+
+
Shares

आयुर्वेदमा अग्नि : शरीरलाई उर्जा दिने अग्नीलाई कसरी सन्तुलित गर्ने ?

अग्नि सन्तुलित राख्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा सही खानपान हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ६ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेदले शरीर, मन, आत्मा र प्रकृतिबीचको सन्तुलनलाई स्वास्थ्यको आधार मान्छ।

आयुर्वेद प्राचीन चिकित्सा प्रणाली हो, जसले स्वास्थ्यलाई शरीर, मन, आत्मा र प्रकृतिबीचको सन्तुलनको रूपमा हेर्छ । आयुर्वेदका अनुसार मानिस स्वस्थ रहनु भनेको केवल रोग नहुनु मात्र होइन, शरीर राम्रो हुनु, मन शान्त हुनु र जीवनशैली प्रकृतिसँग मिलेर चल्नु पनि हो ।

त्यसैले, आयुर्वेदले उपचारभन्दा बढी रोग नलाग्ने जीवनशैली अपनाउन सिकाउँछ । यसका लागि सही खानपान, सही समयको दिनचर्या र मानसिक शान्ति निकै महत्वपूर्ण मानिन्छ ।

यस सम्पूर्ण अवधारणाको केन्द्रमा रहेको महत्वपूर्ण कुरा हो ‘अग्नि’ अर्थात् शरीरको पाचनको आगो । आयुर्वेदका अनुसार अग्नि राम्रो भए शरीर स्वस्थ रहन्छ, तर अग्नि कमजोर भयो भने विभिन्न रोगहरूको सुरुवात हुनसक्छ ।

पाचनतन्त्रमा ‘अग्नि’ भन्नुको अर्थ के हो ?

आयुर्वेदमा अग्नि भन्नाले शरीरभित्र रहेको त्यस्तो शक्ति हो जसले खानालाई पचाएर शरीरलाई आवश्यक पोषण र ऊर्जा बनाउँछ । साधारण भाषामा भन्नुपर्दा, हामीले खाएको खाना शरीरले कसरी प्रयोग गर्छ भन्ने प्रक्रिया नै अग्निको काम हो ।

जब अग्नि सन्तुलित अवस्थामा हुन्छ, खाना सजिलै पच्ने, शरीरका सबै अंगमा पोषण पुग्ने र फोहोर पदार्थ सही तरिकाले बाहिर निस्कने हुन्छ । यसले शरीरलाई शक्ति दिन्छ, रोगसँग लड्ने क्षमता बढाउँछ र मानिसलाई हल्का तथा ऊर्जावान महसुस गराउँछ ।

तर अग्नि कमजोर भयो वा असन्तुलित भयो भने खाना पूर्ण रूपमा पच्दैन । त्यस अवस्थामा शरीरभित्र विषालु पदार्थ जम्मा हुन थाल्छ । विषालु पदार्थ जम्मा हुँदै जाँदा शरीरमा विभिन्न समस्या देखिन सक्छन्, जस्तै थकान, पेटसम्बन्धी समस्या, छालाको समस्या वा मानसिक असन्तुलन ल्याउँछ ।

आयुर्वेदमा अग्निका प्रकार

आयुर्वेदका अनुसार शरीरमा विभिन्न तहमा काम गर्ने १३ प्रकारका अग्नि हुन्छन् । यी सबैले मिलेर शरीरको पाचन र पोषण प्रक्रिया सञ्चालन गर्छन् । सबैभन्दा महत्वपूर्ण अग्नि जठराग्नि हो, जुन पेट र सानो आन्द्रामा काम गर्छ। । जठराग्निले खानालाई पचाएर त्यसलाई दुई भागमा छुट्याउँछ ।

एउटा भाग शरीरलाई पोषण दिने हुन्छ, जसलाई प्रसाद भनिन्छ, र अर्को भाग फोहोर पदार्थमा परिणत भएर बाहिर निस्कन्छ, जसलाई किट्ट भनिन्छ । यस बाहेक भूताग्नि पनि हुन्छ, जसले खानामा रहेका पाँच तत्व-पृथ्वी, पानी, आगो, हावा र आकाश—लाई शरीरले प्रयोग गर्न मिल्ने रूपमा परिवर्तन गर्छ ।

त्यस्तै, धात्वाग्नि नामका सात प्रकारका अग्नि पनि हुन्छन् । यी अग्निले खानाबाट प्राप्त पोषणलाई शरीरका सात धातुमा परिवर्तन गर्छन् । ती धातुहरूमा रस (प्लाज्मा), रगत, मांसपेशी, बोसो, हड्डी, मज्जा र प्रजनन तन्तु पर्छन् । यी सबै प्रक्रियाले शरीरलाई बलियो, स्वस्थ र ऊर्जावान बनाइराख्न मद्दत गर्छ ।

पाचन अग्निको चार अवस्था

आयुर्वेदमा पाचन अग्निको अवस्था चार प्रकारको हुनसक्छ ।

पहिलो अवस्था सम अग्नि हो, जुन सबैभन्दा सन्तुलित अवस्था मानिन्छ । यस अवस्थामा खाना राम्रोसँग पच्छ, भोक नियमित लाग्छ, शरीर हल्का महसुस हुन्छ र ऊर्जा राम्रो हुन्छ ।

दोस्रो अवस्था विषम अग्नि हो, जुन सामान्यतया वात दोषसँग सम्बन्धित हुन्छ । यस अवस्थामा कहिले पाचन राम्रो हुन्छ भने कहिले खराब हुन्छ । पेट फुल्ने, ग्याँस हुने वा अनियमित पाचन हुने जस्ता समस्या देखिन सक्छन् ।

तेस्रो, अवस्था मन्द अग्नि हो, जुन कफ दोषसँग सम्बन्धित हुन्छ । यस अवस्थामा पाचन शक्ति कमजोर हुन्छ, भोक कम लाग्छ, शरीर भारी महसुस हुन्छ र तौल बढ्ने सम्भावना हुन्छ ।

चौथो अवस्था तीक्ष्ण अग्नि हो, जुन पित्त दोषसँग सम्बन्धित हुन्छ । यस अवस्थामा पाचन धेरै छिटो हुन्छ, बारम्बार भोक लाग्छ, पेट पोल्ने वा एसिडिटी जस्ता समस्या देखिन सक्छन् ।

अग्नि सन्तुलित हुँदा र बिग्रिँदा देखिने लक्षण

जब अग्नि सन्तुलित हुन्छ, मानिसको पाचन राम्रो हुन्छ, भोक सही समयमा लाग्छ र दिसा पनि नियमित हुन्छ । शरीरमा ऊर्जा राम्रो हुन्छ, छाला सफा देखिन्छ र मन पनि हल्का तथा शान्त हुन्छ ।

तर अग्नि बिग्रियो भने विभिन्न समस्या देखिन सक्छन् । पाचन समस्या, पेट फुल्ने, ग्यास हुने, भोक कम लाग्ने, एसिडिटी हुने, थकान महसुस हुने वा शरीर भारी हुने जस्ता लक्षणहरू देखिन सक्छन् ।

केही अवस्थामा छाला बिग्रिने, मन चिडचिडे हुने वा ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या पनि देखिन सक्छ ।

अग्नि असन्तुलित हुने कारण

अग्नि बिग्रिनुका धेरै कारणहरू हुन्छन् । सबैभन्दा ठूलो कारण गलत खानपान हो । धेरै खाना खाने, खाना नखाई बस्ने, धेरै चिल्लो, चिसो वा पुरानो खाना खाने बानीले पाचन आगो कमजोर बनाउँछ ।

त्यस्तै, धेरै छिटो खाने वा धेरै ढिलो खाने बानीले पनि पाचन प्रक्रियालाई असर गर्छ ।

मानसिक तनाव, चिन्ता र रिसले पनि पाचन प्रणालीलाई बिगार्न सक्छ । आयुर्वेदका अनुसार मन र शरीर एकअर्कासँग जोडिएका हुन्छन्, त्यसैले मानसिक असन्तुलनले पनि अग्निलाई असर गर्छ ।

दिनभरि सुत्ने, राति धेरै ढिलो सुत्ने वा शारीरिक गतिविधि नगर्ने बानीले पनि अग्नि कमजोर बनाउँछ ।

अग्नि सन्तुलित राख्ने खानपान

अग्नि सन्तुलित राख्नका लागि सबैभन्दा महत्वपूर्ण कुरा सही खानपान हो । आयुर्वेदका अनुसार मानिसले आफ्नो शरीरको प्रकृति अर्थात् दोषअनुसार खाना खानुपर्छ ।

वात प्रकृतिः वात प्रकृतिका मानिसहरू सामान्यतया दुब्लो शरीर, छिटो थाक्ने र चिसो बढी महसुस गर्ने स्वभावका हुन्छन् । वात प्रकृति भएका मानिसका लागि तातो, नरम र सुपजस्ता खाना राम्रो मानिन्छ । चिसो वा काँचो खाना धेरै खानु उचित हुँदैन ।

पित्त प्रकृतिः पित्त प्रकृतिका मानिसमा शरीरमा ताप बढी हुने, पसिना धेरै आउने र छिटो रिस उठ्ने प्रवृत्ति देखिन सक्छ । पित्त प्रकृति भएका मानिसले चिसो र हल्का खाना खानु राम्रो हुन्छ । काँक्रो, खरबुजा वा नरिवल पानीजस्ता चीजहरूले शरीरको ताप घटाउन मद्दत गर्छ ।

कफ प्रकृतिः कफ प्रकृतिका मानिसहरू प्रायः बलिया शरीरका, ढिलो पाचन हुने र अल्छी महसुस हुने प्रवृत्तिका हुन्छन् । कफ प्रकृति भएका मानिसले हल्का, तातो र मसला भएको खाना खानु राम्रो हुन्छ । धेरै मीठो, चिल्लो वा दुग्धजन्य खाना धेरै खानु उचित हुँदैन ।

यससँगै मौसमअनुसार खाना खानु पनि महत्वपूर्ण हुन्छ । गर्मीमा हल्का र चिसो प्रकृतिका खाना, जाडोमा पोषिलो र तातो खाना तथा वर्षामा सजिलै पच्ने हल्का खाना खानु उपयुक्त मानिन्छ ।

खानपानको सही तरिका

आयुर्वेदले केवल के खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुरालाई पनि महत्व दिन्छ। खाना सधैं ताजा र तातो हुनुपर्छ ।खाना खाँदा मन शान्त हुनुपर्छ र ध्यान खानामा केन्द्रित हुनुपर्छ । मोबाइल हेर्दै, हतारमा वा तनावमा खाना खाँदा पाचन राम्रो हुँदैन ।

खाना न धेरै छिटो खानु राम्रो हुन्छ न धेरै ढिलो । सही मात्रामा खाना खानु पनि आवश्यक हुन्छ ।

अग्नि कसरी बढाउने ?

आयुर्वेदमा केही जडीबुटीहरूले पाचन शक्ति सुधार्न मद्दत गर्छन् । अदुवा, कालो मरिच मिसाएर बनाइने त्रिकटु पाचन सुधार्न प्रयोग गरिन्छ । खाना खानु अघि अदुवाको चिया पिउँदा भोक बढ्छ र पाचन राम्रो हुन्छ । जिरा, धनिँया र सुप मिसाएर बनाइएको पेयले पनि हल्का पाचन समस्या कम गर्न मद्दत गर्छ ।

दैनिक जीवनशैलीको महत्व

आयुर्वेदमा दैनिक जीवनशैलीलाई दिनचर्या भनिन्छ । बिहान उठेर जिब्रो सफा गर्ने, तातो पानी पिउने, हल्का व्यायाम वा योग गर्ने बानीले पाचन प्रणालीलाई सक्रिय बनाउँछ । प्राणायाम र ध्यानले मनलाई शान्त बनाउँछ, जसले पाचन प्रक्रियालाई पनि सन्तुलित राख्न मद्दत गर्छ ।

अग्नि र मानसिक स्वास्थ्य

आयुर्वेदका अनुसार अग्निले केवल खाना मात्र होइन, विचार र भावनाहरूलाई पनि पचाउने काम गर्छ । जब पाचन राम्रो हुन्छ, मन पनि स्पष्ट हुन्छ, सोच्ने क्षमता राम्रो हुन्छ र भावनात्मक सन्तुलन रहन्छ । तर पाचन कमजोर भयो भने शरीरमा बन्ने आमले मनको मार्गहरूलाई अवरुद्ध गर्न सक्छ । यसले चिडचिडापन, अलमल वा मानसिक भारीपन ल्याउन सक्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?