News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको बर्दगोरिया गाउँपालिकाको गौशालामा सयौँ गाई दुब्ला, कमजोर र बिरामी देखिएका छन् भने दैनिक मृत्यु भइरहेको छ।
- गौशालाका लागि गाउँपालिकाले वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएको छ, जुन कर्मचारी तलबमै खर्च हुन्छ।
४ चैत, काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको गौशालामा राखिएका सयौँ गाईको अवस्था दयनीय देखिएको छ । पर्याप्त खाना र व्यवस्थापनको अभावमा धेरै गाईहरू दुब्लो, कमजोर र बिरामीजस्तै देखिएका छन् भने गाईहरूको दैनिक मृत्यु समेत भइरहेको स्थानीयले बताएका छन् ।
गौशालाको अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यस विषयमा चासो बढेको हो । गौशालामा राखिएका गाईहरू अत्यन्त दुब्लो देखिने, खानाको अभाव हुने र उचित व्यवस्थापन नदेखिएको भन्दै स्थानीय तथा पशु अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
खानाका लागि चरणकै भर
बर्दगोरिया गाउँपालिकाका पशु शाखा प्रमुख जयप्रकाश कोइरालाका अनुसार गौशालामा रहेका गाईहरूको हेरचाह मुख्य रूपमा चराइइमा निर्भर रहेको छ । गौशाला जंगल नजिकै भएकाले गोठालाहरूले बिहान गाईहरूलाई जंगलमा चराउन लैजाने र साँझ फर्काउने व्यवस्था छ ।
अहिले हिउँदको समय भएकाले जंगलमा घाँस कम हुने र चिसोका कारण गाईहरू केही कमजोर देखिएको हुन सक्ने कोइरालाले बताए ।
‘गौशाला जंगल नजिकै छ । गोठालाहरूले बिहान चराउन लैजान्छन्’ उनले भने, ‘हिउँदको समयमा घाँस कम पाइने भएकाले गाईहरू केही दुब्ला देखिएका हुन सक्छन् ।’
कोइरालाले गौशालामा ठूलो संख्यामा गाई भएकाले उपलब्ध बजेटले सबै व्यवस्थापन गर्न कठिन भइरहेको पनि स्वीकार गरे । त्यसको व्यवस्थापनका लागि बजेट थप गर्ने भन्ने विषयमा हाल कुनै छलफल नभएको उनले जानकारी दिए ।
साढे दुई सयभन्दा बढी गाई
गौशाला सञ्चालक समितिका अध्यक्ष देव चौधरीका अनुसार हाल गौशालामा करिब २१५ वटा गाई छन् । गौशालामा ६ जना कर्मचारी राखिएको छ । तीमध्ये चार जना कर्मचारीले गाईहरूलाई जंगलमा चराउन लैजाने काम गर्छन् भने दुई जनाले गोठ सफा गर्ने र अन्य व्यवस्थापनको काम गर्छन् ।
गाउँपालिकाले गौशालाका लागि वार्षिक १० लाख रुपैयाँ बजेट छुट्याएको भए पनि उक्त रकम कर्मचारीको तलबमै धेरै खर्च हुन्छ । यसो हुँदा खानापानीको व्यवस्थापन गर्न कठिन भइरहेको चौधरीले बताए ।
‘६ जना स्टाफलाई तलब दिनु पर्दा बजेटको ठूलो हिस्सा त्यहीँ खर्च हुन्छ’ उनले भने, ‘त्यसपछि गाईका लागि पराल, भुस, दाना किन्न पर्याप्त रकम हुँदैन ।’ उनका अनुसार विशेष गरी हिउँदको मौसममा घाँस कम हुने भएकाले गाईका लागि पराल र भुसको आवश्यकता बढ्ने तर बजेट अभावले नियमित व्यवस्था गर्न कठिन भइरहेको छ ।
भौतिक संरचना पनि जीर्ण
गौशालाको भौतिक संरचना पनि निकै कमजोर अवस्थामा रहेको पाइएको छ । गोठका छाना पुराना र जीर्ण भएका कारण पानी पर्दा पानी चुहिने समस्या देखिएको गौशाला सञ्चालक समितिले जनाएको छ । छानोबाट पानी चुहिँदा गाईहरूलाई बस्न असहज हुने र गोठ भित्रको वातावरण पनि चिसो तथा फोहोर हुने गरेको गुनासो छ ।
गौशाला सञ्चालक समितिका अध्यक्ष चौधरीका अनुसार यस समस्याबारे गाउँपालिकालाई जानकारी गराइसकिएको छ । गाउँपालिकाबाट इन्जिनियरलाई बोलाएर गोठको संरचना निरीक्षण गराइएको र मर्मतका लागि आवश्यक लागतको प्रारम्भिक मापन पनि गरिएको उनले बताए ।
उनका अनुसार छानो मर्मत तथा संरचना सुधार गर्न बजेट आवश्यक भए पनि हाल उपलब्ध स्रोत सीमित भएकाले काम अघि बढाउन कठिन भइरहेको छ । भौतिक संरचना कमजोर हुँदा गाईहरूको स्वास्थ्यमा समेत असर पर्ने जोखिम देखिएको छ । चिसो मौसममा पानी चुहिने गोठमा बस्नुपर्दा गाईहरूलाई चिसो लाग्ने, रोग लाग्ने तथा कमजोर हुने सम्भावना बढ्ने पशु प्राविधिकहरू बताउँछन् ।
त्यसैले गौशालाको दीर्घकालीन व्यवस्थापनका लागि खाना र बजेटसँगै सुरक्षित तथा मजबुत भौतिक संरचना निर्माण पनि अत्यन्त आवश्यक देखिएको छ ।
सहयोग माग्दा पनि नपाएको गुनासो
गौशाला व्यवस्थापन समितिले प्रदेश सरकारसँग पनि सहयोग मागेको थियो । ट्र्याक्टर–ट्रली र भुस काट्ने मेसिन उपलब्ध गराइदिन माग गरिए पनि हालसम्म कुनै सहयोग प्राप्त नभएको चौधरीले सुनाए । ‘हामीले सबै कागजात बोकेर प्रदेश सरकारसँग गएको थियौँ’ चौधरीले भने, ‘ट्र्याक्टर–ट्रली र भुस काट्ने मेसिन मात्रै माग गरेका थियौँ तर त्यो पनि उपलब्ध भएन ।’
गौशाला जंगल नजिकै भएकाले सुरक्षा चुनौती पनि देखिएको छ । स्थानीय स्रोतका अनुसार गौशालामा प्रयोग हुने पानी तान्ने मोटर लगायतका उपकरण समेत चोरी भएको छ । नल्का र मोटर चोरी भएपछि पानी व्यवस्थापनमा समेत समस्या भयो ।
स्थानीय र सरकारको ध्यान आवश्यक
गौशालामा ठूलो संख्यामा गाई राखिएको भए पनि त्यसअनुसार बजेट, व्यवस्थापन र पूर्वाधार नहुँदा समस्या बढ्दै गएको देखिन्छ ।
गौशला सञ्चालक समितिका अध्यक्ष चौधरी भन्छन् ‘बाटोमा छोडिएका चौपायालाई हामीले गौशलामा त राख्यौ तर ती चौपायाको व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार र प्रदेश सरकारको ध्यान आकार्षकण हुन जरुरी छ ।’
गौशाला सञ्चालक समितिले गाउँपालिकाले बजेट बढाएर सहयोग गरे व्यवस्थापन सुधार गर्न सकिने विश्वास व्यक्त गरेको छ । साथै प्रदेश सरकार र अन्य निकायले पनि आवश्यक उपकरण तथा आर्थिक सहयोग उपलब्ध गराए गौशालाको अवस्था सुधार गर्न सहज हुने उनीहरूको भनाइ छ ।
स्थानीयवासीले पनि गौशालाको संरक्षणमा ध्यान दिनुका साथै चोरीजस्ता गतिविधि रोक्न सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । सम्बन्धित निकायले समयमै ध्यान नदिए गौशालामा रहेका गाईहरूको अवस्था अझै बिग्रने र पशु कल्याणसँगै व्यवस्थापनको समस्या थप जटिल बन्ने देखिन्छ ।
प्रतिक्रिया 4