News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका बिराज बिकलाई पक्राउ गरेको छ।
- बिराज बिकले अर्काको नाममा जारी प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए भने अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिइएको छ।
- दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको छ।
२० चैत, हेटाैंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
आज २० चैतकाे परीक्षामा हेटौंडा उपमहानगरपालिका-१० भुटनदेवी राेडस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिइरहेकाे अवस्थामा सिन्धुली मरिन गाउँपालिका-४ घर भई हाल हेटौंडा-४ बस्दै आएका करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक पुष्कर बाेगटीले जानकारी दिए ।
बिक अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएका थिए । उनी हेटौंडा स्कूल अफ म्यानेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत रहेको डिएसपी बाेगटीले बताए ।
बिकले हेटौंडा-१२ पदमपोखरी घर भएका किशोर श्रेष्ठका १९ वर्षीय छोरा अंकिश श्रेष्ठको नाममा जारी प्रवेशपत्र प्रयोग गरी नक्कली परीक्षार्थीकाे रूपमा परीक्षा दिन आएको प्रहरीले उल्लेख गरेकाे छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बाेगटीले बताए ।
प्रतिक्रिया 4