+

चुनावी परिणाम र नेपाली मनोविज्ञान

२०८२ चैत  २ गते १४:३६ २०८२ चैत २ गते १४:३६

यस्तो मनोविज्ञान भनेको अरूजस्तै हुने, अरूसँगै हुने किनकी अरू भन्दा फरक भए आफू छुटिन्छ वा हराइन्छ भन्ने हो ।

Shares
चुनावी परिणाम र नेपाली मनोविज्ञान

गत भदौको जेनजी विद्रोहपश्चात घोषणा भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न भइसकेको छ । निकै अन्योलताबीच भएको निर्वाचन र यसपछिको परिणामले लोकतन्त्र, निर्वाचन र नेपाली मनोविज्ञानलाई नयाँ ढंगले बुझ्न अभिप्रेरित गरिरहेको छ ।

निर्वाचनमा मतदाताले आफ्नो अभिमत प्रकट गरेसँगै राजनीतिक, सामाजिक र मनोवैज्ञानिक केही सवाल भने उत्पन्न भएका छन् ।

करिब ७ दशक राजनीतिक व्यवस्था परिवर्तनका लागि साथ दिएका नेपाली जनताले पछिल्लो एक दशकदेखि मुलुकको आर्थिक विकासमार्फत् सहज दैनिकी र जनजीविकामा सुधारको अपेक्षा राखेका थिए ।

कठिन परिश्रम गरेरै भएपनि सबै परिवारका सदस्य मुलुकभित्रै बसेर दुई छाक आनन्दले खान पाउने, सन्तालाई राम्रो शिक्षा दिन सक्ने र रोग लाग्दा सजिलै उपचार पाउने अवस्थाको कल्पना नागरिकमा थियो ।

राजनीतिक दलहरूले प्रयोग गर्ने पूँजीवाद, समाजवाद, लोकप्रियतावाद, जनवाद जस्ता शब्दावली सहजै बुझ्न नसके पनि नयाँ संविधानको कार्यान्वयनपछिको नागरिकले उज्यालो भविष्य सोचेका थिए । त्यही सपनाको आलोकमा भएको तुषारापातका कारण मताधिकार भएका र नभएका सबैको चासो फागुन २१ को निर्वाचनमा बढेर जानु स्वाभाविक
थियो ।

झट्ट हेर्दा नेपाली समाजको छिटो-छिटो चाहना फेरिने प्रवृत्तिलाई अस्थिर मनोविज्ञानका रूपमा बुझ्न सकिएला । यसलाई ‘अति महत्वकांक्षा’ वा ‘असुरक्षाको भावना’ दुवै रुपमा बुझ्न पनि सकिएला । तर, वास्तवमा त्यस्तो भने होइन ।

धेरै अगाडि नजाऊँ, ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपश्चात् संसदीय प्रणालीको नयाँ दल नेकपा (माओवादी) पार्टीले जनताबाट प्राप्त गरेको अभुतपूर्व विश्वास भनौं या दोश्रो संविधानसभाको निर्वाचनमा चौंथो दल बनेको तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालको मतलाई नै सम्झौं ।

त्यसपछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उदाएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनसहित २१ सिट ल्याएर चौंथो ठूलो शक्ति बनेको थियो । २०८२ फागुन २१ को निर्वाचनले त्यही नयाँ दलमा काठमाडौं महानगरका पूर्व मेयर बालेन्द्र साह समेत जोडिएपछि बढेको उभारले यस दललाई दुईतिहाइ सिट पुग्ने गरी मत दियो ।

उता कोशी प्रदेशमा धरानका पूर्व मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको नयाँ दल श्रम संस्कृति पार्टीले कोशीमा कांग्रेस, एमाले, नेकपा लगायतका विगतका प्रमुख
दलहरूलाई पछाडि पार्दै समानुपातिकमा लोकप्रिय मत ल्याएको छ ।

अब प्रश्न जन्मिन्छ- नेपाली समाज के सँधै नयाँ नै खोजिरहन्छन् ?

यो होइन बरू के चाहिँ हो भने, यो नेपाली समाजको मनोविज्ञान बुझ्ने दल र नेतृत्व उनीहरूले नपाउँदाको परिणाम हो ।

विदेश बसाइले बदलिएको नेपाली मनोविज्ञान

५० को दशकसम्म पनि सामान्य नेपालीको पहुँच भारतसम्म मात्रै थियो । त्यहाँ जे देख्थे, जस्तो भोग्थे त्यसको लयमा नेपालको विकासलाई तुलना गर्थे । तर, ५० को दशकपछि रोजगारी गर्न या अध्ययन गर्न विदेश जाने नेपालीको संख्या ह्वात्तै बढ्यो । त्यहाँ पुगेर उनीहरूले त्यो देशको विकास, आर्थिक उन्नति देखे ।

उनीहरूको र नेपालको विगतको इतिहास तुलना गर्नथाले । केही दशकमै उनीहरूले गरेको प्रगति र त्यो अनुसार नेपालमा खासै केही हुन नसकेको देख्दा युवाहरूमा चरम निराशा बढ्न थाल्यो । उनीहरुले राजनीतिक र प्रशासनिक नेतृत्व सही र इमान्दार भइदियो भने मात्रै पनि मुलुकको विकास हुनेरहेछ भन्ने कुरा मज्जाले बुझेर आए ।

यही हो, तुलनात्मक मनोविज्ञान (सोसियल कम्पेरिजन) । जहाँ आफ्नो समाजको प्रगतिको मापन आफूसँग नभई अरुसँग गरिन्छ । कतिपय अवस्थामा यस्तो प्रवृत्ति प्रगतिशिल पनि मानिएला तर यसले वर्तमान परिस्थितिलाई बिर्साइदिएर चाहनाको सपनामा डुबुल्की मार्न प्रेरित गर्दछ ।

अन्ततः यो नै परिस्थिति उलटफेर गर्ने महत्वपूर्ण साधन बन्न जान्छ ।

यसलाई मनोविज्ञानमा ‘रिलेटिभ डिप्रिभेसन’ भनिन्छ, जसले आफूसँग भएको कुरामा गर्व गर्नुभन्दा अरूसँग जे छ त्यो आफूसँग छैन भन्ने सोचेर खिन्नता जन्माउँछ ।

राजनीतिक नेतृत्वले हामीसँग भएको र हामीले गरेका कुराबारे ती निराश व्यक्तिहरूलाई बुझाउन सकेनन् । वर्तमान पुस्ता गफमा होइन, तथ्य र तर्कमा कुरा गर्छ र त्यही अनुरुप बुझ्छ भन्ने कुरा नेतृत्वले ठम्याउनै सकेन । वर्षौंदेखि खोक्रा सपना देखाएर चर्का भाषण गर्दैमा जनताले पत्याइदिइहाल्छन् भन्ने मनोविज्ञानमै रमाए उनीहरू ।

नेपाली नेता र उनका परिवारका जीवनशैलीबाट क्रुद्ध ठूलो जमातको आक्रोश सामाजिक सञ्जालमा छरपष्ट भयो । सामान्य परिवारबाट आएर कुनै उद्यम वा पेशा नगरी राजनीति गरेकै कारण ‘शटकट’ माध्यमबाट बनेको सौखिन जिवनशैली लामो समयदेखि ट्वाल्ल हेरेर बसिरहेका अग्रहहरूजस्तो संयम हुन सकेनन्, नवयुवा ।

डिजिटल क्रान्ति र सामाजिक सञ्जालको बलियो उपस्थितिले युवामा ‘इन्स्ट्यान्ट ग्राटिफिकेसन’ मनोविज्ञानले काम गर्यो । एक त तुरुन्तै ‘रियाक्टिभ’ हुने वर्ग हो, युवा । अर्कोतर्फेतर्फ, कति सहने भन्ने मनोविज्ञानले काम गरेको देखिन्छ । विगतमा ‘इनफ इज इनफ’, ‘नो, नट अगेन’ जस्ता अभियानबाटै परम्परागत शैलीमा राजनीतिक दल हाँकिरहेका नेतृत्वले बुझ्नु पर्नेथियो । स्ट्याटस, लाइक र कमेण्ट मात्र बुझ्ने नेतृत्वले ‘अल्गोरिदम’को प्रभावलाई बुझ्नै सकेन ।

नेपाली समाजलाई अर्को महत्वपूर्ण मनोविज्ञानले प्रभाव पारेको छ, त्यो हो ‘सर्भाइभल इन्स्टिन्क्ट’ । नेपालको अस्थिर राजनीति र आर्थिक अवस्थाको कारण मानिसहरूमा भोलि के हुन्छ भन्ने डर विद्यमान छ ।

यो मनोवैज्ञानिक असुरक्षाले गर्दा मानिसहरू जति सकिन्छ अहिल्यै गरिहालौं, लिइहालौं, पाइहालौं भन्ने मानसिकतामा हुन्छन् । यस्तो मनोविज्ञानले गाँजेको समाजका मानिसहरू स्थिर हुनुभन्दा नयाँ-नयाँ विकल्पहरु खोजिरहनुमा सुरक्षित ठान्ने हुन्छन् ।

विद्यमान राजनीतिक दलले यो अस्थिरताबाट बाहिर निकाल्न सक्दैनन् भन्ने नेपाली समाजको मनोविज्ञानकै स्पष्ट संकेत नै उनीहरुले मतदानमार्फत् प्रस्तुत गरेका हुन । जहाँ नयाँ विकल्पका रूपमा उदाएको शक्ति रास्वपालाई उदीयमान नेतृत्वका मानक ‘बालेन’लाई विश्वास गरेका हुन् ।

यो मनोविज्ञान यति घातक हुन्छ कि उनीहरूले विश्वास गरेका पात्रबाट पनि हुँदैन भन्ने लागेमा पुनः तत्कालै अर्को विकल्पमा फड्किहाल्छन् ।

निर्वाचनमार्फत् नेपाली समाजमा देखिएको ‘फियर अफ मिसिङ आउट (फोमो)’ मनोविज्ञान झन् डरलाग्दो रूपमा उर्लिएर आयो । ‘अल्गोरिदम’ले एकोहोर्‍याएको अवस्थामा झन् यो मनोविज्ञानले बेस्सरी जरा गाडिदिन्छ ।

यस्तो मनोविज्ञान भनेको अरूजस्तै हुने, अरूसँगै हुने किनकी अरू भन्दा फरक भए आफू छुटिन्छ वा हराइन्छ भन्ने हो । देशभर ‘घण्टी’को लहर चलेको उनीहरूको मस्तिष्कले ‘क्याच’ गर्छ । त्यसपछि उनीहरू आफू ‘फोमो’बाट ग्रसित भएको पत्तै पाउँदैनन् ।

माथिका केही मनोवैज्ञानिक विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने नेपाली समाजमा विचारधाराको उपयोगिता समाप्त भएको हो । साम्यवाद, समाजवाद, प्रजातान्त्रिक समाजवाद जस्ता वादहरूले आम जनताको भान्सा र जिवनस्तरमा खासै परिवर्तन ल्याउन सकेनन् । त्यसैले नेपाली समाज ‘प्रयाग्माटिज्म’ अर्थात् सैद्धान्तिक वादबाट विचलन हुनपुगी परिणाममुखी बाटो रोज्न बाध्य भएको हो ।

फागुन २१ को निर्वाचनको परिणाम मुलतः यहि ‘वाद’बाट ‘काम’तर्फको विचलनको हो भन्दा फरक पर्दैन ।

अतः नेपाली समाज अहिले पुरानो भत्किएको तर नयाँ नबनिसकेको संक्रमणकालीन अवस्थामा छ । विचलनले समाजलाई अराजकतातिर लैजान्छ कि नयाँ निर्माणतर्फ भन्ने विषयको निक्र्याैल भने अब आउने नेतृत्वको कार्यक्षमता, समर्पण र इमान्दारीतामा निर्भर रहन्छ ।

नेपाली स्वभावैले शान्त र सहनशील (रेजिलियण्ट) छन् । तर, धैर्यताको सिमा नाघेपछि उनीहरुको देखाएको ‘मौन क्रान्ति’बाट नयाँ नेतृत्व हरबखत सजग रहनुपर्दछ । कतै नयाँ आएकाहरु पनि उस्तै त हुने होइनन् भन्ने शंकालाई चिर्न सक्नुपर्नेछ ।

अबको नेतृत्वले वर्तमान नेपाली समाजको मनोविज्ञानबारे बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने, समाज ‘अन्धभक्त’बाट माथि उठेर ‘सचेत नागरिक’ बन्ने कोशिस गर्दैछ । त्यसैले, अब जनताले ‘हजुर’ त भन्छन् तर त्यो शब्दसँगै ‘हजुर, परिणाम खै त ?’ भनेर प्रतिप्रश्न गर्नेछन् । यसको जवाफमै नेपाली समाजको भाग्य र भविष्य जोडिएको छ ।

(लेखक भण्डारी त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानको एम्.फिल/पि.एच.डी स्कलर हुन् ।)

निर्वाचन परिणाम मनोविज्ञान
सीता भण्डारी
लेखक
सीता भण्डारी
मनोविद्

मनोविद् भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातकोत्तर गरेकी छिन् । उनी मनोविज्ञान सम्बन्धी विभिन्न अनुसान्धानमा संलग्न हुँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय