
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको नयाँ बानेश्वरस्थित धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानले जडीबुटी रोपण कार्यक्रम आयोजना गरी आयुर्वेदको महत्व उजागर गरेको छ।
- यस पहलले जडीबुटीको संरक्षण, प्रवर्द्धन र उपयोगिता सम्बन्धी चेतना फैलाउने उद्देश्य राखेको छ।
१५ असार, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित धन्वन्तरी आयुर्विज्ञान अध्ययन संस्थानले जडीबुटी रोपेर धान दिवस मनाएको छ ।
एक विशेष कार्यक्रम आयोजना गरी करिब ३० प्रकारका बहुमूल्य औषधिजन्य जडीबुटी रोपिएको कलेजका शैक्षिक संयोजक डा. मुक्तराज लामिछानेले जानकारी दिए ।
धान रोपेर मनाइने यो दिवसमा यस संस्थानले जडीबुटी रोपण गरी आयुर्वेदको महत्वलाई उजागर गरेको उनले बताए ।
लामिछानेका अनुसार यो पहलले आयुर्वेदिक जडीबुटीको संरक्षण, प्रवर्द्धन र उपयोगिताबारे चेतना फैलाउने उद्देश्य राखेको छ । ‘हाम्रो समाजमा जडीबुटीको महत्वलाई बिर्सिंदै गएको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थी र समुदायलाई आयुर्वेदप्रति आकर्षित गर्नेछ’ लामिछाने भन्छन् ।
कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीको उत्साहपूर्ण सहभागिता रहेको उनले जानकारी दिए ।
यो संस्थानमा तीनवर्षे आयुर्वेद डिप्लोमा कोर्स सञ्चालन हुँदै आएको छ, जसले विद्यार्थीहरूलाई आयुर्वेद चिकित्सा र औषधिजन्य जडीबुटीको अध्ययनमा विशेषज्ञता प्रदान गर्छ ।
यो कार्यक्रमले विद्यार्थीहरूलाई जडीबुटीको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै उनीहरूलाई प्रकृतिसँग जोड्ने अवसर दिएको कलेजका प्राचार्य डा. अमृत भण्डारीले बताए ।
‘हामीले रोपेका यी जडीबुटीहरू भविष्यमा औषधिको रूपमा प्रयोग हुनेछन् र हाम्रा विद्यार्थीहरूले यिनको महत्व प्रत्यक्ष अनुभव गर्न पाउनेछन्’ भण्डारीले भने । कार्यक्रममा रोपिएका जडीबुटीहरूमा विभिन्न रोगको उपचारमा प्रयोग हुने अमला, बर्रो, बेल, एलोबेरा, तेजपात र रोजमेरी जस्ता महत्वपूर्ण प्रजातिहरू रहेका छन्।
प्रतिक्रिया 4