+

बच्चाको घाँटीमा सिक्का अड्किए तुरुन्त के गर्ने ?

२०८२ माघ  २३ गते १४:०० २०८२ माघ २३ गते १४:००

यदि श्वासनलीमा अड्कियो भने अचानक सास फेर्न धेरै गाह्रो हुन्छ । सिट्ठी बजेजस्तो आवाज आउन सक्छ ।

Shares
बच्चाको घाँटीमा सिक्का अड्किए तुरुन्त के गर्ने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिक्का, बटन, ब्याट्री जस्ता वस्तुहरू निल्दा घाँटी वा श्वासनलीमा अड्किन सक्छ र तुरुन्त उपचार नपाएमा मृत्युको जोखिम हुन्छ।

साना बालबालिका धेरै चञ्चल हुन्छन् । हरेक कुरामा उनीहरू निकै उत्साहित पनि हुन्छन् । बच्चामा इन्द्रीयहरूको विकास छिटोछिटो हुने भएकाले उनीहरूले कुनै नयाँ कुरा भेटे भने सबैभन्दा पहिले मुखमै लैजान्छन् । जसले गर्दा कहिलेकाहीं केही कुरा निलेर ‍घाँटीमा अड्किने समस्या समेत हुन्छ ।

बच्चाहरूमा खानेकुरा वा अन्य वस्तुहरू घाँटीमा अड्कने समस्यालाई चिकित्सकीय भाषामा चोकिङ भनिन्छ । तुरुन्त ध्यान नदिएमा श्वासप्रश्वासमा अवरोध भई ज्यानै जोखिममा पर्न सक्छ । विशेष गरी ५ वर्षमुनिका बच्चाहरूमा यस्तो जोखिम बढी हुन्छ, किनभने उनीहरूको श्वासनली सानो हुन्छ । खानेकुरा राम्ररी चपाउन सक्ने क्षमता पनि पूर्णरूपमा विकास भएको हुँदैन । अमेरिकी स्वास्थ्य संस्थाहरूका अनुसार, ४ वर्षमुनिका बच्चाहरूमा सिक्का, खेलौना वा साना वस्तुहरू निल्ने घटनाहरू सबैभन्दा बढी हुन्छन्, जसमा सिक्का लिल्ने केस धेरै हुन्छ ।

चोकिङ के हो र किन हुन्छ ?

चोकिङ तब हुन्छ जब खानेकुरा, खेलौना वा अन्य कुनै वस्तु श्वासनली वा घाँटीमा अड्किएर श्वासप्रश्वासमा अवरोध उत्पन्न गर्छ । बच्चाहरूमा यो समस्या खानेकुरा राम्ररी नचपाई निल्दा पनि हुनसक्छ । अंगुर, गेडागुडी, क्यान्डी, वा मासुजस्ता खानेकुराहरू सजिलै अड्किन सक्छन् ।

खानेकुराबाहेक सिक्का, बटन, वा साना खेलौनाका टुक्राहरू बच्चाले मुखमा राख्दा अड्किन सक्छ ।

साथै बच्चाहरू हतारमा खाँदा वा खेल्दै खाँदा खानेकुरा अड्किन सक्छ । श्वास नलीको सानो आकार पनि यो समस्या निम्तिन सक्छ ।

साना बच्चाहरूको श्वासनली साँघुरो हुने भएकाले सानो वस्तुले पनि पूर्ण अवरोध निम्त्याउँन सक्छ । बच्चाहरूले खानेकुरा वा कुनै वस्तु मुखमा राखेर हाँस्दा, रूदा वा दौडिँदा साससँगै भित्र तानेर अड्किने जोखिम बढ्छ । यसबाहेक, घरमा भएका साना वस्तुहरू जस्तै बटन, ब्याट्री, मार्बल्स वा साना खेलौनाका भागहरू पनि मुख्य कारण हुन सक्छन् ।

घाँटीमा सिक्का कस्तो अवस्थामा अड्किन्छ ?

बालबालिकाले खेल्दा, हाँस्दा, दौडिँदा वा मुखमा सिक्का राखेर बोल्दा वा रुँदा अचानक सिक्का निल्ने जोखिम हुन्छ । सिक्का प्राय घाँटीको खाना नलीमा र कहिलेकाहीँ श्वास नलीमा अड्किन सक्छ । ५ वर्षमुनिका बालबालिकामा यो समस्या बढी देखिन्छ ।

सिक्का भित्रै निलियो भने के हुन्छ ?

यदि सिक्का खाना नलीमा अड्कियो भने निल्न गाह्रो हुन्छ, राल बगिरहन्छ, घाँटी वा छाती दुख्छ, खाना–पानी अड्किएको जस्तो हुन्छ ।

यदि सिक्का पेटसम्म पुग्यो भने धेरैजसो अवस्थामा २–५ दिनभित्र दिसासँगै आफैँ निस्किन्छ । तर निस्किएको वा ननिस्किएको पुष्टि गर्न एक्सरे गर्नुपर्छ । यदि सिक्का पेटमा पुगेर कुनै लक्षण नदेखाएमा चिकित्सकहरूले केही दिन प्रतीक्षा गरेर हेर्न सल्लाह दिन्छन्, तर नियमित जाँच आवश्यक हुन्छ ।

यदि त्यो सिक्काजस्तै देखिने ब्याट्री हो भने अत्यन्त खतरनाक हुन्छ र तुरुन्त उपचार चाहिन्छ । ब्याट्रीमा एसिड मिसिएको हुन्छ । यसले भित्र क्षति पुर्‍याउँछ, जसले गर्दा घाउ, रक्तस्राव वा संक्रमण हुन सक्छ । यस अवस्थामा तुरुन्त अस्पताल लैजानुपर्छ ।

सिक्का अड्किँदा सास फेर्न कति गाह्रो हुन्छ ?

यदि श्वासनलीमा अड्कियो भने अचानक सास फेर्न धेरै गाह्रो हुन्छ । सिट्ठी बजेजस्तो आवाज आउन सक्छ । ओठ र अनुहार नीलो हुन सक्छ र बेहोस हुने खतरा हुन्छ । यदि खाना नलीमा अड्किएको छ भने श्वास-प्रश्वास सामान्य हुन सक्छ तर बच्चालाई असहज हुन्छ । थुक निल्न सक्दैन ।

थप लक्षणहरूमा खोकी, ग्यागिङ, भोक नलाग्ने, पेट दुख्ने वा रगत मिसिएको राल आउन सक्छ । यदि बच्चाले सास फेर्न, बोल्न वा खान गाह्रो भएमा तुरुन्त आपतकालीन उपचार आवश्यक पर्छ ।

सिक्का अड्किनेबित्तिकै के गर्ने ?

बच्चालाई शान्त राख्ने । सास फेर्न गाह्रो भए तुरुन्तै नजिकको अस्पतालको आपतकालीन कक्षमा लैजाने । बच्चाको घाँटीमा सिक्का अड्किँदा जबरजस्ती औँला घाँटीमा हालेर निकाल्ने प्रयास गर्नुहुँदैन । खाना वा पानी जबरजस्ती खुवाउनु हुँदैन । यसले अवरोधलाई अझ गहिरो बनाउन सक्छ ।

यदि बच्चा १ वर्षभन्दा माथिको छ र सास फेर्न गाह्रो भएमा बच्चालाई आफ्नो काखमा राखेर वा घुँडा टेकेर पेट तल पारेर राख्ने । काँधबीचमा हातको कुर्कुच्चाले ५ पटक थप्काउने ।

बच्चाको पछाडि उभिएर वा घुँडा टेकेर, कम्मरमा हात बाँधेर पेटको माथिल्लो भागमा ५ पटक जोडले दबाउनुहोस्, जसले वस्तुलाई बाहिर धकेल्छ ।

यसको उपचार के हुनसक्छ ?

घाँटी वा छातीको एक्सरे गरेर सिक्काको स्थान पत्ता लगाइन्छ । धेरैजसो अवस्थामा मुखबाट क्यामेरा हालेर इन्डस्कोपी द्वारा सिक्का निकालिन्छ, जुन सुरक्षित विधि हो । पेटमा पुगेको सिक्का भए केही समय निगरानी मात्र गर्न सकिन्छ । श्वासनलीमा अड्किएको अवस्थामा आपतकालीन ब्रोन्कोस्कोपी आवश्यकपर्छ । यदि सिक्का खाना नलीमा अड्किएको छ भने, इन्डस्कोपीले ९० प्रतिशत भन्दा बढी सफलता दिन्छ ।

यसको जटिलता के हुन सक्छ ?

यदि समयमा सिक्का निकालिएन भने बच्चाको घाँटी वा श्वास नलीमा घाउ हुने र सुन्निने हुन्छ र संक्रमणको जोखिम पनि बढ्छ । लामो समय अड्किएमा खाना नली साँघुरिन्छ । श्वास नलीमा अड्किएको अवस्थामा अचानक मृत्युको जोखिम हुन्छ । त्यसैले घाँटीमा केही अड्किएको शंका लागे पनि ढिलाइ नगरी तुरुन्त अस्पताल लैजानुपर्छ । थप जटिलतामा फोक्सो संक्रमण, रक्तस्राव वा स्थायी क्षति हुन सक्छ ।

त्यसैले बच्चाहरूलाई साना वस्तुहरूबाट टाढा राख्नुपर्छ । सिक्का, बटन, ब्याट्री, मार्बल्स, साना खेलौनाका भागहरू बच्चाले नभेट्ने ठाउँमा राख्नुपर्छ ।

बालबालिका सिक्का
डा. बाबुराम पाण्डे
लेखक
डा. बाबुराम पाण्डे
बालरोग विशेषज्ञ

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय