News Summary
Generated by OK AI. Editorially reviewed.- भिटामिन बी१२ शरीरमा राता रक्तकण निर्माण, स्नायु प्रणाली र ऊर्जा उत्पादनमा भूमिका खेल्ने पानीमा घुल्ने भिटामिन हो।
- शाकाहारी, ५० वर्षमाथिका व्यक्ति र पाचनसम्बन्धी रोगीमा भिटामिन बी१२ को कमी हुने हुँदा रगत परीक्षण आवश्यक छ।
हामीले केही वर्षदेखि सुन्दै आइरहेको चर्चामा आइरहने स्वास्थ्य समस्या शरीरमा भिटामिन बी१२ को कमी भएको भन्ने गर्छौं । शरीरमा दैनिक कार्य सञ्चालनका लागि अत्यावश्यक सूक्ष्म पौष्टिक तत्व भिटामिन बी१२ हो ।
यो खाद्य पदार्थबाट आपूर्ति गर्नुपर्छ तर लामो समयसम्म यो तत्वको कमी भएमा शरीरमा सञ्चित भएको यो तत्व पनि सकिन्छ । यसको अभाव भएमा देखापर्ने समस्या देखिन थाल्छन् जुन लामो अवधिपछि मात्र लक्षणको रूपमा शरीरमा देखिन्छ ।
शरीरमा राता रक्तकणको निर्माण गर्ने, स्नायु प्रणालीलाई स्वस्थ राख्ने र ऊर्जा उत्पादन गर्ने लगायतमा भूमिका खेल्ने यो भिटामिनको कमी हुँदा शरीरमा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् ।
भिटामिन बी१२ बारे सबैले जान्नैपर्ने कुराहरूको विषयमा यस लेखमा विस्तृतमा चर्चा गर्दैछौँ ।
भिटामिन बी१२ को कमीको समस्या विश्वभर जनस्वास्थ्य समस्याको रूपमा देखापरेको छ । हालसालै प्रकाशित अध्ययनले देखाए अनुसार अमेरिका जस्तो विकसित देशमा समेत औसतमा ३ देखि ६ प्रतिशतमा भिटामिन बी१२ कमीको समस्या देखिएको छ । ६० वर्ष कटेका १२ देखि २० प्रतिशतमा यो समस्या देखापरको छ ।
यसको समस्या सबैभन्दा बढी पश्चिमा मुलुकहरूमा देखिन्छ । जुन देशहरूमा जनावरजन्य खाद्यपदार्थको सेवन कम हुन्छ, ती देशहरूमा बढी समस्या देखिन्छ भने अन्य देशहरूमा समेत वृद्ध जनसंख्यामा यो समस्या बढी देखिएको छ ।
अफ्रिकाका इथियोपिया र केन्या जस्ता देशहरूमा त निकै बढी अर्थात् ४०–९० प्रतिशत मानिसहरूमा समस्या देखिएको छ । इराक, जोर्डन जस्ता देशहरूमा पनि १३–४४ प्रतिशतमा समस्या छ । नेपालमा यसको समस्याबारे धेरै अध्ययन भएको छैन । अछाम र कपिलवस्तु जिल्लामा ६ देखि २३ महिनाका बच्चा र गर्भवती तथा सुत्केरी महिलामा गरिएको एक अध्ययनले ४०–५० प्रतिशतमा समस्या भएको देखाएको छ ।
त्यस्तै, काठमाडौं र केही ग्रामीण क्षेत्रहरूमा स्वास्थ्य संस्थाहरूको प्रतिवेदनका आधारमा होचा पुड्का वा शारीरिक वृद्धि विकास नभएका बच्चा, गर्भवती र शाकाहारी व्यक्तिको तथ्यांकका आधारमा नेपालमा पनि यसको कमीले ठूलै समस्या ल्याएको हुनसक्ने अनुमान गरिएको छ ।
के हो भिटामिन बी१२ ?
भिटामिन बी१२ को वैज्ञानिक नाम साइनोकोबालामिन (Cynocobalamine) हो । यो पानीमा सजिलै घुल्ने भिटामिन पनि हो । यो वयस्क मानिसका लागि पनि निकै नगन्य अर्थात् प्रतिदिन २.४ माइक्रोग्राम मात्र भए पुग्छ र बढी भए कलेजोमा सञ्चित भएर बस्छ ।
यसलाई कलेजोले २ देखि ५ वर्षसम्म पनि सञ्चित गरेर राख्नसक्ने र शरीरलाई आवश्यक परेमा रगतमा पठाउने गर्दछ । कलेजोमा समेत यसको भण्डार रित्तिएमा मात्र शरीरमा समस्या देखापर्ने गर्छ । बढी भएको र कलेजोमा पनि भण्डारण गर्न नसकिने अवस्थामा पिसाबबाट यो भिटामिन बाहिरिन्छ र शरीरमा सधैं सन्तुलित अवस्थामा रहन्छ । यो
भिटामिन बी१२ले शरीरमा गर्ने कार्यहरू र कमी हुँदा देखिने लक्षण
१.राता रक्तकोषको निर्माण गर्ने
यदि यो भिटामिनको कमी भएमा शरीरमा राता रक्तकोष बन्न सक्दैनन् वा बने पनि अपरिपक्व हुनेहुँदा रगतको कमी हुने रक्तअल्पताजस्तो रोग लाग्छ । यदि यो रोग लागेमा अनुहार, आँखाको भित्री भाग, ओठ, जिब्रो, हत्केला फुस्रो देखिने, थकाइ लाग्ने, काम गर्न नसक्ने, सुइय सुस्केरा हाल्न मन लाग्ने, सामान्य हिँडाइ र काम गराइमा पनि स्याँ स्याँ हुने, चक्कर लाग्ने, धमिलो देखिने, हातगोडा चिसा हुने र चिसो लाग्ने जस्ता समस्या देखिन्छन् ।
२.स्नायु प्रणाली स्वस्थ राख्ने
यदि यो भिटामिनको कमी भएमा स्नायुकोषको बाहिरी भाग (माइलिन सिथ) बन्ने प्रक्रिया अवरुद्ध भई स्नायुकोषहरूको क्षति हुन्छ जसले गर्दा हातखुट्टा झमझमाउने, निदाउने, सियोले घोचेजस्तो चस्किने, दुख्ने, पोल्ने वा न्युरोप्याथी जस्तो समस्या देखिन्छ ।
३.डिएनए र आरएनए निर्माण गर्ने
यदि यो भिटामिनको कमी भएमा कोषभित्र बन्ने संरचना डिएनए र आरएनए जस्ता तत्व बन्न सक्दैनन् जसले गर्दा कोषको वृद्धि विकास हुने वा विभाजन हुने प्रक्रिया अवरुद्ध हुन्छ र शरीरमा असर देखिन्छ ।
४.ऊर्जा उत्पादन गर्ने
यदि शरीरमा भिटामिन बी१२ को कमी भएमा समग्रमा शारीरिक र मानसिक शक्ति उत्पादन प्रक्रियामा अवरुद्ध आई शरीरले ऊर्जा पाउन सक्दैन र शरीर कमजोर हुन्छ । यस्तो अवस्थामा मांसपेशीमा बल वा तागत नआउने, थकाइ लाग्ने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ ।
५.मस्तिष्कको स्वास्थ्य स्वस्थ राख्ने
भिटामिन बी१२ ले स्नायु प्रणाली लगायत मस्तिष्कको समग्र स्वास्थ्य स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । यदि यसको कमी भएमा स्मृति, एकाग्रता र व्यक्तिको मनोदशामा प्रभाव पर्छ । यो अवस्था लामो समयसम्म भइराखेमा चिन्ता, डिप्रेसन, मस्तिष्कमा समस्या, शारीरिक सन्तुलनमा गडबडी, डिमेन्सिया र पार्किन्सन्स् जस्ता रोगहरू देखापर्छन् ।
६. विविध कार्य
यी बाहेक यो भिटामिनले हाम्रो पाचन प्रक्रिया राम्रो बनाउने, भोग जगाउने र मुटुको धड्कन सन्तुलन राख्ने जस्ता कार्य पनि गर्दछ । यसको कमी भएमा जिब्रो रातो र चिल्लो हुने, मुख र जिब्रोमा घाउ हुने, भोक नलाग्ने, अक्सिजनको कमी हुँदा मुटु तथा मस्तिष्कमा समेत समस्या पैदा हुनसक्छ ।
गम्भीर अवस्था आएमा स्नायु प्रणालीमा स्थायी समस्या हुने, डिमेन्सिया हुने र बच्चाको विकासमा समेत अवरोध देखिन्छ ।
कसलाई हुन्छ कमी ?
भिटामिन बी१२ का यस्ता कमीका लक्षणहरू देखा नपर्दै समस्या भए नभएको छिटो निदान गरी छिटो उपचार नगरेमा ठूलै समस्या थपिन सक्ने हुँदा रोगको निदानका लागि रगत परीक्षण गर्ने र चिकित्सकलाई जचाउने गर्नुपर्छ ।
भिटामिन बी१२ को कमी हुनुमा मुख्य कारण शाकाहार भोजन मात्र गर्नु वा पूर्ण भेगान (पशुजन्य उत्पादन दूध, दही, घिउ लगायत कुनैपनि सेवन नगर्नु) हुनु हो । त्यस्तै, पाचन प्रणाली सम्बन्धी विभिन्न रोगहरू लाग्दा पनि यो तत्वको कमी हुन्छ ।
५० वर्ष उमेर कटेका व्यक्ति (पेटको अम्ल र इन्ट्रिन्सिक फेक्टर कम हुँदा), पेटको शल्यक्रिया गरेका व्यक्ति र गर्भवती महिलाहरूमा पनि यो तत्वको कमी देखिन्छ । यसैगरी नियमित रूपमा मेटफर्मिन नामक सुगरको औषधि खाने, एन्टिबायोटिक सेवन गर्ने र अम्लपित्तका लागि खाने औषधिको नियमित प्रयोग गर्दा पनि यसको कमी हुनसक्छ ।
के मा पाइन्छ भिटामिन बी१२ ?
भिटामिन बी१२ पाइने स्रोतहरूका सम्बन्धमा कुरा गर्दा भिटामिन बी१२ शाकाहारी खाद्यपदार्थमा प्रायः पाइँदैन । पाइए पनि नगन्य मात्रामा पाइने हुँदा त्यसले शरीरको आवश्यकता परिपूर्ति गर्न सक्दैन । त्यसकारण यो भिटामिन प्राप्त गर्न मांसाहार नै मुख्य स्रोत हो ।
मासुमा पनि जनावरको कलेजोमा यो तत्व सबैभन्दा बढी पाइन्छ । उदाहरणका लागि बाख्रा वा कुखुराको मासुमा १–२ माइक्रोग्राम मात्र पाइन्छ भने कलेजोमा ८३ माइक्रोग्राम सम्म पाइन्छ । त्यस्तै माछा (साल्मन जातको) मा ५.४ माइक्रोग्रामसम्म पाइन्छ भने अण्डा, दूध, दहीमा पनि केही मात्रामा यो भिटामिन पाइन्छ ।
शाकाहारी व्यक्तिका लागि सोयाबिन, बदाम र प्रशोधित अन्नहरूमा केही मात्रामा पाइन्छ तर यो मात्राले शरीरको आवश्यकता पूर्ति गर्न नसक्ने हुँदा मांसाहारीको तुलनामा शाकाहारीले यो भिटामिनको औषधि समय-समयमा खाइरहनु उपयुक्त हुन्छ ।
कहिलेकाहीँ यो भिटामिनको निकै नै कमी भई कडा लक्षणहरू देखिएको अवस्थामा सुई लगाएर उपचार गर्नुपर्छ भने पर्निसियस रक्तअल्पताका लागि यसको सुई जीवनभर नै लगाउनुपर्ने पनि हुनसक्छ ।
भिटामिन बी१२ बारे भ्रम र सत्य
भिटामिन बी१२ का सम्बन्धमा केही गलत अफवाह पनि फैलाउने गरिन्छ । भिटामिन बी१२ केवल मासुमा मात्र पाइन्छ भन्नु गलत हुन्छ । भिटामिन बी१२ मासुमा बढी पाइन्छ जसले शरीरका लागि आवश्यकता पूर्ति गर्छ तर प्रशोधन गरिएका अन्न जस्ता शाकाहारमा पनि पाइन्छ र यसमा पाइने मात्राले शरीरको आवश्यकता धान्न सक्छ तर कमी भएको अवस्थालाई पूर्ति गर्न सक्दैन ।
त्यस्तै, भिटामिन बी१२ को मात्रा बढी भएमा शरीरलाई निकै हानि पुर्याउँछ भन्नु पनि गलत छ किनकि यो भिटामिनको मात्रा बढी भएमा पिसाबबाट बाहिर निस्कन्छ । तर औषधिका रूपमा खाइने भिटामिन बी१२ बढी डोजमा लामो समय खाँदा हानिकारक असर पनि गर्न सक्छ । खाद्यपदार्थबाट लिएको भिटामिन बी१२ ले शरीरमा असर गर्दैन र स्वतः बाहिर निस्कन्छ ।
भिटामिन बी१२ सबैले औषधिका रूपमा खानुपर्छ भन्नु पनि गलत छ किनकि यो तत्वको कमी भएका व्यक्तिले मात्र यसको औषधिका रूपमा खानुपर्छ सबैलाई आवश्यक पर्दैन । यसरी भिटामिन बी१२ का बारेमा सबैले कुरा बुझ्नु राम्रो हुन्छ ।
५० वर्ष कटेका शाकाहारी खाना मात्रै खाने व्यक्तिले प्राय औषधिका रूपमा यो खानुपर्छ भने मांसाहारीले पनि रक्तपरीक्षण गरेर कमी देखिएमा मात्र खानुपर्छ । गर्भवती वा सुत्केरीलाई पनि डाक्टरको सल्लाह अनुसार दिँदा राम्रो हुन्छ । यदि लामो समयसम्म भिटामिन बी१२ औषधिका रूपमा खाने हो भने रक्तपरीक्षण गर्दै खानु राम्रो हुन्छ ।
(डा. नरनाथ पाण्डेले जीवनशैली व्यवस्थापनमा विद्यावारिधि गरेका छन् । उनी प्राध्यापन पेशामा आवद्ध हुनुका साथै सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक हुन्)
प्रतिक्रिया 4