+

५ नेता, जो विश्वभर चर्चित छन्

महात्मा गान्धी

भारतका सर्वमान्य नेता महात्मा गान्धी अहिंसा, सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन् । उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो । उनलाई विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ । उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार बनाएका थिए ।

नेल्सन मन्डेला

दक्षिण अफ्रिकाका नेल्सन मन्डेला लामो समय दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धको लडाइँमा लागेका व्यक्ति हुन् । यही कारण २७ वर्षसम्म जेल बस्न बाध्य उनको लडाइँ सत्यको पक्षमा थियो । उनले सदा समानता र मानव गरिमाका लागि लडिरहे । फलस्वरूप: दक्षिण अफ्रिकाको लोकतान्त्रिक रूपमा निर्वाचित पहिलो अश्वेत राष्ट्रपति समेत बने ।

Advertisement

अब्राहम लिंकन

अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकनले देशलाई गृहयुद्ध जस्तो इतिहासकै कठिन मोडबाट बचाएर मानवताविरोधी दास प्रथा’लाई कानुनी रूपमै अन्त्य गरेका थिए । उनको जीवनलाई नजिकबाट हेर्दा हामीले संघर्ष, गरिबी र बारम्बारका असफलताहरू पाउन सक्छौं । त्यति हुँदा पनि उनले कहिल्यै हार मानेनन् । बरु दृढ संकल्प लिएर छिन्नभिन्न हुन लागेको अमेरिकालाई एकताबद्ध गरिराखे ।

विन्स्टन चर्चिल

दोस्रो विश्वयुद्धको सबैभन्दा अप्ठ्यारो समयमा बेलायत र मित्र राष्ट्रहरूको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए । नाजी जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन । त्यहाँ पनि नाजी जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए । त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए ।

ली क्वान

नेपाली राजनीतिकमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा ली क्वान यू पनि पर्छन् । दूरदर्शीता, अनुशासन र व्यावहारिकता उनको पहिचान हो । धेरैले उनलाई आधुनिक सिंगापुरका पिता पनि मान्ने गर्छन् । किनकि उनले एउटा सानो, स्रोतसाधनविहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन् । मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुधिरहेको थियो । त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले ।