News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले बिहीबार ११० समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरेको छ।
- रास्वपाले जेनजी आन्दोलनका शहीद र घाइते परिवारका प्रतिनिधि सांसद बनाएको छ।
- समानुपातिक सांसदहरूले भ्रष्टाचारविरुद्ध आवाज उठाउने र विभिन्न सामाजिक एजेन्डा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
५ चैत, काठमाडौं । कोही उत्साहित थिए । कोही गम्भीर । कसैका आँखा रसाएका थिए । सँगसँगै, जिम्मेवारी बोध पनि गरिरहेका थिए । बिहीबार निर्वाचन आयोगको प्राङ्गणमा देखिएको दृश्य हो यो । ११० समानुपातिक सांसद प्रमाणपत्र लिन आयोग पुगेका थिए ।
त्यहाँ पुगेका धेरैजसो सांसदले जेनजी आन्दोलनलाई सम्झिए । जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद बनाएको छ । उनी पनि प्रमाणपत्र लिन पुगेकी थिइन् ।
छोरा गुमाएकी रचना भावुक देखिन्थिन् । उनका आँखाबाट बारम्बार आँसु झरिरह्यो । ‘छोराको अनुहार मात्र आइरहन्छ । के गर्दै होला, कहाँ होला…,’ रचनाको गला अवरुद्ध छ, आँखाबाट आँसु मात्र झर्छ ।
उनको मुख्य एजेन्डा सदनमा पुगेर जेनजी शहीद र घाइतेको आवाज उठाउने हो । ‘म राजनीति गर्न आएको होइन । हाम्रो छोराछोरीको टाउको छाती र गोडामा गोली हानिएको छ । उनीहरूको एजेन्डामा काम गर्न आएको हुँ,’ उनले भनिन्, ‘जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्यो ।’
जेनजी आन्दोलनमा खुट्टा गुमाएका मुकेश अवस्थीकी दिदी आकृति पनि समानुपातिक सांसद बनिन् । आन्दोलनका घाइते र उनीहरूका परिवारको साझा प्रतिनिधिको रूपमा बुझेकी छिन् उनले ।
‘म केवल एउटा परिवारको सदस्यको रूपमा मात्र नभई सडकमा जेनजीले उठाएको भ्रष्टाचार विरुद्धको आवाज र सुशासनको एजेन्डालाई सदनको रोस्ट्रमसम्म पुर्याउन आएको छु,’ उनले भनिन् ।
गत २३ भदौमा भएको जेनजी आन्दोलनमा उनका भाइ मुकेशलाई गोली लागेको थियो । मुकेश हाल उपचाररत छन् । सुशासन र भ्रष्टाचार अन्त्यका लागि जेनजी पुस्ताले सडकमा रगत बगाएका थिए । त्यो रगतलाई खेर जान नदिने संकल्प उनले गरिन् ।

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता मुख्य प्राथमिकता हो । विदेशमा रहेका नेपालीहरूले पनि ठूलो आशा र भरोसा गर्नुभएको छ,’ उनले भनिन्, ‘उहाँहरूले खोजेको परिवर्तन र समृद्धिलाई सार्थक बनाउन प्रयास गर्नेछु ।’
रास्वपाकै समानुपातिक सांसद हुन् समिना मियाँ । उनी डेढ वर्षीय छोरी बोकेर प्रमाणपत्र लिन आएकी थिइन् । ‘मातृत्वको जिम्मेवारीलाई साथमा राख्दै देशको नेतृत्वसम्म आइपुगेकी छुु,’ उनले भनिन्, ‘छोरीलाई साथै लिएर आएकी छु । महिलाका लागि घर, समाज र देश बनाउने बहुआयामिक जिम्मेवारी हुन्छ ।’ काखमा छोरी मात्र होइन, १० वर्षदेखि स्वास्थ्य सेवामा संलग्न उनले स्वास्थ्य सेवा सुधारको एजेन्डा पनि बोकेकी छिन् ।
‘यो शहीदको रगत र बलिदानबाट प्राप्त उपलब्धि हो । उत्साहितभन्दा ठूलो जिम्मेवारी महसुस गरेको छु,’ उनले भनिन्, ‘स्वास्थ्य प्रणालीको बेथिति हटाएर व्यवस्थित बनाउने योजना छ । स्वास्थ्यकर्मीको न्यून सेवा सुविधाका कारण विदेशिन बाध्य छन् । यो बाध्यात्मक अवस्थालाई चिर्न पहल गर्छु ।’

कांग्रेसकी गंगालक्ष्मी अवाल महिला र किसानको आवाज सदनमा उठाउन चाहन्छिन् । पूर्वप्राध्यापक र कृषि विज्ञसमेत रहेकी उनीसँग महिला हिंसाविरुद्ध कानुन र युवा स्वरोजगारमुखी शिक्षा र अर्गानिक कृषि क्रान्तिको एजेन्डा छ । ‘कृषिमा अर्गानिक क्रान्ति, युवाहरूलाई स्वदेशमै रोजगारी र महिलाहरूको सुरक्षा नै मेरो संसदीय यात्राको मुख्य मार्गचित्र हुनेछ,’ उनले भनिन् ।
एमालेकी समानुपातिक सांसद निता घतानी विभेदमुक्त शिक्षाको एजेन्डा बोकेकी छिन् । दलित, महिला र युवाको सशक्तीकरण तथा सामुदायिक विद्यालय भित्र हुने अंग्रेजी/नेपाली विभेदको अन्त्य गर्नुपर्ने छ,’ उनले भनिन्, ‘शिक्षा प्रणालीलाई मजबुत र युग सुहाउँदो बनाउनु युवा सांसदहरूको मुख्य दायित्व हो ।’
नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर बयक वाकरको सहायतमा प्रमाणपत्र लिन आएका थिए । उनी तत्कालीन माओवादी आन्दोलनका घाइते हुन् । ‘विधिको शासन, अपाङ्गता भएका व्यक्तिको मर्यादा र शहीद/बेपत्ता परिवारको न्यायको आवाज उठाउँछु,’ उनले भने, ‘हिजो व्यवस्था बदल्न लड्यौँ, अब भुइँमान्छेको जीवन बदल्न र सुशासन कायम गर्न संसद्बाटै लड्ने छौँ ।’

रास्वपाका समानुपातिक सांसद डा. राम लामा जलस्रोत र प्राज्ञिक सुधारमा जोड दिन्छन् । काठमाडौं विश्वविद्यालयका पूर्व अनुसन्धानकर्तासमेत रहेकी उनी जलस्रोत र ऊर्जाको विकासमार्फत आर्थिक क्रान्ति देख्छन् । ‘विश्वविद्यालयको अनुसन्धानबाट आर्जित ज्ञानलाई अब देशको नीति निर्माणमा लगाउने मेरो मुख्य लक्ष्य रहनेछ,’ उनले भने ।
रास्वपाकी सांसद पुनम अग्रवाल सुशासन र निजी क्षेत्रको सुरक्षामा जोड दिन्छिन् । उनी मेडिकल माइक्रोबायोलोजिस्ट र महिला उद्यमी हुन् । ‘लगानीमैत्री वातावरण, सुशासन र किसानका लागि मल–बीउको सहज उपलब्धता मुख्य एजेन्डा हो,’ उनले भनिन् ।
जेनजी आन्दोलनका अगुवा हुन् पुरुषोत्तम यादव । उनले तराईमा सिँचाइ भ्यू टावर संस्कृतिको अन्त्य र युवा पलायनको रोकथामको एजेन्डा अगाडि सारेका छन् । ‘हामीलाई देश स्विजरल्यान्ड होइन, नेपाल बनाउनु छ । नेता भनेको जनताको नोकर हो, शासक होइन,’ उनले भने, ‘हामी सत्तापक्ष भएका छौँ । तर नराम्रो काममा सदनबाट खबरदारी गर्छौं । बोल्न छोड्दैनौं ।’
२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० सिट समानुपातिकबाट निर्वाचित हुन्छन् । जसमा समानुपातिकमा रास्वपाले ५७, कांग्रेसले २०, एमालले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपाले ४ सिट पाएको थियो ।
प्रतिक्रिया 4