+
+
Shares

एसईई नतिजामा सरकारको छलाङ : एक महिनामै नतिजा

बालेन शाह नेतृत्वको सरकार बनेपछि एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय भयो । सोहीअुनुसार बोर्डले २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने भएको छ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख २७ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परीक्षा बोर्डले २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
  • परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुँदा नतिजा छिटो आउने भएको हो र बोर्डले त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
  • यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका थिए र नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको छ।

२७ वैशाख, काठमाडौं । ‘गर्‍यो भने त सकिने रहेछ नि ।’ माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र सार्वजनिक हुने भएपछि अधिकांशले सामाजक सञ्जालमा गरेको टिप्पणी हो यो ।

अघिल्ला वर्षमा नतिजा सार्वजनिक गर्न ३ महिना लाग्ने गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डको क्यालेन्डरअनुसार असार दोस्रो साता नतिजा सार्वजनिक हुने गरेको थियो ।

तर, बालेन शाह नेतृत्वको सरकार बनेपछि एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय भयो । सोहीअुनुसार बोर्डले २०८२ को एसईई नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने भएको छ ।

बोर्डले इन्ट्रीको काम सकेर कुनै त्रुटि हुन नदिन रुजुको काम गरिरहेको छ । ‘नतिजा सार्वजनिकको नजिक आइपुगेका छौँ । पर्सिसम्म आउँछ । आईटीले काम गरिरहेको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘त्रुटि नहुने गरी नतिजा सार्वजनिक गर्छौं ।’

यस पटक जहाँ परीक्षा, त्यहीँ उत्तरपुस्तिका परीक्षण भएको थियो । जसका कारण एक महिनामा नै नतिजा सम्भव भएको हो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बताउँछन् नियन्त्रक अधिकारी ।

‘शिक्षक साथीहरूको राम्रो सहभागिता रह्यो । परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण भयो । रणनीति परिवर्तन हुँदा नतिजा छिटो सार्वजनिक गर्न लागेका हौँ,’ उनले भने ।

आईटीले काम सकेपछि बोर्ड बैठक बोलाउने तयारी छ । बोर्ड बैठक बसेपछि नतिजा सार्वजनिक गरिने छ । ‘आईटीले काम सकियो भनेपछि बोर्ड बैठक बस्छ,’ नियन्त्रक अधिकारीले भने ।

नतिजा समयमा सार्वजनिक गर्नका लागि ३० जनाभन्दा बढी कर्मचारी खटिएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार सार्वजनिक बिदाको दिनसमेत कर्मचारीले काम गरेका छन् ।

ढिला नतिजा आउँदा विद्यार्थीमा मनोवैज्ञानिक असर पर्नुका साथै ब्रिज कोर्स जस्ता कक्षा सञ्चालन गरेर विद्यार्थीलाई अनावश्यक तनाव दिने गरेको गुनासो आउने गरेको थियो ।

विद्यार्थीलाई मनोवैज्ञानिक तनाव नदिन एक महिनामा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको शिक्षा मन्त्री सस्मित पोखरेलले बताउँदै आएका छन् । सरकारले एसईईपछिको ब्रिज कोर्सका कार्यक्रम सञ्चालनमा पनि रोक लगाएको छ ।

विद्यार्थीको रुचिअनुसार कसैले खेलकुद, कसैले म्युजिक सिकुन् भन्ने उद्देश्य सरकारको हो । नतिजाको लागि ३ महिना कुर्नुपर्ने बाध्यता हटेकोमा शिक्षक र विद्यार्थी उत्साहित देखिएका छन् ।

‘विद्यार्थीले नतिजाको लागि धेरै समय कुर्नु परेन । ब्रिज कोर्स पनि जानु परेन । शिक्षक र विद्यार्थी उत्साहित छन्,’ प्रिन्सिपल एसोसिएसनका अध्यक्ष सुदाम गौतमले भने, ‘नतिजा आएपछि कक्षा पनि छिट्टै सञ्चालन गर्नुपर्छ । समयमा नतिजा, समयमा कक्षा भयो भने राम्रो सन्देश जान्छ ।’

एसईई गत चैत १९ देखि २९ सम्म सञ्चालन भयो । परीक्षा सकिएलगत्तै काठमाडौं गोकर्णेश्वरका कृतक पौडेल फ्रेस हुन ट्रेकिङ गए । परीक्षा सकिएको दोस्रो साता उनी गोसाइँकुण्ड ट्रेकिङ गएका हुन् ।

‘सरकारले ब्रिज कोर्स पनि हटायो । एसईई सकेलगत्तै पढ्नु परेन । त्यसैले ट्रेकिङ गएको हुँ । तनाव पनि भएन,’ उनले अनुभव सुनाए ।

एसईईको नतिजाका लागि ३ महिना कुर्नु नपर्ने भएकोमा उनी खुसी छन् । ‘पहिला ३ महिना कुर्नुपर्थ्यो । ३ महिना के गरेर बस्ने भन्ने हुन्थ्यो । यस पटक एक महिनामा नतिजा आउने भएपछि समय खेर नजाने भयो । नतिजा आएपछि पढ्न राम्रो हुन्छ,’ उनले भने । नतिजा आएपछि कम्प्युटर विषय पढ्ने कृतकको योजना छ ।

यसै वर्ष एसईई दिएका भक्तपुरका शान न्यौपानेलाई एक महिनामै ‘बोर’ लागिसकेको छ । एसईई सकाएपछि उनले पनि धेरै समय घुमफिरमै बिताए ।

‘एक महिनामै त बोर लागिसक्यो । नतिजा आउन ३ महिना लागेको भए त गाह्रो हुने रहेछ,’ उनले भने, ‘एसईई सकाएपछि भक्तपुर घुमेँ । झापा गएँ । गेम खेलेँ । फिल्म हेरेँ । एसईईमा जस्तो पढ्नु पर्छ भन्ने तनाव भएन ।’

अब विज्ञान विषय पढ्ने तयारीमा छन् उनी । कृतक र शान मात्र होइन, धेरैजसो विद्यार्थी छिटो नतिजा आउन लागेकोमा उत्साहित छन् । यस वर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरेको छ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?