News Summary
Generated by OK AI. Editorially reviewed.- मेनोपोज भनेको महिनावारी स्थायी रूपमा बन्द हुनु हो, जुन डिम्बाशयले इस्ट्रोजेन र प्रोजेस्टेरोन उत्पादन घटाउँदा हुन्छ।
- नेपालमा ४० वर्षमाथिका महिलामध्ये करिब ४१ प्रतिशतले मेनोपोज भइसकेको छ र औसत उमेर ४८.७ वर्ष छ।
- लगभग ६० प्रतिशतभन्दा बढी नेपाली महिलालाई मेनोपोज र यसले निम्त्याउने स्वास्थ्य समस्याबारे पर्याप्त जानकारी छैन।
महिलाहरूको शरीरले कहिलेकाहीँ केही फरक किसिमका समस्याहरू लिएर आउँछ ।
कहिले हल्का तातोपन, कहिले राति चिटचिट पसिना, कहिले जोर्नी दुखाइ…
यी सबै संकेतलाई हामी प्रायः केवल उमेर बढ्दा भएको समस्या ठान्छौं । तर यिनै मेनोपोज (रजोनिवृत्ति) वा महिनावारी रोकिएपछि देखिने प्रमुख लक्षणहरू हुन् ।
महिनावारी सुकेपछि वा सुक्ने समयमा यो महत्वपूर्ण क्षण ‘मेनोपोज’ केवल नाम मात्र होइन ।
यो शरीर, मन र सम्बन्धहरूको पुनर्संरचनाको जीवन्त अनुभूति हो ।
उमेर बढ्दै जाँदा डिम्बाशय (अण्डाशय) ले डिम्ब र हर्मोन (मुख्यतः इस्ट्रोजेन) उत्पादन गर्न छोड्छ ।
यसको परिणामस्वरूप महिनावारी स्थायी रूपमा बन्द हुन्छ । सामान्य अर्थमा यसै अवस्थालाई ‘मेनोपोज’ अर्थात् रजोनिवृत्ति भनिन्छ । यो बुढ्यौली प्रक्रियाको एक सामान्य शारीरिक घटना हो, रोग वा दुर्घटना होइन ।
स्पष्ट कुनै रोग वा अवस्था नभई लगातार १२ महिनासम्म महिनावारी नभएपछि यसलाई मेनोपोज भनिन्छ ।
यो शब्द ग्रीक भाषाका ‘मेन’ (महिना) र ‘पाउसिस’ (विराम) बाट आएको हो, जसको शाब्दिक अर्थ ‘महिनाको विराम’ हो । यो अचानक हुने घटना होइन, बरु क्रमिक प्रक्रिया हो ।
रजोनिवृत्तिको समय (पेरिमेनोपोज) मा—अन्तिम महिनावारी अघिका वर्षहरू र पछिको पहिलो वर्ष, महत्त्वपूर्ण हर्मोनल उतारचढाव र लक्षणहरूको सुरुवात हुन्छ । पोस्ट-मेनोपोज भनेको अन्तिम महिनावारीपछि जीवनभर रहने अवस्था हो ।
मेनोपज त्यो क्षण हो, जब हर्मोनहरू चुपचाप बदलिन थाल्छन् ।
मेनोपज भनेको महिनावारी स्थायी रूपमा रोकिनु हो । यसपछि फेरि कहिल्यै महिनावारी हुँदैन । यस अवस्थामा शरीरले अण्डाशयबाट इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको उत्पादन घटाउँछ । तर यसको प्रभाव केवल योनी र महिनावारीमा सीमित हुँदैन ।
हर्मोन घट्दा मस्तिष्क, हृदय, कलेजो, हड्डी र स्नायु प्रणाली सबै प्रभावित हुन्छन् ।
विश्वव्यापी रूपमा महिलाको जीवनको करिब एक-तिहाइ भाग मेनोपोज र पोस्ट-मेनोपोज अवस्थामा बित्छ । उमेर ५० वर्ष नाघ्दै जाँदा मेनोपोज नजिक आउँछ । मेनोपोज भएका महिलाहरूको संख्या दिनदिनै बढिरहेको छ, तर धेरैलाई यसको स्वरूप थाहा छैन । कोही यसलाई गम्भीरतापूर्वक लिँदैनन्, त कोही आफूलाई कमजोर, थाकेको, उदास वा असामान्य महसुस गर्छन् । यो दुवै सही होइन ।
नेपालका विभिन्न अध्ययनअनुसार ४० वर्षमाथिका महिलामध्ये करिब ४१ प्रतिशतमा मेनोपोज भइसकेको देखिन्छ । नेपालमा मेनोपोज हुने औसत उमेर ४८.७ वर्ष छ । दक्षिण एसिया र छिमेकी देशहरू भारत, पाकिस्तान, बंगलादेशमा पनि यो उमेर ४६–४९ वर्षको हाराहारीमा छ । पश्चिमी देशहरूमा भने यो औसत ५०–५१ वर्ष छ ।
नेपालका सर्वेक्षणहरूले धेरै कम महिलालाई मेनोपोज र यसले निम्त्याउने स्वास्थ्य समस्याबारे जानकारी भएको देखाउँछन् । लगभग ६० प्रतिशतभन्दा बढी महिलालाई मेनोपोजबारे पर्याप्त जानकारी नभएको विभिन्न अध्ययनले देखाएका छन् ।
दक्षिण एसियाली महिलाहरूले मेनोपोजबारे खुला छलफल गर्ने अवसर पनि कम पाउने गरेको पाइएको छ ।
प्रतिक्रिया 4