१ चैत, सल्यान । पश्चिम नेपालको सुन्दर भू–दृश्यलाई चिर्दै बग्ने भेरी नदी प्रकृतिको अनुपम उपहार हो । निलो पानीको घुमाउरो धार, किनारमा फैलिएको बगर र वरिपरि हरियाली खेतहरू यहाँको जीवनसँग गहिरो रूपमा जोडिएका छन् । यसले ग्रामिण जीवन र प्राकृतिक सौन्दर्यको सुन्दर चित्र प्रस्तुत गर्दछ ।
नदी किनारैमा बनेको सडकले दुर्गम पहाडी बस्तीलाई जोड्दै विकासको संकेत दिन्छ भने उब्जाउ जमिनले स्थानीय किसानको दैनिकी झल्काउँछ । भेरीको पानीले सिंचित यी खेतहरूमा मौसमी बालीहरू हरियाली भएर फक्रिएका छन् ।
पहाड, नदी र खेतीयोग्य जमिनको यस्तो समन्वयले भेरी उपत्यकालाई प्राकृतिक सौन्दर्य र जीविकोपार्जन दुवैको आधार बनाएको छ । समयसँगै बदलिँदो ग्रामीण जीवनका बीच भेरी नदी भने आफ्नै लयमा बगिरहेकी छन् ।
कर्णाली प्रदेशको हिमाली भेगबाट सुरु भएर विभिन्न जिल्ला पार गर्दै बग्ने यो नदी अन्तत: कर्णाली नदीमा मिसिन्छ ।
आफ्नो यात्रामा डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत जिल्लाका विभिन्न भूभागलाई छोएर बग्छ । यी क्षेत्रका बस्ती, खेतीपाती र प्राकृतिक वातावरणसँग भेरी नदीको सम्बन्ध गहिरो रूपमा जोडिएको छ ।
नदीको पानीले यहाँका हजारौँ हेक्टर जमिनमा सिँचाइ पुर्याउँदै आएको छ भने जलविद्युत उत्पादनका लागि पनि यसको ठूलो सम्भावना रहेको छ । विशेषगरी भेरी बबई डाइभर्सन आयोजना जस्ता परियोजनामार्फत् नदीको पानीलाई कृषि र ऊर्जा उत्पादनमा उपयोग गर्ने प्रयास भइरहेको छ ।
प्राकृतिक रूपमा पनि भेरी नदी निकै आकर्षक मानिन्छ । पहाडका हरिया जंगल, नदीको बहाव र आसपासका बस्तीले सुन्दर दृश्य सिर्जना गरेको छ । यो जलयात्रा (र्याफ्टिङ) लगायत साहसिक पर्यटनका लागि पनि राम्रो सम्भावना भएको नदी हो ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको गुर्भाकोट नगरपालिकाको सीमा क्षेत्रमा कैद गरिएका तस्वीरहरू :



प्रतिक्रिया 4