५ चैत्र, काठमाडौं । कैलालीको बर्दगोरियामा रहेको गौशालाका गाईहरूको दयनीय अवस्थाबारे समाचार आएपछि सहयोगी हातहरू जुट्न थालेका छन् । अनलाइनखबरमा प्रकाशित समाचारले गौशालामा खाना अभाव, कमजोर व्यवस्थापन र बजेटको कमीका कारण गाईहरू भोकै बस्नुपर्ने, बिरामी पर्ने र दैनिक मृत्यु हुने अवस्था उजागर गरेको थियो ।
समाचार सार्वजनिक भएसँगै विभिन्न व्यक्ति तथा संस्थाहरूले सहयोग गर्न चासो देखाएका छन् । गौशालामा गाईका लागि खाना, पानी औषधि र उचित स्याहारको खाँचो रहेको गौशाला सञ्चालक समितिले जानकारी दिएको छ । दीर्घकालीन रूपमा भौतिक संरचना सुधार र दिगो व्यवस्थापनको पनि आवश्यकता देखिएको छ ।
गौशाला सञ्चालक समितिले सहयोग गर्न इच्छुक सबैलाई पारदर्शी रूपमा सहयोग गर्न आह्वान गरेको छ । समितिका अनुसार सहयोग नगद मात्र नभई गाईका लागि आवश्यक खानाकुरा, औषधि, भौतिक सामग्री वा अन्य आवश्यक वस्तुका रूपमा पनि गर्न सकिन्छ ।
कहाँ गर्ने सहयोग ?
गौशालालाई प्रत्यक्ष र पारदर्शी रूपमा सहयोग गर्न इच्छुकहरूले समितिका पदाधिकारीसँग सम्पर्क गर्न सक्नेछन् । सहयोगका लागि गौशाला सञ्चालक समितिको सचिव बाल चन्द्र काथरिया (९८४८४९९१०८) र अध्यक्ष देव चौधरी (९८१५६७२०९९) लाई सम्पर्क गर्न सकिन्छ ।
समितिले सहयोगदातालाई सिधै सम्पर्क गरेर आवश्यकताको जानकारी लिई सहयोग गर्न आग्रह गरेको छ, जसले सहयोग पारदर्शी र प्रभावकारी हुने विश्वास गरिएको छ ।
समाचारपछि देखिएको सहयोगी सक्रियताले गौशालाको अवस्था सुधार हुने अपेक्षा गरिएको छ । तर दीर्घकालीन समाधानका लागि स्थानीय सरकार र सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको छ ।
प्रतिक्रिया 4