+

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

२०८२ जेठ  २० गते १६:३० २०८२ जेठ २० गते १६:३०
ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थोडोन्टिस्ट डा. मनिष बज्रचार्यले भने, धेरैलाई दाँत स्वास्थ्यको लागि ब्रेसेस आवश्यक हुन्छ।
  • ब्रेसेस लगाउँदा दाँत र मुखको संरचना सुधार हुन्छ र आत्मविश्वास बढ्छ।
  • वीर अस्पतालमा ब्रेसेस र शल्यक्रियाको सुविधा उपलब्ध भए पनि पालो कुर्नु पर्छ।

काठमाडौँ । अधिकांशलाई दाँतमा ब्रेसेस किन लगाउने भनेर प्रश्न सोध्यो भने प्राय सबैको एउटै जवाफ हुन्छ, राम्रो बन्न ।

तर, वीर अस्पतालका दन्त रोग विशषेज्ञ अथ्रोडोन्टिस डा. मनिष बज्रचार्यले भने यो जवाफ सबैभन्दा बढी सुनिन्ने तर अर्ध सत्य भएको बताउँछन् ।

उनी भन्छन्, ‘अस्पतालमा आउने अधिकांश राम्रो देखिन ब्रेसेस बाँध्न आउँछन् । तर, धेरैलाई थाहा छैन, सुन्दरताका लागि मात्र नभई स्वस्थ्य रहन पनि ब्रेसेस लगाउनुपर्छ । बरु, नलाउँदा मुख स्वास्थ्य जोखिममा पर्न सक्छ ।’

दाँतमा लगाउने ब्रेसेस के हो ? कस्तो अवस्थामा लगाउने ? लगाए पछि के कुरामा ध्यान दिने ? नलाउँदा कसरी मुख स्वास्थ्य बिग्रिन्छ ? यसै सेरोफेरोमा रहेर डा. बज्राचार्यसँग  अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

दाँत बिग्रिएकाहरूले के कस्तो समस्या झेलेका हुन्छन् ?

सबैभन्दा बढी मनोवैज्ञानिक रुपमा प्रभावित भई आत्मविश्वास गुम्ने मैले पाएको छु । चितवनमा एक बालिकाको दाँत र चिउँडोको तल्लो भाग मिलेको थिएन । उनलाई बोल्न, हाँस्न मात्र असहज होइन, कक्षामा बस्दा पनि मास्क लगाएर बस्ने गर्थिन् ।

त्यही संकोचका कारण कक्षा आठबाट स्कुल जान छाडेपछि अभिभावकले उपचारका लागि वीरमा ल्याउनुभयो । दाँत र चिउँडोको बनावटको उपचारपछि बोल्दै नबोल्ने उनी हाँस्न र बोल्न थालिन् ।

बच्चाको मनोविज्ञानमा त यति असर पर्छ । उमेर बढ्दै गएपछि के होला ? कतिपय वयस्क भइसकेकाहरू पनि कुनै पार्टी, मिटिङ वा कतै प्रस्तुति दिँदा दाँतकै कारण बोल्न र हाँस्न अप्ठ्यारो हुने भन्दै उपचारका लागि आउने गर्नुहुन्छ ।

सौन्दर्यको समस्या मात्र नभई स्वास्थ्य समस्या पनि आइलाग्छन् । जस्तो कि, दाँत सिधा छैन भने कुनाकाप्चा राम्रोसँग सफा हुन नपाएर गिजामा समस्या देखिन सक्छ । बोल्दा उच्चारणमा समस्या आउने, कसैको दाँत फाट्टिदै जाने ।

हेर्दा ठिकठाक देखिन्छ, तर टोकाइ मिलेको छैन भने पनि दाँत असन्तिुलित तरिकाले ठोक्किदै जाँदा खिइने, भाँचिने, गिजासँगै रहेको जोर्नी र मांसपेशी दुखेर मुख खोल्न र बन्द गर्न समेत कठिन हुने समस्या आउनसक्छ । यसको समाधान भनेको ब्रेसेस लगाउनु हो ।

के हो त ब्रेसेस ?

बाँगिएको दाँतलाई सीधा गर्न र दाँतको संरचनालाई सुधार गर्न प्रयोग गरिने एक प्रकारको दन्त उपकरण ब्रेसेस हो ।

यो सामान्यतया धातुको तार र ब्र्याकेटहरूबाट बनेको हुन्छ, जुन दाँतमा टाँसिन्छ । समयसँगै बिस्तारै दाँतलाई सही स्थानमा ल्याउन दबाब दिन्छ ।

के दाँतको पंक्ति मिलाउन मात्र ब्रेसेस लगाइन्छ ? या, अन्य पनि अवस्थामा ब्रेसेस बाधिन्छ ?

प्राय नेपालीहरूको बुझाइमा तार बाँध्ने भनेको दाँतको पंक्ति मिलाउने भन्नु हो । यसले पंक्ति मिलाउनुको साथै यससँग जोडिएको हड्डी र मांसपेशीको संरचना पनि मिलाउँछ ।

बांगोटिंगो दाँत भएको अवस्था, एकअर्कामाथि खप्टिएमा, दाँत फाटेमा, दाँत र चिउँडोको स्तर नमिल्दा, माथिल्लो र तल्लो बङ्गारा ठिकसँग नमिल्दा, दाँतहरूबीच अनावश्यक रुपमा फरकपन आउँदा, दाँतको संरचनाले गर्दा खाना चपाउन वा स्पष्ट बोल्न गाह्रो भएमा ब्रेसेस लगाइन्छ ।

दाँतले गर्दा सौन्दर्य नै प्रभावित भएमा पनि दाँतको अवस्था सुधार्न र आत्मविश्वास बढाउन ब्रेसेस बाँधिन्छ । ब्रेसेस लगाएपछि र लगाउनुपूर्वको दाँतको अवस्थासँगै आत्मविश्वासको पनि जमिन आसमानकै फरक पाइन्छ ।

मुख स्वास्थ्यका लागि पनि ब्रेसेस आवश्यक छ भनेर जनमानस कतिको सचेत पाउनुभएको छ ?

पहिलेको भन्दा पक्कै नै अहिले धेरैले यसको महत्व बुझेको पाउँछु । यो सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको देन पनि हो ।

जहाँ दन्त स्वास्थ्यका कुरा आउँदा दाँत किन सिधा हुनुपर्छ भन्ने कुराहरू केन्द्रित छन् । जसले पनि राम्रो देखिन मात्र होइन रहेछ, ब्रेसेस भन्ने धेरै सचेत छन् ।

वीरको हाम्रो ओपिडीमा पनि अहिले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकार भएर आउनेहरू धेरै हुनहुन्छ ।

कतिपय अवस्थामा दाँतमा ब्रेसेसका लागि जाँदा शल्यक्रिया पनि गर्नुपर्छ भनिएको हुन्छ ? कस्तो अवस्थामा यो आवश्यक छ ?

दाँत र त्यसवरपरको हड्डीको अवस्था नमिलेको हो भने ब्रेसेस मात्र लगाउँदा पुग्छ । तर, कतिपयको वृद्धि-विकासमा समस्या र वंशाणुगत कारण माथि र तलको हड्डीको सन्तुलन नमिलेको हुन्छ ।

यस्तोमा सन्तुलन मिलाउन शल्यक्रिया पनि आवश्यक पर्नसक्छ । किनकि, ब्रेसेसले दाँतको अवस्था मिलाउन सक्छ । जटिल हड्डीको संचरनालाई नियन्त्रण गर्न सक्दैन ।

यसका लागि पनि प्रक्रिया छ । दाँतमा तार लगाउनुअघि एक्स रे गरेर दाँत मात्र नमिलेको हो कि हड्डी पनि नमिलेको हेरिन्छ ।

यसरी हेर्दा तारले मात्र नमिल्ने हड्डीको संरचना देखिए शल्यक्रिया आवश्यक पर्न सक्छ ।

शल्यक्रिया गर्नु पर्ने केसमा ब्रेसेस मात्र लगाएर पठाइदिएका केसहरू पनि धेरै छन्, नि ?

हो, यस्ता केसहरू वीरमा धेरै आउँछन् । ब्रेसेस लगाउने भन्नेबित्तिकै पहिला दाँतको अवस्था हेर्नुपर्छ । जसबाट शल्यत्रिया पनि आवश्यक छ कि छैन भनेर सहजै पत्ता लगाउन सकिन्छ । कहिलेकाहीँ शल्यक्रिया गर्ने नपर्ने केस पनि शल्यक्रिया भनेर रिफर भएर आउँछन् भने कतिपय शल्यक्रिया गर्नुपर्ने अवस्थामा दाँतमा जबरजस्ती तार मात्र लगाइएको पनि पाइन्छ।

यस्तो गलत उपचार हुनबाट कसरी जोगिने त ?

दाँतको उपचार गराउन जाँदा पनि पहिला विज्ञता के हो र नेपाल मेडिकल काउन्सिलमा दर्ता छ कि छैन एकपटक संकोच नमानि सोध्ने अभ्यास गर्नु उचित हुन्छ । आजभोलि त विज्ञता सामाजिक संजालमै खोज्दा पनि उपलब्ध छन् ।

जहाँसम्म दन्त चिकित्सकमा पनि धेरै हाँगाहरू हुन्छन् । तार बान्ने काम अर्थोडन्टिस्ट र फेसियल सर्जनलाई भेट्नु उचित हुन्छ ।

बिहान उठ्नेबित्तिकै औलाले दाँत ठेल्यो भने पनि दाँत सिधा हुन्छ भन्ने कुरामा कति सत्य हो ?

यो गलत भ्रम र धेरैले यसलाई मानेर गरिएको अभ्यास हो । दाँत बिग्रिएको छ भने यसको उपचारमा तार बान्नुबाहेक अर्को विकल्प अहिलेसम्म बनिसकेको छैन ।

पहिले दाँतमा ठूला तारहरू लगाइएको देखिन्थ्यो, अहिले दाँतमा तार नदेखिने गरी पनि मिलाउन मिल्छ भन्ने सुनिन्छ, नि ?

हो, प्रविधिले अहिले दाँतमा तार लगाएको नदेखिने ब्रेसेस पनि ल्याइसकेको छ । ब्रेसेस तीन प्रकारका छन् । मेटल, सेरामिक क्लियर अलाइनर ।

यी तीनवटैले गर्ने काम र लाग्ने समय एउटै हो । तर, फरक के छ भने सबैभन्दा सस्तो मेटल र महँगो क्लियर अलाइनर हो ।

मेटल र सेरामिक लगाएपछि महिना-महिनामा फलोअप आउनुपर्छ । खानेकुरा बार्नुपर्छ । तारले घोचेर घाउ बनाउने वा लड्ने वा दुर्घटनामा पर्दा असर पर्नसक्छ ।

क्लियर अलाइनर लगाए पछि यी जोखिम मोल्नु पर्दैन । र, महिनै पिच्छे फलोअप आउनु पर्दैन । तीन देखि ५ महिनामा एकपटक फलोअप आए पुग्छ । र, यो चिकित्सकले होइन, आफैँले लगाउन र निकाल्न मिल्छ । मेटलको भन्दा सहज पनि हुन्छ ।

यसको शुल्क कति पर्छ ?

ब्रेसेसको शुल्क यसको प्रकार, सामानको कम्पनी, गुणस्तरमा भर पर्छ । त्यति मात्र होइन, सरकारी र निजी अस्पतालमा पनि शुल्क फरक हुन्छ ।

निजीमा राम्रो गुणस्तरको ब्रेसेसको ७० देखि ८० हजार पर्छ । सरकारीमा सर्जिकल केसमा ५० हजार पर्न आउला । अलाइनरमा भने जति समस्या जटिल हुन्छ । त्यति अलाइनर आवश्यक पर्छ ।

मूल्य त्यही अलाइनर अनुसार पर्न जान्छ । यसको मूल्य एक लाखदेखि साढे तीन लाखसम्म पर्न जान्छ ।

दाँत जति सक्दो चाँडो बाधे राम्रो हुन्छ ? छिटो गर्नुपर्छ भनिन्छ । के ३० वर्ष कटेपछि यसको प्रभाव कम हुने हो ?

अन्तर्रराष्ट्रिय मापदण्ड अनुसार ७ देखि ८ वर्षको भएपछि दन्त परीक्षण गराउनु भनिएको छ । यो बेलामा नै दाँतको अवस्था हेरियो भने दाँतको भविष्यमा गर्नुपर्ने शल्यक्रियाको जोखिम कम गर्न सकिन्छ ।

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय भनेको चाहिँ १२ वर्षको उमेर हो । यो दाँत साटिने समय हो । यो बेलामा उपचार हुन पायो भने नतिजा राम्रो आउँछ ।

त्यस्तै, शल्यक्रिया गर्नुपर्ने केसमा १८ वर्षको उमेर उपयुक्त मानिन्छ । यसको मतलब उमेर बढ्दै गएपछि असर नगर्ने भन्ने होइन ।

यसमा उमेरको कुनै भूमिका हुँदैन । तर, जति उमेर बढ्दै जान्छ, त्यति अन्य जटिलता पनि आउने हुँदा बच्चाको जति प्रभावकारी भने हुँदैन ।

दाँतमा ब्रेसेस लगाएपछि के-कस्ता कुरामा ध्यान दिनुपर्छ ?

दिनमा दुई पटक नरम ब्रसले दाँत माझ्नुपर्छ । र, तार वरपर अड्किएको खाना हटाउन ‘इन्टरडेन्टल ब्रस’ वा ‘फ्लस’ प्रयोग गर्नुपर्छ ।

खानपानमा चिप्लो खानेकुरा, जस्तै टफी, चक्लेट वा चुइगम टाँसिन सक्ने भएकाले खानुहुँदैन । गुलियोयुक्त र अमिलो खानेकुरा कम खानुपर्छ किनभने यिनले दाँतमा क्षति पुर्‍याउँन सक्छ ।

खानालाई साना टुक्रामा काटेर चपाउँदा ब्रेसेसमा कम दबाब पर्छ । यदि तार खुस्किन्छ, बिग्रिन्छ वा घोच्छ भने तुरुन्त अर्थोडोन्टिस्टको परामर्श लिनुपर्छ । खेलकुद वा जोखिमपूर्ण गतिविधिमा माउथगार्ड प्रयोग गर्नु उपयुक्त हुन्छ ।

सुरुमा ब्रेसेस लगाउँदा हल्का दुखाइ हुन सक्छ, जसलाई चिकित्सकको सल्लाहअनुसार पेनकिलर लिएर वा नरम खाना, जस्तै दाल, खीर वा सुप खाएर व्यवस्थापन गर्न सकिन्छ। यदि गिजा सुन्निने, रक्तस्राव हुने जस्ता समस्या देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नु महत्त्वपूर्ण छ ।

तार लगाएपछि दाँत कमजोर हुन्छ भन्ने सुनिन्छ, कति सत्य हो ?

तार बाँधेर दात कमजोर हुँदैन । दाँत कमजोर हुने भनेको गिजा कतिको बलियो छ त्यसमा भर पर्छ । सामान्य चटक्क मिलेको दाँतको हेरचाह हुँदैन भने पछि कमजोर भएर झर्न सक्छ ।

यसको मतलब राम्रो हेरचाह भएमा तार बाँधेकै कारण कमजोर हुँदैन । यसले दाँतको स्पेस मात्र मिलाउने हो, जरा नै उखाल्ने होइन ।

उपचार सकिएपछि दाँत फेरि बाङ्गो हुने सम्भावना हुन्छ कि हुँदैन ?

ब्रेसेस उपचारपछि उमेर बढेसँगै थोरै परिवर्तन हुनसक्ला । किनभने जीवनभर शरीरमा परिवर्तनहरू आउँछन् ।

यस्तो अवस्थालाई रोक्न रिटेनर लगाउनु अनिवार्य छ, सामान्यतया एक वर्षसम्म लगाउनैपर्छ भन्ने छैन । तर, केही समयसम्म राति सुत्दा हप्तामा २ देखि ३ पटक प्रयोग गर्नुपर्छ ।

रिटेनरले दाँतलाई नयाँ ठाउँमा स्थिर राख्न हड्डीलाई जम्न समय दिन्छ । नियमित चेकअप र चिकित्सकको सल्लाहअनुसार रिटेनरको प्रयोग घटाउँदै लैजान सकिन्छ ।

ब्रेसेस लगाउन चाहने तर दोधारमा हुनेलाई के सुझाव छ ?

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको अर्थोडन्टिस्टसँग परामर्श लिनुहोस् । उनीहरूले राम्रो परामर्श र उपयुक्त विकल्प दिन्छन् । हतार नगरी कुशल विशेषज्ञ छान्नुहोस् ।

यदि बाङ्गो दाँतलाई ब्रेसेस नलगाई छोडियो भने पछि कस्ता समस्याहरू आउन सक्छन् ?

बाङ्गो दाँतलाई ब्रेसेस नलगाई छोड्दा गिजाको संक्रमण, दाँत हल्लिने र दुखाइको जोखिम बढ्छ, किनभने खप्टिएको दाँतमा ब्रस राम्रोसँग पुग्दैन, जसले सफाइमा कठिनाइ हुन्छ।

लामो समयसम्म यस्तो अवस्थाले ‘टेम्पोरोम्यान्डिबुलर’, जोइन्ट दुख्ने, मांसपेशी र टाउको दुख्ने जस्ता दीर्घकालीन समस्याहरू हुनसक्छ । यस्ता समस्याहरू तत्काल नदेखिए पनि बिस्तारै दीर्घ रूपमा विकास हुन्छन्, त्यसैले अर्थोडन्टिस्टसँग काउन्सलिङ गरेर उपचार गर्नु उपयुक्त हुन्छ ।

वीर अस्पतालमा यी सुविधाहरू कति सहज छन् ?

हामीले विश्वस्तरीय सेवा नै दिइरहेका छौं । तर, सबै जिल्लाबाट आउने हुँदा बिरामीको चाप धेरै हुन्छ, त्यसैले पालो कुर्नुपर्छ । उपचारको गुणस्तरमा कुनै सम्झौता हुँदैन र लागत न्यून छ । बिरामीले सामग्रीको खर्च मात्र बेहोर्छन्, सेवा निःशुल्क छ ।

दाँत ब्रेसेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राति ड्युटी गर्नेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, के गर्ने ?

राति ड्युटी गर्नेहरूमा देखिन्छन् यस्ता स्वास्थ्य समस्या, के गर्ने ?

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

ब्रेसेसका लागि सबैभन्दा उपयुक्त समय १२ वर्षको उमेर हो (भिडियो)

किन उठ्छ बिनासित्तिमा रिस ?

किन उठ्छ बिनासित्तिमा रिस ?

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?

चुरोट छाडेको २४ घण्टादेखि ५ वर्षमा शरीरमा के-के परिवर्तन हुन्छ ?

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गराएका बिरामी डिस्चार्ज

बुढ्यौलीमा मांसपेशी क्षति हुने समस्या ‘सार्कोपेनिया’बाट कसरी बच्ने ?

बुढ्यौलीमा मांसपेशी क्षति हुने समस्या ‘सार्कोपेनिया’बाट कसरी बच्ने ?