहास करिब ३०० वर्षअघिको फ्रान्ससँग जोडिएको मानिन्छ ।

फ्रान्सेली चिकित्सकको प्रभाव

१७औँ शताब्दीका फ्रान्सेली चिकित्सक फ्राँस्वा मोरिसोले महिलालाई उत्तानो पारी सुताएर बच्चा जन्माउन सुझाव दिएका थिए । उनले यसलाई चिकित्सकका लागि ‘सुविधाजनक’ विधि माने ।

त्यतिबेला प्रसूति सेवामा पुरुष चिकित्सकको प्रवेश बढिरहेको थियो । महिलालाई सुताएर बच्चा जन्माउँदा चिकित्सकलाई प्रक्रिया अवलोकन गर्न सजिलो हुन्थ्यो ।  मोरिसोले गर्भावस्थालाई प्राकृतिक प्रक्रियातर्फ भन्दा पनि ‘चिकित्सकीय अवस्था’ जस्तो व्यवहार गरे । त्यसैले, अस्पताल केन्द्रित प्रसूति प्रणाली विस्तार हुँदै गयो ।

राजा लुई चौधौँसँग जोडिएको रोचक कथा

केही इतिहासकारहरूका अनुसार फ्रान्सका राजा लुई चौधौँ पनि यस परिवर्तनका कारणमध्ये एक थिए ।म्याकड्यानियल कलेजकी समाजशास्त्र प्राध्यापक लरेन डन्डेसले आफ्नो शोधपत्र अनुसन्धानमा उल्लेख गरेअनुसार राजालाई महिलाले बच्चा जन्माइरहेको हेर्न रुचि थियो । तर महिलाहरू कुक्रुक्क बसेर वा बर्थिङ स्टुलमा प्रसव गर्दा दृश्य स्पष्ट नदेखिने भएकाले उनले सुतेको मुद्रालाई प्रोत्साहन दिएका थिए ।

उनी अगाडि लेख्छिन्, ‘राजाको नीतिले कति प्रभाव पारेको थियो भन्ने स्पष्ट छैन । तर शाही परिवारको व्यवहारले आम जनतामा केही न केही प्रभाव पार्ने गर्छ । लुई चौधौँको कथित चाहना र प्रसूति मुद्रामा आएको परिवर्तनको समय एकअर्कासँग मेल खान्छ, त्यसैले यसले पनि परिवर्तनमा केही भूमिका खेलेको हुन सक्छ ।’

त्यतिबेला फ्रान्सेली चिकित्सक फ्राँस्वा मोरिसोले पनि गर्भावस्थालाई रोगजस्तै मानेर महिलालाई ओछ्यानमै बच्चा जन्माउन सुझाव दिएका थिए । यद्यपि यसको ठोस प्रमाण सीमित छन्, तर शाही परिवारको प्रभाव समाजमा व्यापक हुने भएकाले यसले प्रसूति अभ्यासमा असर पारेको मानिन्छ ।

विज्ञानले के भन्छ ?

१. गुरुत्वाकर्षणको सहयोग

सीधा उभिएर, घुँडा टेकेर वा टुसुक्क बसेर बच्चा जन्माउँदा गुरुत्वाकर्षणले महत्वपूर्ण भूमिका खेल्छ । बच्चा प्राकृतिक रूपमा तलतर्फ झर्ने भएकाले शरीरको तौल र पृथ्वीको गुरुत्वाकर्षणले प्रसव प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । यही कारण सक्रिय मुद्रामा प्रसव गर्दा धेरै महिलाले पीडा कम भएको अनुभव गर्छन् ।

२. प्रजनन् अंग फराकिलो हुन्छ

टुसुक्क बस्दा वा अगाडि झुकेर बच्चा जन्माउँदा महिलाको प्रजनन् अंग केही फराकिलो हुन्छ । अनुसन्धानका अनुसार यस्तो अवस्थामा प्रजनन् अंगको व्यास करिब २.५ सेन्टिमिटरसम्म बढ्न सक्छ ।

सामान्य अवस्थामा सानो देखिने यो फरक प्रसवका बेला निकै महत्वपूर्ण मानिन्छ । बच्चालाई जन्मनली हुँदै बाहिर आउन अतिरिक्त ठाउँ उपलब्ध हुँदा प्रसव सहज हुन सक्छ । तर उत्तानो पर्दा शरीरको तौल पछाडि पर्ने भएकाले पेल्भिसको प्राकृतिक फैलावट कम हुन सक्छ । यही कारण धेरै विशेषज्ञहरूले महिलालाई आफूलाई सहज लाग्ने सक्रिय मुद्रा अपनाउन प्रोत्साहित गर्ने गरेका छन् ।

३. कम पीडा अनुभव

प्रसवको समयमा महिलाले अनुभव गर्ने पीडा शरीरको अवस्था, बच्चाको स्थिति र अपनाइएको मुद्रासँग सम्बन्धित हुन्छ । सक्रिय रूपमा हिँडडुल गर्ने, अगाडि झुक्ने वा उभिने महिलाले सुत्ने महिलाभन्दा कम पीडा महसुस गर्ने धेरै अध्ययनहरूले देखाएका छन् । शरीर चलायमान हुँदा रक्तसञ्चार राम्रो हुन्छ र मांसपेशीहरू तनावमुक्त रहन्छन् । साथै महिलाले आफ्नो शरीरमाथि नियन्त्रण भएको अनुभव गर्छन्, जसले मानसिक रूपमा पनि सहज बनाउँछ ।

४. सिजेरियनको जोखिम कम हुन सक्छ

अनुसन्धानहरूले सक्रिय मुद्रामा बच्चा जन्माउँदा सिजेरियन अर्थात् शल्यक्रिया गरेर बच्चा जन्माउने सम्भावना केही कम हुन सक्ने देखाएका छन् । महिलाले स्वतन्त्र रूपमा आसन बदल्दा बच्चाको स्थिति सुधारिन सक्छ र प्रसव प्रक्रिया स्वाभाविक रूपमा अघि बढ्न सक्छ ।

उत्तानो पर्दा लामो समय सुत्दा प्रसव ढिलो हुनसक्छ, जसले थप चिकित्सकीय हस्तक्षेपको आवश्यकता बढाउन सक्छ । सन् २०१३ मा गरिएको ठूलो अध्ययनले सक्रिय रूपमा प्रसव गर्ने महिलामा सिजेरियनको दर कम देखाएको थियो । यद्यपि प्रत्येक गर्भावस्था फरक हुने भएकाले अन्तिम निर्णय चिकित्सकीय अवस्थामै निर्भर हुन्छ ।

५. बच्चालाई अक्सिजन राम्रो पुग्ने

प्रसवको समयमा बच्चासम्म पर्याप्त अक्सिजन पुग्नु अत्यन्त महत्वपूर्ण हुन्छ । उत्तानो परेर सुत्दा लामो समय सुत्दा गर्भाशयको तौलले आमाको मुख्य रक्तनलीहरूमा दबाब पर्न सक्छ । यसले रक्तसञ्चार प्रभावित गर्दा बच्चासम्म पुग्ने अक्सिजनको मात्रा कम हुन सक्ने जोखिम रहन्छ । तर उभिने, बस्ने वा अगाडि झुक्ने मुद्रामा यस्तो दबाब कम हुन्छ । रक्तसञ्चार सहज हुँदा बच्चाको मुटुको चाल पनि स्थिर रहन मद्दत पुग्छ ।

किन अझै अस्पतालमा सुतेको मुद्रामा सुत्केरी गराइन्छ ?

यति धेरै फाइदा हुँदाहुँदै पनि अस्पतालहरूमा महिलालाई किन बेडमा सुताइन्छ ? यसका धेरै कारण छन् ।

चिकित्सकीय निगरानीमा सहज

अस्पतालमा भ्रूणको मुटुको चाल, रक्तचाप, उपकरण र अन्य निगरानी गर्न महिलालाई स्थिर राख्न सजिलो हुन्छ ।

चिकित्सकको सुविधा

डाक्टर र नर्सलाई बच्चाको अवस्था हेर्न, उपकरण प्रयोग गर्न वा आपतकालीन उपचार गर्न सुतेको अवस्था सहज मानिन्छ ।

आधुनिक अस्पताल संरचना

अधिकांश प्रसव कक्ष अस्पताल बेड केन्द्रित डिजाइन गरिएका हुन्छन् । सक्रिय रूपमा हिँड्ने, उभिने वा पानीमा बच्चा जन्माउने सुविधा उपलब्ध हुँदैन।

सामाजिक धारणा अर्को कारक

चलचित्र, टेलिभिजनहरूमा ‘बच्चा जन्माउने’ दृश्यलाई सधैं बेडमा सुतेको अवस्थासँग जोडिदिएका छन् । त्यसैले, धेरै महिलाले अन्य विकल्पबारे जानकारी नै पाउँदैनन् ।

‘एक्टिभ बर्थ’ को अवधारणा

पश्चिमी मुलुकहरूमा अहिले ‘एक्टिभ बर्थ’ अर्थात् सक्रिय प्रसूति अवधारणा लोकप्रिय बन्दै गएको छ । यसमा महिलालाई प्रसवको क्रममा स्वतन्त्र रूपमा हिँड्न, आसन बदल्न र आफूलाई सहज लागेको मुद्रा अपनाउन प्रोत्साहित गरिन्छ ।

के सुतेर प्रसव गराउनु गलत हो ?

विशेषज्ञहरूका अनुसार सबै महिलाका लागि एउटै नियम लागू हुँदैन ।

कतिपय अवस्थामा एपिड्युरल लगाइएको, उच्च जोखिमयुक्त गर्भावस्था, आपतकालीन हेर्नु पर्ने अवस्था र सिजेरियनको सम्भावना हुँदा महिलालाई यही तरिकाले प्रसूति गराउनुपर्ने हुनसक्छ ।

त्यसैले, सबैभन्दा महत्वपूर्ण कुरा महिलाको स्वास्थ्य अवस्था, बच्चाको अवस्था र चिकित्सकीय आवश्यकतामा निर्भर हुन्छ ।

नेपालमा अवस्था कस्तो छ ?

नेपालका अधिकांश अस्पतालहरूमा पनि महिलालाई बेडमा सुताएर बच्चा जन्माउने अभ्यास नै प्रचलनमा छ । ग्रामीण क्षेत्रमा अझै परम्परागत तरिकाले बच्चा जन्माउने प्रचलन देखिए पनि अस्पतालहरूमा आधुनिक चिकित्सा प्रणाली हावी छ ।

यद्यपि पछिल्ला वर्षहरूमा महिला केन्द्रित प्रसूति सेवाको अवधारणा विस्तार हुँदै गएको छ । कतिपय अस्पतालहरूले महिलालाई हिँडडुल गर्न, आसन बदल्न, सहयोगी व्यक्ति राख्न र सहज मुद्रा रोज्न अनुमति दिन थालेका छन् ।

महिलालाई जानकारी हुनु किन आवश्यक छ ?

विशेषज्ञहरूका अनुसार प्रसूति सम्बन्धी सही जानकारी महिलाको अधिकारसँग पनि जोडिएको विषय हो । यदि महिलाले आफ्नो शरीर प्रसूति विकल्प जोखिम र फाइदा विभिन्न मुद्राको प्रभाव बारे जानकारी पाउँछन् भने उनीहरूले आफ्नो लागि उपयुक्त निर्णय लिन सक्छन् ।

प्रसव सुत्केरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय